२ वैशाख २०८१ आइतबार
विचार

जोस हुँदा विदेश, होस गुम्दा स्वदेश

परिवारको आर्थिक भार उकास्ने सपना बाेकेर साउदी अरेबिया पुगेको वर्ष दिनपछि होस गुमाएर स्वदेश फर्किएका रोल्पाका ३४ वर्षीय रोशन बिके भन्छन्– ‘रातभर सुत्न सक्दिन्। केही आए जस्तो, केही भए जस्तो हुन्छ। दिनमा आफ्नै श्रीमती अलि ठूलो स्वरमा बोल्दा पनि सात्तो जान्छ। कोही बोल्नै हुन्न। दिउँसै गाडीको आवाजले यत्तिकै तर्सन्छु। गाडी चढ्नु त परको कुरा हो। अस्पताल जाँदा केही भएको छैन् भन्छन्। घरमा श्रीमती तपाईँलाई सन्चो छैन्, आराम गर्नु भन्छिन्। भाकोचाहिँ मलाई के रहेछ, तिमीलाई थाहा छ नानी ?’ 

दुई बच्चाका बाबु उनी वैदेशिक रोजगारीमा साउदी अरेबिया दुई वर्षअघि मात्रै गएका थिए। साउदीमा ग्यास प्लान कम्पनीमा काम गरेको १४ महिनापछि उनी एकाएक ढलेकै कारण स्वदेश फर्किनुपरेको थियो। स्वदेश फर्किएका उनको जीवनमा साथ दिने अरू कोही नभएर रोशनकी पत्नी मात्रै थिइन्। रोशनलाई आफूले मानसिक समस्या गुमाएकोबारे केही ज्ञान छैन्। उनी प्रश्न गर्दै बेलाबेलामा भनिरहेका हुन्छन्– मलाई केही भाको छैन, तर किन मलाई बिरामी छ भन्छन् सबै ? 

काम गरिरहेको कम्पनीमा काम गर्दागर्दै एक्कासि ढलेपछि कम्पनीले तुरुन्त अस्पताल लगेको तर केही उपचार खर्च नबेहोरेको उनी सुनाउँछन्। ‘अस्पताल पुर्‍याउँदा मधुमेह र कोलस्ट्रोल हाइ भएको रहेछ’, रोशनले नागरिकसँग भने, कमाउन गएका हामीलाई विदेशी अस्पतालले खर्चको मामलामा भुइँ तलामा पुर्‍याउँने रहेछ। दुई चार दिन मात्रै बसेको लाखौँ रुपियाँ खर्च हुनथाल्यो। अनि, औषधि सबै किनेर कम्पनीको कोठामै बसेँ। त्यहाँ झन कम्पनीका मालिक नै आएर नेपाल फर्केर जा भनेर झन ठूलो तनाव दिन्थे।

कोठामा खान बस्नलाई ठूलै दबाब दिएसँगै प्रत्येक दिन एसीसमेत चलाउन नदिने उनको भोगाइ सुनाए। ‘गर्मी महिना थियो। नेपालको मध्य गर्मीयाममा पनि बाँच्न सकेकै थियौँ। तर विदेशको तातो गर्मीलगायत हरेक अवस्थाले पोल्ने गथ्र्यो। अन्धकार कोठामा गर्मीले प्याक प्याक बनाउँथ्यो। त्यहीमाथि बिरामी मान्छे म’– उनले भने।

रोशनलाई प्रश्न गर्दा हरेक प्रश्नको उत्तरमा उनी एकोहोरो बोलिरहे – मैले नर्क देखेर आए नि। साउदीमा १४ दिन बिरामी हुँदा १४ वर्ष नै बिताएझैँ लाग्यो। हुनसम्म भयो त्यहाँ। आफूलाई गाह्रो पर्दा परदेशी आफ्नो नहुने रहेछन्। कम्पनीले आफ्नै देश जा भन्थ्यो। तर आफ्नै पैसामा। आफूले ग्यास प्लान कम्पनीमा काम गरेको बाँकी एक महिनाको तलबले हवाई टिकट काटेर स्वदेश फर्किएको रोशनले बताए।

विदेश जानुपहिले गाउँघरमा खेतीपातीको काम गरिरहेका दिनेशलाई ऋणको चपेटाले घरिघरी विदेशिन बाध्य पारिएको थियो। उनी आम्दानीको स्रोत खोज्दै वैदेशिक रोजगारीको चक्करमा दुई–दुई वर्ष दुवई र कतार पनि गएका थिए। साउदी अरेबियामा उनको अन्तिम रोजगारीसँगै विदेश नै जान नमिल्ने गरेर टुंगियो।

उनी विदेश जाँदा खाली हात गएका थिए भने स्वदेश फर्किँदा पनि खाली हात नै फर्किएको बताउँछन्। ‘साउदी जाँदा अढाइ लाख रूपैयाँ ऋण लागेको थियो’, उनी बिस्तारै बोल्दै भने– त्यो ऋण बल्लतल्त चुक्त्ता नहँुदै बिरामी परे। अस्पतालको कागजपत्रमा पनि रोग केही देखिएकै थिएन्। चाइना कम्पनीको काम हो। खटेर काम गर्नुपथ्र्यो । आफू पनि मरेरै काम गरिन्थ्यो। बिरामी भएपछि काम गर्नै दिएन। उनले भने–कमाएर केही ल्याउन सकिएन्। स–साना छोराछोरीलाई धरी विदेशको पापा हो भनेर दिन सकिन्। श्रीमतीले ज्यालापानी र अलिअलि खेतीपाती गरेर छोराछोरी र मेरो उपचार खर्च धानिरहेकी छिन्। परिवारलाई सुख दिन गएको थिएँ तर दुःख दिँदैछु।

रोशन ससाना कुरामा पनि आत्तिहाल्ने थिए । ‘बहिनी तिमीले हामीलाई अप्ठेरोमा पार्न लागेका त होइनौँ। न्युज लेख्ने हो भन्छौ। अर्कै कामका लागि साधेको हो कि ? मेरा छोराछोरी साना छन्। उनीहरूलाई केही गर्न लागेको त होइन् ?’–उनी कुरा प्रष्ट गरे पनि आत्तिदै भन्थे।

वैदेशिक रोजगारीले उनको जीवनमा ठूलो असर पारेको छ। कम्पनीमा काम गर्दै गरेको अवस्थामा बिरामी भएपछि मानसिक समस्याको रोगी भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकमा उल्लेख गरेको छ। विदेशमा बिरामी परेका रोशनले स्वदेश फर्किएपछि कल्याणकारी कोषबाट तीन लाख ५० हजार रूपैयाँ प्राप्त गरेको बोर्डको तथ्यांकमा रेकर्ड छ। २०६५ सालमा वैदेशिक रोजगार बोर्ड स्थापना भएयता चैत ४ गतेसम्म तीन हजार ३४ जनाले कल्याणकारी कोषबाट आर्थिक सहायता प्राप्त गरेका छन्। तर, यो संख्या निकै ठूलो हुन सक्ने अनुमान गरिएको छ।

रोजीरोटीका लागि रोजगारी खोजी गर्दै बर्सेनि हजारौँ नेपाली विभिन्न देश पुग्छन्। यसरी विदेशिएका नेपालीमध्ये कामबाट फर्किएर सुतेकै अवस्थामा मृत्यु हुने, कडाखालको रोग लाग्ने र बिरामी हुने, कामका क्रममा अंगभंग हुनेको संख्या बढेसँगै होस गुमाएर र कोमामा गएर फर्कनेको संख्या पनि उस्तै छ। तर होस् गुमाएर फर्किएका तथा कोमामा भएका बिरामीको एकिन तथ्यांक वैदेशिक रोजगार बोर्डसँग छैन। होस गुमाएका तथा कोमामा गएका व्यक्तिको संख्या अंगभंग तथा बिरामीको तथ्यांकमा राख्ने गरेको बोर्डले जनाएको छ। वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी टीकाराम ढकालका अनुसार वैदेशिक रोजगारीमा कमाउन जाने युवा ठूलो अपेक्षा बोकेर जाने गरेका हुन्छन्। अहिलेका मानिस नेपालमै मेहनत कम गर्छन्। विदेशमा ‘जे पर्छ उही टर्छ’ भनेर जाने युवा पुस्ताको जमात ठूलो रहेको उनले बताए।

‘धेरै पैसा कमाउने सोचले विदेश जाने गरेका हुन्छन्, उनले भने–‘तर, विदेशमा काम धेरै र सोचेको झैँ पैसा नहँुदा युवा मानसिक समस्यामा पर्न थाल्छन्। उनीहरू परिवारबाट टाढा भएर काम गर्नुका साथै अपेक्षाअनुसारको आम्दानी नहुँदा मानसिक रोगीका सिकार हुने गरेका बोर्डको आकलन हो।’ अब विदेश जानुपूर्व वा विदेशमा पुगेका युवाका लागि बोर्डले मनोसामाजिक परामर्शकर्ताका रूपमा एक कर्मचारी खटाउने पनि उनले बताएका छन्।

देशमा रोजगारीका अवसर नभएपछि वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका कसैका छोराछोरी, भाइबहिनी, पतिपत्नी र आमाबाबुले अकालमा ज्यान गुमाउनुका साथै होस गुमाएर फर्किनुपरेको छ। उनीहरू परिवारको आर्थिक भार सम्हाल्न वैदेशिक रोजगारमा पुगेका हुन्छन्। वर्षौंवर्ष विदेशिएका युवा परिवारसँगको मीठो कुराकानीबिना नै होस गुमाएर फर्किनुपरेका हुन्छन्। आर्थिक अवस्थाकै कारण विदेशिएका थुप्रै युवा बिरामी तथा अंगभंग, मृत्यु, कोमामा गएर र होस गुमाएरै स्वदेश फर्किनुपरेको छ। 

प्रकाशित: १३ चैत्र २०८० ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App