२५ फाल्गुन २०७७ मंगलबार
विचार

बुद्ध बोधमा कि प्रचारमा ?

बुद्ध नेपालमा जन्मेका हुन् भनेर प्रमाणित गर्न हामी नेपालीहरूले समय समयमा अनेक अभियान चलाउने गरेका छौँ । भर्खरैमात्र विश्व कीर्तिमान बनाउने भन्दै हजारौँ मानिस टुँडिखेलमा भेला भएर एकसाथ भगवान् गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन गरेर गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा लेखाउने प्रयासमा छौँ । बुद्धको परम्परा र बुद्धभन्दा अगाडि या पछाडि पनि थुप्रै बुद्ध पुरुषहरू जन्माएको छ नेपालले तर त्यसलाई चिन्न सकेका छैनौँ हामीले । बुद्ध नेपालमा मात्र नभएर हाम्रै आँगनमा जन्मेका हुन् तर उनको चेतनालाई आफूमा जागृत गर्न नसक्दासम्म कुनै उपलब्धि छैन । किनकि,बुद्ध व्यक्ति नभएर परमचैतन्य र चेतना हो जुन हरेक व्यक्तिभित्र छिपेको छ । बुद्धको जीवनको अन्तिम क्षणमा एकजना चेलाले शरीरबाट बिदा लिनु अगाडि के सन्देश दिनुहुन्छ भनेर सोध्दा, बुद्धले भन्नुभएको थियो–तिमीले मेरो जीवन रहिन्जेल मैले बुझाउन खोजेको कुरा र मेरो इसारा बुझ्न सकेनौ । फेरि पनि मेरो एउटा सन्देश छ– अप्प दीपो भवः। आफ्नो दीप आफैँ बन। तिमी आफूभित्र नियाल, आफूलाई हेर, जान, बुझ किनकि आफूलाई नबुझी अरूलाई केही शिक्षा दिन सक्दैनौँ तिमी।

आत्मज्ञानअर्थात् आफैँलाई जान्नु जत्तिको ठूलो ज्ञान अरू छैन । कुनै युद्ध जित्नु छैन, कतै नाम लेखाउनु छैन । आफू हुनुको बोध गर्न सके पुग्छ । भित्र आफ्नो चित्त शान्त राख्ने, संयमित बन्ने, आफ्नो कर्म सम्यक् तरिकाले गर्ने । यही नै जीवन जिउने कला हो र बहुजन हिताय, बहुजन सुखायको माध्यम हो भन्ने बुद्धको शिक्षालाई व्यावहारिकतामा कहिले ल्याउने ?

बुद्धको सन्देशलाई जीवनमा उतार्न केही गर्नुपर्दैन, केवल होसपूर्ण भए पुग्छ। बुद्ध कुनै धारणाका लागि अनुरोध गर्नुहुन्न। बुद्धको मार्गमा चल्नेलाई ईश्वर मान्नु या नमान्नु, आत्मालाई मान्नु या नमान्नु कुनै आवश्यक छैन । यो पृथ्वीमा बुद्धको मात्र एक त्यस्तो वैज्ञानिक धर्म छ जसमा मान्यता, पूर्वाग्रह, विश्वास इत्यादिको कुनै आवश्यकता छैन, मात्र बोधलाई उहाँले जोड दिनुहुन्छ । यसलाई ख्याल गरेका छौँ हामीले ?

बुद्धको प्रयोगात्मक अभ्यासलाई हामीले अपनाएका छौँ कि छैनौँ ? श्वासको माध्यमबाट आफ्नो आत्मचेतनामा स्थिर बन, आफूलाई प्रेम गर र सारा संसारलाई प्रेम बाँड, प्रेम प्रष्फुटन हुनुको परिणाम नै अहिंसा हो भन्ने उहाँको सन्देशलाई आत्मसात् गरेका छौँ त ?

श्वास हेर्दा अपूर्व अनुभूति हुन्छ । श्वास हेर्दाहेर्दै चित्तका सारा रोगहरू तिरोहित भएर जान्छन् । यसरी श्वासलाई हेर्दाहेर्दै म शरीर होइन, म मन होइन भन्ने स्पष्ट अनुभव हुन्छ । र अन्तिममा म श्वास पनि होइन भन्ने अनुभूति हुन्छ । त्यसो भए म को हुँ त ? त्यसको कुनै उत्तर दिन सक्दैनौ तिमी । जान्दछौ, बुझ्दछौ तर बताउन सक्दैनौ । तिमी बोल्न नसक्ने लाटो जस्तै हुन्छौ । यही हो उडान । अब तिमी मौन हुन्छौ । भित्रभित्रै गुन्गुनाउन थाल्छौ । मीठो–मीठो स्वाद लिन थाल्छौ। मस्त भएर नाच्छौ, बाँसुरी बजाउन थाल्छौ तर बताउन सक्दैनौ । बिस्तारै बिस्तारै तिम्रो जीवनमा विपस्यना फैलिँदै जान्छ र एक दिन तिमीले आफैँमा बुद्धत्वको अद्भुत अनुभव गर्नेछौ । बुद्ध भन्नुहुन्छ– मैले भनेकाले मात्र मलाई नमान । मान्यौ कि चुक्यौ। 
मान्यताले हिन्दु, बौद्ध, मुश्लिम, इसाई, जैन बनाउँछ । न त तिमी मुश्लिम हौ, न हिन्दु, न जैन, बौद्ध तर तिमी परमात्मामय हौ । त्यही अनुभव प्राप्त गर्नुछ । त्यही अनुभव पाउन योग्य छ । यही नै बुद्धत्व हो, जुन सबै मनुष्यको स्वभाव हो । बुद्धस्वयंले प्रचारप्रसार भन्दा स्वयंको बोधलाई ध्यान दिन आग्रह गर्दा हामीले पनि बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् यसमा विश्व समुदाय भ्रममा नपरोस् भनेर अभियान चलाउँदै गर्दा, बुद्धको देशमा जन्मेका हामी नेपालीले आफूभित्रको बुद्धत्वलाई पहिचान गर्नु त्यत्तिनै जरुरी छ । प्रचार हैन, बोध गरौँ ।

प्रकाशित: १४ चैत्र २०७४ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App