१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

सुनौलो बिहानीको सपना

एक आमनेपालीको सपना के हुन सक्छ? राम्रो, सुखद, हाँसो, खुसी, नाचगान, धनधान्य...। सपना जे देखेको भए पनि विपनामा वास्तविक धरातल फरक हुन सक्छ। सपना सपनै हो, विपना विपनै। बहुसंख्यक सामान्य नेपालीको चाहना निश्चिन्त गाँस, बास र कपास नै त हुन्छ। कुनै चिन्ताबिना खुसीसाथ शान्तिपूर्ण जीवन यापन नै सुखद हुन सक्छ धेरैका लागि। अरूको देखासिकी गरी आफ्नो क्षमता र सामथ्र्य भन्दा परको इच्छा/आकांक्षा पाल्नु हुँदैन। त्यो आफैँमा अशान्ति र दुःखको बीजारोपण हुन सक्छ।

धेरै ठुल्ठूला सपना पनि देख्नुहुँदैन, सपनामै तुहिने र त्यतिमै सीमित हुने। एक सामाजिक जमघटमा कुरै कुराबीच एक जोर गहन प्रश्न उठ्यो। सुख के हो? दुःख के हो? एकजना सहभागीले तुरुन्तै जवाफ फर्काए–‘आफूसित जे छ त्यो दुःख, जे छैन त्यो सुख।’

उनको भनाइको तात्पर्य ‘आफूसित दुःखै दुःख मात्र छ, सुखको भोग गर्नै पाएको छैन’ भन्ने अर्थमा बुझेँ मैले। अर्को अर्थमा सुख दुर्लभ हुन्छ, दुःख सर्वसुलभ जताततै सजिलै पाइने। अनि लाग्यो, यो त साह्रै नै निराशावादी सोच भयो।

तुरुन्तै भनिहालेँ, ‘आफूसित जे छ त्यो नै सुख हो, नपाएको सुखको लालसा दुःख।’ समय, परिस्थिति, परिवेश, क्षमता, दक्षता, लगन, परिश्रम र परिणामले जे दिएको छ त्यसलाई सहर्ष स्वीकार्न सक्ने ग्रहणशीलता र सन्तुष्टि नै परम सुख हो। आफूले चाहेको तर पाउन नसकेको कुरा र आफ्नो हात नलागेको चाहनामा रोइकराइ गर्नु नै दुःख हो। दुःख पीडादायी हुन्छ। पीडा असह्य हुनु स्वाभाविक हो। घाउ सबैलाई दुख्छ, पीडा हुन्छ। तर पीडालाई सहजरूपमा स्वीकार्न सक्ने मानिस कहिल्यै दुःखी हुँदैन, ऊ सुखी नै रहन्छ हरदम।

लाग्छ, कताकता सहनशीलतामै सुख लुकेको हुन्छ। सन्तुष्टि नै सुख। सकारात्मकता पनि सुख। हामीलाई दुःख पर्दा आफ्ना हितैषीहरूले सुनाउने सान्त्वनाका शब्दले बुनिएका वाक्यमा सधैँ सुन्ने गरेका हुन्छौ“–‘आफ्नो मन बलियो बनाउनू।’

मन न हो जो स्थिर कहिल्यै हुँदैन। टहलिइरहन्छ, घुमिरहन्छ यताउति। अस्थिर बनेर। चहारिरहन्छ जताततै। अनि अरूको खुुसीसित तुलना गरी बहकिदिन्छ, अशान्त हुन्छ, उद्वेलित हुन्छ मन। मन त कोमल हुन्छ, दुख्छ मन, अनि बन्नुपर्छ मानिस आफैँ दुःखी। हामी नेपालीले आफ्नो सुखको चाहना र खोजीमा धेरै बहकाइसक्यौँ आफूले आफैँलाई। कहिले यसको कुरा सुन्यौँ, कहिले उसको। जसले जे भने पनि ठीक लाग्यो, जे भन्यो त्यही गर्‍यौं। यता गयौँ, उतै लाग्यौँ उनीहरूले भने जस्तै। तर झुट पनि कहिल्यै सही हुन्छ र? झुट सधैँ झुटै रहन्छ। त्यो सत्य कहिल्यै बन्न सक्दैन।

झुटको खेती अति लाभदायी हुन्छ निश्चित इमान गुमाएका र भलाद्मीको मुकुण्डो लाएका जाली/फटाहाहरूका लागि। उनीहरू निरन्तर सपना देखाइरहेका हुन्छन् झुटका। त्यो सपना जो अन्ततः दुःखदायी र दुःखान्त हुन्छ। हामीले नेपाल सिंगापुर बनेको सपना देख्यौँ। स्विट्जरल्यान्ड बनेको देख्यौँ। दुबई, कतार र साउदी अरेबिया अनि मलेसिया बनेको पनि देख्यौँ। वास्तवमा सपना हामीलाई देखाइएको थियो। न हामी आफैँले हेरेको, न सुनेको। एक सुन्दर कथा जो केवल सुन्नका लागि मात्र लेखिएजस्तै। ती केही लुच्चा, जाली/फटाहाको भिड निरन्तर सुनौलो सपना बाँडिहिँड्छन् हाम्रा सडक गल्लीहरूमा।

हामी सम्मोहित भई लोभिएर सपनाको सुन्दर शहरमा रमाइरहेका हुन्थ्यौँ। अनि अनायास झस्केर ब्युँझेका हामी, कोही असह्य वेदनामा रोइकराइरहेका हुन्छौँ, पागलसरी। कोही जिउँदो लासझैँ अचेत। कोही असह्य पीडाको जलनबाट मुक्त हुन आफ्नै आत्मदाह गरिरहेका। कोही त लासै बनेर आउँछन् कफिनभित्र चीर निद्रामा। के सपना देख्नु भूल हो? एक गरिब नेपालीले सुखको कल्पना गर्नु अनि सपना देख्नु के उसको दोष हो? अपराध हो? तर अकल्पनीय, अस्वाभाविक र अव्यावहारिक सपना देखाएर सोझासिधा नेपालीको भावनामा खेलवाड भइरहेको छ यहाँ।

कमजोर, निमुखा, असहाय जनता न्यायविमुख भई बाँच्न बाध्य छन्। सानालाई ऐन, ठूलालाई चैन! यो कस्तो राज्य व्यवस्था? सुन्दर सपनाबाट ब्युँझिएर अकस्मात् वास्तविक धरातलमा बजारिएका हामी नेपालीको मनमस्तिष्कभित्र निराशाको बादल मडारिएको छ। तुँवालोभित्र हराएका छौँ। बाटो बिराएर एकै ठाउँ फनफनी घुमिरहेका छौँ। कुहिरोभित्रको कागझैँ। गन्तव्य कताकता केही ठेगान छैन। कसले पार लगाउने। कसको सहारामा, कसको अगुवाइमा अघि बढ्ने? केही पत्तो छैन।

जताततै दुःखैदुःख। सुख भने शून्य। सकारात्मक सोच किन यति कमजोर हुँदै गइरहेको छ? नकारात्मकताले थिचिएको समाजको चेतमा कहिले घाम लाग्ने? कहिले कुहिरो हट्ने?

हेर्दै जाऔँ, एक न एक दिन त अवश्य आउला सुनौलो बिहानी उज्यालो लिएर। बाक्लो कुहिरो हट्नेछ। देशको मुहार फेरिनेछ। आशा मरेको छैन। सकारात्मक हुनुपर्छ हामी। सिर्जनात्मक, लगनशील र परिश्रमी बन्नुपर्छ हामीले, विकासको गन्तव्य भेट्टाउन। मलाई यति भए पुग्छ, अब पुग्यो भन्ने सोच र अवधारणा विकासको बाधक बन्न सक्छ।

प्रकाशित: २७ चैत्र २०८० ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App