६ मंसिर २०८१ बिहीबार
image/svg+xml
विचार

लोकतन्त्रको नाममा शक्तितन्त्र

फलेको रूखको मुनि जो पनि बस्न चाहन्छन्। जब कुनै रूखले फल दिँदैन भन्ने लाग्छ, सबैले त्यसलाई लत्याएर हिँड्छन्। शक्ति कस्तो विचित्रको कुरा रहेछ। संसार पनि आज यही बलेको आगो ताप्ने देखावटी शक्तिसँग खेल्दैछ तर यस्तो शक्तिको खेल आज मात्र नभई शताब्दियौँदेखि पारिवारिक विरासत र अधिकारका रूपमा संसारभरि प्रयोग गरिँदै आइरहेको पाइन्छ।

विश्वमा विभिन्न कालखण्डमा शक्तिको बागडोर सम्हाल्दै आइरहेका राजा/महाराजाहरू, राष्ट्रपति र प्रधानमन्त्रीहरू सबैले आफूमा निहित शक्तिलाई पालैपालो भद्दा मजाकका रूपमा उपयोग गर्दै आइरहेका छन्। उनीहरू सधैँ चाहन्छन्, यो मजाक रोकिनुहुँदैन र यसलाई यसैगरी नै निरन्तरता दिइरहनु पर्दछ। बरु यो शक्तिको खेल खेलेर अनुभवसिद्ध भइसकेका खेलाडी राष्ट्रहरूले देशप्रेमको देखावटी भावना राख्ने र यस्तो भावनालाई महत्त्व दिने राष्ट्रहरूलाई पनि पालो दिने पो हो कि ?

दुई दशकअघि पाटन बहुमुखी क्याम्पसमा एमए अंग्रजी अध्ययन गर्दै गर्दा फुर्सदका समय कक्षा कोठामा साहित्यिक गजल कार्यक्रम चलाउँथ्यौँ। उक्त कार्यक्रममा हामीले समाजमा देख्दै आएका पितृसत्तावादी सोचका फट्याइँ र चलाखीका विषयमा पनि छलफल र विमर्श गर्थ्याैं।

अहिले यस्तो लाग्छ, त्यहाँ जसले पितृसत्तावादी फट्याइँका कुराहरू जोडतोडले उठाउने गर्थे, उनीहरूलाई नै यस्तै समाज मन पथ्र्यो र तिनै विरोधाभाषपूर्ण खराब सोच राख्नेले नै समावेशी र सहअस्तित्वका ठूला ठूला आदर्श कुरा गर्थे। वास्तवमा शक्तिको ठूलाठूला लठ्ठी समाउनेहरूले यसलाई वरिपरि नचाएर रमाइलो गर्ने तथा साना लठ्ठीको सहयोगले कसैलाई झट्का दिने र हिर्काउने समाजको विद्यमान घातक प्रवृत्ति आफूलाई शक्तिशाली मान्नेहरूको व्यवहारमा देखिँदै आएको पाइन्छ।

पक्कै पनि यो प्रवृत्ति लैंगिक विभेदका नजरबाट मात्र होइन, समावेशी दृष्टिले पनि असुहाउँदो छ। यसले कुनै पनि किसिमले समानतापूर्ण व्यवहार गर्दैन। अझ भनौँ यसले पुरुष, महिला मात्र होइन, समाज र राष्ट्रभित्र बसोबास गर्ने जोकोही कमजोर मान्छेलाई पनि कठोर किसिमले तर्साउने, धम्क्याउने र धकेल्ने गर्दछ। समाजमा हामीले नचाहँदा नचाहँदै पनि देख्दै र भोग्दै आएका के यी कुरा हृदयस्पर्शी र गम्भीर छैनन् र?

ठीकै छ, हामी क्षणिक र नाशवान विषयमा धेरै कुरा नगरौँ। यही शक्ति शालीहरूले  शक्तिहीनहरूलाई दबाउनै ठीक मान्ने कुरा शोभनीय नहुँदा नहुँदै पनि किन यस्तो भइरहेको छ त? हाम्रो दृष्टिकोणलाई अझ फराकिलो बनाएर विश्वव्यापी मञ्चतर्फ लैजाने हो भने त्यसो भए संसारका कमजोर मानिसलाई विनाश गर्ने शक्तिशालीहरूको विशिष्ट र रमाइलो क्षमतालाई किन सीमित गर्ने त? अझ विस्तार गर्दै लैजान दिउँ अनि मात्र संसारका राजा, महाराजा र बादशाहहरूले दुर्भाग्यपूूर्ण जीवन बाँचिरहेका मानिसलाई भूराजनीतिक लकरहरूमा बन्द गराइ हाइसन्चोका साथ रमाउन पाउँछन्।

उदाहरणका रूपमा हामीले एसियालाई लिन सक्छौँ। यही एसिया महादेशमा पर्ने एउटा देश छ। उसले आफुलाई पहाडको राजा र बाघको बच्चा डमरु सम्झने गर्छ। आफूलाई ठूलो बच्चा सम्झने चीन नामको यो देशको दक्षिणमा चीन सागर भनिने पोखरी छ। यही पोखरीलाई माध्यम बनाएर ठूलो बच्चा भनिने चीनले सानो टापु बच्चा फिलिपिन्समाथि आफ्नो शक्तिको दुरूपयोग गर्दै मनलागी छेडछाड, घूसपैठ, थिचोमिचो र ज्यादती गरिरहेको छ।

चीनले आफ्ना मांसपेशीहरू कसरी फिँजाइरहेको छ भन्ने तपाईँले ख्याल गर्नुभएको छ ? यति मात्र होइन, यो शक्तिशाली ठूलो बच्चा चीनले सामुद्रिक वस्तुहरूलाई मसलाका रूपमा उपयोग गर्न जापानको पानीमा समेत निसङ्कोच प्रवेश गरेको पाइन्छ। चीनका लागि यी सबै अरू कसैले गर्न नसकेका निकै राम्रा र रमाइला काम हुन्, बदमासी हुँदै होइनन्। किनभने ऊ ठूलो छ, शक्तिशाली छ, उसले गरेको जे पनि राम्रो हुन्छ। उसका लागि अन्तर्राष्ट्रिय सम्बन्ध, नियम कानुनहरू कसैका सल्लाह र सुझावहरू झिनामसिना कुराबाहेक बढी केही पनि होइनन्।

हामीले देखिरहेका छौँ, युरोपमा रुस र युक्रेनको शक्तिको ज·ली खेलको शृला चलिरहेको छ। अहिले रुस र युक्रेन दबंग दाजुभाइ जस्तै गरी शक्ति सङ्घर्षको विश्रामरहित खेल खेलिरहेका छन्।

यो खेल हेर्दा यहाँ कुनै प्रहसन र नौटङ्की चलिरहेको पो हो जस्तो लाग्छ। यी सबै घटनाक्रम हेरिसकेपछि हामी भन्न सक्छौँ, संसारमा भइरहेका युद्धहरू सबै शक्तिको पेन्डुलममा झुन्डिरहेका छन्। यहाँ एउटा पक्षले जिम्मेवारीको कुरा गर्छ, अर्को पक्षले न्यायको कुरा गर्छ। यहाँ जसले जिम्मेवारी र न्यायको कुरा गर्छ उही नै सबैभन्दा बढी अन्यायी र विभेदकारी रहेको कुरा घाम जस्तै छर्लंग छ। यहाँ निष्पक्षताको कुरा गर्ने त्यस्ता शक्ति  र दम्भका मालिकहरूबाहेकका अरूहरू पनि कसको मालिक को भन्नेबारेमा अधिक चर्चा र पक्षपोषण मात्र गरेर दिन बिताउँछन्।

यी शक्तिशाली भनाउँदाहरूको खेलको मैदानमा निष्पक्षता भन्ने कुरा एकादेशको दन्त्यकथा जस्तो भइसकेको छ। उल्लिखित घटनाहरू हेरिसकेपछि र बुझिसकेपछि जे जस्तो भए पनि तपाई कुनै रेखा पार गर्ने शक्तिको खोजी नगर्नुहोला अर्थात् इजरायलभन्दा अगाडि हेर्ने दुस्साहस नगर्नुहोला किनभने यो व्यङ्ग्य गर्नका  लागि पनि कुनै शब्द नभेटिने जटिलभन्दा जटिल छ।

यता मध्यपूर्वको साउदी अरबमा अर्को नाटक मञ्चन हुँदै आइरहेको छ भन्ने हामीले बिर्सनु हुँदैन। आफूलाई तेलको मसिहा सम्झने साउदी अरबले वर्षौँदेखि शक्तिको खेल खेल्दै आइरहेको छ। उसले आफूहरूसँग रहेका विशाल स्रोतहरू प्रयोग गरेर विश्वव्यापी राजनीतिलाई प्रभाव पार्नका लागि यमनमाथि आफ्नो हस्तक्षेप बढाइरहेको छ।

साउदी अरबले आफ्नो शक्ति र तेलको घमण्डका आडमा आफू वरपर आफ्नो वर्चस्व कायम गर्न र अरूलाई नियन्त्रण राख्ने काममा आफ्नो विशिष्ट कला प्रदर्शनी गर्न सफल भएको पाइन्छ। शक्ति र तेलका कारण उसको एकोहोरो आवाज सुन्न संसार विवश जस्तै भएको छ।

अब उत्तर कोरियाबाट खेलको सुरुवात नगरौं। जहाँ राजनीतिक खेल मैदानमा एउटा बदमास बच्चा छ, उसले सधैँ अरूलाई केही फ्याँकिदिने धम्की मात्र दिने गर्छ। उसले बम, बारुद, गोला, क्षेप्यास्त्र परीक्षण र आणविक बहादुरीका कुराबाहेक अरू केही गर्दैन र त्योबाहेक अरू केही गरेको शायद विश्वलाई थाहा पनि छैन। उसलाई हेर्दा लाग्छ, ऊ आतसबाजी र पट्का पड्काउन जन्मेको बच्चा हो।

पटाकावाला भएकाले त्योबाहेक ऊसँग अरूलाई तर्साउन कुनै ठूलो छडी पनि छैन। त्यही पटाकाका भरमा उसले अरू सबैलाई आफ्नो बाटोबाट टाढा राख्न र लज्जित बनाउन सफल छ। कोही उसको नजिक गएर उसलाई तर्साउन र अपमान गर्न नखोज्नु है, त्यसो गर्नुभयो भने त्यसको प्रतिफल भोलिपल्ट बिहान आफ्नो आँगनमा फोहोरले भरिएका बेलुनहरू देख्नुहुनेछ।

त्यसैले आज हामी शक्तिलाई आफ्नो अन्तिम विजय कार्डका रूपमा प्रयोग गर्न खोजिएका धुरन्धर खेलाडीबीच विश्व मैदानमा उभिएका छौँ। यो मञ्चबाट जता फर्केर हेरे पनि शक्तिको प्रदर्शनमा लागेका खेलाडी मात्र देख्छौँ, दमन देख्छौँ, निर्धोमाथि अन्यायपूर्ण किसिमले गरेका प्रहार देख्छौँ र शक्तिहीनहरू डर र त्रासमा काँपिरहेका देख्छौँ। यहाँ कोही पनि जिम्मेवार र जवाफदेही देख्दैनौँ।

सत्ता समातेर बस्नेहरूबाट पनि कुनै पनि किसिमको जवाफदेहिता पाइँदैन, शक्तिमा हुनेहरू निकै व्यस्त, मस्त र भ्रष्ट मात्र भेटिने गर्दछन्। यिनै शक्ति का खेलाडीहरूले नै संसारमा लोकतन्त्रका ठुल्ठूला कुरा गरेका हुन्छन् तर उनीहरूको लोकतन्त्र कस्तो हो बुझिनसक्नु छ।

लोकतन्त्र आफैँमा उन्नत शक्तिशाली शासन प्रणाली हो। तर विडम्बना यही लोकतन्त्रलाई हाँक्ने शासकहरू जब गैरजिम्मेवार भइदिन्छन्, त्यसबेला जनताले अनेक किसिमका अभाव र दुःख सहन गर्न सिक्नुपर्छ। आमजनतालाई गरिबीबाट मुक्ति  दिने कुरा गर्छन् तर झनझन गरिबी र बेरोजगारी सिर्जना गर्दछन्।

भ्रष्टाचार उनीहरूको पौरख मानिन्छ अनि सडक, पुल जस्ता भौतिक पूर्वाधारको दुरावस्था जनतालाई उपहारका रूपमा प्रदान गरिन्छ। यस्ता शासकबाट न्याय, नैतिकता, इमानदारिताको आशा राख्नु बेकार भइदिन्छ। जनसेवक भनिनेहरू गोजीसेवक बन्न पुग्छन्। उनीहरू कहिल्यै मनवादी हुन सकेका छैनन्, धनवादी भएका छन्। उनीहरूले लोकतन्त्रलाई गोजीमा राखेर हिँडेका छन्। आहा, लोकतन्त्रको सुन्दरता यही होइन र ?

कविता जस्तै कति लचिलो र कोमल हुन्छ है यो महान व्यवस्था। लोकतन्त्रको नाम जपेर शक्ति धारीहरू जनतामाथि विभेदरूपी जादूको छडी कहिलेसम्म चलाउने हो ? अलिकति चाकडी र जयगानबाट यहाँ केही पिँधका अछुत मान्छेहरू पनि शक्तिशाली भइहाल्ने अवसर पनि पाउँदा रहेछन्। यो व्यवस्थामा नेतृत्वमा पुगेपछि नियन्त्रणमा रहेको महसुस गरे पनि उन्मुक्त हाँस्ने गर्दछन्।

शायद यसै भएर होला, शक्तिशाली लोकतान्त्रिक प्रणालीमाथि विश्वभर कुनै पनि खालका प्रश्न नउठेका ? तर त्यस्तो होइन, आज मान्छेहरू प्रशिक्षित भई बिस्तारै बिस्तारै ब्यँुझिरहेका छन् र अब कामहरू कसरी गर्ने हो भनेर प्रश्न सोधिरहेका छन्।

लोकतन्त्र एक महान् प्रणाली हो भनिरहँदा सायद भगवान्लाई पनि धन्यवाद दिन पर्याप्त नहोला। बहुमतले आत्मसात गरेको संसारको लोकप्रिय यो व्यवस्थालाई सम्मान गर्नैपर्छ र यसको उत्पत्तिबारे पनि खोजी गर्नु सान्दर्भिक होला।

यसै सिलसिलामा यहाँहरूलाई प्राचीन सानो सहर एथेन्समा लैजान चाहन्छौँ। प्रारम्भकालीन अवस्थामा एथेन्समा राजतन्त्रात्मक कुलीन शासन प्रणाली थियो। त्यहाँको शासनसत्तामा केवल पुरुषहरूले सत्ताको बागडोर सम्हाल्ने आशीर्वाद पाएका थिए।

 अहिलेको जस्तो महिला, दास, सीमान्तकृत र गैरनागरिकहरूलाई समेटेर समावेशी प्रकृतिको शासन व्यवस्था त्यहाँ थिएन। यस्ता भुइँ मान्छेहरू बहिष्करणमा थिए तर त्यहाँको इतिहासतर्फ फर्केर हेर्दा आममानिसको जीवनशैलीमा खोट लाउन मिल्दैन। हुन त यो व्यवस्था त्यहाँको तीन लाखभन्दा कम जनसङ्ख्याको सानो र व्यवस्थित भीडका लागि बनाइएको थियो।

यी कुरा अहिलेका सन्दर्भमा कसैलाई अपाच्य र असान्दर्भिक लाग्न सक्छ तर आज हामी विश्वभरि प्रजातन्त्रका नाममा खिचडीतन्त्र, अराजकतातन्त्र मात्र देखिरहेका छौँ र अर्काको देखासिकीमा गरिने आयातित सिद्धान्तमा आधारित गतिविधिहरू देखिँदै आएका छन्। यसै सिलसिलामा भ्रम भन्ने कि यथार्थ भन्ने यहाँहरूको जिम्मा। अहिले सबैभन्दा लोकतान्त्रिक अभ्यास भएका देशका रूपमा भारत पर्छ र त्यहाँको डेढ अर्ब जनताका नजरमा लोकतन्त्र प्यारो र राम्रो पनि देखिन्छ।

तर हामीले यहाँ भोगिरहेको लोकतन्त्रमाथि किन गम्भीर प्रश्न उठिरहेका छन् ? साँच्चै नै यहाँको लोकतन्त्रले जनताका मौलिक अधिकारहरू कुण्ठित गरिरहेको छ। शक्ति शालीहरूको मनमौजीको थलो बनेको छ। जनता सधैँ शक्ति शालीहरूको भाले जुधाइमा किचिएका छन्, मिचिएका छन्। लोकतन्त्रका विश्वव्यापी मूल्य र मान्यताहरूको धज्जी उडाइएको छ।

खेल मैदान स्वार्थ र शक्तिको केन्द्र बनेको छ। अधिकार र समावेशिताको जतिसुकै कुरा गरिए पनि बहुसङ्ख्यक जनता चुपचाप दुःख कष्ट सहन विवश छन्। यी सबै पक्षबाट हेर्दा शायद यस किसिमको राजनीतिक शक्ति को खेल अन्यत्र कहीँ पनि छैन। साँच्चै हाम्रो लोकतन्त्र वास्तवमै शक्तिशाली नै छ अझ भनौँ ठूला लाठी बोक्नेहरूको उपयुक्त खेल मैदान जस्तै छ भन्दा अत्युक्ति नहोला।

प्रकाशित: २२ कार्तिक २०८१ ०८:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App