१ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

संवैधानिक नैतिकता र बिपी कोइराला

आज भदौ २४ अर्थात् बिपी कोइराला को एक सय ११औँ जन्मजयन्ती। प्रथम विश्व युद्ध प्रारम्भ भएको सालमा जन्मिएका बिपी कोइरालाको आज एक शताब्दी, एक दशक र एक वर्षयता आएर सम्झना गर्नुको उपादेयता वा सार्थकता के होला आफैँमा एउटा गम्भीर प्रश्न छ। बिपी जन्मिँदाको समय नबुझीकन बिपीले तय गरेको जीवन यात्रा बुझ्न सकिँदैन। युरोपको र अमेरिकाको केही भूभागबाहेक सबैतिर सामन्तवाद, तानाशाही र उपनिवेशवाद व्याप्त थियो। बिपी नेपालमा जन्मिने अवसरबाट वञ्चित भएका थिए, कारण नेपाल भन्ने देश राणाशाहीअन्तर्गत थियो। तर त्यो कुराले उनलाई नेपाली बन्नबाट रोकेन। उनी त झन् आधुनिक नेपालको परिचायक र उन्नयक बनेर उदाए।

आज पनि बिपीलाई नजिकबाट देखेका र सङ्गत गरेका उनका परिवार बाहेकका मानिसहरूको कमी छैन। के बिपीको परिचय बिपीको परिवार र उनलाई नजिकबाट देखेका मानिसहरूको दायरामा मात्र सीमित छ त, निश्चय पनि छैन। बिपीले गरेका एकएक राजनीतिक, साहित्यिक, सांस्कृतिक कर्म चिन्तन र अनुशीलनले आज प्रत्येक नेपाली नागरिक संस्कारित र दीक्षित भएको छ। नेपाली हुनुमा गौरव गर्ने जो कोहीले पनि एकपटक बिपी कोइरलाको जीवनको कुनै वयमा तादत्म्य महसुस गरेको हुन्छ, उनको साहित्य र राजनीति योगदानकोको कारणले।

बिपी एउटा सुसंस्कृत मानिस थिए। लोकतन्त्रको महत्व बुझेर र लोकलाई त्यसको महत्त्व बुझाउन जीवनलाई एक होइन, अनेक पटक दाउमा राखेका थिए। साहित्य सिर्जना गरेका थिए। कविता, उपन्यास कथा संस्मरण अनुवाद आदि कार्य गरेका थिए। त्योभन्दा बेसी आधुनिक समयको नेतृत्व गर्ने सुयोग्य नेता थिए, पथप्रदर्शक थिए। उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको बलशाली उपस्थिति नेपाली राजनीतिमा यथावत् छ।

आज बिपीलाई सम्झिनु एउटा कर्मकाण्ड हुन पुगेको छ तर कर्मकाण्डले मात्र त उनको विरासत र अवदानलाई न्याय हुँदैन। पार्टीको विशाल संरचना बिपी विचारको असली ध्वजावाहक बनेर गर्व मात्र होइन दम्भसमेत गर्दछ। त्यो कुरामा विस्तारै बदलाव आउँदैछ।

गत वर्ष मात्र नेपाली कांग्रेस पार्टीले पार्टी मुख्यालय सानेपामा एउटा बृहत् साहित्य महोत्सव गरेको थियो। त्यहाँ कांग्रेसको विचारसँग सहमत नहुने साहित्यिक कवि लेखकहरू समेत कांग्रेस पार्टीको निम्तोमा ससम्मान बिपी चर्चा र चिन्तनमा निर्धक्क सहभागी थिए। त्यो नेपाली राजनीतिक संस्कारमा देखापरेको एउटा सकारात्मक बदलाव थियो। आज गणतन्त्रको युगमा बिपीलाई कांग्रेसभन्दा ज्यादा राजा चाहनेहरूले प्रासङ्गिक देखेका छन्। यो एउटा रोचक संयोग मात्र होइन। कुनै पनि इतिहास पुरुषमाथिको हक दावा परस्पर विरोधी पक्षले गर्नु भनेको चानचुने कुरा होइन। इतिहासलाई सम्यक दृष्टिले हेर्ने हो जो कोही यस्ता घटनालाई सामान्य रूपमा लिन्छन्। बिपी एक क्रान्तिकारी थिए। उनको क्रान्तिकारिताभित्र उग्रताभन्दा ज्यादा सौम्य र मध्यमार्ग थियो।

बिपीको विराट व्यक्तित्व पार्टी वा देशको दायरामा मात्र सीमित हुने चीज थिएन। उनको आयतन व्यापक थियो। दक्षिण एसियालाई झकन्झोर हल्लाएको भारतीय स्वतन्त्रता सङ्ग्राममा सक्रियतापूर्वक भाग लिएको, जेलनेल भोगेको, त्यतिले नपुगेर नेपालमा प्रजातन्त्र स्थापनाका लडाइँको नेतृत्व गरेर प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेको, दक्षिण एसियाको नक्सा बदल्ने अन्तिम परिघटना बङ्गलादेश स्थापनाको आन्दोलनलाई सक्रिय समर्थन गरेर बङ्गलादेश विजय नेपालमा लोकतन्त्र पुनः स्थापनाको  मार्ग आधा विजय भनेर वक्तव्य दिएको, यस्ता अनेकन राजनीतिक घटना क्रम छन्, जहाँ उनले निर्णायक हस्तक्षेपका कर्ता भने साक्षी बने र बने हेतु पनि। उनले एउटा सिङ्गो युगलाई आफ्नो काँधमा बोकेर हिँडे।

उनको जीवनकालमा उनलाई सोचे जति सफलता मिल्न सकेन तर जति मिलेको थियो त्यो पनि कम्ती भने थिएन। उनका प्रिय लेखक अल्बर्ट क्यामुले जीवन्त बनाएको ग्रिक पुराणको अभिशप्त पात्र सिसिफस जस्तो लोकतन्त्रको भारी बोकेर उनी टाकुरा माथि र तल गरी रहे। उनको लडाइँ खेर जाने कुरा थिएन र गएन पनि। आज त्यही लडाइँको परिणाम लोकतन्त्र टाकुराभन्दा माथि गणतन्त्र बनेको छ।

कुनै बेला भारतीय संविधानसभाको आखिरी बैठकमा अम्बेडकर भन्दै थिए–आजदेखि हामी सबैले एउटा सुविधा गुमाउँदैछौं, अब अङ्ग्रेजलाई गाली गरेर पुग्दैन। उनीहरू त भारत छोडेर गइसके। अब हामी ज्यादा जिम्मेदार बन्नुपर्दछ। यस्तैयस्तै। नेपालमा पञ्चायतको अवधिभर र बहुदलकालमा राजाको भक्ति वा निन्दा गरे चल्थ्यो। के अब गणतन्त्रको युग त्यसरी चल्छ त, उत्तर स्पष्ट छ चल्दैन। हाम्रा नेताहरू एक अर्कालाई गाली गरेका छन्, गला पनि मिलाएका छन्। तर जनता रनभुल्लमा छन्, उनीहरू किन एकापसमा गाली गरिरहेका छन् र गला पनि मिलाइरहेका छन् भनेर। यो अन्योलले निराश भरेको छ, आक्रोश बढाएको छ।

लोकतन्त्रमा एउटा जनादेशपछि त्यो जनादेशको पालन गर्ने अनुशासन र धैर्य त्यसका सरोकारवालाहरुसँग हुनै पर्दछ। पाँच वर्ष संसद्को आयु भनेपछि त्यो धैर्य त्यो संयम सबै राजनीतिक दलमा समान रूपमा हुनपर्छ। बिपीले सत्तामा जाने कुरालाई ज्यादा प्रधानता दिनुभएन।

२०१४ सालमा प्रधानमन्त्री पद अस्वीकारे। पछि राजा वीरेन्द्रलाई जनमत सङ्ग्रहको बेला भने, “सरकार मैले तपाइँले दिन सक्नेभन्दा माथिल्लो चीज पाइसकेको छु। म प्रथम जननिर्वाचित बनिसकेको मान्छे, जति पटक प्रधानमन्त्री बने पनि बन्ने भूतपूर्व प्रधानमन्त्री नै हो। म उन्नत लोकतन्त्र देख्न चाहन्छु। तपाईंको पिताले खोसेको जनअधिकार बहाली चाहन्छु। मेरो जस्तो आर्थिक अवस्था प्रत्येक नागरिकको बनाउन चाहन्छु। यस्तैयस्तै।

आज संविधान संशोधन गर्ने भनेर बनेको नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्मिलित सरकार वा प्रतिपक्षमा रहेका नेता प्रचण्डको भूमिका यो संविधानलाई कामयाब गराउन कति सहायक भयो। त्यसको मूल्याङ्कन गर्ने बेला भएको छ। जसले आफैंले जारी गरेको संविधानलाई संवैधानिक नैतिकताको कसीमा सम्मान गर्न र पालन गर्न सकेन उनैले संविधान संशोधनको कुरा गर्दा त्यो जनस्तरमा विश्वसनीय बन्न सकिरहेको छैन। त्यो बारेमा आजको दिनमा शीर्ष नेताहरुले मनन गर्नुपर्नेछ।

बिपीका लागि सत्ता अन्तिम आकर्षणको कुरा थिएन। सत्ता उनका लागि जनताको आजीविका बदल्ने पवित्र साधन थियो। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको व्यक्तित्व फैलाउने माध्यम थियो। सत्ताबारे लोकतन्त्रबारे उनको सामान्य कुरा थियो– संविधान दिने मानिस वा संविधान निर्माता चाहे त्यो राजा होस् वा जनता त्यो संविधानप्रति जिम्मेवार र वफादार अनि प्रतिबद्ध हुनुपर्दछ।

आजको गणतन्त्र नेपालको सङ्कटको समाधान बिपी कोइरालाको यही वचनमा भेट्न सकिन्छ। सङ्घर्षले खारिएर असामान्य उचाइ हासिल गरेका बिपीको यही एउटा वचन मात्र आजका नेताले पालन गर्न सके उनको योगदानप्रतिको सम्मान हुनेछ।

(शंकर तिवारी, उनी राजनीतिक विश्लेषक हुन्।)

प्रकाशित: २४ भाद्र २०८१ १२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App