२ वैशाख २०८१ आइतबार
विचार

गठबन्धन संस्कृतिका विकृति

नेपालको राजनीतिक यात्रामा अनेकौँ उकाली–ओराली, आरोह–अवरोह पार गर्दै खारिँदै गौरवमय र लामो इतिहास रच्न सफल नेपाली कांग्रेस लोकतन्त्रको पर्याय नै हो। अर्थात् लोकतन्त्रवादीको उपाधि पाउने सुविधा यही पार्टीलाई छ। अरू दक्षिणपन्थी, वामपन्थी र नयाँ पार्टीलाई छैन। यो नै कांग्रेसको सम्पत्ति हो।

मुलुकमा कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियतामा खतरा आइपर्ने गरेका उदाहरण छन्। लोकतन्त्रका पक्षमा कथित प्रतिगामी शक्तिसँग कांग्रेस सँधै लड्दै आएको छ। निरंकुश राणाशासन हटाउने, पञ्चायत उखेल्ने र सदियौँदेखि सामन्ती युगको प्रतिनिधिमूलक संस्था राजतन्त्र हटाउने जस्ता महत्वपूर्ण कार्यमा नेतृत्वदायी भूमिका पनि कांग्रेसले गर्‍यो। यसमा वामपन्थी पार्टीहरूको पनि साथ र सहयोग रह्यो। संविधान सभाबाट संविधान जारी गर्ने कार्य पनि कांग्रेसकै नेतृत्वमा भयो।

नेपालको राजनीतिक इतिहास, संसदीय अभ्यास र सरकार गठनको सन्दर्भलाई नियाल्दै जाने हो भने अनौठो अनौठो दृष्य–परिदृश्य देखापर्छ। २००७ सालमा ऐतिहासिक क्रान्तिमार्फत १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त भयो तर प्रधानमन्त्री भने उनै मोहनशमशेर भए। त्यतिबेला न जनताले राणा प्रधानमन्त्री चाहेका थिए न त सहिदको आत्माले नै। के कारणले राणालाई नै प्रधानमन्त्री बनाउनुपर्ने परिस्थिति आइपर्‍यो? अहिलेलाई यतातिर नजाउँ।

२०४६ को जनआन्दोलनपछि पञ्चायती व्यवस्था अन्त्य भई बहुदलीय प्रजातन्त्र स्थापना भयो तर समयको अन्तरालमा कांग्रेसले सानो दल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापा र एमालेले अर्का नेता लोकेन्द्रबहादुर चन्दलाई पटक–पटक प्रधानमन्त्री बनाए।

के थियो कांग्रेस र एमालेलाई त्यस्तो बाध्यता कि तिनै पञ्चलाई बारम्बार बोक्नुपर्ने ? यहाँनेर पनि कांग्रेस र एमाले लत्रिए/घिसारिए। तत्कालिन समयमा एकातिर यसले जनमतको घोर अपमान भयो भने अर्कातिर कांग्रेस र एमालेको त्यतिबेलाको बबुरो हैसियत पुष्टि गरेको थियो।

२०७९ सालको आमनिर्वाचनमार्फत कांग्रेसलाई जनताले पहिलो पार्टीको हैसियत दिए भने एमालेलाई दोस्रो र माओवादीलाई तेस्रो। संसद्मा कसैको पनि बहुमत पुगेन। यो अनुमान थियो कि मन्त्रिपरिषद् गठन गर्ने सम्वन्धमा संविधानमा व्यवस्था भएबमोजिम संसद्मा सबैभन्दा ठूलो दलले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउँछ तर वास्तविकतामा त्यसो नभई भिन्न परिस्थिति खडा भयो।

अन्ततः दोस्रो ठूलो दल एमालेले तेस्रो माओवादीलाई काँध हालेर आफ्नो कुनै हैसियत नै नभए जसरी माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो। विडम्बना, प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा संसद्मा सबैभन्दा ठूलो दल कांग्रेसले प्रतिपक्षमा नबसी उनैलाई मत खन्याइदियो।

हिजोका यी नायक के आजका दिनमा साँच्चिकै खलनायकमा परिणत भएका हुन्? दक्षिणपन्थी होउन् वा वामपन्थी, सबैको मियो बनेको कांग्रेस आज अल्मलिएको छ। धेरै गोरेटो हिँडेर मूलबाटो पत्ता लगाउन सकेको छैन। 

कांग्रेसले संसद्मा संख्यात्मक हिसाबले ठूलो दलको मान्यता पाएको छ, इतिहास गर्विलो छ, सिद्धान्त र आदर्श बलियो छ। यति हुँदाहुँदै पनि आज कांग्रेस धेरै ठाउँमा लत्रिएको छ। अरू पार्टी भने संख्यात्मक हिसाबले साना भए पनि उचाल्दा गरुङ्गो र समाउन लाग्दा चिप्ला सावित भएका छन्।

हिजो राजादेखि वामपन्थीहरूसम्मलाई मिलाएर परिवर्तनको संवाहक बनेको कांग्रेसको आज यही हो त हालत? अर्कातिर वामपन्थीदलमध्ये सबैभन्दा ठुलो एमाले आज किन यसरी हैसियतहीन अवस्थामा छ? के संसद्का पहिला र दोस्रा दलले एकापसमा समझदारी गरी सरकार बनाउन सक्दैनन्? अगाडि सरेर साना दललाई मिलाई आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने सामथ्र्य छैन पहिलो र दोस्रो दलसँग? देख्दा ठूलो देखिए पनि आकारअनुसारको शक्ति भएन भने त्यसको औचित्य हुँदैन। हिजोका दिनसम्म कांग्रेसको भूमिका नेतृत्वदायी हुँदै साना दलको अस्तित्व जोगाइदिनेसम्मको थियो तर आजका दिनमा यो पार्टी सबैभन्दा ठूलो भएर पनि अधुरो, अपुरो र बबुरो देखिन पुगेको छ।

संसदीय व्यवस्थामा तेस्रो ठूलो दलको रणनीति भनेकै पहिलो र दोस्रो ठूलो दललाई समय र परिस्थितिअनुसार प्रयोग गर्ने हो। माओवादी अध्यक्ष दाहालले यही अभ्यास गरे। सानाले ठूलालाई घिसार्न सक्ने, कजाउन सक्ने देखियो तर ठूलो पार्टीका ठूला नेताहरूमा आफूभन्दा सानालाई समेत मिलाउन र कज्याउन सक्ने सामथ्र्य देखिएन। 

जंगलमा सिंह र बाघ आफैँले सिकार गर्ने हो कि वन बिरालोको पछि पछि दौडने? असलीमा भन्दा अहिले कांग्रेस र एमाले यही अवस्थामा पुगेका छन्। वर्तमान अवस्थामा यी मूलधारका दल न कांग्रेस, कांग्रेस जस्तो देखियो न एमाले, एमाले जस्तो नै! यिनीहरूको वास्तविक हैसियत त गोटी जस्तो सावित भएको छ, यिनीहरू पात्र कम र बढी प्यादा देखिएका छन्।

हिजोका दिनमा त्यही समीकरण ठीक, आज त्यही बेठीक! फेरि भोलि कुन ठीक हुने हो, कुन बेठीक हुने हो  के समयअनुसार समीकरण फेर्नुलाई मात्र क्रमभंगता र गतिशीलताको संज्ञा दिन सकिन्छ? के दलहरू कुनै खास नेताका लागि प्रयोगशालाका रूपमा परिणत भएका हुन् त ? कहिले कोसँग, कहिले कोसँग त मौसमी चरित्र भएकाहरूले मात्र प्रदर्शन गर्छन्। ‘देश विकास गर्छु, समृद्ध बनाउँछु, मुलुकमा सुशासन कायम गर्छु’ भन्ने अभियानका साथ हिँड्ने नेता र दलले यस्तो अस्थिर अभ्यास गर्दा विश्वास गुम्छ नै अर्कातिर मुलुकमा राजनीतिक अस्थिरता सिर्जना हुन्छ।

प्रधानमन्त्री दाहालले पुरानो गठबन्धन तोडेर नयाँ त बनाए तर यसमा लोकतान्त्रिक शक्तिलाई विस्थापित गरी साम्यवादी र नव लोकप्रियतावादीलाई मात्रै समावेश गराए। नेकपा एकीकृत समाजवादीका नेता एमालेको अपमानजनक व्यवहारले अन्तिमसम्म नाक खुम्च्याउँदै थिए। 

अन्ततः यो पनि भेडा भेडासँग, बाख्रा बाख्रासँग भने जसरी नयाँ गठबन्धनमा मिसिन पुग्यो। ‘मिसन ८४’ को अभियान लिई त्योभन्दा अगाडि कसैको गठबन्धनमा पनि नजाने अभिव्यक्ति दिँदै बसेको रास्वपा अखिरमा वामपन्थीहरूको हुलमा जोडिन पुग्यो। यसबाट यो पनि प्रष्ट हुन्छ कि सबै बिराला मुसा नपाएसम्म शाकाहारी हुन्छन्।

सत्ताको नेतृत्व लिएको सहयात्री दलले के गर्दैछ, कोसँग हिमचिम गर्दैछ भन्ने सामान्य आभाष पनि नपाउनु कांग्रेस नेतृत्वको ठुलै कमजोरी हो। खासमा कांग्रेस नेता चलाख कम, हुस्सु बढी भएकै हुन्। 

प्रधानमन्त्री दाहालले कांग्रेससँगको सत्ता सहकार्यको गठबन्धन टुट्नु पछाडि केही राजनीतिक, वैचारिक, सैद्धान्तिक र व्यावहारिक मतभेदहरू रहे पनि खासमा यी मुख्य नभै सहायक कारण थिए। मुख्य कारण त यही गठबन्धनलाई निरन्तरता दिँदा आफू अर्को १० महिनाभन्दा बढी प्रधानमन्त्रीको कुर्सीमा बस्न नपाउने अर्थात् एकीकृत समाजवादीका नेता माधवकुमार नेपाललाई पूर्वसर्तअनुसार छोड्नुपर्ने अवस्थाले गर्दा नै हो। तर नयाँ गठबन्धन गर्दा सत्ता लम्बिएर अर्को दुई वर्ष कुर्सीमा बस्न पाइने भयो। मुख्य जड यही हो।

दाहालले रूपमा के देखाएका छन् र सारमा के लुकाएका छन् भन्ने कांग्रेस नेतृत्वले बुझ्न सक्नुपथ्र्यो तर भेउ पाउन सकेन। किनभने चतुर खेलाडीको देखाउने कला एउटा हुन्छ, खेल जित्ने भित्री रणनीति अर्कै हुन्छ। कांग्रेस नेतृत्वको यहीँनेर कमजोरी भयो। फेरि अर्को कुरा, दाहालले बोल्ने र उनले गर्ने अभ्यासमा कत्तिको तादात्म्य हुन्छ भन्ने कुरा कांग्रेसका नेता गिरिजाप्रसाददेखि वर्तमान सभापति शेरबहादुर देउवासम्म राम्रैसँग अभ्यस्त थिए, तर त्यो अभ्यस्तता पनि फेल खायो।

भनिन्छ– जिन्दगीमा आधा दुःख गलत मानिसमाथि भरोसा गर्नाले पाइन्छ र बाँकी आधा दुःखचाहिँ सही व्यक्तिलाई विश्वास नगर्नाले पाइन्छ। त्यस्तै बुद्धिमान व्यक्तिले अरूले गरेको गल्तीबाट सिक्छन्। मझौलाखालेले चाँही आफैँले गल्ती गरेपछि मात्रै सिक्छन् र अन्यले बारम्बार गल्ती गरिरहन्छन् तर कहिल्यै सिक्दैनन्। कांग्रेस र यस पार्टीका नेतामा यही कुरा हुन्छ।

त्यसैले संविधानमा व्यवस्था भएबमोजिमको निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ। हाम्रो निर्वाचन प्रणालीमा जित्ने भनेको बढी मत ल्याउनेले हो। यस्तो अवस्थामा एउटा असल व्यक्तिभन्दा सानो संगठित समूहलाई प्रभावित गर्न सक्ने चतुर व्यक्ति सजिलै चुनिन्छ।

यसैले अहिले गठबन्धन संस्कृति मौलाएको छ। तसर्थ बढी मतमा आधारित निर्वाचन प्रणालीभन्दा थोरै महँगो भए पनि बहुमतमा आधारित निर्वाचन प्रणाली अपनाउनु राम्रो हुन्छ जसमा विजयी हुनेले कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ।

अर्कातर्फ समानुपातिकको कुरा गर्ने हो भने जनताले व्यक्तिलाई नचुनी पार्टीलाई जनादेश दिने भएकाले पार्टीले अरौटे/भरौटे र आफन्तलाई सांसद बनाएर पठाउने गर्छन् तर योग्य, दक्ष र विज्ञले मौका पाउँदैनन्। मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलको बहुमत आउने सम्भावना हुँदैन।

कहिले कसैले कसैलाई बोक्ने र कहिले को कसैसँग जोडिनुपर्ने बाध्यता र त्यसले सरकारमा अस्थिरता निम्त्याउने भएकाले यस्तो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ। समानुपातिक कोटा खारेज गर्नुपर्छ र प्रतिनिधि सभालाई प्रत्यक्षको मात्रै सभा बनाउनुपर्छ।

प्रकाशित: ९ चैत्र २०८० ०७:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App