२० आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

अम्बेडकर पार्कका अप्ठ्यारा

मधेस प्रदेश, विशेषगरी सिरहाको लहानस्थित सल्हेस फूलबारी नजिक मधेस सरकारले डा. बाबासाहेब अम्बेडकर पार्क निर्माण गर्ने योजना अघि बढाएको छ। यो परियोजनाको उद्देश्य अम्बेडकरको विचारधारालाई सम्मान गर्दै दलित समुदायको सशक्तीकरण मात्र नभई पर्यटन प्रवर्धन पनि हो। अम्बेडकरको योगदानलाई विश्वव्यापीरूपमा मान्यता दिइँदै आएको भए पनि नेपालमा यस प्रकारको स्मारक निर्माण पहिलोपटक हुन लागेको हो। मधेस सरकारले यस पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड रुपियाँ विनियोजन गरेकोछ।

पार्क निर्माणको सुरुवात गत भदौ १९ गते मधेस प्रदेशका योजना तथा नीति आयोगका उपाध्यक्ष सोहन साह नेतृत्वको एक टोलीसँग पार्क निर्माणका लागि सल्हेस मन्दिरसँग नजिकै रहेको एक कठ्ठा जग्गा स्थानीय पुजारी परिवारले दान दिने प्रतिबद्धता जनाएका थिए। यसरी प्रतिबद्धता जनाउनेमा जितेन्द्र धामी दनुवार, इन्द्रदेव सिंह, कमलदेव सिंह, र उत्तिम सिंह जस्ता व्यक्तिको नाम विशेषरूपले आएको थियो। सल्हेस फूलबारीमा संरचना निर्माणका लागि जग्गा नभएकाले व्यक्तिसँग जग्गा दान लिएर फूलबारीसहितको पार्क निर्माण गर्ने योजना छ। जग्गा दिन तयारहरू सबै सल्हेस मन्दिरका पुजारी हुन् जसले धार्मिक स्थल मात्र नभई सामाजिक न्यायका प्रतीक अम्बेडकरको समेत महत्त्व बुझेका रहेछन् भन्नुपर्ने हुन्छ।

अम्बेडकर पार्कमा राजा सल्हेसको योगदानलाई पनि सम्मानस्वरूप समेटिदै उनको प्रतिमा पनि स्थापना गरिने योजना छ। राजा सल्हेस तराई/मधेसमा रहेका दुसाध (पासवान) जातिसँग सम्बद्ध ऐतिहासिक व्यक्तित्व हुन् जसको स्मरणमा सल्हेस फूलबारी प्रख्यात छ। राजा सल्हेस र अम्बेडकर दुवै सामाजिक न्यायका प्रतीक हुन्। सल्हेस तराई/मधेस क्षेत्रको सांस्कृतिक र धार्मिक पहिचानको प्रतिरूप हुन् भने अम्बेडकर विश्वव्यापी दलित आन्दोलनका नेताका रूपमा परिचित छन्। यी दुई व्यक्तित्वको एउटै स्थानमा स्मारक बनाउनुले सामाजिक न्याय, समानता र सांस्कृतिक एकताका प्रतीकका रूपमा प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

अम्बेडकरको नेपाल प्रभाव  

अम्बेडकर एक बहुज्ञ, विधिवेत्ता, अर्थशास्त्री, राजनीतिज्ञ र समाज सुधारक थिए। उनी भारतीय संविधानका प्रमुख शिल्पी हुन् र उनले भारतको दलित समुदायलाई सामाजिक, आर्थिक, र राजनीतिकरूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। दलित समुदायमाथि भइरहेको विभेद र अन्यायविरूद्ध अम्बेडकरले जीवनभर संघर्ष गरेका थिए। उनले छुवाछुत, सामाजिक बहिष्करण र जातीय अन्यायविरुद्ध व्यापक आन्दोलन चलाए जसले भारतमा मात्र नभई विश्वभरका दलित र उत्पीडित समुदायलाई प्रेरणा दिएको छ।

नेपालमा पनि अम्बेडकरको विचारधाराले दलित समुदायमा गहिरो प्रभाव पारिरहेको छ। अम्बेडकर विचारधाराका आधारमा पहिलो र दोस्रो संविधान सभामा विश्वेन्द्र पासवानको नेतृत्वको बहुजन समाजवादी पार्टीले चुनावमा विजय हासिल गर्नुका साथै मन्त्री हुनसमेत सफल भएका थिए। अहिले पनि मधेसमा हरिनन्द अम्बेडकर र राजाराम पासवान नेतृत्वको बहुजन एकता पार्टीले संगठन विस्तार गर्दै आइरहेका छन्। नेपालमा अझै पनि जातीय विभेदका घटना जारी छन् र दलित समुदायले सामाजिक र आर्थिक क्षेत्रमा पछाडि परेको अनुभव गरिरहेका छन्। अम्बेडकरको विचारधारा समानता, न्याय, र स्वतन्त्रताको पक्षमा छ जसले नेपालको दलित समुदायलाई पनि आफ्नो हक अधिकार प्राप्त गर्न र सामाजिक अन्यायविरुद्ध संघर्ष गर्न प्रेरित गरेको छ।

सल्हेसको सांस्कृतिक महत्त्व  

सल्हेस फूलबारी मिथिला क्षेत्रको एक प्रख्यात धार्मिक स्थल हो। हरेक वर्ष एउटा विशेष रुखमा फूल फुल्छ जसलाई राजा सल्हेसको प्रेमको प्रतीक मानिन्छ। यो विशेष धार्मिक तथा सांस्कृतिक पर्वका क्रममा विशाल मेला लाग्छ जसमा नेपाल र भारतका श्रद्धालुहरूको ठूलो सहभागिता रहन्छ। सल्हेस फूलबारीको सांस्कृतिक महत्त्व दनुवार र दुसाध समुदायसँग विशेषरूपमा जोडिएको छ। यस क्षेत्रमा अम्बेडकर पार्क निर्माणले सांस्कृतिक महत्त्वलाई थप बलियो बनाउने र पर्यटकीय आकर्षणका रूपमा विकास हुने विश्वास गरिएको छ। सल्हेस फूलबारीमा आउने भारतीय श्रद्धालुहरूको संख्या उल्लेखनीय छ र अम्बेडकर पार्कले यसलाई अझै बढाउन मद्दत गर्नेछ।

पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिको सम्भावना

मधेस सरकारको नीति तथा योजना आयोगका उपाध्यक्ष साहले सल्हेस फूलबारीसँगै अम्बेडकर पार्क निर्माणले पर्यटक संख्या बढाउने आशा व्यक्त गरेका छन्। सल्हेस फूलबारीमा दर्शनका लागि भारतबाट ठूलो संख्यामा श्रद्धालुहरू आउने गर्छन् र अम्बेडकर पार्क निर्माणपछि यो संख्या अझै बढ्ने अपेक्षा छ। पर्यटकको संख्या वृद्धिले स्थानीय क्षेत्रको आर्थिक गतिविधि बढ्ने र सामाजिक रूपान्तरणमा टेवा पुर्‍याउने सम्भावना छ।

यो क्षेत्रीय विकासको मात्र मुद्दा नभएर सामाजिक न्यायको मुद्दासँग पनि जोडिएको छ। अम्बेडकर पार्कले मधेस प्रदेशका दलित समुदायलाई गौरवको अनुभूति गराउने र पर्यटन उद्योगसँग जोडिएर रोजगारीका अवसर सिर्जना गर्नेछ। यसले मधेस क्षेत्रको सामाजिक र आर्थिक विकासमा दीर्घकालीन योगदान दिने आशा गरिएको छ।

अम्बेडकर पार्कको विरोध र समाधान

अम्बेडकर पार्क निर्माणको समर्थन र महत्त्वको चर्चा गरिरहँदा केही व्यक्तिले यसको विरोध पनि गरेका देखिन्छ। खासगरी जनता समाजवादी पार्टी नेपालका केही कार्यकर्ताले अम्बेडकरलाई भारतीय व्यक्तित्वका रूपमा चित्रण गर्दै अम्बेडकर पार्कले सल्हेस फूलबारीको गरिमा घटाउने तर्क गरेका छन्। उनीहरूको भनाइमा, बाह्य व्यक्तित्वको स्मारक बनाउँदा स्थानीय धार्मिक स्थलको महत्त्व घट्न सक्ने भन्दै जग्गा दाताहरूलाई जग्गा नदिन प्रभावित गरेका थिए। र, उक्त प्रयास सफल पनि भयो। मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष साहले जग्गा दान गर्ने दाताहरू अहिले आफनो प्रतिबद्धताबाट पछि हटेको जानकारी गराएका छन्। उपाध्यक्ष साहका अनुसार जसपा नेपालका कार्यकर्ताहरूको अम्बेडकर पार्कप्रतिको नकारात्मक प्रतिक्रिया र उत्प्रेरणाका कारण दाताहरू पछि हटेका छन्।

तर यो तर्कले सामाजिक न्यायका लागि गरिएको विश्वव्यापी संघर्षलाई कम आँक्न सक्छ। अम्बेडकर भारतीय मात्र नभई एक अन्तर्राष्ट्रिय व्यक्तित्व हुन् जसको विचारधारा कुनै देशविशेषमा सीमित छैन। अम्बेडकरले दलित र उत्पीडित समुदायका लागि जुन लडाइँ लडे, त्यसले नेपालका दलित समुदायमा पनि गहिरो प्रभाव पारेको छ। नेपालमा जातीय विभेद अन्त्य र दलित सशक्तीकरणका लागि अम्बेडकरको विचारधाराले ठूलो भूमिका खेल्न सक्छ। यसकारण, अम्बेडकर पार्क निर्माण कुनै राष्ट्रिय सीमाभन्दा परको मुद्दा हो। यो सामाजिक न्यायको सन्देश फैलाउने र दलित समुदायलाई सशक्त बनाउने प्रयासको अंग हो। यसले सल्हेस फूलबारीको धार्मिक महत्त्वलाई हानि पुर्‍याउने होइन, बरु सामाजिक न्याय र सांस्कृतिक गौरवलाई समाहित गरेर पर्यटन प्रवर्धनको नयाँ अवसर सिर्जना गर्नेछ।

अम्बेडकरको योगदानलाई सम्मान गर्दै विश्वभरका विभिन्न देशमा उनको नाममा पार्क, पुस्तकालय र स्मारकहरू निर्माण भएका छन्। अम्बेडकरको विचारधाराले केवल भारतमा मात्र नभई विश्वका अन्य देशमा पनि गहिरो प्रभाव पारेको छ। भारतको लखनउस्थित अम्बेडकर पार्क भारतकै सबैभन्दा प्रसिद्ध स्मारकमा गनिन्छ जहाँ अम्बेडकरको प्रतिमा र अन्य सामाजिक न्यायका नेताहरूको स्मरण गरिएको छ।

मुम्बइको चैत्य भूमि अम्बेडकरको समाधिस्थल हो जहाँ लाखौँ श्रद्धालु ओइरिन्छन्। त्यसैगरी अमेरिकाको सिकागोमा अम्बेडकरलाई सम्मान गर्दै स्मारक र पुस्तकालय स्थापना गरिएको छ। उता बेलायतको लन्डनमा अम्बेडकर बसेका घरलाई संग्रहालयमा परिणत गरी अम्बेडकर हाउन नामकरण गरिएको छ। यसरी नै जापानको टोकियोमा पनि अम्बेडकरको सम्मानमा पार्क बनाइएको छ।

अन्त्यमा,

मधेस प्रदेशमा सल्हेस फूलबारी नजिक निर्माण हुने अम्बेडकर पार्कले सामाजिक न्यायको सन्देश प्रवाह गर्दै पर्यटन विकासमा पनि महत्त्वपूर्ण योगदान दिनेमा शंका छैन। राजा सल्हेस र अम्बेडकर जस्ता दुई महत्त्वपूर्ण व्यक्तित्वको स्मरणमा यो परियोजना दिगो विकास र सांस्कृतिक गौरवको प्रतीक बन्नेछ। तर नीति र सिद्धान्तमा जसपा नेपालका नेताहरूले दलितको पक्षमा वकालत गरेका भए पनि अम्बेडकर पार्क निमार्णमा खेलेका नकारात्मक भूमिकालाई दलित समुदायले अगामी दिनमा पक्कै मूल्यांकन गर्नेछन्।

– पासवान दलित अधिकार अभियन्ता हुन्।

प्रकाशित: १५ आश्विन २०८१ ०९:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App