२० वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

चौतारीमा ‘राजा’ भेटियो !

बाइरोडको बाटोमा

पञ्चायत थियो यो देशमा २०१७ देखि २०४६ सालसम्म। निकै रमाइलो सुनिन्थ्यो रेडियोमा त्यो व्यवस्था। राष्ट्रियताले लबालब भरिएको थियो समय। एउटा गीत कैयन् पटक रेडियोमा सुनिन्थ्यो–‘चौतारीमा राजा भेटियो... चौतारीमा रानी भेटियो...।’

यस्तो लाग्थ्यो, कतै गएका बेला फ्याट्ट राजासँग भेट भइहाल्यो भने भाग्य चम्किहाल्यो। गर्नुगाथ्नु केही परेन। रहस्यमयी तरिकाले केही भइहाल्यो भने पुगिगयो। दुःख किन गरिहनु पर्‍यो र ? पञ्चायतको त्यो धङ्धङीले अझै हामीलाई छाडेको छैन। आज पनि कुनै राजा फ्याट्ट सडकमा निस्कन्छन्। बाटामा निस्कनेका रमिता हुन्छन्।

गृहमन्त्रीको हातबाट प्राप्त हुने ताजा–ताजा लड्डु लोकतन्त्रको अपूर्व उपलब्धि हो। अब लोकतन्त्रको नयाँ गीत पनि लेखिनुपर्छ–चौतारीमा गृहमन्त्री भेटियो...! 

साहित्यकार इन्द्रबहादुर राईको उपन्यासको जहिल्यै सम्झना हुन्छ–‘आज रमिता छ।’ हो, हाम्रो देशमा दिनहुँ यस्तै रमिता छ। रमिता हामीलाई निकै रमाइलो लाग्छ। रमिता हेर्नैका निम्ति हामी बाटोमा निस्कन्छौँ। कसैले राम्ररी रमिता देखाइदियो भने खुसी हुन्छौँ। हामी भन्ने गर्छौं–फलानाले त खुबै रमिता देखायो। रमिता घर–घरको चर्चाको विषय हो। यसअर्थमा हामी रमिताप्रेमी छौं। रमिताप्रेमी हुनुका आफ्नै सुख छन्। यसले हामीलाई निराश बनाउँदैन। जीवनमा केही भएन भन्ने छटपटी पनि हुँदैन। रमिता हेर्‍यो, रमायो, सुत्यो। फेरि अर्को रमिताको प्रतीक्षा गर्‍यो। समाजका हामी रमितेहरूका निम्ति रमिताको कुनै कमी छैन। रमिता देखाउने पात्रहरू आइरहन्छन्। गइरहन्छन्।

नयाँ वर्ष २०८१ को दिन हामीले फेरि एउटा रमिता हेर्न पायौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लड्डु बोकेर सडकमा उत्रिए। हामी धन्य भयौं। त्यो दिन सडकमा नपुग्नेहरू थक्थकाए होलान्। गृहमन्त्रीको हातबाट प्राप्त हुने ताजा–ताजा लड्डु लोकतन्त्रको अपूर्व उपलब्धि हो। अब लोकतन्त्रको नयाँ गीत पनि लेखिनुपर्छ–चौतारीमा गृहमन्त्री भेटियो...! 

जिन्दगीभरि भक्ति गरेपछि कुनै एउटा मौकामा त्यसको प्रतिफल प्राप्त हुन्छ। राजाले एक्लै भ्याउँदैनन् भनेर अहिले देशैभरि संरचना बनाइएको छ। उनलाई किन धेरै दुःख दिनु भनेर सात सय ५३ वटा स्थानीय सरकार बनाएको छ। 

राजाको रजगज बक्सिसको समय हो। राजा हिँडेका बेला कुनै भाग्यमानीले बाटामा भेट्छ। उनलाई चिन्दैन। तर एकछिनमा उसलाई राजा हुन् कि जस्तो लाग्छ।

महाराजाधिराजकी जय भनेर नारा लगाएपछि मानिस आउन थाल्छन्। राजाले बक्सिस दिन्छन्। कसैले दुःख/पिर दिएको भए ठाउँको ठाउँ समाधान गरिदिन्छन्। राजा आउनु भनेको भगवान आउनु जस्तो हो। जिन्दगीभरि भक्ति गरेपछि कुनै एउटा मौकामा त्यसको प्रतिफल प्राप्त हुन्छ। राजाले एक्लै भ्याउँदैनन् भनेर अहिले देशैभरि संरचना बनाइएको छ। उनलाई किन धेरै दुःख दिनु भनेर सात सय ५३ वटा स्थानीय सरकार बनाएको छ। त्यतिले नपुगेर सात प्रदेशमा पनि उस्तै तामझामपूर्ण व्यवस्था छ। संघको सरकार त छँदैछ। उसले गर्नुपर्ने काम धेरै बाँडिदैछ। संघीयताले राम्ररी काम गर्न सक्ने भयो भने संघका मन्त्रीको काम सडकमा लड्डु लिएर बाँड्ने मात्र हो । रविले अहिले त्यसैको पूर्वाभ्यास थालेका छन्।

सडकमा गाडी हुन्छन् तर पेटीमा हिँड्ने मानिस नभेटेपछि बाटो सोध्न पनि मुस्किल हुन्छ। यस्तो किन भएको होला ? कारण रहेछ–कामका बेला सबै काममै हुन्छन्। बाटोमा निस्कने फुर्सद कसलाई ?

देशमा राजनीतिक परिवर्तनको अर्थ भने अझै बुझे जस्तो लागेको छैन। राजनीतिक परिवर्तनले देशमा समृद्धि ल्याउँछ। समृद्धिका निम्ति प्रत्येक व्यक्तिलाई रोजगारीको अवसर प्राप्त हुन्छ। त्यो अवस्थामा बाटामा लड्डु बाँड्न मन्त्री हिँडे भने पनि लिने सर्वसाधारण हुँदैनन्। राम्रो रोजगारी भएपछि आफू पनि लड्डु खान्छन्, परिवारलाई पनि खुवाउँछन्। छिमेकीलाई पनि बेलाबेलामा लड्डु दिन्छन्।

सिंगापुर घुम्दा कतिपय ठाउँमा दिउँसोतिर मानिस भेट्न मुस्किल हुन्छ। बाटो सोध्नेसम्म मानिस नभएका निर्जन सडकसमेत देखिन्छ। सडकमा गाडी हुन्छन् तर पेटीमा हिँड्ने मानिस नभेटेपछि बाटो सोध्न पनि मुस्किल हुन्छ। यस्तो किन भएको होला ? कारण रहेछ–कामका बेला सबै काममै हुन्छन्। बाटोमा निस्कने फुर्सद कसलाई ?

कार्यालय समयमा पनि हाम्रा सडक जाम हुन्छन्। काम गर्ने जाँगर धेरैमा छैन। सडकमा एउटाले उभिएर आकासमा टोलाएर हेर्न थाल्यो भने सयौं रमिते केही छिनमै भेला हुन्छन्। समाज चटकको प्रतीक्षामा छ। कसैले चटक देखाइदेला र हेरौंला भन्ने ठूलो अपेक्षा छ। स्यामुअल बेकेटको नाटक ‘वेटिङ फर गोदो’ मा जस्तै यहाँ पात्रको प्रतीक्षा भइरहेको छ। त्यस्ता पात्र आउन सकेका छैनन्।

‘जसको केटाकेटी भुराभुरी रातमा चम्किन्छ, निदमा दाह्रा खान्छ, सरुवा मोछ लाग्छ, उस्तो केटाकेटी भुराभरीलाई यो बुटी बाँध्नु जाति हुन्छ’ भन्ने प्रचार गर्थे। यो सुनेर सुनेर भटाभट बुटी बिक्री हुन्थ्यो। एउटै बुटीले सर्पको टोकाइ मात्र हटाउने होइन, अन्य अनेकन समस्याको समाधान यसले निकाल्थ्यो।

हामी स्कुले बेलामा धरानको भानुचोकतिर यस्तै रमाइला चटक देखाउनेहरूलाई हेरेर पुलकित हुन्थ्यौं। कसैले सर्पको विष नलाग्ने बुटी बेच्थे। कसैले नातागत भएकाहरूले प्रयोग गर्ने तैलादि ग्यारेन्टीका साथ बिक्री गर्थे।

‘जसको केटाकेटी भुराभुरी रातमा चम्किन्छ, निदमा दाह्रा खान्छ, सरुवा मोछ लाग्छ, उस्तो केटाकेटी भुराभरीलाई यो बुटी बाँध्नु जाति हुन्छ’ भन्ने प्रचार गर्थे। यो सुनेर सुनेर भटाभट बुटी बिक्री हुन्थ्यो। एउटै बुटीले सर्पको टोकाइ मात्र हटाउने होइन, अन्य अनेकन समस्याको समाधान यसले निकाल्थ्यो। राजनीतिमा पनि यस्तै बुटीको अपेक्षा नेपाली समाजलाई भइरहेको छ। प्रत्येक पटक जादुगर आउँछन्। रातारात बुटी बेच्छन् र भाग्छन्।

स्कुलको पाठ्यक्रम र अध्ययनमा सुधारभन्दा नेपाली नाम राख्न हतार छ। नाममा के छ ? गाउँको नाम गोबरपुर भए पनि मग्मगाउँदा फूल फुलेका छन् भने सार्थक हुन्छ।

अहिले काठमाडौंका सडकमा नयाँ खाले बुटी बिक्री भइरहेका छन्। छँदाखाँदाका सडक पेटी भत्काएर नयाँ हालिएका छन्। रुख र खम्बामा बिजुली बल्ने तार बेरिएका छन्। भित्तामा चित्र पनि लेखिन थालेका छन्। यसले चटकप्रेमीहरूलाई खुसी पारेको छ। चित्रमय भित्ता, बेलाबेलामा फेरिरहने पेटी र बिजुलीका कारण काठमाडौं सुन्दर भइरहेकोमा यहाँका बासिन्दा मख्ख छन्। अझ देशभित्रै बस्नेभन्दा विदेशबाट हेर्दाको काठमाडौं भिन्न छ। तिनले सहरको नाम नै अमूक पात्रमा अनुदित गरिसकेका छन्।

बाहिर हिँड्ने बेलामा भरपर्दो सार्वजनिक यातायात छैन। औषधि उपचार गराउनुपर्‍यो भने गरिबले अस्पतालको बिल र मृत्युमा कुन रोज्छौं भन्दा बेफिक्रीसँग दोस्रो माग्नुपर्ने अवस्था छ। सन्तानको स्कुलको हालत हेर्‍यो भने कहाली लाग्छ। स्कुलको पाठ्यक्रम र अध्ययनमा सुधारभन्दा नेपाली नाम राख्न हतार छ। नाममा के छ ? गाउँको नाम गोबरपुर भए पनि मग्मगाउँदा फूल फुलेका छन् भने सार्थक हुन्छ।

धेरैलाई लागेको थियो, गणेशमानजीले अति बोले। वास्तवमा उनको बोलीको सच्चाइ पुष्टि हुँदै गइरहेको हो कि? मुलुकका निम्ति गर्नैपर्ने काम नगर्ने तर चटक देखाउनेले नागरिकको ध्यान ताने कि?

नाम भने ‘अमरावती कान्तिपुरी नगरी’ यताउता गर्नासाथ ठसठसी गनाउने ढलले नाक छोप्नु परेपछि के हुन्छ ? अहिले पनि काठमाडौं, ललितपुर र भक्तपुर तीन सहरको तुलना गर्ने हो भने सबैभन्दा अस्तव्यस्त कुन छ भन्ने सबैलाई हेक्का छ। चटक देखाउँदा देखाउँदै केहीको नामै ‘डोजर’ मा अनुदित भइसकेको छ। डोजर देख्दा आफ्नो मेयरको अनुहार सम्झिनुपर्ने अवस्था छ । काठमाडौं भनेको रत्नपार्क वरिपरि मात्र हो वा अलि पर्तिर पनि गएर हेर्नुपर्ने हो ?

२०४६ सालको जनआन्दोलन सम्झिनेबित्तिकै ‘लौहपुरुष’ गणेशमान सिंहको सम्झना हुन्छ। जनआन्दोलन सकिएर मुलुकमा निर्वाचन हुन थालेपछि उनले जनतालाई ‘भेडा’ को संज्ञा दिएका थिए। धेरैलाई लागेको थियो, गणेशमानजीले अति बोले। वास्तवमा उनको बोलीको सच्चाइ पुष्टि हुँदै गइरहेको हो कि? मुलुकका निम्ति गर्नैपर्ने काम नगर्ने तर चटक देखाउनेले नागरिकको ध्यान ताने कि?

 वास्तवमा गम्भीरता दुःखको कारण हो। जे छ त्यसैमा रमाउनु सबैभन्दा सुखद हो। काठमाडौंले अब आन्दोलन वा क्रान्ति पनि गर्दैन । किनभने यसले ठूला सपना देख्न छाडिसकेको छ। बाटामा हिँड्दा हिँड्दै लड्डु पाइने अपेक्षामा छ।

त्यसो त विदेशमा मरीमरी दुःख गरेर केही क्षण सुस्ताएका बेला खिचिएका तस्बिर सामाजिक सञ्जालमा हेरेर हामीलाई उतै जाने रहर हुन्छ। कसैको अग्लो घरअघि उभिएर खिचिएको सेल्फीमा देखिएको मुस्कान मात्र उसको हो, आलिसान संरचना होइन। तर नागरिकलाई विदेश तान्न त्यही मुस्कान काफी छ। देशमा पनि केही थान चटकेहरूका पछि लागेर लोकतन्त्रका उपलब्धि नै परित्याग गर्न पनि केहीलाई तत्परता जाग्न सक्छ। देशमा लोकतन्त्रका निम्ति योगदान गर्नेको महत्ता कम गराउने काममा योगदान भइरहेकै छ।

यस्तो लाग्छ, नेपाली समाजले गम्भीर हुन छाडिसकेको छ। वास्तवमा गम्भीरता दुःखको कारण हो। जे छ त्यसैमा रमाउनु सबैभन्दा सुखद हो। काठमाडौंले अब आन्दोलन वा क्रान्ति पनि गर्दैन । किनभने यसले ठूला सपना देख्न छाडिसकेको छ। बाटामा हिँड्दा हिँड्दै लड्डु पाइने अपेक्षामा छ। करोडौंको चिठ्ठा परेर रातारात धनी हुने सपना पनि छन्। पञ्चतन्त्रका ‘सोम शर्मा’ को सातुको कथा दोहोरिँदैछ।

लौ आउनुहोस्, फेरि एकपटक समवेत स्वरमा गीत गाऔं–चौतारीमा ‘राजा’ भेटियो !

प्रकाशित: ३ वैशाख २०८१ ०७:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App