१२ पुस २०८१ शुक्रबार
image/svg+xml
विचार

अल्पज्ञानी नेता भयंकर

पार्टीका नेताहरूले नजानेका विषय सायदै केही होला। संसारभरका राजनीतिकर्मीले आफूलाई चौतर्फी ज्ञानको भण्डार देख्ने भए पनि नेपाली नेतामा उक्त क्षमता अलि बढी नै देखिन्छ। जुनसुकै दल र तहका भए पनि स्वयंलाई सबै विधामा पारंगत देख्छन् नेताहरू। निलोलाई आफ्नो निहित स्वार्थका लागि सेतो र कालो भन्न पनि नहिच्किचाउने नेता अनि सत्य र तथ्यको जगमा अडिएको विज्ञानबीच अतुलनीय विभेद छ।

प्रधानमन्त्री भएका बखत केपी शर्मा ओलीले दिएका अधिकांश अभिव्यक्तिको बचाउ गर्न विषयगत ज्ञान भएको कुनै पनि व्यक्तिको ह्याउले भ्याउने अवस्था थिएन। गैँडाको अंग्रेजी नाम, भगवान् रामको जन्मस्थलदेखि बेसारले कोरोना निको हुने, घर–घरमा ग्यासको पाइपलाइन अनि खोलामा पानीजहाज चलाएर देशको निकासी पैठारीको सरलीकरण जस्ता ओलीका अभिव्यक्ति चटकेको दाबीभन्दा फरक थिएनन्।

अहिले प्रधानमन्त्रीको लाइनमा रहेका ओलीले पदमा पुग्दा फेरि पनि त्यस्तै अस्वाभाविक अभिव्यक्ति नदिऊन् भन्ने सबैको चाह हो। राष्ट्रका अग्रजको भनाइ देशको बोली मानिने भएकाले मुलुकको कमान्डर संयमित र मर्यादित बनून् भन्ने सबै नेपालीले आशा गर्छन् नै।  

आखिर किन नेताहरूले बोल्न होस् पाउँदैनन् ? भन्ने प्रश्नको उत्तर सहज छैन। विषयगत कुरामा पटक्कै दक्षता नभए पनि व्यक्तिहरू किन गुड्डी हाँक्छन् भन्ने प्रश्नको अन्वेषणात्मक उत्तर यो आलेखको  लक्ष्य रह्यो।

न्यून ज्ञान भएको मानिस किन आफूले सबै कुरा जानेको ठान्दै बोल्दै हिँड्छ भन्ने प्रश्नको उत्तर खोज्न अमेरिकाको येल युनिभर्सिटीका लियोनिड रोजेन्ब्लिट र फ्य्राड्क केलको संयुक्त टोलीले  सन् २००२ मा लामो समय लगाएर क्रमिक अन्वेषण गरे। आफूले जानेको क्षमताभन्दा अत्यधिक ज्ञान भएको ठान्नु मानवीय स्वभाव भएको तथ्य सार्वजनिक भयो।

आखिर किन मानिसले आफ्नो बौद्धिक तागतको अधिक मूल्यांकन गर्छन् त? नपढेका मानिसले मात्र क्षमताभन्दा आफ्नो तागतलाई अधिक आँक्छ कि पढेलेखेका पनि गी हाँक्छन् त भन्ने प्रश्नको उत्तर खोज्न टेक्ससस्थित साउर्दन मेथोडिस्ट युनिभर्सिटीका प्राध्यापक म्याथ्यु फिसरले पृथक् अध्ययन गरे।

स्नातक उत्तीर्ण विद्यार्थीलाई केन्द्रमा राखी गरिएको उक्त अध्ययनले उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूमा समेत ज्ञानको भ्रम हुने बेहोरा सार्वजनिक गरे। जर्नल कग्निटिभ साइन्सको सन् २०१५ मा प्रकाशित उक्त अन्वेषणले आफूले जानेभन्दा आफ्नो क्षमतालाई अधिक आक्ने मानवीय गुण अनपढ र उच्च शिक्षा हासिल गरेका व्यक्तिमा समान देखियो।

त्यस्तै एक फरक अनुसन्धानले अलिकति पढे÷लेखेको मानिसले गुगल सर्चमार्फत इन्टरनेटमा उपलब्ध हुने जानकारीलाई समेत आफ्नो अन्तर्निहित ज्ञान ठान्ने गरेको पाइयो। त्यस्तै युट्युबमा प्रस्तोताले कुनै नवीन ज्ञानको काइदा सार्वजनिक जानकारीका लागि राखेको भिडियो एकपटक हेरेको भरमा आफूलाई उक्त कार्य गर्न समर्थ रहेको ठान्ने समाज ठूलो देखिएको बेहोरा सन् २०१८ मा सेज जर्नलमा प्रकाशित अन्वेषणले देखायो।

विज्ञानको पुस्तक नै नसमाएको व्यक्तिले समेत वैज्ञानिकसँगको हिमचिमका आधारमा आफूलाई वैज्ञानिकका रूपमा उभ्याएको देखियो। सामाजिक सञ्जालमा देखिएको लेखलाई आधार मानेर व्यक्तिले आफ्नो धारणा बनाएको धेरै पाइन्छ।

युक्रेनमा गरिएको एक अध्ययनले विषयगत ज्ञान र आधारहीन गफ दिने बानीबीच विपरीत सम्बन्ध स्थापित भएको पायो। सतही ज्ञान भएको व्यक्तिले एकदमै आत्मविश्वासका साथ प्रस्तुति दिएको देखियो भने खँदिलो बौद्धिक वजन भएको व्यक्तिले कम गी हाँकेको पाइयो। अदक्ष व्यक्तिले ठीक/बेठीक ठम्याउन नसक्ने भएकाले दृढताका साथ प्रस्तुति दिनु अन्यथा होइन।

जान्दै नजानेको विषयमा प्रस्तुति दिने बानी कलेजको मुखै नदेखेका ओलीको मात्र होइन, डा. बाबुराम भट्टराईमा पनि देखियो। पूर्वप्रधानमन्त्री भट्टराईले आफू नेतृत्वमा छँदा देशमा धस्रने होइन, बरु भ्यागुतो जस्तो उफ्रने आर्थिक वृद्धि हुने घोषणा गरे। मुलुकको अर्थतन्त्र आकासिने उनको घोषणा यथार्थभन्दा निकै टाढा थियो। भट्टराई र ओली मात्र होइन नेपालका धेरै नेताले भिन्न भिन्न समयमा आधारहीन गफ दिएका वृत्तान्तको लेखाजोखा राख्न आवश्यक रहेन। कृष्णप्रसाद  भट्टराईको सिंगापुरको सपना, पुष्पकमल दाहालको हावादारी छलाङका गफहरू दर्जनौँमध्येका केही परिदृश्य मात्र हुन्।

पृथक् स्थानमा बस्ने अनि भिन्न जातजातिका सबै मानिसमा आफ्नो वास्तविक क्षमतालाई उच्च ठान्ने प्रकृति देखिने भएकाले जीव विकासकै क्रममा मानिसले गफ लगाउने बानी सिकेको ठान्छन् फ्रेन्च मानवशास्त्री तथा पुस्तक ‘द इनिग्मा अफ रिजन’ का लेखक ड्यान स्पर्बर। आफ्नो क्षमतालाई बढाइ चढाइ प्रस्तुत गरी असंगठित समाजलाई आफ्नो नेतृत्वमा गोलबन्द गर्नुपर्ने बाध्यताका कारण मानवले सभ्यताको पूर्वार्धमै गफ लगाउने बानी सिक्यो भन्ने सोच राख्ने समाजशास्त्री मनग्य छन्। उदाहरणका लागि आफ्नो शारीरिक क्षमतालाई बढाइचढाई गरी जनावरको सिकार गरी समूहलाई खुवाउन सक्ने योजना प्रस्तुत गर्ने व्यक्ति उक्त अभियानको अगुवा बन्छ।

भए नभएको कुरा भन्दै एमालेको संगठन हत्याउने मात्र होइन, बरु निर्विकल्परूपले दलको राज गर्ने क्षमता भएका ओलीको वर्तमान तागत नियाल्दा सभ्यताको सुरुवाती दिनमा गफ लगाउने व्यक्तिले नेतृत्व लिएको भन्ने प्राध्यापक स्पर्बरको भनाइसँग असहमत हुनुपर्ने अवस्था रहेन। ज्ञानको भ्रम चिर्न सन् २००२ मा पहिलो पटक प्रकाशित अनुसन्धानकै सेरोफेरोमा दर्जनौँ अन्वेषण प्रस्तुतिपछि ब्राउन विश्वविद्यालयका प्राध्यापक स्टिभन स्लोम्यान र युनिभर्सिटी अफ कोलोराडोका प्रोफेसर फिलिप फर्नब्याचलिखित पुस्तक ‘द नलेज इल्युजन’ भन्ने पुस्तक प्रकाशित गरे सन् २०१७ मा। साना ठूला, पढेका, अनपढलगायत संसारका सबै मानिसमा आफ्नो क्षमतालाई बढोत्तरी गरी दलिल पेस गर्ने बानी हुन्छ भन्ने तार्किक प्रस्तुत गरिएको उक्त किताबले छोटो समयमै हलचल ल्यायो।

क्षमतालाई बढी आँक्ने आदत अधिकांशमा देखिए पनि उपल्लो पदमा भएका व्यक्तिको प्रभाव क्षेत्र ठूलो हुने भएकाले ओहोदामा बस्नेले अभिव्यक्ति दिँदा सत्यताका सम्बन्धमा अझ बढी ध्यान दिन आवश्यक देखियो। राजनीतिकर्मीले अभिव्यक्ति दिनुअघि विषयगत ज्ञान भएकासँग सल्लाह गर्ने अनि उनीहरूकै सुझाव र सम्मतिमा आफ्ना धारणा पस्कनु आवश्यक हुन्छ। योग्य व्यक्तिसँगको सल्लाहमा बोल्नुको बदला ज्ञानको भ्रमको सिकार भएर जथाभावी फलाक्दा मुलुकले आर्थिक व्यय मात्र बेहोर्नु पर्दैैन, बरु नेताकै कारण नागरिकले समेत लज्जा  बेहोर्नुपर्ने हुन्छ। विगतमा प्रधानमन्त्री ओलीको पानीजहाजको लहडी भाषणको प्रतिरक्षामा मुलुक र नेकपाले कति मूल्य चुकायो सबैको जानकारीमै छ।

देशको प्रमुख कार्यकारी मात्र होइन, बरु पदअनुरूप हरेकको आआफ्ना प्रभाव क्षेत्र हुने भएकाले अभिव्यक्ति दिँदा सबैले सचेत हुन आवश्यक देखियो। सुसूचित नागरिकको भोटले मात्र प्रजातन्त्र संस्थागत हुन सक्ने भएकाले सबै तह र तप्कामा सत्य समाचारको प्रवाह आवश्यक देखियो। ज्ञानको भ्रममा पर्नुभन्दा सत्यको खोजी लाभदायक हुन्छ भन्नेमा सबैले ध्यान दिन आवश्यक छ। झुटको खेती गर्नेभन्दा तथ्यपरक अभिव्यक्ति दिनेलाई उच्च मूल्यांकन गर्ने संस्कार अहिलेको आवश्यकता हो। कसले सत्य भन्यो अनि कसले भ्रमको खेती गर्‍यो त्यसको यथार्थ दर्शाउने दायित्व त अन्त्यमा बौद्धिक जमात र सञ्चार माध्यमकै हो भन्ने सबैले हेक्का राखौँ ।

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।

प्रकाशित: २५ असार २०८१ ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App