हुन त यो विचार मैले कार्तिक ३ गते सबेरै सार्वजनिक गर्नुपर्ने थियो, जसको अघिल्लो दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका थिए। नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा सभापति रहेको ‘संसदीय छानबिन विशेष समिति’ ले आफ्नो प्रतिवेदनमा सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान गर्न निर्देशन दिएसँगै सभापति लामिछाने पक्राउको चर्चा सुरु भएको थियो।
उक्त प्रतिवेदन, गोरखा मिडिया प्रा.लि. र उक्त प्रा.लि.मातहतको ग्यालेक्सी टिभीका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको पक्राउले मलाई यो विचार सार्वजनिक गर्न बाध्य बनाएको हो।
उक्त टिभी बन्द नहुँदासम्म म सहित करिब एक सय २० जना कर्मचारी कार्यरत रहेको र झन्डै एक वर्षको पारिश्रमिकसमेत पाउन बाँकी रहेकाले पनि यो विचार सार्वजनिक गर्नैपर्छ भन्ने निष्कर्षमा म पुगेको हुँ।
सुरुवात गरौं ग्यालेक्सी टिभीको अवस्था र प्रवृत्तिको कुराबाट। २०७८ असोज १५ गतेदेखि विधिवत् रूपमा सञ्चालनमा आएको यो टेलिभिजन सुरुवातबाटै चर्चामा थियो। देशका गन्नेमान्ने पत्रकारहरू रवि लामिछाने, विजयकुमार पाण्डे, प्रशान्त अर्याल, अजय दास, प्रमोद न्यौपाने, दीपक बोहोरा, लेनिन बन्जाडे, चर्चित अनुहारहरू राजेश हमाल, दीपकराज गिरी, समीरमणि दीक्षित, रमेश प्रसाईंसहित टेलिभिजनको इतिहासमा राम्रै नाम र दाम कमाएका अन्य थुप्रै व्यक्ति यसमा जोडिएका थिए।
फोरके टेलिभिजनको नाम दिइएको यो टिभीले बजारमा चलेको भन्दा झन्डै दोब्बर तलब दिएर विभिन्न सञ्चार माध्यमबाट पत्रकार, समाचार वाचक/वाचिका, प्राविधिक, क्यामेरा सञ्चालक, कर्मचारीलाई नियुक्ति दियो। कुनै समय समाचार कक्षमा मात्रै झन्डै ७५ जनाले काम गर्ने कुराले बजारमा निकै चर्चा पाएको थियो।
विडम्बना, टिभीले चर्चा पाएअनुसार कमाइ गर्न सकेन। नामअनुसारको उच्च दाम दिएर बोलाइएका कर्मचारीहरूबाटै धोका पाएको कुरा गोरखा मिडिया एवं ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईले बारम्बार भन्ने गरेका थिए।
यति मात्रै होइन, आधुनिक र गुणस्तरीय भनिएका सामग्री, अत्याधुनिक स्टुडियो, प्रत्यक्ष प्रसारण गर्न अत्याधुनिक प्रविधि, फोरके टिभीका लागि आवश्यक पर्ने क्यामेरा, आठ केजीसम्मका ड्रोन खरिद गरेर टिभीले सुरुवातमै स्थापित भएको दाबी गरेको थियो।
प्रबन्ध निर्देशक लामिछानेले आफ्ना ससुरा उद्धव पौडेलको गोपीकृष्ण मुभिज मातहतको एफएम रेडियो खरिद गर्दै ग्यालेक्सी टिभीमा सारेर प्रसारण सुरु गराएका थिए। २०७७ पुसबाटै टिभी सेटअपका लागि काम थाल्दै गोरखा मिडियाले महिनावारी तलबको अवधारणामा काम गर्यो। बालुवाटारमा रहेको टिभीको मुख्यालय, प्रदेश ब्युरो र जिल्लामा गरी करिब तीन सय ५० कर्मचारीले एकसाथ काम सुरु गरेपछि ग्यालेक्सी फोरकेले रातारात चर्चा पाएको थियो।
टिभीको औपचारिक उद्घाटनका दिन सार्वजनिक गरिएका सबै कार्यक्रम नै प्रसारण हुन सकेनन्। प्रसारण भएका कार्यक्रमले पनि निरन्तरता पाउन सकेनन्। राजेश हमालले चलाउने भनिएको ‘करोडपति’ कार्यक्रम नै आएन।
दीपकराज गिरीको ‘क्राइम पेट्रोल’ चार एपिसोडभन्दा सुटिङ नै हुन सकेन। रियालिटी सोबाट न टिभीले न आयोजकले नाफा लिन सके। यसपछाडि एउटै कारण थियो, सम्बन्धित विभागले कामै गरेनन्। समाचार विभाग र सिधा कुरा टिमबाहेक अन्य कुनै पनि विभागले काम गरेन। कार्यक्रम उत्पादन विभाग, मार्केटिङ विभाग त प्रायः सुतेरै बसे। उच्चस्तरीय समाचार बजे पनि मार्केटिङ टिमले बिक्री गर्न सकेन। लालमोहर, पर्खालबाहिर, क्राइम पेट्रोल, जिबेटजस्ता गुणस्तरीय कार्यक्रमले विज्ञापन नै पाएनन्।
लाखौं रुपैयाँ मासिक पारिश्रमिकमा नियुक्त भएका कर्मचारीहरू दिनभर कफीको चुस्कीमा चुरोटको धुवाँ उडाउँदै घाम तापेर साँझ बालुवाटारबाट बाहिरिन्थे। टिभीमा बिस्तारै पनौती लाग्यो र मोबाइलमा घन्टी बज्ने क्रम महिनापारि हुँदै झन्डै वर्षदिन पारी भएपछि बन्द भयो।
विभाग प्रमुखसहित केही वरिष्ठ कर्मचारीलाई बोलाइएको मिटिङमा मैले जिबी राईलाई भनेको थिए, ‘सर, तपाईंले छनोट गरेका कर्मचारी सबै सही छन् तर उनीहरूलाई छाडा नछाड्नुहोस्। लगाम लगाउनुहोस्।’ यो कुरा टिभी आएको अन्तिम दिन पनि उनले उठाएका थिए र पछुतो मानेका थिए।
त्यत्रो तामझामसाथ खोलिएको टिभीका अध्यक्ष जिबी राई सहकारीको रकम ठगी प्रकरणमा फरार छन्। उनीमाथि रेडकर्नर नोटिस नै जारी भएको छ। राईका सहयोगी हुँदै पछि टिभी सञ्चालनको जिम्मेवारी पाएका उपाध्यक्ष कुमार रम्तेल लामो समयदेखि कास्की कारागारमा छन्। तत्कालीन सञ्चालक छविलाल जोशी पनि पोखरामा प्रहरी हिरासतमा छन्। जसको नाममा टिभी खोल्ने आँट राईले गरे, उनै तत्कालीन प्रबन्ध निर्देशक, रास्वपा सभापति लामिछाने पनि कास्की प्रहरीको नियन्त्रणमा छन्।
२०७९ जेठसम्म टिभी सामान्य हिसाबमै चलिरहेको थियो। दुईचार दिन तलमाथि भए पनि कर्मचारीले तलब पाइरहेकै थिए। एकाएक प्रबन्ध निर्देशक रवि लामिछानेले टिभी छाडे। स्टुडियोमा एक कार्यक्रमबीच जिबी राईको उपस्थितिमा उनले टिभी छाडेको जानकारी दिँदै गोरखा मिडियाको सम्पूर्ण सेयर फिर्ता गरेको घोषणा गरे। सबै कर्मचारी स्तब्ध बने। अब के हुन्छ त टिभीको भविष्य ? प्रश्नहरू खडा भए।
सान्त्वना दिँदै अध्यक्ष राईले भनेका थिए, ‘टिभी मेरो ड्रिम प्रोजेक्ट हो। अरू सबैले मेरो कारोबार छाडे पनि म टिभी छाड्दिनँ। सबैको भविष्यको जिम्मा म लिन्छु। ढुक्क भएर काम गर्नुहोस्।’ तर उनको यो प्रतिबद्धता अर्को महिनाबाटै डगमगायो। कर्मचारीको तलब साता हुँदै महिना दिनसम्म रोकियो। टिभी सञ्चालनको जिम्मेवारीबाट जिबी राई बिस्तारै पछि हट्दै गए। टिभी सञ्चालनका लागि उनीबाट आउने सहयोग कम हुँदै गयो।
रवि लामिछानेले टिभी छाडेपछि पार्टी खोले र पूर्ण रूपमा राजनीतिमा लागे। उनले आफूसँगै केही कर्मचारीलाई पूर्णकालीन राजनीतिमा सहकर्मी बनाएर लगे। जसको विश्वासमा जिबी राईले टिभी खोलेका थिए, उनै नभएपछि जिबीको टिभीमा उपस्थिति कम हुँदै गयो।
लामिछानेले २४ करोड रुपैयाँका विभिन्न १६ वटा चेक काटेको देखिएको छ। जोशी, लामिछाने र रम्तेल प्रहरीको नियन्त्रणमा छन् भने राई फरार। उनलाई पनि सरकारले नेपाल ल्याउने गरी पहल गरिरहेका समाचार बाहिर आइरहेका छन्।
पारिश्रमिक मासिक रूपमा आउन छाडेपछि कर्मचारीहरूको टिभीबाट बाहिरिने क्रम बिस्तारै सुरु भयो। प्रधान सम्पादकले राजीनामा दिए। सिइओ भएर टीकाराम राईको प्रवेश भएपछि काम नगर्ने केही डिपार्टमेन्ट हेड नै निकालिए। राई आफैं पनि लामो समय टिक्ट सकेनन्।
नियमित जस्तै जम्मा भइरहेको सामाजिक सुरक्षा कोषमा रकम जम्मा हुन छाड्यो। समाचार कक्ष, कार्यक्रम शाखा, आइटी शाखा, एमसिआर एकपछि अर्को गर्दै खाली हुँदै गयो। प्रदेश ब्युरोदेखि जिल्लाका साथीहरू सबैले तलबको कुरा उठाउँदै असन्तुष्टि जनाए।
प्रदेश प्रमुखहरू त पटक पटक टिभी कार्यालयसम्मै आएर तलब मागे। महिनौंसम्म तलब नपाउने भएपछि कर्मचारीहरूले पटक पटक आन्दोलन गरे। तत्कालीन उपाध्यक्ष कुमार रम्तेलसहितको प्रशासन शाखाले बारम्बार आश्वासन र एक महिनाको तलब दिँदै आन्दोलन स्थगित गराउन बाध्य बनायो। कर्मचारीले २०८० सालको दसैंतिहारमा समेत बिनातलब काम गरे।
कुमार रम्तेल पनि हिरासतमा पुगेपछि भने टिभी सञ्चालन कसले गर्ने भन्ने प्रश्न खडा भयो। यस बीचमा राई र रम्तेल समूह टिभीको स्वामित्व लिन कस्सिए। टिभीभित्रै रहेकाहरू पनि दुई समूहमा बाँडिए। टिभीको सेयर बेचेर कर्मचारीको तलब निकासा गर्ने र सीमित कर्मचारी राखेर टिभी चलाउनेसम्मका कुरा आए। फरक फरक समूहसँग पटक पटक बैठक बसे। कुराकानी भयो, तर हस्ताक्षरको अवस्थामा पुगेपछि भाँडिन्थ्यो।
चर्चा सुनिन्थ्यो, राई समूहले ल्याएका व्यक्तिलाई रम्तेल समूहले रोक्ने र रम्तेल समूहले ल्याएका व्यक्तिलाई राई समूहले रोक्ने। मारमा फेरि पनि कर्मचारी नै पर्ने भए। मासिक तलब पाउन आठ महिना लागेपछि भने सबै कर्मचारीको सामूहिक निर्णयमा दश दिनको समय दिँदै २०८० पुस १ गतेदेखि नियमित काम रोकियो। दुई चार दिन नयाँ र पुराना कार्यक्रमहरू बजे। त्यसपछि गीत मात्र बज्न थाल्यो।
एउटा मिडिया संस्था सञ्चालनको सपना धुजाधुजा पारेको योभन्दा दुःखद कहानी अरू के होला र ? कर्मचारीले पाउने झण्डै एक वर्षको पारिश्रमिकको जिम्मा कस्ले लिने ?
कर्मचारीहरू नियमित कार्यालय जाने, हाजिर गर्ने र टिभीको पछिल्लो अवस्थाबारे जानकारी लिँदै बाहिरिन्थे। समयसीमाको अन्तिम दिन मानव संसाधन प्रमुख भूमिका खतिवडाले सामूहिक बैठक डाकेर फेरि पुरानै आश्वासनसहित नियमित काममा फर्कन आग्रह गरिन्।
रुष्ट कर्मचारीले सम्पूर्ण तलब निकासा भएपछि मात्र काममा फर्कने नयाँ माग राखेपछि प्रशासन पछि हट्यो। टिभीमा गीत मात्र बजिरह्यो। यसबीच केही कर्मचारीले अन्यत्र जागिर खान थाले। केही बिदेसिए। केही भने कामबिहीन हुँदै घरमै बसे।
टिभीमा जिबी राईले सहयोग गर्न छाडेपछि नियमित खर्च चलाउन भन्दै गाडीलगायतका सामग्री बेच्ने क्रम पनि चलेको थियो। तर उक्त रकम कसले के प्रयोजनका लागि चलाउँथ्यो, पत्तै हुँदैनथ्यो। सुरक्षा गार्डको मासिक तलब नदिएर कम्पनीले गाडी नै राखेको थियो। गाडी मेन्टिनेन्सको रकम नदिँदा एउटा गाडी उतै थियो। बिजुलीको पैसा तिरेको थिएन। घरबेटीको भाडा महिनौंको बाँकी थियो। स्याटलाइटलाई रकम नतिरेकाले बारम्बार पत्र लेखेर सिंग्नल कायम राखिएको थियो। सरकारलाई कर बुझाइएको थिएन। टिभी पूर्ण रूपमा संकटग्रस्त बनेपछि मात्र थाहा भयो, सरकारलाई बुझाउने कर धेरै नै बाँकी रहेछ। कर्मचारीबाट काटिएको एक प्रतिशत कर सुरुवातबाटै जम्मा भएकै रहनेछ। स्याटलाइटको रकम पनि उसैगरी बाँकी रहेछ। समस्याग्रस्त अवस्थामा पनि टिभीमा गीतहरू भने बज्दै थिए तर विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने रकम लाखौं भएपछि भने बिजुली काटियो र प्रसारण बन्द भयो।
घरबेटीले टिभीका सामग्री बिक्रीवितरण गरी घरभाडा असुलउपर गरिपाऊँ भन्दै वडा कार्यालयमा निवेदन दिएपछि टिभीमा ताला लाग्यो। स्याटलाइटसँग टिभीको सम्पर्क टुट्यो। गेटमा ताला लागेपछि कर्मचारी नै भित्र पस्नबाट बन्चित भए। मासिक तलब पाऊँ भनी कर्मचारीले अहिले सम्बन्धित निकायमा निवेदन दिएका छन्। अहिले उक्त मुद्दा श्रम कार्यालयमा विचाराधीन छ।
टिभीमा कर्मचारीको आन्दोलन सुरु भएसँगै जिबी राईको सहकारी ठगी प्रकरण एकपछि अर्को गर्दै बाहिरिन थाल्यो। हरेक समाचार माध्यमले यसलाई प्राथमिकतामा राखेर समाचार सम्प्रेषण गरे। टिभीमा लगानी गरेको सबै रकम सहकारीबाट ल्याएको तथ्य एकपछि अर्को गर्दै सार्वजनिक हुँदै गयो। आफू अध्यक्ष रहेका सातमध्ये विभिन्न पाँचवटा सहकारीबाट रवि लामिछानेसहितका कर्मचारी र आफ्नो नाममा समेत करोडौं रुपैयाँ राईले टिभीका लागि निकासा गरेको देखियो।
संसदीय छानबिन विशेष समितिले ६५ करोडभन्दा बढी रकम टिभी सञ्चालनका लागि निकासा भएको देखाएको छ। यसमा अध्यक्ष जिबी राई, तत्कालीन सञ्चालक छविलाल जोशी, प्रबन्ध निर्देशक रवि लामिछाने र उपाध्यक्ष कुमार रम्तेललाई दोषी देखाउँदै कारबाहीका लागि समितिले सिफारिस गरेको छ।
लामिछानेले २४ करोड रुपैयाँका विभिन्न १६ वटा चेक काटेको देखिएको छ। जोशी, लामिछाने र रम्तेल प्रहरीको नियन्त्रणमा छन् भने राई फरार। उनलाई पनि सरकारले नेपाल ल्याउने गरी पहल गरिरहेका समाचार बाहिर आइरहेका छन्।
रास्वपा सभापति लामिछानेले मालिकले टिभी चलाउन कहाँबाट रकम ल्याए ? त्यसबारे कर्मचारीलाई थाहा नहुने बताउँदै कार्यालय सञ्चालनका लागि खर्च गरेको दाबी गर्दै आएका छन्। कर्मचारीले झन्डै एक वर्षको मासिक तलब पाउन बाँकी छ। सरकारलाई बुझाउने ट्याक्स, स्याटलाइटको रकम, घरबेटीको भाडा, कर्मचारीले तलब पाउँदाको समय कटाइएको कर जम्मा गर्न बाँकी छ।
स्टुडियोमा एक कार्यक्रमबीच जिबी राईको उपस्थितिमा उनले टिभी छाडेको जानकारी दिँदै गोरखा मिडियाको सम्पूर्ण सेयर फिर्ता गरेको घोषणा गरे। सबै कर्मचारी स्तब्ध बने। अब के हुन्छ त टिभीको भविष्य ? प्रश्नहरू खडा भए।
संसदीय समितिले कर्मचारीले प्राप्त गरेको पारिश्रमिकको केही हिस्सासमेत सार्वजनिक गरेको छ, तर कर्मचारी पनि सहकारी ठगीमा दोषी हुन् भनेर भनेको छैन। टिभीमा भएको सहकारीको रकम दुरुपयोगको प्रमाणस्वरूप तलबको उक्त तथ्याङ्क सार्वजनिक गरेको भनेर छानबिन समितिका सभापति सूर्यबहादुर थापाले स्वयम् मसँग भनेका छन्।
टिभीको औपचारिक उद्घाटनका दिन अध्यक्ष राईले करिब पाँच वर्ष टिभी चलाउने रकम रहेको र ढुक्क भएर काम गर्न कर्मचारीलाई भनेको कुराले उनलाई बिझाएको हुनुपर्छ।
टिभी सेटअपमा समेत व्यापक भ्रष्टाचार भएको कुरा धेरै पटक सुनिएकै हो। लाख पर्ने सामानलाई लाखौं तिरिएको थियो। टिभीका लागि बनाएको बिल्डिङमा ब्यापक अनियमितता भएको थियो। यसमा मात्र करोडको चलखेलका कुराहरू सुनिन्थ्यो। फोरकेका लागि खरिद गरिएका क्यामराले खिचेका भिडियो एउटा सामान्य युट्युब च्यालनको जत्तिको पनि थिएन।
सञ्चालन गर्नै नपाइने डिजेआई इन्स्पायर टु ड्रोन (जसको खरिद रकम १२ लाख थियो) टिभी सञ्चालन भएसम्म बाकसभित्रै थन्क्याइएको थियो। लिड स्क्रिन, टेक्निकल सामानहरू (भिडियो स्विचर, अडियो भिडियो सर्भर, आरएफ एन्टिना, अडियो मिक्चर, कम्प्युटर, ग्यालेक्सीको लोगो, ग्राफिक्स, २ एक्प्रेसन) लगायतमा पनि करोडको अनियमितता पाइएको थियो।
सामान खरिदका लागि टेन्डर आह्वान गर्दै तेस्रो पक्षलाई दिएर बीचमा रकम अनियमितता कति भयो भन्ने लेखाजोखा नै नभएको चर्चा ऊबेला नै सुनिन्थ्यो।
सहकारीको रकम टिभीमा लगानी गरेर जिबी राईले महागल्ती गरेका छन्। यसको सजाय उनले पाउनैपर्छ। उनलाई आँट र आश्वासन दिने सबै यसमा समान दोषी हुन्।
लगानीअनुसार सबैले काम गरेको भए सायद टिभी आफैं भने अहिलेसम्म जीवित रहने थियो। कर्मचारीको अल्छीपन र अध्यक्ष राईको मुख ताक्ने प्रवृत्तिले टिभीबाट हुने आम्दानी सुरुवातबाटै शून्य प्रायः रहिरह्यो।
अनुभवी र नाम चलेका कर्मचारी भएर पनि उनीहरूबाट काम लिन नसक्नु व्यवस्थापनको कमजोरी रह्यो। काम नगर्नु कर्मचारीको ठग प्रवृत्ति बन्यो। जसले गर्दा ग्यालेक्सी टिभीको घाँटी सुरुमै निमोठियो। यो मिडिया क्षेत्रका लागि कालो धब्बा बनेर रहनेछ।
सहकारीको सबै रकम फिर्ता गर्ने र टिभी आफैं चलाउने कुरा जिबी राईले गर्ने गरेको कुरा उनका आफन्तहरूले बताउँछन्। कुमार रम्तेल पनि कास्की कारागारबाटै कर्मचारीको तलब निकासाको बाटो खोजेर मुद्दा फिर्ता लिन लगाउँदै जेलमुक्त भएपछि टिभी सञ्चालन गर्ने योजनामा रहेको पाइन्छ। तर काम बिगारेपछि दैलो देख्यो भने जस्तो टिभीले सम्पूर्ण आफ्नो अस्तित्व गुमाएपछिको यो रुवाइ अब काम छैन।
एउटा मिडिया संस्था सञ्चालनको सपना धुजाधुजा पारेको योभन्दा दुःखद कहानी अरू के होला र ? कर्मचारीले पाउने झण्डै एक वर्षको पारिश्रमिकको जिम्मा कस्ले लिने ?
प्रकाशित: २३ कार्तिक २०८१ २०:२३ शुक्रबार