विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)– का अनुसार वायु प्रदूषण संसारको सबैभन्दा ठूलो पर्यावरणीय चुनौती हो। संसारका १२ प्रतिशत मृत्युको कारक दूषित हावा रहेको डब्लुएचओको ठहर छ। विषाक्त हावाका कारण बर्सेनि झण्डै ५० हजार नेपालीले अकाल मृत्यु वरण गर्ने गरेको अध्ययनले देखाएको छ।
श्वासप्रश्वाससम्बन्धी रोग मात्र होइन, बरु वायु प्रदूषणले स्ट्रोक, मुटु रोग, फोक्सोको क्यान्सर, मधुमेहलगायतका धेरै समस्या बढाएको छ। पहिलेदेखि नै विभिन्न रोगको कारण मानिँदै आएकोमा हालै प्रकाशित नयाँ अध्ययनहरूले दूषित वायु र ही भाँचिने समस्याबीचको अन्तर्संबन्धसमेत स्थापित गरेका छन्।
समान दिनचर्या रहेका धनुषाका बासिन्दाका दाँजोमा राजधानीका नागरिकमा ही छियाछिया बनाउने समस्या, ओस्टिओपोरोसिस, अधिक देखिन्छ अनि हीको समस्या उकासिन्छ भन्ने सोधपत्रको निचोड देखियो। श्वासप्रश्वासमार्फत फोक्सोमा पुग्ने विशाक्त वायुले ‘रेस्पिरेटोरी’ समस्या ल्याउनु स्वाभाविक भए पनि आखिर किन प्रदूषित हावा धेरै किसिमका रोगको जड भयो त?
कुनै पनि वस्तु बल्दा, सवारी साधनको धुवा अनि विविध कारणले पैदा हुने पर्यावरणीय धुलो विसर्जन हुँदा साना कण वायुमण्डलमा पुग्छन्। ठूला कण केही समयपछि जमिनमा पुग्छन् भने सूक्ष्म आकारका कणहरू वायुमा लामो समयसम्म सहजै घुलेर बस्छन्। हावामा रहेको सूक्ष्म धुलो धुवामा सल्फेट, नाइटे«ट, मिनरल लगायत विभिन्न किसिमका रासायनिक पदार्थहरू हुन्छन्।
यसरी हावामा रहेका सूक्ष्म रासायनिक पदार्थ श्वासप्रश्वासका क्रममा हाम्रो शरीरमा पुग्छन्। अलि ठूला आकृतिका अणुहरू फोक्सोमा पुग्छ अनि आफ्नो खराब असर देखाउन थाल्छन्। तर ०.१ माइक्रोनभन्दा साना कणले आफ्नो दुष्चरित्रको सीमालाई त्यहीँ रोक्दैन बरु बहुआयामिक हानि पुर्याउन फोक्सोलाई छिचोल्दै रक्त सञ्चार प्रणालीमा पुग्छ। यसरी रगतमा पुगेका सूक्ष्म कण रक्त सञ्चारमार्फत शरीरका प्रत्येक अंगमा पुग्छन्।
विषाक्त हावामा रहेका तत्त्वहरू रगतमार्फत शरीरका विभिन्न कोषमा पुगेपछि रासायनिक प्रतिक्रियामार्पmत फ्रि रेडिकल बनाउँछन्। अस्थिर रासायनिक तत्त्व भएकाले कोषमा रहेको अणुवांशिक पदार्थ, डिएनए, आरएनए, प्रोटिन, इन्जाइमलगायत सबै किसिमका शारीरिक तत्त्वसँग मिल्छ।
दुर्भाग्यवस भष्मासुर चरित्रको फ्रि रेडिकलले देखाउने व्यवहार सबै अनिष्ट हुन्छन्। आनुवांशिक पदार्थमा जीवको अस्तित्व कायम रहने भएकाले डिएनएमा क्षति पुगेपछि क्यान्सरलगायतका विभिन्न रोग भित्रन्छन्।
त्यस्तै इन्जाइममा खराबी आएपछि शारीरिक प्रक्रिया अवरुद्ध हुन्छ। बायोलोजिकल रियाक्सनमा रुकावट आएपछि रोग लाग्छन्। दूषित हावामा रहेका तत्त्वले शरीरको कुन जैविक पदार्थसँग प्रतिक्रिया गर्यो त्यसैअनुरूपको रोग लाग्छन्। डिएनएमा प्रहार भए क्यान्सर जस्ता महारोग लाग्छ भने कमजोर संयन्त्रहरू प्रभावित भएको खण्डमा अल्पकालीन समस्या बेहोर्नुपर्ने हुन्छ।
अल्पकालीन वायु प्रदूषणले शरीरलाई खासै समस्या पार्दैन। तर दीर्घकालीन खराब हावाले भौगोलिक इलाकाका सबै बासिन्दालाई प्रभावित पार्छ। काठमाडौँको विषाक्त हावाले पार्ने प्रभाव महल र झुपडीमा खासै फरक पर्दैन। युनिभर्सिटी अफ शिकागोको इनर्जी पोलिसी इन्स्टिच्युटले वर्गीकृत गरेको दुई सय ५२ देशमध्ये वायु प्रदूषणको हिसाबले नेपाल तेस्रो स्थानमा छ।
बंगलादेश र भारतपछि रहेर प्रदूषणको कास्य पदकको दाबी गर्ने अवस्थामा छ नेपाल। नेपालले आफ्नो हावाको स्तरलाई डब्लुएचओको मापदण्डमा ल्याउन सक्ने हो भने नेपालीको सरदर आयु चार वर्ष सात महिना बढ्ने अवधारणा एयर क्वालिटी लाइफ इन्डेक्स प्रतिवेदनको छ।
खाना पकाउन प्रयोग गरिने दाउरा र गोबरका गुइँठा अनि कृषि उत्पादनको अवशेष बाल्ने प्रवृत्तिले गाउँको हावा विषाक्त बन्छ। अव्यवस्थित बसाइँ सराइका कारण जनसंख्या अत्यधिक बढ्दा सहरमा वायु प्रदूषण उकासियो। सन् १९९० देखि २०१५ सम्म आइपुग्दा काठमाडौँको जनसंख्या तीन गुणा बढ्यो। अनि पछिल्लो समयमा उक्त रेखा अझ उकासिँदो छ। बढदो जनसंख्याको चापलाई धान्न बाल्नुपर्ने अर्गेनिक फ्युलका कारण राजधानीको वायु प्रदूषण उकासियो। काठमाडौँ मात्र होइन सबै सहरमा प्रदूषण बढ्यो। ज्ञात रहोस्, काठमाडौँको वायु प्रदूषण डब्लुएचओले निर्धारण गरेको मापदण्डभन्दा झण्डै पाँच गुणा बढी छ।
सन् २००७ मा युनिभर्सिटी अफ ओस्लोका प्राध्यापक कारी अल्भरको समूहले पहिलो पटक वायु प्रदूषणले ज्येष्ठ नागरिकको हीमा लवणको मात्रा घटाउने बेहोराको अन्वेषण ओस्टियोपोरोसिस इन्टरन्यासनल जर्नलमा प्रकाशित गरे। त्यसको झण्डै तीन वर्षपछि अल्भरले नै धूमपान गर्ने समूहमा ही भाँचिएर इलाज गर्ने अनुपात अर्को समूहको दाँजोमा अधिक रहने बेहोरा सार्वजनिक गरे। यसरी नर्वेजियाली समूहले पहिलो पटक हावाको स्वच्छता र हीको स्वास्थ्यबीचको अन्तरसम्बन्ध स्थापित गरे। अनि यो नवीन अन्वेषणप्रति अन्य अनुसन्धान समूह आकर्षित भए।
अमेरिकाको माउन्ट साइनाइ अस्पतालका वैज्ञानिकहरूले झण्डै एक करोड प्रौढ समूहको बासस्थानको वायु प्रदूषण र नागरिकको अस्थिपञ्जर स्वास्थ्य अध्ययन गर्दा हावामा खरानीको मात्रा अधिक भएको सहरमा बस्ने बासिन्दाको ही कमजोर हुने निष्कर्षसहितको नतिजा सन् २०१७ मा लान्सेट जर्नलको प्लानिटरी हेल्थमा छपाए।
स्वतन्त्ररूपले भारत, चीन र अमेरिकामा गरिएका फरक फरक अध्ययनले अधिक वायु प्रदूषण हुने स्थानमा बस्ने मानिसको ही भाँचिने संभाव्यता अत्यधिक बढी हुने देख्यो। त्यस्तै गत वर्ष झण्डै दुई लाख रजस्वला रोकिएका महिलामा गरिएको अन्वेषणले उक्त समूहमा वायु प्रदूषणको असर अधिक रहने मात्र भनेन बरु दूषित हावाका कारण उनीहरूको ही जीर्ण हुने सम्भाव्यता अधिक पायो।
यसरी पृथक स्थान, समूह र वर्णमा गरिएका दर्जनौँ अनुसन्धानले हावामा रहने धुलो धुवाँको मात्राले बासिन्दाको हाडको स्वास्थ्यबारे बताउने देखियो।
पुराना कोषलाई नयाँले प्रतिस्थापन गर्नु प्रकृतिको नियम हो। त्यही नीतिका कारण घाउ, चोटपटकपछि व्यक्ति निको हुन्छ, पूर्वावस्थामा फर्कन्छ। उक्त नियमको अपवाद अस्थिपञ्जर प्रणाली पनि होइन नै। चोटपटक लाग्दा नयाँ कोषहरूमार्पmत ही सकुशल बन्छ।
हीमा चोटपटक लाग्दा बायोलोजिक संयन्त्रले छिटोभन्दा छिटो उक्त समस्या समाधान गर्न भन्छ। उक्त आदेशपछि बिउका रूपमा विशेष चरित्रको कोष ओस्टियोब्लास्ट निर्माण हुन्छ। सानो संख्यामा रहेका ओस्टियोब्लास्टको निरन्तर परिमार्जन र विभाजन हुन्छ अनि हीका कोष बन्छन्। पर्याप्त मात्रामा हीका कोष बनेपछि कैफियतपूर्ण भाग सकुशल बन्छ। तर वायु प्रदूषण अत्यधिक हुँदा उक्त सामान्य शारीरिक प्रक्रियामा तगारो लाग्छ।
हावामा रहेका विषाक्त रासायनिक तत्त्वले हीमा कैफियत भएको सन्देश दिने बायोलोजिकल संयन्त्रलाई निस्तेज पार्छ। अनि सही सूचना नपाउँदा शारीरिक प्रक्रियाले आवश्यक कोष निर्माण गर्न सक्दैन। अनि पहिलेदेखि नै कमजोर हीमा थप छिद्र बन्छन्। हातखुट्टा भाँचिन्छ। तसर्थ शुद्ध हावामार्पmत मजबुत शरीर बनाउन सकिने देखियो।
शुद्ध वायुका अतिरिक्त ही बलियो बनाउन खानपिनमा समेत ध्यान दिनुपर्छ। क्याल्सियम, प्रोटिन, भिटामिन डी र कसरतमार्फत हातगोडा मजबुत बनाउन सकिन्छ। तर दूषित हावालाई शुद्ध बनाउन व्यक्तिको एक्लो प्रयासले सम्भव हुँदैन, कानुनी परिमार्जन आवश्यक पर्छ। परिमार्जन चुलो अनि जनचेतनामार्फत गाउँको प्रदूषण नियन्त्रण गर्न सकिन्छ भने सहरमा साना गाडीको बदला ठुला यातायात साधन, ग्यासको बदला बिजुली चुलोको प्रयोग अनि कलकारखानाको उचित व्यवस्थापनमार्फत स्वच्छ हावाको प्रत्याभूति गर्न सकिन्छ। जनचेतना र सरकारी प्रयासलाई सँगै लान सके वायु प्रदूषण नियन्त्रण गरी नेपालीको स्वास्थ्य सबल बनाउन सकिन्छ।
– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।
प्रकाशित: २२ श्रावण २०८१ ०७:४१ मंगलबार