१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
विचार

सधैं सान्दर्भिक प्रजातान्त्रिक समाजवाद

बिपी अर्थशास्त्री थिएनन्। तर उनले समकालीन विश्वका प्रख्यात अर्थशास्त्रीहरूका पुस्तक पढेका थिए। उनले माक्र्सवादी अर्थशास्त्र/आर्थिक नीति अर्थात् माक्र्सवादको गहिरो अध्ययन गरेका थिए। उनी अरू कैयौँ युरोपियन र एशियाली समाजवादीहरूका विचार र दर्शनबाट पनि प्रभावित थिए। उनले जे जति अध्ययन गरे, त्यसबाट निर्मित चिन्तनलाई मन्थन गरेर प्रजातान्त्रिक समाजवादको वैचारिक आधारशीला निर्माण गरे।

उनले प्रजातान्त्रिक समाजवादको औचित्य र सापेक्षिकता नेपाली समाजका लागि मात्र नभई अल्पविकसित एवं विकासशील तेस्रो विश्वका राष्ट्रहरूकै निम्ति रहने विचार प्रस्तुत गरेका छन्। आर्थिक दृृष्टिले समानताको सिद्धान्तलाई समाजवादले स्वीकार गर्छ र राजनीतिक दृष्टिले समानताको अवधारणालाई प्रजातन्त्रले मूर्त रूप दिन्छ भन्ने प्रजातान्त्रिक समाजवादी चिन्तनको फराकिलो क्षितिजमा बिपी विचार प्रवाहित  भएको पाइन्छ।

समाजवाद आर्थिक विचारधारा हो। सामान्यतः विश्व राजनीति नै आर्थिक दृष्टिकोण र चिन्तनका पृष्ठभूमिमा सञ्चालित रहँदै आएको हुँदा समकालीन विश्वको राजनीतिलाई अर्थराजनीति भन्न थालिएको बुझिन्छ। यस परिप्रेक्ष्यमा बिपीले आफ्नो प्रजातान्त्रिक राजनीतिक चिन्तनलाई समाजवादरूपी आर्थिक धरातलमा एकीकृत गरेर नयाँ ढंगमा परिभाषित गरे। त्यसैले उनीद्वारा संश्लेषित राजनीतिक र आर्थिक चिन्तनलाई प्रजातान्त्रिक समाजवादका रूपमा बुझ्न सकिन्छ। उनले समकालीन विश्व राजनीतिको अध्ययन एवं विश्लेषण गरेर प्रजातन्त्रबिनाको समाजवाद एकपक्षीय अधिनायकवादी कम्युनिस्ट प्रणाली बन्न जान्छ र समाजवादबिनाको प्रजातन्त्र अर्को दक्षिणपन्थी तानाशाही प्रणाली बन्न पुग्छ भन्ने विश्लेषण गरे।

बिपी यी दुवैखाले अतिवादी राजनीतिक चिन्तन एवं प्रणालीविरुद्धमा रहे। यस आलेखमा बिपीले किन प्रजातान्त्रिक समाजवादको मध्यमार्गी राजनीतिक चिन्तन र सोअनुसारको समाज निर्माणमा जोड दिएका हुन् भन्ने सन्दर्भमा उनको डायरीमा प्रकाशित लेखहरूका आधारमा संक्षिप्त चियाउने प्रयत्न गरिएको छ।

औद्योगिक क्रान्तिसँगै बेलायतबाट सुरु भएको पुँजीवाद युरोपेली मुलुकहरूमा फैलिँदै अमेरिकासम्म विस्तारित भयो। बेलायतमै बसेर माक्र्सले आफ्ना अधिक कृतिहरू रचना गरे।

औद्योगिक मुलुकहरूका मजदूरलाई कम्युनिस्ट घोषणापत्र र पुँजीलगायत माक्र्सका कृतिहरूले ब्युँझाउने काम गरे। औद्योगिक मजदूरहरूको वर्गीय समानताको नाराले पुँजीवादी मुलुकहरू सँगसँगै गैरपुँजीवादी र विकासशील मुलुकमा समेत प्रभाव पार्दै ल्यायो।

सन् १९१७ मा रुसमा अक्टोबर क्रान्ति भयो। लेनिनले माक्र्सवादलाई रुसी सापेक्षतामा ढाल्दै लागु गर्न खोजे। रुसी क्रान्ति वर्गीय समानताका लागि भएको थियो। कम्युनिस्ट पार्टीले सर्वहारा, मजदूर वर्गको नेतृत्व गर्ने भन्ने लेनिनको दृष्टिकोण रह्यो। उनले रुसमा माक्र्सवादमा आधारित कम्युनिस्ट पार्टी स्थापना गरे। उनीपछि स्टालिनले नेतृत्व गरे।

स्टालिनले पूर्वी युरोपमा कम्युनिस्ट शासन व्यवस्था विस्तार गर्न भूमिका खेले। माक्र्सवादको वैचारिक पृष्ठभूमिमा रुस (सोभियत संघ) मा लागु गरिएको साम्यवादलाई समाजवाद भनियो।

दोस्रो विश्वयुद्धपछि सोभियत संघ र पश्चिमी गठबन्धनबीच शीतयुद्ध आरम्भ भयो। नेटो र वार्सा प्याक्ट आबद्ध सैनिक संगठनहरू एकापसमा प्रतिद्वन्द्वीका रूपमा रहे। अमेरिकासहित पश्चिमी राष्ट्रहरूको यस पृष्ठभूमिमा विकसित राजनीतिलाई बिपीले यथार्थपरक ढंगमा विश्लेषण गरेका छन्।

दोस्रो विश्वयुद्धभन्दा पहिलेसम्म युरोपेली र अमेरिकासहितका मुलुकहरूमा पुँजीवादी अर्थतन्त्र मौलाएको थियो। आर्थिक सम्पन्नताका कारण ती मुलुकमा उत्पन्न उन्मादले युद्धका लागि हातहतियारको उत्पादनमा वृद्धि तथा अन्य सामरिक पृष्ठभूमि निर्माण भयो।

बढ्दो औद्योगिकीकरणले पश्चिमी मुलुकहरू समृद्धिको शिखरमा थिए। सँगसँगै धनी र गरिबबीचको खाडल पनि फराकिलो बनेको थियो। थोरै पुँजीपतिहरू धनी हुनुको कारण गरिबको संख्या उल्लेख्य थियो। त्यसबाट समाजमा असन्तुष्टिको लहर बढ्दै गयो।

औद्योगिक मुलुकहरूमा तत्काल विद्यमान असन्तुष्टिको जनलहर तीव्र भएका बेला भएको द्वितीय विश्वयुद्धपछि ती देशमा वैयक्तिकतवरमा एक्लो एवं निसहायपन र सामाजिकतवरमा असुरक्षाको भावना बढेर गयो। औद्योगिक मुलुकका आमजनतामा बेरोजगारी, गरिबी बढ्दै गएर आफ्नो अस्तित्वप्रति नै प्रश्नचिह्न लागेको अनुभूति रहेको विश्लेषण बिपीले गरेका छन्-समकालीन पुस्ताका सिर्जनशील र संवेदनशील आत्माहरू आधारभूत प्रकृतिका संकटबाट आक्रान्त छन्।

यी संकटमध्येको एक हो शास्त्रीय खुला बजार नीतिसहितको पुँजीवादबाट निस्सृत विनाशकारी परिणामसहितको आवधिक बेरोजगारी, स्थायी गरिबी, उत्पादन र वितरणमा समस्या तथा विश्वयुद्धले ल्याएको संकट।

विश्वयुद्धको महाप्रलयले भौतिकरूपमा मात्र नभई सामाजिक, आर्थिक, सांस्कृतिक सबै हिसाबले एउटा पुस्तालाई नै निराशा र दिशाबिहीनताको डरलाग्दो भासमा पु¥याएको अवस्थालाई बिपीले मिहीनरूपमा केलाएका छन् -विश्वयुद्ध र त्यसमा खसालिएका बमहरूले पुँजीवादी संकटको चरम अवस्था दर्शाएको थियो।

यस्तो प्रलयकारी अनुभवको प्रभावमा उनीहरूले आफ्ना सबै परिलक्षित मूल्य र आदर्श गुमाए। उनीहरू एउटा दिशाबिहीन पुस्ता बन्न पुगे जसले आफूलाई बाँच्ने सबै आधार गुमाएकोले युद्धद्वारा ध्वस्त पारिएका युरोपेली शहरहरूमा, कुनै भग्नावस्थामा जस्तो एक्लोपन र विक्षिप्तताको अनुभूति गरे। जीवनमा कुनै सार्थक उद्देश्य नरहेको अनुभूति गर्दै चरम थकानका बीच निराशा व्याप्त आकाशबाट एक झुल्को घामको प्रतीक्षामा पलपल बाँचिरहे। धेरैजसो त थकानका शिकार बन्न पुगे।

अर्कातिर, बिपीले तत्कालीन सोभियत संघले अपनाएको समाजवादी व्यवस्थाले उत्पन्न गराएका सामाजिक एवं राजनीतिक प्रभाव र परिणतिहरूबारे पनि विश्लेषण गरेका छन्। माक्र्सले जुन समाजवादको परिकल्पना गरेका थिए, त्यसको व्यावहारिक पक्षप्रति जनतामा वितृष्णा उत्पन्न हुन थालेको थियो।

 वैयक्तिक र राजनीतिक स्वतन्त्रताबिहीन सोभियत समाजवाद (साम्यवाद) ले समकालीन पुस्तामा निराशा बढाइरहेको थियो। युद्धोपरान्त पुँजीवादी मुलुकमा जनस्तरमा जुन उदासीनता र अन्योल उत्पन्न भयो, समाजवादी (साम्यवादी) शिविरमा पनि उसैगरी निर्देशनाात्मक स्थिति उत्पन्न भयो।

पुँजीवादविरुद्ध खडा गरिएको सोभियत साम्यवादी व्यवस्था केवल आफ्नो प्रभाव र सांगठनिक मजबुतीकरणमा मात्र केन्द्रित देखियो जहाँ जनस्तरका आशा र सपनाहरू मुलुकरूपी खुला बन्दी शिविरभित्र निसास्सिइरहे। रुसी प्रयोगको माक्र्सवादी–लेनिनवादी समाजवादले बहुसंख्यक जनतामा निराशा मात्र बढायो। माक्र्सले जुन समाजवादको परिकल्पना गरेका थिए, त्यसको प्रयोग जसरी रुसमा गरियो, समकालीन पुस्तामा त्यसले संकट उत्पन्न गरायो।

रुसमा समाजवाद भन्नु पुँजीवादको तातो कराइबाट आगोको ज्वालामा हामफाल्नु जस्तै भएको विचार बिपीले व्यक्त गरेका छन्-एउटा असल समाजको कल्पना गर्ने माक्र्स त्यस्ता व्यक्तिहरूका लागि अचुक प्रणेता थिए जहाँ व्यक्तिवाद, कुनै अर्थलिप्सा रहन्न र जहाँ थोरैको समृद्धि धेरैको गरिबी बन्दैन। तर एकदम ठूलो आशा बोकी ल्याएको रुसी प्रयोगपछिको मोहभङ्गता तीव्र र गहिरो हुन गयो। समाजवाद भन्नु पुँजीवादको तातो कराईबाट भुंग्रोमा जानु जस्तो भयो।

पुँजीवादी र साम्यवादी समाजको युद्धोत्तर कालको विश्लेषण गर्ने क्रममा बिपीले पछिल्लो चरण (सन् १९६० को दशक) सम्म आइपुग्दा पुँजीवादी मुलुकहरूले प्राप्त गरेका भौतिक उपलब्धिहरूबारे चर्चा गरेका छन्। प्राप्त उपलब्धिहरूलाई सिद्धान्तकै प्राप्तिका रूपमा मात्र सीमित नराखी बिपी तिनको जगेर्ना पनि गर्दै जानुपर्ने चिन्तन गर्दछन्, ‘समाजवाद फगत सिद्धान्तको निरूपण वा कार्यक्रमको तर्जुमामा सफलता पाउनु मात्र होइन, यो त थकानका चरणहरूमा बिस्तारै उपलब्धिहरू जगेर्ना गर्दै एउटा अभियानका रूपमा विकास गर्नु पनि हो।’

 समाजवाद अल्पसमयका लागि मात्र नभएर यो एउटा निरन्तररूपमा अघि बढिरहने जीवनकै संस्कृति रहेको महसुस बिपीले गरेका छन्। विकसित मुलुकहरूमा प्राप्त समाजवादी उपलब्धि पहिल्यैदेखिका समाजवादी चिन्तकहरूद्वारा व्यक्त हुँदै आएका सामाजिक सांस्कृतिक चिन्तनका उपलब्धि रहेको उनी बताउँछन्।

कुनै क्रान्ति वा अकस्मात परिवर्तित परिस्थितिको उपज नभएर समाजवाद समाज वा मानव जीवनका लागि स्वाभाविकतवरमा निरन्तरको उन्नयनको मार्ग रहेको उनको आशय बुझ्न सकिन्छ।

बिपी समाजवादप्रतिको बुझाइ र अनुशरणमा विरोधाभाष रहेको देख्छन्। समृद्ध मुलुकहरूले आफ्नै मुलुकका लागि मात्र समाजवादी कार्यक्रम लागु गरेमा ती सफल नहुने बिपीको ठहर रहेको पाइन्छ। आआफ्ना मुलुकहरू र आफूद्वारा प्रत्यक्ष प्रभावित अन्य मुलुकहरूलाई मात्र समाजवादका उपलब्धिहरूद्वारा लाभान्वित गराउन खोज्दा विगतमा कैयौँ युद्ध, महायुद्ध भए।

शक्तिशाली मुलुकका हैसियतमा रहिरहन खोज्दाका परिणामहरू थिए ती। थोरै धनी र धेरै गरिबहरू भएको विश्व समाज बन्ने कारणहरू थिए ती। थोरै धनी र धेरै गरिब भएको समाज जहिले पनि द्वन्द्वकै स्थितिमा रहिरहन्छ। तसर्थ सम्पन्न मुलुकहरूले विपन्न मुलुकहरूलाई सहयात्री बनाएर अघि बढ्नुपर्छ। विश्वभरिकै पिछडिएका जनतालाई उठाउने प्रयत्न धनी मुलुकबाट गरिनुपर्छ। अनि मात्र उनीहरूले अपनाएको समाजवादले आफ्नो सान्दर्भिकतालाई सार्थक गराउँछ भन्ने दृष्टिकोण बिपीले राखेका छन्-यदि समाजवादीहरूले आर्थिकरूपले पिछडिएका मुलुकहरूको वस्तुस्थितिलाई आधार बनाएर सोच्न थाले भने उनीहरू आफ्नो समाजवादलाई अर्थपूर्ण बनाउन सक्नेछन्। उनीहरूको समाजवादले एउटा साँच्चिकैको अन्तर्राष्ट्रिय दृष्टिकोण बनाउन जरुरी छ। उनीहरूका प्रतिबद्ध प्रयासहरूको आगामी लक्ष्य भनेको संसारका नै ती तमाम गरिब जनता हुनुपर्दछ जसको सामाजिक, राजनीतिक र आर्थिक दशा उनीहरूले सुधार्नुपर्नेछ। अनि मात्र युरोपेली समाजवाद सार्थक बनेर आफ्नो सान्दर्भिकता स्थापित गर्न सक्नेछ ।

बिपीले विश्वका समाजवादी, पुँजीवादी मुलुकहरूको तत्कालको विद्यमान सामाजिक आर्थिक स्थितिबारे मात्र नभई विश्व युद्धोत्तर समयमा विश्व राजनीतिमा उदाएका असंलग्न राष्ट्रहरूको तत्कालीन अवस्था एवं शीतयुद्धका कारणहरूबारे पनि विवेचना गरेका छन्।

समकालीन विश्व राजनीतिको यथेष्ट ज्ञान र त्यसको वस्तुपरका विश्लेषण गर्ने सामथ्र्य भएका बिपीले पुँजीवाद र साम्यवादको गर्भबाट उत्पन्न हुन सक्ने तानाशाही वा कुनै पनि अधिनायकवादले जुनसुकै मुलुकका लागि दीर्घकालीनरूपमा दुष्परिणाम नै ल्याउनेछ भन्ने निष्कर्ष निकालेका देखिन्छन्। यो उनको विश्व दृष्टिकोण पनि रहेको बुझ्न सकिन्छ।

२०१२ सालदेखि नै नेपालका लागि प्रजातान्त्रिक समाजवादको आवश्यकता र औचित्यमाथि बिपीले किन आफ्ना राजनीतिक चिन्तनलाई केन्द्रमा राखेर विचार व्यक्त गरिरहे भन्ने कुरा बुझ्न विश्व राजनीतिक विश्लेषणसहितका उनका विचारहरूलाई मनन गर्नुपर्ने देखिन्छ।  

प्रकाशित: २५ भाद्र २०८१ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App