२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

उता ‘कमल’, यता ‘पुष्पकमल’

अबको केही सातामै विश्वको सबभन्दा ठूलो लोकतन्त्र भारतमा १८औँ लोकसभाका लागि आमनिर्वाचनको ‘महापर्व’ सुरु हुँदैछ। भारतीय निर्वाचन आयोगले घोषणा गरेबमोजिम भारतीय संसद् (लोकसभा) को ५४३ सिटका लागि १९ अप्रिलदेखि मतदान सुरु हुनेछ।

यो चुनाव सात चरणमा हुनेछ। मतदान प्रक्रिया उन्नाइस अप्रिलदेखि सुरु भएर एक जुनमा समाप्त हुनेछ। यो विश्वको सबभन्दा लामो ४४ दिने मतदान प्रक्रिया हो। यसमा ९७ करोड ८० लाख मतदाताले भाग लिने अनुमान गरिएको छ। यसमा २० करोडभन्दा बढी युवा मतदाता छन्।

चुनावपूर्व गरिएका विभिन्न चुनावी सर्वेक्षणले पुनः प्रधानमन्त्री मोदी नै तेस्रोपटक प्रधामन्त्री हुने आकलन गरेका छन्। प्रधानमन्त्री मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ले आफ्नो पार्टीलाई ‘आश्चर्यजनक’ विजय दिलाउन विपक्षी पार्टीका नेतालाई चुनावको मुखमा विभिन्न आरोप लगाएर जेलमा कोचेको छ।

हालै छोटो समयमै राजनीतिमा उदाएर जनतामा लोकप्रिय आम आदमी पार्टी (आप) का नेता, दिल्लीमा तेस्रोपटक मुख्यमन्त्री बनेका अरविन्द केजरीवाललाई रक्सी अन्तःशुल्क घोटालामा जेलमा हालेका छन्।

अहिले दिल्ली र पन्जाबमा आपको सरकार छ। यस्तै प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको सबै बैँक खाता ‘सिज’ गरिएको छ। यसले गर्दा कांग्रेससँग चुनाव प्रचार गर्न कुनै फन्ड छैन। यति मात्र होइन, कर छलीको आरोपमा अबौँ तिर्न ताकेता हुने सम्भावनासमेत बढेको छ। केन्द्रमा बिजेपी सत्तामा आएदेखि नै विपक्षी नेताहरूविरुद्ध प्रवर्तन निर्देशालय  (इडी) ले कारबाही गरेका थुप्रै घटना भएका छन्।

सन् २०२२ मा इन्डियन एक्सप्रेसले एक अनुसन्धानात्मक रिपोर्ट प्रकाशित गरेको थियो जसमा सन् २०१४ मा मोदी सरकार सत्तामा आएयता राजनीतिकर्मीहरूमाथि इडीको कारबाही चार गुणाले बढेको उल्लेख गरिएको थियो।

रिपोर्टअनुसार २०१४ देखि सेप्टेम्बर २०२२ पछि इडीले १२१ ठूला नेताविरुद्ध कारबाही गरेको छ, जसमध्ये ११५ अर्थात् करिब ९५ प्रतिशत विपक्षी दलका छन्। यसअघि युपिएको १० वर्षको कार्यकालमा इडीले २६ जना राजनीतिकर्मीमाथि कारबाही गरेको थियो जसमध्ये १४ जना अर्थात् करिब आधा विपक्षी दलका थिए।

केजरिवालको पक्राउविरुद्ध संयुक्त राष्ट्र संघ, अमेरिका र जर्मनीले प्रतिक्रिया व्यक्त गरेका छन्। गत शुक्रबार राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकलाई अरविन्द केजरीवालको गिरफ्तारी र कांग्रेस पार्टीको बैंक खाता सिज गरिएकोबारे प्रश्न सोधिएको थियो।

जवाफमा गुटेरेसका प्रवक्ताले भने–हामी आशा गर्छौँ, कुनै पनि अन्य देश जहाँ चुनाव हुँदैछ, त्यहाँ र भारतमा पनि राजनीतिक र नागरिक अधिकारका साथै सबै जनताको हितको रक्षा हुनुपर्छ। भारतको संसदीय चुनावमा सबैले स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न पाउनेछन् भन्ने विश्वले अपेक्षा गरेको छ।

यस्तै अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले दुईपटक प्रतिक्रिया व्यक्त गरेका छन्। पहिलो प्रतिक्रियामा भनिएको छ–अमेरिका केजरीवाल पक्राउको खबरलाई नजिकबाट नियालिरहेको छ र निष्पक्ष कानुनी प्रक्रियालाई बलियो बनाउने पक्षमा उभिएको छ।

अमेरिकी विदेश मन्त्रालयको वक्तव्यलाई ‘अवाञ्छित’ भन्दै भारतले त्यसको कडा विरोध गर्दै भारतका लागि अमेरिकी कार्यबाहक डेपुटी चिफ अफ मिसन ग्यालोरिया बारबेनालाई विदेश मन्त्रालयमा बोलाइएको थियो।

अमेरिकी कूटनीतिकर्मीलाई बोलाएपछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्तालाई फेरि केजरीवाल र कांग्रेसको बैंक खाता रोक्काबारे प्रश्न सोधिएको थियो। यसको जवाफमा म्याथ्यु मिलरले भने–आयकर विभागले उनीहरूको केही बैंक खाता सिज गरेको कंग्रेस पार्टीको आरोपबारे हामी जानकार छौँ जसले उनीहरूलाई आगामी चुनावमा प्रचार गर्न चुनौतीपूर्ण बनाएको छ। हामी यी प्रत्येक मुद्दाका लागि निष्पक्ष, पारदर्शी र सामयिक कानुनी प्रक्रियाहरू प्रोत्साहित गर्छौँ।

यस्तै जर्मनीको विदेश मन्त्रालयका प्रवक्तालाई भारतमा विपक्षी दलका ठूला नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पक्राउलाई कसरी लिनुहुन्छ भनेर सोधिएको थियो। जवाफमा उनले ‘हामी यस विषयमा जानकार छौँ।

भारत एक लोकतान्त्रिक देश हो। न्यायपालिकाको स्वतन्त्रता र आधारभूत लोकतान्त्रिक सिद्धान्तसँग सम्बन्धित मापदण्डहरू यस सन्दर्भमा पनि लागु हुनेछन् भन्ने विश्वास र अपेक्षा रहेको  बताए । उनले आरोप खेपिरहेका अन्य व्यक्ति जस्तै केजरिवाल पनि निष्पक्ष सुनुवाइको हकदार  रहेकोमा जोड दिए । यसबाट के स्पष्ट हुन्छ भने भारतमा हुन गइरहेको आमनिर्वाचनको निष्पक्षताबारे भारतभित्र त प्रश्न उठेकै थियो, भारतका बलिया अन्तर्राष्ट्रिय मित्रशक्तिहरूले पनि प्रश्न उठाएका छन्।

के प्रधानमन्त्री मोदीले हालै बंगलादेशमा भएको विपक्षीबिहीन आमचुनाव जस्तो निर्वाचन गर्न खोजेका हुन्? जसमा प्रधानमन्त्रीमा शेख हसिना पाँचौँपटक निर्वाचित भइन्। प्रधानमन्त्री मोदी सरकारले पनि यस निर्वाचनलाई विपक्षीबिहीन बनाउनका लागि सरकारका सबै अंग परिचालित गरेको देखिन्छ। यसलाई विश्वको सबभन्दा ठूलो लोकतन्त्रमा आइपरेको खतराका रूपमा पनि बुझ्न सकिन्छ। आखिर ‘कमल’ हिलोमै त फक्रन्छ।

यताका ‘पुष्पकमल’ आफ्नो पार्टीलाई तेस्रोबाट पहिलो बनाएर पुरानो गौरव फर्काउने भरमग्दुर प्रयासमा छन्। आउँदा दिनहरूमा कुन ‘कमल’ ले बाजी मार्छ? प्रतीक्षाको विषय बनेको छ।

प्रकाशित: २२ चैत्र २०८० ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App