२४ असार २०७७ बुधबार
विचार

फाइल बढुवा, छाताधारी र जुझारु कांग्रेस

विराटनगरबाट काठमाडौँ उड्ने बुद्ध एयरको जहाज ‘डिले’ भएर म विराटनगर विमानस्थलमा बसिरहेको छु। मेरो दायाँवायाँ उर्लावारी, धरान र विराटनगरका भद्रभलाद्मीहरू राजनीतिक चर्चा गर्न व्यस्त छन्। हिजोआज विमान ढिलो हुनु स्वाभाविक भएको छ, अनि काठमाडौँ विमानस्थलमा ‘एयर ट्राफिक जाम’ को हैरानीले नयाँ भर्सनको लोडसेडिङझैँ सास्ती यात्रुले बेहोर्न बाध्य छन्। विद्युत् प्राधिकरणमा झैँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि अर्को कुलमान घिसिङको प्रतीक्षामा छ। हेरौँ, कहिले को होला?

विमानस्थल परिसरमा कांग्रेस पतन हुन्छ– एकथरी यो चर्चामा व्यस्त छन्। अर्कोथरी अर्थमन्त्री युवराज खतिवडाले जारी गरेका श्वेतपत्रको छलफलमा व्यस्त छन्। केही कांग्रेसजन खुमबहादुर खड्कालाई श्रद्धाञ्जली दिन हिँडेका छन्।  विराटनगर विमानस्थलभित्र रहेका कुर्सी भरिएका कारण कैयन् यात्रुझैँ म पनि बाहिर चौरमा रुखको छहारीमुनि बसी यो लेख अगाडि बढाउँदैछु।

कांग्रेस अचम्म र आश्चर्यलाग्दो पार्टी देखेँ मैले यो पटकको पूर्वाञ्चल भ्रमणमा। कांग्रेस पार्टी हार्दा पनि यत्रतत्र चर्चा यही पार्टीको छ। यहाँसम्म कि विराटनगरको भट्टीपसल र पानपसलवाला पनि कांग्रेसले सरकार बनाएको भए बजारको रौनक नै अर्को हुन्थ्यो तर के गर्नु कम्युनिस्टले सरकार बनाए, पसल नै चौपट भयो भनीगुनासो गरेको सुनियो। विमानस्थल बाहिर चौरमा सेयर बजारको स्थिति देखेर पैसा डुबेको कुरा नगर्ने नेपाली विरलै देखेँ। मध्यमवर्गीय नेपालीलाई सेयर बजारले सधैँ सम्पन्नतामात्र दिन्छ भन्ने भ्रम रहेछ, अहिले ती तीनछक्क परेका छन्।

नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा फाइल बढुवा कांग्रेस हुन्। त्यस्तै देउवासँग पार्टीभित्र नेतृत्वको आन्तरिक प्रतिस्पर्धा गरिरहेका रामचन्द्र पौडेल पनि फाइल बढुवा कांग्रेस नै हुन्।

मसँग उत्सुकतापूर्वक भेट्ने धेरैजसो कांंग्रेस समर्थक नै हुन्छन् र तिनको प्रश्न एउटै रहन्छ- अब कांग्रेस के हुन्छ? र कसले बचाउला कांग्रेसलाई? विराटनगरको विमानस्थलमा पनि मलाई यस्ता प्रश्न सोध्नेहरूअगाडि आए। के कांग्रेस फेरि आफ्नो गौरवशाली इतिहासमा फर्कन सक्ला? पूर्वी नेपाल घुम्दा मैले चिनेका र नचिनेका धेरैले मलाई कांग्रेसको भविष्यबारे सोधे। कांग्रेसको भावी नेतृत्वबारे सोधे? मलाई उत्तर नदिई उम्कने छुट विरलै हुन्थ्यो। कांग्रेसले मलाई पछ्याउन छाड्दैन र म पनि कांग्रेससँग चुँडिएर बस्नै नसक्ने भएछु। यिनै प्रकरणमा मैले कांग्रेस कस्तो छ र यसको भविष्य कस्तो होला भनी गरेका अनेक संवाद र अन्तरक्रियालाई संक्षिप्तमा तल राख्छु।

कांग्रेस तीन प्रकारको छ। पहिलो फाइल बढुवा कांग्रेस, दोस्रो छाताधारी कांग्रेस र तेस्रो जुझारु कांग्रेस। तीन विभागमा विभाजित कांग्रेसको संयोजन गर्नसक्नेले भविष्यमा कांग्रेसको नेतृत्व र पार्टीलाई पुनर्जीवन दिनसक्ला भन्ने आकलनमा मभेटघाट र छलफलबाट पुगेँ।

फाइलबढुवा कांग्रेस  
नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा फाइलबढुवा कांग्रेस हुन्। त्यस्तै देउवासँग पार्टीभित्र नेतृत्वको आन्तरिक प्रतिस्पर्धा गरिरहेका रामचन्द्र पौडेल पनि फाइलबढुवा कांग्रेस नैहुन्। फाइलबढुवा कांग्रेसको संघर्षको लामो पृष्ठभूमि छ। त्याग र निस्वार्थ भावले यी कुनैकालखण्डमा प्रजातान्त्रिक संघर्षमा होमिएका थिए, खासगरी २०२२देखि २०३३ सम्मको कठिन संघर्षका दिनहरूमा। यिनलाई तिनताका राज्यले अराष्ट्रिय तत्व र कम्युनिस्टहरूले भारतीय दलाल भने पनि नेपाली समाजले ‘दुःख पाएका कांग्रेसीहरू’ भनी चिन्थे।

२४ क्यारेट शुद्ध कांग्रेस महामन्त्री शशांक कोइराला छाताधारी कांग्रेसको विम्ब भएर उभिएका छन्। यिनलाई कांग्रेस नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरू भरोसा र विश्वास कति गर्छन् एकिनसाथ भन्न गाह्रो छ। गगन थापा जुझारु कांग्रेसका प्रतिविम्ब हुन् यतिखेर। यिनको जुझारुपनले कांग्रेस जस्तो पार्टीमा सशक्त गणतन्त्रवादी समूहको उदय भयो।

जब लोकतन्त्र हरण भयो र २००७ साले पुस्ता जेल वा निर्वासनमा थिए, त्यो कठोर र संघर्षका दिनहरूमा अहिलेका फाइलबढुवा कांग्रेसको सशक्त पंक्ति नेपालभर निर्माण भयो। सन् साठीको मध्यबाट सुरु भएको कांग्रेसको फाइल बढुवा पुस्ता साँच्चै नै  दुःखपाएका थिए, समाजमा प्रतिष्ठित पनि थिए। विद्यार्थी राजनीतिबाट कांग्रेससँग आबद्ध यो पुस्तासँग आफैँ देशमा नेतृत्व लिएर लोकतन्त्र पुनस्र्थापित गर्नसक्ने जुझारुपन भने थिएन। यो पुस्ता २००७ साले पुस्ताको नेतृत्वमा ओत लागेर बस्यो अर्थात बिपी कोइराला, गणेशमान सिंंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, सुवर्णशमशेरलगायत कैयन् पुराना पुस्ताको ओत र आशीर्वादमै यो पुस्ताले आफ्नो लोकतान्त्रिक संघर्ष समर्पण गरेको थियो। धेरै सक्रिय थिएन यो पुस्ता तर आस्थाको राजनीतिमा बन्दी जीवन, प्रवास र व्यक्तिगत सुखसयल भने त्यागेको देखियो। एकथरी मनोविश्लेषकहरू यस्तो समूहलाई अकर्मण्यताको आस्थाका बन्दी पनि भन्दारहेछन्।

सन् साठीको मध्यबाट सुरु भएको यिनको कांग्रेस फाइललाई नब्बेको प्रारम्भमा ‘बढुवाको बम्पर उपहार’ नै प्राप्त भयो। गणेशमान सिंहको नेतृत्वमा सफल लोकतान्त्रिक आन्दोलनको फलिफाप फाइलबढुवा कांग्रेसलाई हुनेवाला थियो, भयो। कैयन् संघर्ष गरेका, संघर्षबाट थाकेका, देशबाट पलायन भएका, अनेकन् पेशागरी वसेका सबैका लागि लोकतन्त्रले बृहत् अवसर दियो।

अवसरवादीहरूमात्र होइन, संघर्ष र पार्टी राजनीतिबाट टाढा पुगेकाहरू पनि धुलो जमेको आफ्नो पुरानो लोकतान्त्रिक इतिहासको उत्खनन् गर्दै र लोकतन्त्रको गीत गाउँदै फेरि कांग्रेससँग आबद्ध हुन आए। झगडालु र शंकालु २००७ साले पुस्तालाई कांग्रेसमा निर्माण भइरहेको फाइलबढुवा पुस्ताले सजिलै विस्थापित गर्न सम्भव थिएन, त्यसैले फाइल बढुवा कांग्रेसले लोकतन्त्र पुनस्र्थापनाको सुरुका वर्ष २००७ साले पुस्तामाथि भक्तिभाव देखायो र पछि यी दुई पिँढीबीच घमासान प्रतिस्पर्धा नै भयो। गिरिजाप्रसाद कोइरालसँंगै सातसाले कांग्रेसको अन्त भयो।

फाइलबढुवा कांग्रेस झुण्डमा कैयन्ले टिपेक्स लगाएर आफ्नो नम्बर बढाए र पार्टीमा छलाङ मारे। कैयन्लाई २००७ साले कांग्रेस नेताले क्रेन लगाएर ताने, ती महत्वाकांंक्षीमात्र भएनन्, पार्टीमा भष्मासुर नै भएर पनि निस्किए। कैयन् फाइलबढुवा कांग्रेस समयसँग तादात्म्यता मिलाउन नसकेर कुना पसे। सत्ताको राजनीतिक दाउपेचबाट ती अनभिज्ञ थिए र विरक्तिएको कांग्रेस भए। वैरागी कांग्रेसलाई सुनियोजित किसिमले विस्थापित गर्न सन् ९० को दशकपछि महत्वाकांक्षी भएर ‘छाताधारी कांग्रेस’ उदाउँदै थियो, अर्थात मोरङ, काठमाडौँ, ललितपुर, बाँके, धनुषा र सुनसरी जस्ता जिल्लामा यसका डोब प्रशस्त थिए, छन्। फाइल बढुवा कांग्रेसको अन्तिम प्रतिनिधि पात्र शेरबहादुर हुने कि रामचन्द्र पौडेल? अहिले नै निष्कर्ष निकाल्न हतारो होला।

छाताधारी कांग्रेस
२४ क्यारेट शुद्ध कांग्रेस महामन्त्री शशांक कोइराला छाताधारी कांग्रेसको विम्ब भएर उभिएका छन्। यिनलाई कांग्रेस नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरू भरोसा र विश्वास कति गर्छन् एकिनसाथ भन्न गाह्रो छ। तर यिनका पिता बिपी कोइरालाप्रति अन्याय गर्न भने कुनै कांग्रेसजन चाहँदैनन्, बिपीको पुँजी भजाएर कांग्रेस महामन्त्री शशांकले आफ्ना पिताप्रतिश्रद्धाञ्जली अर्पण गर्दैछन्, यी लायक छन् कि नालायक ‘रिसोर्ट राजनीति’ गरिरहेकाले यस विषयमा शशांकलाई धेरै भनिरहनुपर्दैन।

बिपीको छाता ओढेर शशांक जनता र पार्टी कार्यकर्ता दुवैको भोट सहजै पोल्टामा पार्न सफल छन् विगत एक दशकदेखि। अन्यथा, कांग्रेसमा निष्ठापूर्वक लागेका र जनतासँग जोडिएका हजारौँ शशांकहरू यतिखेर गाउँ र सहरका गल्लीमा आफ्ना सन्तानलाई आफ्नै इतिहास धुरुधुरु रोएर सुनाइरहेका भेटिन्छन्। शशांकले खेलेको राजनीतिक भूमिकाले दक्षिण एसियामा चलेको पारिवारिक वर्चश्वको राजनीतिको निरन्तरता हो, यो नेपालमा चल्न सक्छ कि सक्दैन? परीक्षणमा छ। दक्षिण एशियामा यसकारण पनि नेपाल अन्य देशभन्दा फरक छकि यहाँ जस्तो भीमकाय कम्युनिस्ट शक्ति अरु कुनै दक्षिण एशियाका मुलुकमा छैनन्।

पश्चिमाहरू दक्षिण एशियाको राजनीतिलाई जिस्काउनुपर्दा पहिले पहिले ‘टियर्स पोलिटिक्स’ भन्थे अर्थात आँसु र भावनाको राजनीति। हिजोआज भारतको लोकतन्त्रलाई जिस्काउनुपर्दा ‘छाताधारी राजनीतिज्ञ’ भनिन्छ। छाताधारी राजनीतिज्ञ हाम्रो नेपालमा पनि अब कमी छैन। अब त फाइलबढुवा कांग्रेसका सन्तान पनि आफ्नो बुबाको छाता ओढी राजनीतिमा होमिन थालेका संकेत प्रशस्तै देखिँदैछन्। तर कांग्रेस महामन्त्री शशांक कोइराला जस्तो बेजोड छाताधारी कांग्रेस भने विमलेन्द्र निधी, प्रकाशमानसिंह, शेखर कोइराला, सुजाता कोइराला कोही पनि हुन सम्भव छैन। अहिलेसम्म छाताधारी कांग्रेसबाट संभावना बोकेर कांग्रेस नेतृत्वमा पुग्ने छाँट देखिएन कसैको। केही पारिवारिक लिगेसी र केही व्यक्तिगत मेहनत अनि विचार प्रवाह गर्ने क्षमताका कारण डा. शेखर कोइरालाले छाताधारी कांग्रेसको अर्धप्रतिनिधित्व गरेर अगाडि आउने संभावना भने समाप्त भएको छैन।

जुझारु कांग्रेस
गगन थापा जुझारु कांग्रेसका प्रतिविम्ब हुन् यतिखेर। यिनको जुझारुपनले कांग्रेस जस्तो पार्टीमा सशक्त गणतन्त्रवादी समूहको उदय भयो। गणेशमान सिंहले ‘सफ्ट कम्युनिस्टसँग’ कार्यगत एकता गरेर पहिलो आन्दोलनको नेतृत्व गरेका हुन्, गिरिजाप्रसादले ‘हार्ड कम्युनिस्ट’ सँग दोस्रो जनआन्दोलनका लागि सहकार्य गरे। र, यसको राजनीतिक आधारभूमि गगन, प्रदीप, विश्वप्रकाश, गुरु घिमिरे, कुन्दन काफ्लेलगायत अनेकन तत्कालीन युवाहरूले निर्माण गरे कांग्रेसका लागि।
गगनको पुस्तालाई २००७ साले र छाताधारी पुस्ताले बेवास्ता गर्न नसकेको कारणयही छ। यो समूहले अजेन्डा र सडक सक्रियता दुवैमा जुझारुपन देखाउन सकेको हो। गगनसँगै झण्डै एकदर्जन युवा राष्ट्रिय राजनीतिमा देखापरे कांग्रेसभित्र। आज जुझारु कांग्रेसका युवाबीच प्रभावशाली विश्वप्रकाश शर्मा पार्टी प्रवक्ता हुन संभव  कसरी भयो होला? सामान्य अवस्थामा विश्वप्रकाशलाई कांग्रेस पार्टीको प्रवक्ता हुन अझै एक दशक होइन, दुई दशक लाग्ने थियो।

एक्काइसौँ शताब्दीको प्रारम्भमै रिपब्लिक नेपालको नागरिक हुन पाउनु नेपालीका लागि गौरवको विषय हुन गयो। बिपी कोइरालाले २००४ सालमा मोहनशमशेरलाई ‘सरकार अब पुर्पुरोमा लेखेर होइन, जनताबाट निर्वाचित प्रमले शासन गर्ने दिन आए’ भनेका थिए। सही अर्थमा भाग्यवादर पुर्पुरोबाट स्वतन्त्र हुने अवसर नेपालीले गणतन्त्रसंँगै पाए। नेपालमा सामन्तवादको संवैधानिक अन्त भए पनि समाजमा जरा गाडेर बसेको सामान्तशाही परिवारवाद अहंकारी छ,जीवन्त छ।

दिवंगत कांग्रेस नेता खुमबहादुर खड्का अहिलेका जुझारु कांग्रेस पंक्तिभन्दा कम जुझारु युवा थिएनन् आफ्नो यौवनकालमा। लोकतन्त्र पुनस्र्थापनाका लागि खुमबहादुरले जुन दुःख र हण्डर खाए आज त्यही कारण उनी हामीबीचबाट चाँडै बिदावारी भए। तसर्थ बुझ्नुपर्ने के छ भने सिंहदरवारको राजनीतिक प्रणाली र हाम्रो सामाजिक सामन्तवादले कैयन् ऊर्जावान युवाहरूको तेजोवोध गरेको छ। सेक्सपियरको ड्रामाको पात्रझैँ ‘ट्रायजिक’ अन्त भएको छ।

उदार लोकतन्त्रले विश्वव्यापीरूपमा नै चुनौती भोग्दैछ। नेपालमा पनि जुझारु कांग्रेसले मात्र कम्युनिस्टको निरंकुशता र राष्ट्रलाई पार्टीकरण हुनबाट जोगाउन सक्लान्। फाइल बढुवा र छाताधारी कांग्रेसबाट सडक र सदनमा कम्युनिस्टसँग वैचारिक र शारीरिक प्रतिस्पर्धा गर्न संभव नै छैन। गगन थापालगायत उनको पंक्तिको ऊर्जा खेर जाने हो कि कांग्रेस र देशले सदुपयोग गर्ने हो?

अब के गर्नुपर्छ कांग्रेसमा?
फाइलबढुवा कांग्रेस, छाताधारी कांग्रेस र जुझारु कांग्रेसको समन्वय र सहकार्यमा नै नेपाली कांग्रेसको भविष्य छ। संक्षिप्तमा फाइलबढुवाका अन्तिम प्रतिनिधि रामचन्द्र पौडेल, छाताधारीका डा. शेखर कोइराला र जुझारुबाट गगनबीचको आपसी सौहार्दता, समन्वय र सहकार्यबाट नै कांग्रेसले गुमेको प्रतिष्ठा र विश्वास आर्जन गर्न सक्ला। मेरो संक्षिप्त अन्तरक्रियाको सारसंक्षेप यही हो। यसका पछाडि तीन कारण छन्। पहिलो कांग्रेस पार्टीको इतिहास र चरित्र, दोस्रो नेपाली समाजको बनोट र तेस्रो नेपालको वर्तमान राजनीतिक परिदृष्य । यसबारे विस्तारमा पछि लेखौँला।

प्रकाशित: २० चैत्र २०७४ ११:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App