१७ कार्तिक २०८१ शनिबार
image/svg+xml
विचार

बाहरू कस्का लागि आएका हुन्?

राजनीतिको सामान्य परिभाषा राज्यको शासन व्यवस्था सञ्चालन गर्ने नीति हो। यो शब्दले शासन व्यवस्था सञ्चालन गर्न आवष्यक पर्ने संगठन, समूहहरूका काम र नियमहरूलाई समेत बुझाउँछ। राजनीति सत्तासँग जोडिएको छ। त्यो राज्यको सत्ता होस् वा संगठनको वा सानो समूहको सत्ता होस्। सत्ता प्राप्त गर्न, सत्ता सञ्चालन गर्न र सत्तामा कायम रहन गरिने प्रत्येक क्रियाकलाप राजनीति हुन्। तसर्थ कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पनि ती पार्टीका नेताहरूको राजनीति हो। यसमा अन्यथा लिनुपर्ने केही छैन। यति मात्र हो, सत्ताको खेलमा माहिर छु भन्ने पुष्पकमल दाहाललाई केपी ओलीले शेरबहादुर देउवासँग मिलेर माथ दिनुभयो।

पुष्पकमल दाहाल अति उत्साहित हुनुहुन्थ्यो। पालैपालो कांग्रेस, एमालेलाई आश देखाउँदै, लोभ्याउँदै देउवालाई झुक्याउँदै ओलीलाई जिल्याउँदै सत्तामा रजगज गर्नुभएको थियो। उहाँलाई लागेको थियो, यसैगरी यो पाँच वर्षको कार्यकालभर प्रधानमन्त्रीको न्यानो भोग गरिरहन्छु।

प्रचण्ड अहंकारी व्यक्ति हुनुहुन्न तर जुनसुकै अवसरको भरपुर उपयोग गर्ने उहाँको प्रवृत्तिले पाएको सफलताबाट उहाँ अति उत्साहित र आत्मविश्वासी बन्नुभएको थियो। कूटनीति होस् वा राजनीतिमा, म जति चतुर अरू कोही छैन भन्ने मिथ्या विश्वासले आफ्नो धरातल फुस्किएको उहाँले थाहा पाउन सक्नुभएन। मेरो चतुर्‍याइँ अरूले बुझिसकेका हुन्छन् भन्ने नसोच्नु उहाँको कमजोर मानसिक चिन्तन हो। शासन गर्नुको औचित्यता प्रमाणित गर्न लाग्नु भन्दा सत्ताको सुखानुभूतिमा आनन्दित हुँदा प्रचण्ड अल्पद्रष्टा राजनीतिज्ञको पगरी भिरेर बाहिरिनुभयो। राजनीतिको सामान्य परिभाषा मात्र बुझ्नेलाई अहिलेको सत्ता परिवर्तन यति मात्र हो।

अंकगणितको आधारमा चलिरहेको अहिलेको सरकार परिवर्तनको खेललाई माथि उल्लेख गरेको राजनीतिको परिभाषाअनुसार स्वाभाविक परिणाम मान्दा केही डरलाग्दा निष्कर्ष निस्कन्छन्। हामीले यो मान्नुपर्ने हुन्छ कि १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालालले राणा प्रधानमन्त्री हटाएर उहाँहरू प्रधानमन्त्री, मन्त्री हुनका लागि मात्र मृत्यु दण्ड स्वीकार गर्नुभएको थियो।

गणेशमान सिंह घरको सुख सुविधा लत्याएर मन्त्री प्रधानमन्त्री बन्नका लागि मात्र जेल तोडेर ज्यान जोखिममा राखी सीमापार गर्नुभएको थियो। बिपी कोइरालाको नेपाली कांग्रेस स्थापना गरी नेपालमा प्रजातन्त्र स्थापना गर्नुको उद्देश्य केवल प्रधानमन्त्री बन्नु थियो। कम्यनिस्ट पार्टी स्थापना गर्नुको उद्देश्य पुष्पलालको सत्ताको महत्त्वाकांक्षाको प्रष्फुटन मात्र थियो।

२००७ सालको क्रान्तिको उद्देश्य केवल कांग्रेस नेताहरूलाई सत्तामा स्थापित गर्नु मात्र थियो। ३० वर्षे पञ्चायतको दमनविरुद्धका संघर्ष र २०४६, २०६२/६३ सालका आन्दोलन केबल केही नेताका सत्ताकांक्षाको भोकले मात्र भएका थिए। स्वयं प्रचण्डले नेतृत्वले गर्नुभएको हिंसात्मक संघर्षमा भाग लिएका मानिस, प्रचण्डलाई सत्तारोहण गर्नका लागि मात्र आफ्नो काया आहुत गरेका थिए। राजनीतिलाई सरकार परिवर्तनको खेल बनाएका नेताहरूले के यस्तो निष्कर्ष स्वीकार गर्नुहुन्छ?

निश्चय नै राजनीति सत्ताबाट अलग हुन सक्दैन। सत्ताको आकांक्षा नराखी कसैले राजनीति गरेको छु भन्छ भने त्यो पाखण्डी हो। कतिपय मानिस आदर्शवादी हुन्छन्। महात्मा गान्धी, जयप्रकाश नारायण, मार्टिन लुथर किङहरू दैनन्दिन राजनीतिमा लाग्नुभएन। उहाँहरूलाई पदको आशक्ति थिएन। पदीय राजनीति र शासकीय सत्ताबाट अलग रहेर पनि उहाँहरू त्यो भन्दा धेरै उचाइमा रहनुभयो।

सबैजना गान्धी बन्दैनन् र राजनीतिमा चाख राख्ने सबै शासनबाट अलग रहनुपर्छ भन्ने पनि होइन। आवश्यकता राजनीति गर्दा वा शासनारूढ हँुदा नीतिसम्मत शासन सञ्चालन गर्नु हो। पदीय सान सौकत र धन दौलतबाट निर्लिप्त भएर कर्तव्य परायणताको भावनाका साथ राज्य सञ्चालन गर्नुलाई नै यथार्थमा राजनीति र त्यस्तो राजनीति गर्नेलाई राजनीतिज्ञ भनिन्छ।

राणा शासनपछि नेपालमा धेरै मानिस प्रधानमन्त्री बन्नुभएको छ। यी प्रधानमन्त्रीमध्ये कतिपय बदनाम हुनुहोला त कतिपय विस्मृतिमा हुनुहुन्छ। तर विश्वेश्वरप्रसाद कोइराला सधैँ श्रद्धाका साथ सम्झिइनुहुन्छ। उहाँको भौतिक शरीरले त सधैँ दुःख र अभावमा जीवन व्यतित गर्‍यो तर अन्तरआत्माले मृत्युपर्यन्त सन्तोष प्राप्त गर्‍यो, कहिल्यै पश्चाताप गर्नुपरेन। गौरवशाली मृत्यु वरण गरेर जानुभयो। मेकियावेलियन सिद्धान्त कूटनीतिमा प्रयोग गर्न वाञ्छनीय हुन सक्ला। राजनीतिमा मेकियावेलियन नीति सर्वथा अग्राह्य छ। आदर्श र सिद्धान्त च्युत राजनीति प्रजातन्त्रमा स्वीकार्य हुन सक्दैन।

सरकार निर्माणमा सहभागिता अर्थात् वालिग मताधिकार, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता प्रजातन्त्रका अभिन्न अंग हुन। तर यी मात्र असल प्रजातन्त्रका मानक होइनन्। सर्वसम्मत सरकार अधिनायकवादमा मात्र सम्भव हुन्छ। प्रजातन्त्रमा विचारको संघर्ष हुन्छ। त्यसैले सर्वसम्मति सम्भव हुँदैन। शासन कसले गर्ने भन्ने निर्णय गर्न संख्याको गणनाको पनि आवश्यकता पर्छ। संख्या गणना भनेको विचारको छनोट, सिद्धान्तको छनोट नीतिको छनोट हो। नीति सिद्धान्तरहित भएर संख्या बलका आधारमा शासन गर्नु लोकतन्त्र होइन, संख्यातन्त्र हो।

सैद्धान्तिकरूपमा कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास गर्छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको अन्तिम गन्तव्य साम्यवाद हो। राप्रपा उदारवादी अर्थतन्त्रको पक्षपाती, राजावादी पार्टी हो। भिन्दाभिन्दै दर्शन सिद्धान्तमा विश्वास गर्ने भनिएका पार्टीहरू सत्ताका लागि जो जससँग पनि सहकार्य गर्न तयार छन्। यिनीहरूले गरेको गठबन्धन र शासनशैलीमा कहाँ छ प्रजातान्त्रिक समाजवाद? कहाँ छ साम्यवाद? अनि कहाँ छ साम्यवादमा पुग्ने संक्रमणकालीन समाजवाद? विधानको उद्देष्य, नीति र सिद्धान्त विपरित व्यवहार गरिन्छ भने त्यो भ्रष्टाचार हो।

भ्रष्टाचार आर्थिक मात्र हुँदैन, सिद्धान्तविपरित व्यवहार पनि भ्रष्ट आचार हो। भ्रष्टाचारको मूल, नैतिक विचलन हो। नैतिक निष्ठा नभएका पार्टी नेताहरू र सिद्धान्तहीन रास्वपाका नेताहरूमा कसरी भिन्नता छुट्टाउनु? संघर्ष गरेका, त्याग गरेका, लामो जेल जीवन बिताएका नेतृत्वहरूको नैतिक विचलन भएको कारण नै सहकारी ठगीका आरोपी, दोहोरो नागरिकता, दोहोरो पासपोर्टधारी तथा भयादोहन (ब्ल्याकमेलिङ) गर्ने चटके व्यक्तिप्रति जनता आकर्षित हुन पुगेका हुन्।

राजनीतिक स्थिरता र आर्थिक समस्या समाधानको कथित उद्देश्य राखेर प्रमुख दुई पार्टीको सरकार गठन गरिएको छ। राजनीतिक स्थिरता भाषण गरेर वा सम्झौतामा हस्ताक्षर गरेर आउने होइन। राजनीतिक अस्थिरताको कारण पहिचान गरेर त्यसको समाधान गर्ने अठोट नगर्दासम्म स्थिरता प्राप्त हुँदैन। राजनीतिक अस्थिरताको कारक नेताहरूको प्रवृत्ति हो। सरकार भन्दा बाहिर बस्नै नसक्ने मनोरोगबाट मुक्ति नपाउँदासम्म स्थिरता प्राप्त हुँदैन। लोकतन्त्रमा जनमतको सम्मान गर्न सक्नुपर्छ।

कुनै दलको बहुमत पुग्न नसकेको अवस्थामा संसद्को ठूलो दललाई सरकार गठन गर्न अवसर दिनु संसदीय प्रजातन्त्रको मान्यता हो। ठूलो दलले सरकार नबनाएमा मात्र अन्य दलले सरकार गठन गर्नुपर्ने हो। संसदीय प्रजातन्त्रमा निष्ठा कमजोर भएका दलहरूका कारण यो परम्परा २०७९ सालको निर्वाचनपछी खण्डित हुन पुग्यो। अहिले पनि संसद्को पहिलो दललाई दुई वर्षपछि नेतृत्व दिने गरी दोस्रो दलले सरकार गठन गरेको छ। सहमति नै आलोपालोको हुनुलाई कसरी स्थिरता मान्न सकिन्छ?

कामको परिणाम नहेरिकन पूर्वआंकलन गर्नु पूर्वाग्रह हुन जान्छ तर जसका कारण देशको अर्थअवस्था यो अवस्थामा पुग्यो, बारम्बार उनीहरूकै सत्तारोहणले आशावादी बनाउँदैन। सत्ताको सीमाहीन लालसाले उब्जाएको अस्थिरताको कारण नेपाल अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बदनाम हुन पुगेको छ। राजनीतिक अस्थिरताको ओलम्पिकमा नेपाल विश्व च्याम्पियन रहेको व्यंग्य गर्दै फ्रान्सको प्रसिद्ध समाचारपत्र ले मोन्डे लेख्छ, ‘नेपालको तत्कालीन इतिहासमा जति धेरै परिवर्तन हुन्छ, त्यति नै उनीहरू उस्तै रहन्छन्।’

हो, हामी उस्तै छौँ। हाम्रा पार्टीका नेताहरू सत्ताको भोकबाट कहिल्यै तृप्त हुँदैनन्। हामी नेपाली जनता तिनै नेतालाई सरकारमा पुर्‍याउन सधैँ लालायित रहन्छौँ। सत्ताग्रस्त नेता र पार्टी उन्मादी बहुसंख्यक मतदाता भएको समाजले अग्रगामी परिवर्तनको निर्णय क्षमता राख्छ भनी आशा गर्नु नै व्यर्थ छ।

तैपनि भनिँदैछ, राजनीतिक स्थिरताका लागि मिलेका हाैं। अर्थतन्त्रमा आएको संकट समाधान गर्न मिलेका हौँ। निराश जनतामा आशा सञ्चार गर्न मिलेका हौं। विभिन्न स्वनामधन्यहरूले भन्नुभएको छ– यो कांग्रेस एमालेका लागि अन्तिम अवसर हो। नेपालीसँग पनि आशा गर्नुबाहेक तत्कालका लागि अन्य कुनै सहज विकल्प छैन।

गाउँघरको एउटा अलि अश्लील कहावत छ– ‘घरमा केही काम नगरेर अल्मलिएको पतिबाट आजित पत्नीले पतिलाई बाहिर गएर कमाएर ल्याउन प्रेरित गरिछन्। त्यो मानिस ३–४ महिना बाहिर घुमेर खाली हात एक दिन टुप्लुक्क घरमा आइपुगेछ। साना छोराछोरी बाबु आएकोमा खुसी हुँदै बा आए, बा आए भन्दै कराउँदा रहेछन्। खाली हात यति छिटै आएको देखेर रिसाएकी आमाले छोराछोरीसँग रिसाउँदै भनिछन्– कति बा आए भनेर खुसी हुन्छौ, बा तिमीहरूका लागि होइन, मेरा लागि मात्र आएका हुन।’

यो कहावतमा कतै कुण्ठा पनि लुकेको होला तर नेपालका नेताजीहरूको राम्रै प्रतिनिधित्व गर्छ। नेपालीलाई शंका छ-हाम्रा बाहरू हाम्रा लागि मिलेका होइनन्। यो देशका भूमाफिया, दलाल, बिचौलिया, सुन तस्करका लागि मिलेका हुन्। यो शंका गलत साबित होस्। अहिलेलाई यति मात्र कामना गरौँ।

प्रकाशित: १८ श्रावण २०८१ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App