४ पुस २०८१ बिहीबार
image/svg+xml
विचार

संस्कृतिमा साउनको शान

साउनको सोमवारको व्रतबारे ‘व्रत रत्नावलि’ मा उल्लेख छ। त्यस्तै ‘शिवपुराण’ मा पनि चतुर्मासाको महिमा उल्लेख गर्दै साउन महिना र सोमबारे व्रतको विशेष महिमा चर्चा गरिएको छ। साउन प्रेमको मौसम हो। धार्मिक कृत्यहरूका मौसम हो। झरीले छताछुल्ल भएको मौसम हो। वर्षा ऋतुले चरम उत्कर्ष रूप धारण गरेको महिना हो।

झरीले जमिन मात्र भिजाउँदैन। यो समय जमिन वरिपरि हरियालीले ढाकिदिएको हुन्छ। रुखबिरुवा नुहाएर सफा चिटिक्क परेका हुन्छन्। त्यस्तै कीटपतङ्गले समेत विपरित लिङ्गीलाई आकर्षित गर्न, प्रकृतिसँग तारतम्य मिलाउन र आफ्नो जीवनको रक्षा गर्न आफ्नो शरीरको रङ परिवर्तन गर्दछन्। यस महिनामा प्राणीमा रोमाञ्चकता भरिएर मादकता छाउने गर्दछ। मौसम रसिलो र भरिलो हुन्छ। त्यस्तो मौसममा मन रसयुक्त हुन्छ। त्यस्तो मनमा प्रेमको रस उम्लिन्छ। महिलाहरू प्रेममा मग्न भई आफ्नो मनको राजाको आयु वृद्धिका लागि साउने सोमबार महादेवको व्रत बस्छन्।

साउनको पौराणिक महत्त्वशास्त्रअनुसार साउन महादेवको महिना हो। यस महिनामा महादेवको व्रत, पूजा, उपासना गरिन्छ। घरहरूमा शिवको महिमा गाउँदै रुद्री लगाउने गरिन्छ। त्यस्तै शास्त्रमा उल्लेख भएअनुसार पौराणिक कालमा साउनमा वृन्दावनमा राधा र कृष्णले रासलीला रचाएका थिए। आजसम्म राधा र कृष्णको झुला यसैको सम्झनास्वरूप घर–घरमा साउन महिनाभर झुलाउने गरिन्छ। झुलामा झुलाउनु पहिले राधा कृष्णलाई हरियो बस्त्रले सिङ्गारिन्छ।

कर्म गर्ने महिना

साउन भनेको कर्म गर्ने समय हो। भगवानले साउन मन पराउनुमा सबै जगत्का प्राणीलाई कर्मका लागि जागरुक बन भन्ने सन्देश दिन खोजिएको हो।

सौभाग्यको कामना

महादेव र पार्वतीलाई आदर्श र आराध्यदेव मानेर वैवाहिक दाम्पत्य जीवन सुखमय होस् भनेर विवाहित महिला साउनको सोमवार हरिया चुरा लगाउँछन्। त्यस्तै हातमा रातो मेहन्दी लगाएर सौभाग्यको कामना गर्दछन्। भगवान शिव र राधा कृष्णको पूजा उपासना गर्दछन्।

शिवजीको व्रत किन?

साउन भगवान शिवको प्यारो महिना हो। भगवान् शिवलाई मनपर्ने रङ हरियो हो। साउनको सोमवार शिवजीको व्रत बसिन्छ। शिवलाई मन पर्ने रङ्ग हरियो भएकाले शिवप्रति भक्तिभाव दर्शाउन पनि हरियो वस्त्र लगाउने गरिन्छ भनिन्छ। अर्कोतर्फ राधा कृष्णको झुला झुलाउँदा पनि हरियै लुगा लगाइदिने चलन छ। त्यस्तै साउन हरियाली हु्न्छ। साउन झरी प्रकृति र हरियो रङको संयोजन महिना हो। आफूलाई पनि प्रकृतिको त्यही संयोजनमा मिसाउन र आफू प्रकृतिबाट भिन्न नभएको दर्शाउन पनि हरियो बस्त्र अलंकारले सजिने गर्दछन्।

साउन र हरियो

साउनमा आँखा फुटेको गोरु सधैँ हरियो देख्छ भन्ने नेपाली उखान छ। यो उखानले नै बताउँछ कि साउन र हरियाली एकअर्काका परिपूरक हुन्। प्रकृतिका प्रायः केही प्राणीले वातावरणअनुसार आफ्नो शरीरमा रङ परिवर्तन गर्ने गर्दछन्। तर मानिसले यस्तो गर्न सक्दैन। त्यसैले उसले आफ्नो वरिपरि प्रकृतिमा भएको रङ देख्दा लोभिन्छ र चराको रङ्गीन प्वाँख र माछाका थरीथरीका कत्ला देख्दा भावविभोर भई आफ्नो शरीरमा पनि तिनै रङ धारण गर्न खोेज्छ। त्यसो गर्न सक्दैनन्। त्यसैले सुन्दर वस्तु देखेर लठ्ठ पर्नेै मानिस आपूmले लगाउने लुगा गहनाको माध्यमबाट भए पनि आफूलाई वातावरण अनुकूल बनाउँछ। साउनमा लगाइने हरिया चुरा, पोते र लुगा पनि यस्तै भावनाका प्रतीक हुन्। यो नितान्त लौकिक परम्परा मात्रै हो। यसमा कुनै धार्मिक आधार भने छैन।

व्रत महिना

विवाहित महिला श्रीमान्को दीर्घायुका लागि व्रत बस्छन्। अविवाहित महिलाले राम्रो श्रीमान् पाउँ भनी शिवको निराहार व्रत बस्छन्। त्यस्तै व्रत बस्दा श्रीमान् र परिवारका अन्य सदस्यको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ भन्ने विश्वास गर्दछन्। त्यस्तै प्राचीन समयदेखि समाजमा छोरोको ठूलो महिमा रहिआएको छ। त्यसैले साउनको सोमवारको व्रत छोरो पाइने जस्ता विश्वासले गर्दा पनि बस्ने चलन छ।

व्रत र हरियो पहिरन

साउनको सोमबारको व्रत विवाहित महिला लिने गर्दछन्। त्यस्तै अविवाहित कुमारीले पनि साउनको सोमवारको व्रत लिने गर्दछन्। वृद्धा महिलासमेत साउने सोमवारको व्रत बस्छन्। व्रत बस्दा रातो पहिरन लगाउनुका साथै आजकल हरिया पहिरनमा सजिने गर्दछन्। यस्ता हरिया पहिरन साउन महिनाको हरियोसँग वातावरण अनुकूल हुनका लागिसमेत लगाउने गर्दछन्। तर केहीले भने देखासिकीका लागि मात्र लगाउने गरेका हुन्छन्। यस महिनामा लुगाको पहिरन मात्र हरियो नलगाएर चुरा पोतेसमेत हरियो रङ्गको लगाउने गर्दछन्।

भारतीय टेलिसिरियलको प्रभाव

नेपाली महिला धेरैसो भारतीय टेलिसिरियलबाट प्रभावित भएका छन्। त्यहाँ देखाइने धार्मिक, सांस्कृतिक, सामाजिक जस्ता क्रियाकलाप यहाँ अपनाउने गरेका देखिन्छ। सोहीअनुरूप साउने सोमबारको व्रत र हरिया रंगमा रंगिने परम्पराको थालनी यसैको उपक्रम हो कि भन्न सकिन्छ। यदि हो भने धर्म संस्कृतिको नाममा यस्ता आडम्बर रोक्नुपर्छ। शास्त्रमा उल्लेख भएअनुरूप समाज चल्नुपर्छ।

व्रत उपवासमा चिकित्सकको राय

नेपालमा व्रत उपवासको आफ्नै महत्त्व छ। सके हप्ताको एउटा नसके महिनाको दुईवटा व्रत बस्नु चिकित्सकको रायअनुसार सकारात्मक पक्ष हो। व्रतले क्यान्सर जस्तो रोगसमेत लाग्न नदिने भन्ने अनुसन्धानले पत्ता लगाएको छ। यसप्रकार व्रत उपवास बस्दा नेपाली संस्कृतिअनुसार एकातिर धर्म वृद्धि हुने अर्कोतिर स्वास्थ्यमा समेत फाइदा पुग्ने देखिन्छ। त्यस प्रकार साउनमा व्रत बस्नु अध्यात्म र स्वास्थ्य दुवैका लागि महत्त्वपूर्ण रहेछ भन्ने थाहा पाउन सकिन्छ। 

प्रकाशित: ३१ श्रावण २०८१ ०५:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App