१० असार २०८१ सोमबार
image/svg+xml
विचार

पुरुष,परिवार र पारपाचुके

देशमा बढ्दो पारपाचुके चर्चामा छ। यो वर्ष मात्रै करिब ३७ हजार जोडीले पारपाचुके गरेको अनुमानित तथ्याङ्क छ। यसका लागि एकथरीले पुरुषलाई दोष दिन्छन् भने अर्काथरीले महिलालाई। आँकडाले देशभर महिलामाथि हुने हिंसा त्यसमा पनि घरेलु हिंसा बढेको देखाएको छ। प्रहरीका अनुसार, घरेलु हिंसाका घटनामा ८० प्रतिशत पीडक पुरुष छन्। पारपाचुकेको एक महत्त्वपूर्ण कारण घरेलु हिंसा हो भन्नु अत्युक्ति हुन्न। त्यसैले अहिले बढ्दै गइरहेको पारपाचुकेको दर घटाउने हो भने घरेलु हिंसा घटाउनुपर्छ भन्नेमा सहमति आवश्यक छ।

किन हुन्छ त घरेलु हिंसा? कारण खोजी गर्दा त्यस्ता परिवार जहाँ परिवारका सदस्यबीच शक्तिको असमान वितरण छ, त्यहाँ बढी हिंसा भएको अनुसन्धान र अनुभवले पुष्टि गर्छन्।हाम्रो देशमा महिला र पुरुषबीच असमान शक्ति सम्बन्ध छ। पुरुषलाई महिलाभन्दा माथि मानिन्छ, त्यसले गर्दा यो स्थिति आएको हो। त्यसैले हामी हाम्रो समाजमा पारपाचुके घटोस्, बालबालिकाले पारिवारिक माया पाउन् भन्ने चाहन्छौँ भने सबैभन्दा पहिले हाम्रो समाजमा समानता स्थापित गर्ने कार्य गर्नु आवश्ययक छ। समानता हरेक व्यक्तिको मौलिक अधिकार हो। सबैले समानता उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको संवैधानिक दायित्व हो।

घरेलु हिंसाले महिलालाई मात्रै पिर्दैन। पूरै परिवार प्रभावित हुन्छ। पीडक पुरुष पनि प्रभावित हुन्छ। उसको पनि मानसिक स्थितिमा असर पर्छ। समयमै सहयोग पाएन भने ऊ आफूलाई नै पीडा दिने व्यवहार गर्न थाल्छ। थप हिंसा गर्छ। हिंसाको चक्र दोहोरिन्छ।

घरेलु हिंसाका कारण पीडित र पीडक दुवै प्रभावित हुन्छन् भने उनीहरूबीच हुने गरेको हिंसालाई देख्दै, भोग्दै हुर्केका, साक्षी बसेकाहरू आघातबाट पीडित हुन्छन्। यस्तो समूहमा प्रथमतः बालबालिका पर्छन् भने दोस्रो त्यही घरमा रहेका अशक्त तथा ज्येष्ठ नागरिक पर्छन्। त्यसैले देखिएको हिंसा र यसले सबैभन्दा धेरै प्रभाव पीडितलाई त पार्छ नै, त्यसपछि पीडक अनि अरू धेरैमा आघात हुन जान्छ। यस्तोखाले आघातले पुस्तौं पुस्ता नै प्रभावित हुन्छन्।

घरेलु हिंसाले महिलाको स्वास्थ्य (मानसिक र शारीरिक दुवै) मा असर पार्छ। महिला पुरुष दुवैको प्रजनन तथा यौन स्वास्थ्य प्रभावित हुन्छ। व्यक्तिको व्यक्तित्व प्रभावित हुन्छ। यस्ता व्यक्ति आफूलाई घात पुर्‍याउने, जस्तै–लागु पदार्थ बढी सेवन गर्ने, असुरक्षित र जथाभावी यौन सम्पर्क राख्न सक्ने, अश्लील भिडियो हेर्ने, जुवातास खेल्ने जस्ता विभिन्न कुलतमा फस्नेदेखि आत्महत्या वा जोडीको हत्या गर्ने जस्ता कार्य गर्न सक्ने जस्तो जोखिममा रहनुका साथै आफूभित्र द्वन्द्व, आत्मबल कमजोर हुने, मानसिक अस्थिरता जस्ता विभिन्न समस्याबाट आक्रान्त हुन्छन्। यसले समाजमा हिंसाको चक्र अझै बलियो गरी स्थापित हुन्छ। त्यसैले घरेलु हिंसालाई महिलाको मात्रै मुद्दा वा परिवारभित्रको मात्रै मुद्दा भनेर लिनु ठूलो भूल हुनेछ।

सरकारले घरेलु हिंसा परिवारभित्रको मात्रै मुद्दा होइन, यो सरकारलाई समेत प्रभावित गर्ने मुद्दा हो भनी सम्बोधन गर्दै कानुन बनाइसकेको छ। वैवाहिक बलात्कारविरुद्धको कानुन छ। यिनीहरू निकै सकारात्मक पहल हुन्। तर यिनका बाबजुद पनि अहिले समाजमा हिंसा बढ्दो छ र त्यसकै परिणामका रूपमा पारपाचुके देखिन्छ।

कुनै पनि हिंसापूर्ण सम्बन्धमा बस्नुभन्दा एक्लै बस्नु उपयुक्त हुन्छ। बालबालिका पनि हरेक दिनको कलहपूर्ण जीवनमा बाँच्नुभन्दा बरु एकजनासँग बस्दा त्यसले उनीहरूको मानसिक स्वास्थ्यमा पहिलेको स्थितिभन्दा सकारात्मक प्रभाव पार्छ। त्यसैले एउटा दृष्टिकोणले हेर्दा पारपाचुकेलाई ठिकै मान्न सकिन्छ। तर पक्कै पनि यो स्थिति व्यक्ति, परिवार, समाज र बालबालिका कसैका लागि पनि हितकर भने होइन। त्यसैले हाम्रो प्रयास भनेको परिवार मिलेर बस्न सक्ने वातावरण बनोस् भन्ने नै हुनु पनि पर्छ। तर यसका लागि पहिलो सर्तका रूपमा महिला र पुरुषबीच अहिलेको असमान शक्ति सम्बन्धमा रूपान्तरण आवश्यक हुन्छ। यो सम्बन्ध रूपान्तरणका लागि महिलाको पहिचान, कसैमा आश्रित नभई एक सम्पूर्ण नागरिकका रूपमा स्थापित हुन जरुरी छ।

महिलाको शरीरमा महिलाकै नियन्त्रण हुने वातावरण बन्नुपर्छ। महिलाको श्रमको पहिचान, मूल्याङ्कन हुँदै उनको आर्थिक अधिकार र स्वतन्त्रता सुनिश्चित हुनुपर्छ। त्यसरी नै पुरुषभित्र सानैदेखि दह्रो गरी बसेको ‘महिलाको शरीरको नियन्त्रण म गर्न सक्छु, महिला भनेको मैले नियन्त्रण गर्न सक्ने व्यक्ति हो, महिला खासगरी श्रीमती, मेरो अधीनको व्यक्ति हो’ भन्ने जस्ता सोच परिवर्तन हुनुपर्छ।

एक शब्दमा भन्नुपर्दा अहिलेसम्म स्थापित पुरुषत्वप्रतिका मापदण्ड जसलाई विषाक्त पुरुषत्व भनिन्छ, त्यसमा परिवर्तन जरुरी हुन्छ। यसो भन्नु जति सजिलो सुनिन्छ, गर्नु त्यति नै सजिलो छैन। यसका लागि आजसम्म स्थापित समुदायका संरचनादेखि मानिसको दिमागमा गहिरो गरी गढेको पितृसत्ताद्वारा स्थापित मूल्यमान्यता, सोच र व्यवहारमा रूपान्तरण हुनुपर्छ।

स्थिति जटिल देखिए पनि सरकारले रूपान्तरण गर्न चाहेको खण्डमा नागरिकले सधैँ समर्थन र साथ दिएका छन्। यसलाई पुष्टि गर्ने धेरै आधार छन्। त्यसैले यो पारपाचुके  बढ्नुमा महिला र पुरुषमध्ये को दोषी हुन्? भनी एकथरीले अर्कोथरीलाई दोषी देखाउनु भन्दा पनि यो के कारणले भइरहेको छ भन्ने गहिरो गरी विश्लेषण गर्दै त्यो स्थितिमा परिवर्तन गर्नु जरुरी छ।

नेपालको संविधानको मुख्य विशेषतामध्ये ‘सबै प्रकारका विभेद अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्ने’ प्रमुख हो। त्यसैगरी संविधानका अन्य विशेषताले, हरेक व्यक्तिको समानताको हक, न्यायसम्बन्धी हक, यातनाविरुद्धको हक, शोषणविरुद्धको हक, श्रम, रोजगारी, स्वास्थ्यका हकलगायतका अन्य मौलिक अधिकारले सबै नागरिकलाई समानतापूर्वक बाँच्न पाउने वातावरणको अधिकार दिएको छ।

अझ महिलाको हकलाई विशेष हकका रूपमा स्थापित गरिएको छ। जसमा बिनाविभेद, स्वतन्त्रसँग, बिनाहिंसा र यातनाबिना बाँच्न पाउने अधिकार सुनिश्चित गरिएको छ। त्यसैगरी नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घको विश्वव्यापी घोषणापत्र, १९४८ , महिलाको राजनीतिक अधिकारसम्बन्धी महासन्धि १९५२, दासत्व/दास व्यापार उन्मूलनसम्बन्धी महासन्धि १९५६, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र, १९६६, महिलाविरुद्धको सबैखाले भेदभाव उन्मूलन गर्नेसम्बन्धी महासन्धि १९७९ तथा यसको ऐच्छिक प्रोटोकल १९९९, अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित विभिन्न महासन्धि, बेइजिङ, कायरो घोषणा, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का १३२५, २०००, १८२० लगायतका विभिन्न नैतिक तथा कानुनी दस्ताबेजहरूको पक्षधर राष्ट्रको समेत हो।

यी सबै महासन्धिको चुरो विषय भनेको हरेक क्षेत्रमा महिला र पुरुषबीच समान सम्बन्ध स्थापित गर्नु राज्यको प्रमुख दायित्व हो भन्ने नै छ। महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिले स्पष्ट रूपमा यो समानताको अधिकार सुनिश्चित गर्न समाजमा स्थापित सबैखाले विभेदपूर्ण मूल्यमान्यता, व्यवहार र संरचनाहरूमा रूपान्तरण गर्नु सरकारको दायित्व हो भनी धारा २,५,१६ ले थप प्रष्ट्याएको छ।

यो अवस्थामा पारपाचुके बढ्नु, घरेलु हिंसा बढ्नु, यौन हिंसा बढ्नु, पीडित र प्रभावितले न्याय पाउने वातावरण बन्न नसक्नु भनेको सरकारले आफ्नो संवैधानिक तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा नगरेको परिणाम हो। त्यसैले यो अवस्था अन्त्य गर्ने सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ भन्ने पनि सबैले गहिरोसँग आत्मसात गर्नुपर्छ।

अपसोस, अहिले हामीकहाँ अचम्मको परिपाटी झाँगिएको छ। कुनै महिलामाथि हिंसा भयो भने महिला अधिकारकर्मीहरू कहाँ छन् भनी सोधिन्छ। पारपाचुकेमा महिलालाई नै दोषी देखाइन्छ। कुनै पनि प्रकारको हिंसापीडित महिला समाजमा इज्जतका साथ बाँच्न सक्ने अवस्था छैन। यस्तो अवस्थाले हिंसा न्यूनीकरण गर्नेभन्दा हिंसाको चक्रलाई बढावा दिन्छ।

यो अवस्था हामी कसैलाई मान्य हुनु हुँदैन। हाम्रो समाजमा अहिले पनि पुरुषको महिलाभन्दा धेरै अधिकार छ। पुरुषको कुरा धेरै सुनिन्छ। त्यसैले यो अवस्था परिवर्तन गर्न सरकारको जिम्मेवार पहलका साथै पुरुषको अगुवाइ आवश्यक छ।

प्रकाशित: २९ चैत्र २०८० ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App