२ वैशाख २०८१ आइतबार
विचार

नारायणकाजीको कैलाश यात्रा !

मोही माग्ने, ढुंग्रो लुकाउने !

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ यतिखेर उत्तरी चीनको यात्रामा निस्किएका छन्। सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन-चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ।

यो भ्रमण केका लागि भैरहेको हो भन्ने जानकारी न कतै दिइएको छ न त कार्यसूची नै अनुमोदन गरिएको छ। यो भ्रमण देश र जनतालाई के फाइदा पुर्‍याउनका लागि थालिएको हो ? यसबारे पनि औपचारिकरूपमा कहीँ कतै केही भनिएको छैन।

दोस्रोपटक विदेशमन्त्री बनेका श्रेष्ठको यो भ्रमण यस्तो बेलामा भईरहेको छ, जतिबेला नेपाल र चीन सम्बन्ध तथा सहयोग गतिरोधको अवस्थामा छ। यसअघि पालैपालो शेरबहादुर देउवा र प्रचण्ड प्रधानमन्त्री बनेका बेला नेपालले औपचारिक-अनौपचारिकरूपमा विदेश सम्बन्धमा हठात परिवर्तन लिएको परराष्ट्र मामिलाका विज्ञ बताउँछन्।

त्यसलगत्तै सत्ता समीकरण परिवर्तन भयो। नयाँ सरकार बनेको दुई सातासमेत नबित्दै भैरहेको परराष्ट्र मन्त्रीको चीन भ्रमणबाट स्पष्ट नयाँपन देखिने अनुमान सर्वत्र गरिएको हो। विज्ञहरू पनि श्रेष्ठका गतिविधि र चीनमा भएका भेटघाटका विषयवस्तु र समाचार सुनेर छक्क परेका छन्।

भारतीय सञ्चार माध्यमले चीनका कारण नयाँ सरकार बनेको प्रचार गरिरहेका छन्। तर श्रेष्ठको यो भ्रमणले भने अहिलेसम्म नयाँ समीकरणलाई पुष्टि गर्ने कुनै संकेतसम्म गरेको देखिँदैन। कतै यो भ्रमण चितुवा कराउनु र पाडो हराउनु जस्तै देखाउन खोजेका हुन् भने त्यसले सन्तुलित परराष्ट्र नीतिमा दक्षिण चिढ्याउने निश्चित छ। सार्वभौम, स्वतन्त्र राष्ट्रको आन्तरिक मामिला बचकना खेल होइन। नयाँ गठबन्धन घोषणा हुँदाको वक्तव्यमा पनि यो कुरा उठाइएको छ।

तर पञ्चायत व्यवस्थामा प्रयोग गरिएका शब्दजाल दोहो¥याउनु गणतान्त्रिक नेपाल चीन सम्बन्धमा यतिखेर असान्दर्भिक जस्तै हुन्छ। कूटनीतिमा समय, सन्दर्भ, संवाद र शब्दको पृथक अर्थ र महŒव हुन्छ। यति कुरो त बुझ्नुपर्ने हो परराष्ट्र मन्त्री श्रेष्ठले। तर तिनै शब्दको प्रयोग भइरहेको छ।

उनी बेइजिङ पुगेको दिनमै सिपिपिसिसीका हुनिङले बिआरआई कार्यान्वयन योजना चाँडो हस्ताक्षर हुनुपर्ने बताएका छन्। त्यसको प्रतिउत्तरमा परराष्ट्रमन्त्री श्रेष्ठले बोलेको भनेर स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलाई उधृत गर्दै छापिएको समाचारमा ‘नेपाल सरकारले यो विषय चाँडै टुंग्याउन चाहेको’ भनेका छन्। तर के विश्व राजनीतिमा अमेरिकालाई आमनेसामने चुनौती दिइरहेका चिनियाँहरू श्रेष्ठका गोलमटोल जवाफले सन्तुष्ट भएका हुन् ? कूटनीतिको कखरा जानेकाले पनि यो स्वीकार गर्न सक्दैनन्।

परराष्ट्र मन्त्री श्रेष्ठ चिटिक्क परेका छन्। जहिलेसुकै आफूलाई साद्गीरूपमा प्रस्तुत गर्छन्। उनी जति हरेकलाई जिल्याएर पल्टा खुवाउने खेलमा माओवादीमा मात्र होइन, अरू दलमा पनि कोही छैनन्। अमेरिकासँग एमसिसी सम्झौता कुनै हालतमा गर्नै हुँदैन भनेर क्रान्तिकारी बन्ने, दश बित्ता उफ्रने र घोक्रो सुक्ने गरी चिच्याउने अग्रपंक्तिमा उनै थिए। पछि टिआरसीले उनलाई मात्र होइन, पार्टी अध्यक्षलाई पनि गलायो अनि एमसिसी सम्झौता गराएर प्रमुख कार्यान्वयनकर्ता बने।

संयुक्त जनमोर्चामा नारायणकाजी जहिले पनि अर्धभूमिगत बनेर क्रान्तिकारी रहिरहे तर माओवादीले सुरु गरेको जनयुद्धलाई कहिल्यै खुलारूपमा समर्थन गरेनन्। बाहिर सशस्त्र युद्ध ठीक होइन भनिरहे र भित्रभित्र मिलिझैँ रहे। सधैँभरि निर्मल लामालाई अघि सारेर वामपन्थीहरूसँगको लाभ लिइरहे। कुनै न कुनै मोर्चामा सहजकर्ता बनिरहे।

माओवादीहरू शान्ति प्रक्रियामा ल्याउने नाममा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले निर्वाचन जितेर कांग्रेस बराबरको हैसियत बनाएको एमालेलाई साइजमा ल्याउन माओवादीलाई निर्वाचन नै नलडीकन बराबर सांसद दिएर अन्तरिम संसद्मा पु¥याएपछि श्रेष्ठले भविष्य उज्ज्वल देखे।

जनमोर्चालाई माओवादीमा विलय गराएर प्रचण्डको आशीर्वादमा भट्टराई, वैद्य, गजुरेल र विप्लवलाई किनारामा पार्न सहकार्य गरिरहे। प्रचण्डको नारायणकाजीमाथि दिन-परदिन निर्भरता बढ्दै गयो। उनका माग पूरा गर्दै गए। नारायणकाजी पनि माओवादीको दोस्रो प्रचण्ड बन्न लागी रहे। टिआरसीको कार्ड बोकेर वरियतामा दोस्रो बनेर ठडिइरहे।

माओवादीलाई सत्ताको भर्‍याङ्ग बनाएर नारायणकाजी सधैँ सत्तामा अविच्छिन्न आसीन छन्। चुनावमा भाग नलिने तर सधैँ उपप्रधानमन्त्रीसहित परराष्ट्र, भौतिक योजना, गृह जस्ता अब्बल मन्त्रालयका सर्वेसर्वा बनिरहने। नयाँ सत्ता समीकरण बनेपछि उनी गृहबाट पुनः परराष्ट्र र उपप्रधानमन्त्री बनेका हुन्।

मालदार मन्त्रालयमा माओवादीको दावा सधैँ रहिरहन्छ तर मन्त्रालयहरू सबै समान हुन् भन्ने अग्रणी भने नारायणकाजी नै हुन्। पहिला महिला, बालबालिका, समाज कल्याण, गरिबी निवारण अर्को दललाई भाग लगाउने र मालदार मन्त्रालयहरू आफ्ना भागमा पार्ने गंभीर वार्तामा यिनले सबैलाई लुट्पुट्याउने खुबी राख्छन् भन्ने जगजाहेर छ।

परराष्ट्रमन्त्री बनेपछि कर्मचारीतन्त्रको उक्साहटमा नारायणकाजीले आफ्नो सक्रियता देखाउन विदेशमा टेलिफोन  गरेर तहल्कै मच्चाए। कतिपयले त यो तरिकालाई ‘काजी कूटनीति’ पनि भने। विदेशी समकक्षीसँगको कुराकानी फोन राख्न नपाई प्रचार गरे। रेडियो टिभी पत्रिका र सामाजिक सञ्जालमा उनको नेटवर्कले चमत्कारै ग-यो।

रुसी परराष्ट्र मन्त्री लाभरोभसँग नेपाली युवाहरूको रुसी सेनामा भर्नाबारे श्रेष्ठको कुराकानीको बहुचर्चा भयो। तर चैतको चिसोमा होहल्लाको गर्मी त्यत्तिकै सेलाएर गएको छ किनभने कतिजना नेपालीले रुसी सेनामा भर्ना, घाइते र वीर गति पाएसम्म रुसले भनेन। 

न त नारायणकाजी नेतृत्वको परराष्ट्र मन्त्रालयले गृहकार्य गरेर आफ्ना नागरिकबारे एक-एक बताउनै सक्यो ! सकेको भए यस्तो जात्रा हुने थिएन। कुन देशका लागि लडेर कति नेपाली मरे ? न हिसाव छ न त खोजीनीति नै। मात्र भाषणवाजीमा ओठे माया देखाएर समस्या समाधान गर्न खोजियो। पछिल्ला गतिविधि पनि त्यसैको निरन्तरतामा सीमित नहोस्।

चीन भ्रमणमा सबैभन्दा धेरै जाने नेताहरू वर्षमान पुन र नारायणकाजी नै हुन्। पुन बिरामी भएर चीनमा उपचार गर्न पुगेका हुन् भने नारायणकाजी त्यहाँ पुगेर बिरामी परे। यो आलेखमा न काजी न त पुन चीन जान हुन्न भनिएको हो।

उठाउन खोजिएको के मात्र हो भने निजी भ्रमणमा, आफ्नो खर्चमा जसलाई जहाँ जान मन लाग्छ, जतिपटक गए पनि हुन्छ र मकाओ गएर जुवा खेले पनि कोही वात छैन। सजग के मात्र गराउन खोजिएको हो भने पार्टीमा बसेर सधैँ राज्यका पदहरू हत्याउने र त्यहाँ पुगेर सरकारी खर्चमा कैलाश परिक्रमा गरेपछि देश र जनताले के पाउने ? अहम् सवाल यही हो।

पदधारीहरू विनाप्रयोजन भारत, चीन मात्र होइन, अमेरिका, रुस, जर्मनी, फ्रान्स, बेलायत, क्यानडा, अस्टे«लियालाई खर्च गराएर भ्रमण गर्छन् भने त्यो पनि नाजायज हो। मित्रराष्ट्रका जनताले तिरेको करमा यहाँका नेताहरू गएर त्यहाँ मोजमस्ती गर्नु गैरजिम्मेवार हो। राज्य संयन्त्र र पार्टीका पदाधिकारीको आडमा चिनियाँ पक्षसँग व्यक्तिगत र पारिवारिक लाभ लिन पल्केका वामपन्थीहरूको चिनियाँ नेताहरूले कस्तो मूल्यांकन गरेका होलान् ?

भारतका विभिन्न ठाउँको भ्रमणपछि शीर्षस्थ नेताहरूले रामनामी ओढेर गेरुबस्त्र लगाएको लगायै छन्। अब चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले मानसरोवरमा डुबुल्की मार्दै लालफित्ताको संजाव हालेको खास्टो ओढेर प्रचण्डलाई चुनौती दिन खोजेका हुन् भने त्यो माओवादीभित्रको टक्करको कुरा मात्र हो। त्यसो होइन भने उनले आँट गरेर देवाधिदेव महादेवको विश्रामस्थल कैलाशबाट घोषणा गरुन्, नेपाल र नेपालीको हित अनुकूल उनले के गरे ?

प्रकाशित: १५ चैत्र २०८० ०६:२८ बिहीबार

नारायणकाजी कैलाश यात्रा सर्वसाधारण नेपाली भारतीय सञ्चार माध्यम देवाधिदेव महादेवको विश्रामस्थल