१० मंसिर २०८१ सोमबार
image/svg+xml
विचार

एक प्रेरणादायी कर्मयोगीको सम्झना

कर्मको खेल अनौठो हुन्छ। टोनी हागनसँगको मेरो सम्बन्ध म जन्मनुभन्दा अघिदेखि सुरु भएको थियो र उनको निधनसम्म रह्यो, जब मैले सम्पादन गरिरहेको एउटा पुस्तक ‘रोपवेज इन नेपाल’का लागि उनले आफ्नो जीवनको अन्तिम लेख भर्खर लेखेर पठाएका थिए। पहिलोपटक उनी नेपाल आउँदा मेरा बुबा (जो नेपालको सबैभन्दा लामो समयसम्म महान्यायाधिवक्ता र पछि कानुन मन्त्री रहनुभएको थियो) त्यस बखत वीरगन्ज गोश्वारामा सुब्बा हुनुहुन्थ्यो, जहाँ उहाँ स्थानीय न्यायाधीश पनि हुनुहुन्थ्यो र रक्सौलबाट नेपाल आउने महत्त्वपूर्ण विदेशी पाहुनाहरूलाई स्वागत गर्ने प्रोटोकल अफिसरको थप जिम्मेवारी पनि उहाँकै काँधमा थियो।

टोनी हागन सन् १९५० मा राणा शासनको अन्त्यतिर नेपालको हिमालयमा आफ्नो ऐतिहासिक भौगर्भिक अन्वेषण गर्न नेपाल आइपुगेका थिए। उनलाई वीरगन्ज रेलवे स्टेसनमा मेरो बुबाले स्वागत गर्नुभएको थियो र अन्तिम रेल स्टेसन अमलेखगन्जसम्म रेलमा र त्यसपछि पैदल काठमाडौं पठाउनुभएको थियो। त्यस दिन आकाश खुलेको थियो र टोनी हागनले त्यहाँबाट देखिएका हिउँका चुचुराहरूको नाम के हो भनेर सोधेको कुरा उहाँ सम्झनुहुन्थ्यो। मेरो बुबाले पनि पर्वतारोहणमा खासै रुचि नभएका जो कोही नेपालीहरूले दिने जस्तै सामान्य उत्तर दिनुभयो–‘हिमाल’ भनेर। यो म जन्मनुअघिको कुरा हो।

टोनी हागनसँग मेरो पहिलो भेट सन् १९५६ तिर भएको थियो। म सेन्ट जेभियर्स जावलाखेलमा पढ्दै गर्दा हाम्रा प्रधानाध्यापक फादर मार्सल मोरनले हामीमध्ये केहीलाई नजिकैको एकान्तकुनास्थित स्विस मिसनको कार्यालय लिएर जानुभएको थियो। 

मलाई दारी झ्याप्प पालेका टोनी हागन र फादर मोरन अनि अरू केही मान्छे टेबुलको वरिपरि बसेको याद छ, जहाँ एउटा ठूलो, गोलो चिजको ढिक्का थियो। उनीहरूभित्र खोक्रो मारतोल जस्तो देखिने एउटा वस्तुले त्यो ढिकाभित्रबाट चिज निकालेर खान्थे र त्यसरी निकालेर खाली भएको प्वालमा चीजको बाहिरको मैन जस्तो बोक्रोले छोपिदिन्थे। 

उनीहरू के कुराकानी गर्दै थिए भन्ने त हामीले केही बुझेनौ तर हामीलाई सानो चीजको टुक्रा चाख्न दिइएको थियो। हामीलाई त्यो एकदमै नमीठो र डुङ्डुङ्ती गन्हाउने लागेको थियो।

आश्चर्य लाग्छ, यसलाई विकास भनौं कि प्रगति, अहिले मलाई चीज साह्रै मनपर्छ– अझ धेरै गन्हाउने निलो ढुसी परेको ‘रकफोर्ट’ चिज बियरसँगै खान मन पर्छ। नेपालमा पहिलोपटक चिज शायद दोलखा जिल्लाको जिरीमा उत्पादन गरिएको थियो, जहाँ स्विस सरकारले थोडुङ चिज कारखाना स्थापना गरेको थियो । 

जिरी उपत्यका काठमाडौंबाट सगरमाथातर्फ गरिने पदयात्रा मार्गमा पथ्र्यो। यस ठाउँले स्विट्जरल्यान्डको आल्प्सको याद दिलाउने भएकाले होला, स्विसहरूलाई यो ठाउँ मन पथ्र्यो । यसले नेपालमा स्विस सरकारको विकास सहयोगको भावनालाई पनि झल्काउँछ भनेर हामी ठट्टा गथ्र्याै– स्विसहरूले सुरुमा स्विट्जरल्यान्ड जस्तो देखिने सानो जिरी उपत्यकामा चिज कारखाना खोले, त्यसपछि बजारमा चिज ढुवानी गर्न सडक आवश्यक भएको बुझे, त्यसपछि उनीहरूले बनाउन र मर्मतसम्भार गर्न निकै महँगो लामोसाँगु–जिरी सडकको निर्माण गरे, अनि मात्र सडक बनाउँदैमा विकास हुँदैन भन्ने बुझे।

त्यसपछि उनीहरूको एकीकृत पहाडी विकास परियोजनाको जन्म भयो, जुन त्यति सफल हुन सकेन। डाँडापाखामा रहेको यसको मुख्य कार्यालयमा माओवादीले बम विस्फोट गरेपछि त्यो कार्यालय अलपत्र छाडिएको थियो। 

व्यक्तिगत सम्पर्क नभए पनि, सन् १९८० को दशकको अन्ततिर म एउटा सहरी–ग्रामीण अन्र्तसम्बन्ध अनुसन्धानबारे स्विस अनुसन्धान फर्म इन्फ्राससँग काम गरिरहेको बेला टोनी हागनको नामसँग परिचित भएको थिएँ। नेपालमा रहेका स्विसहरूले नेपाल–स्विस सहकार्यको ४०औँ वार्षिकोत्सव मनाउन लागिरहेका थिए र नेपाल बहुदलीय प्रजातन्त्रमा फर्कंदै गरेको अवस्थामा स्विट्जरल्यान्डमा विकास सहयोग भनेको के हो र कस्तो हुनुपर्छ भन्ने विषयमा बहसहरू चलिरहेका थिए।

नेपालमा स्विस सहयोग १९५१ तिर सुरु भएको थियो, जुन बेला ग्रामीण विकास भनेको ग्रामीण गरिबी हटाउनु र गाउँबाट सहर बसाइँ सर्ने प्रक्रियालाई रोक्नु हो भन्ने अवधारणा ल्याइएको थियो। तर विकास क्षेत्रमा झन्डै चार दशकको हस्तक्षेपपछि पनि ग्रामीण गरिबी र सहरतर्फको बसाइँ सराइ कम हुनुको साटो उल्टै तीव्र गतिमा बढ्दै गइरहेको थियो।

स्विट्जरल्यान्डमा चलिरहेको बहस दुई ध्रुवमा बाँडिएको थियो। एक पक्षले ग्रामीण विकास गर्ने तरिकालाई परिमार्जन गर्नुपर्छ भन्थे र अर्को पक्षले ग्रामीण विकासलाई बिर्सेर सहरी विकासमा ध्यान केन्द्रित गर्नुपर्छ भन्थे। टोनी हागन यो बहसका एक महत्त्वपूर्ण पात्र थिए। 

हाम्रो अनुसन्धानको विषय ग्रामीण–सहरी अन्तरसम्बन्धको पृष्ठभूमिमा रहेका कारक तत्त्वहरू केलाउनु र एकले अर्कोलाई कसरी असर गर्छ भनेर बुझ्नु थियो। यसका लागि हामीले एउटा नौलो विधिबाट देखिने ‘टोड्ज आइ साइन्स’ (भ्यागुते आँखा विज्ञान) छनोट गरेका थियो जुन माथिबाट हेरिने ‘इगल्स आइ साइन्स’ अर्थात् ‘चिल चक्षु विज्ञान’ भन्दा फरक पद्धति हो । 

यसले तल्लो ग्रामीण धरातलबाट सत्य तथ्य हेर्ने कोसिस गर्छ र चिल आँखाले हेर्दा भने तल के भइरहेछ त्यति देख्दैन। यसअन्तर्गत हामीले सहरी उत्पादनहरू (धातुका सामान) र ग्रामीण उत्पादनहरू (छिटै कुहिने तरकारी र फलफूल) को पहिचान गर्ने र तिनीहरूको आपूर्ति र उपभोग शृंखलामा व्यापार, प्रविधिको वितरण र स्रोतको उपनिवेशीकरण तथा सूचना एवं जनसङ्ख्याको आदान–प्रदानको पहिचान गर्नुपर्ने थियो।

धातुका सामानहरू शहरी क्षेत्रमा बन्छन् र छिटै कुहिने तरकारीहरू ग्रामीण खेतहरूबाट आउँछन् भन्ने हाम्रो सोचाइ थियो। तर अनुसन्धानको क्रममा हामीले धातु–मजदूरहरूको प्राचीन तर बिलाउँदै गइरहेको परम्परा ग्रामीण क्षेत्रमा भेटेपछि हामी अचम्ममा पर्‍यौ (सबै कृषि उपकरण बनाउने गाउँका कामीहरू भारत र चीनबाट हुने आयातका कारण विस्थापित भइरहेका थिए) र ग्रामीण क्षेत्रमा तरकारी या त सहरी थोक बिक्रेताहरूबाट आउँथे या त सहरी हाटबजारको माग र बिचौलियाले भनेअनुसार खेती गरिएका हुन्थे। 

अझ जटिल समस्या त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले सर्तका रूपमा लादेका आर्थिक, सामाजिक र वातावरणीय नीतिहरूबाट सहरिया व्यापारी र ग्रामीण भेगका सम्भ्रान्तहरूले फाइदा उठाइरहेका थिए। जनहितका लागि जस्तो लाग्ने ‘वन संरक्षण’ नीति पनि कृषि उपकरणहरू बनाउने ग्रामीण कामीहरूका विरुद्ध पूर्वाग्रही थियो किनभने त्यसले कामीहरूलाई आवश्यक पर्ने कोइला उत्पादनमा रोक लगाउँथ्यो र विदेशबाट उपकरण आयात गर्ने सहरी व्यापारीहरूलाई फाइदा दिन्थ्यो।

यो प्रारम्भिक अनुसन्धानले मलाई थप दुईवटा अनुसन्धानतिर डोर्‍यायो। पहिलो– बेलायतको एनइआरी, एएसआरसी र डिफिडले सहयोग गरेको ‘ग्रामीण–सहरी अन्तरसम्बन्धको पुनः कल्पना’ भन्ने अनुसन्धान थियो जसले ‘देसाकोटा’ को अवधारणाको अन्वेषण गरेको थियो (इन्डोनेसियामा देसाकोटाको अर्थ न ग्रामीण न सहरी वा दुवैको संस्थागत शक्तिहरूको मिश्रणमा रहेको अर्ध–गाउँ र अर्ध–सहर भन्ने हुन्छ)। 

यो एउटा यस्तो क्षेत्र हो जुन केही रूपमा शहरी अनि केही हिसाबले ग्रामीण, दुवै जस्तै हुन्छ र दक्षिणका विकासोन्मुख धेरै मुलुकमा देख्न सकिन्छ। त्यस्ता ठाउँमा परम्परागत ग्रामीण रीतिरिवाजहरूको पकड घट्दै गएको तर औपचारिक सहरी नियमन कमजोर हुन्छ वा खस्कँदै गएको हुन्छ वा हुँदै हुँदैन। हेर्दा अराजक देखिए तापनि यो सामाजिक र प्राविधिक दुवै हिसाबले नौलो स्थानीय परिवेश सुहाउने आविष्कारहरूको क्षेत्र हुन्छ र विकासलाई ग्रामीण वा सहरीजस्ता ठोस वर्गहरूमा विभाजन गर्नुहुँदैन भन्ने आवश्यकतालाई औल्याउँछ।

नेपालमा सङ्घीय शासन संरचनाले ‘ग्रामीण’ को अवधारणालाई अवमूल्यन गरेको छ। गाउँ पञ्चायत वा गाउँ विकास समितिहरू (गाविस) जस्ता सबै ग्रामीण शासन संयन्त्रहरूलाई ‘पालिका’ वा नगरपालिकाहरूले प्रतिस्थापन गरेको छ। यसकारणले पनि ग्रामीण विकासपछि सरेको र गाउँबाट सहरतर्फ बसाइँ सराइ तीव्र भएको आजको राष्ट्रिय नेपाली परिप्रेक्ष्यमा यी अन्तर्दृष्टिहरू अझ महत्त्वपूर्ण छन्।

दोस्रो अनुसन्धान जलवायु सुहाउँदा र पहाड अनुकूल प्रविधि, रोपवे वा केबलकारमा थियो। यो काम उपत्यकाको तल्लो भाग (ब¸सी) देखि माथि पहाडका गाउँहरूमा सामान ढुवानी गर्न लघु–विद्युत् आयोजनाको बिजुली प्रयोग गरेर तिनीहरूको दिउँसो खेर जाने बिजुलीको प्रयोग बढाउने प्रयासबाट सुरु भएको थियो।

हामीले गोरखा जिल्लाको राङरुङ ब¸सीदेखि पाँच घण्टा उकालो पर्ने बारपाक गाउँलाई गाँउ–ब¸सी सामान ढुवानी रोपवे जडान गर्ने परीक्षण स्थलका रूपमा छनोट गर्‍यौं। स्थानीय उद्यमी वीरबहादुर घलेले स्थापना गरेको लघु–विद्युत् आयोजनाबाट दिउँसो प्रयोग नभएको बिजुलीबाट यो रोपवे चल्ने भन्ने थियो र यस कामलाई बेलायतका राजदूत बार्नी स्मिथले आर्थिक सहयोग गर्ने भएका थिए।

जब टोनी हागनले यो कुरा थाहा पाए, उनी स्विस सेनाले लिलामीमा दिएको सामान ढुवानी गर्ने रोपवे फेला पार्न सफल भए र त्यही नै बारपाकमा जडान गरियो। यो कार्य अनुसन्धानले के प्रमाणित गर्‍यो भने नेपालको पहाडका सामान्य सडकहरूमा सामान ढुवानी गर्ने डिजेलबाट चल्ने ट्रकहरूको तुलनामा, रोपवे प्रविधि तीन गुणा सस्तो, जडान गर्न आठ गुणा छिटो छ र यसले प्रतिटन ढुवानी गर्न ट्रकभन्दा आधा मात्र ऊर्जा (त्यो पनि नेपालकै सफा जलविद्युत् ऊर्जा) प्रयोग गर्ने गर्छ (ट्रकले भने विदेशी मुद्रामा आयात गरेको महँगो र फोहर कार्बन उत्सर्जन गर्ने डिजल प्रयोग गर्छ)। यसले पहाडहरूमा डोजर आतङ्कले फैलाएको पहिरो पनि निम्त्याउँदैन। हिमाल अनुकूल, जलवायु सुहाउँदो र दिगोपन रहेको प्रविधिको यो एउटा उत्कृष्ट उदाहरण हो।

रोपवे एक शताब्दीअघि चन्द्रशमशेरको पालामा नेपाल भित्रिएको भए तापनि अहिलेसम्म यसले नेपालको यातायात नीतिमा उचित स्थान पाउन सकेको छैन। नेपालमा ग्रामीण पहुँच र ग्रामीण विकासबारे पुनर्विचार गर्न टोनी हागनको महत्त्वपूर्ण योगदानलाई सम्मान गर्दै ‘रोपवेज इन नेपाल’ भन्ने पुस्तक उनको स्मृतिमा समर्पित गरिएको छ र त्यस पुस्तकमा नेपाल र स्विट्जरल्यान्डको यातायात विकासका फरक बाटाहरूबारे उनले लेखेको अन्तिम लेख पनि छापिएको छ। 

आज नेपालले प्रयोग वा दुरूपयोग गरेको विदेशी सहायताको झन्डै आठ दशकको युग समाप्त हुँदैछ। तर नयाँखाले अन्तर्राष्ट्रिय सहयोगको युग वा यस्तो कुनै नयाँ व्यवस्था जन्मिसकेको छैन। त्यस्तो उदाउने नयाँ युगका लागि कस्तो विकास उपयुक्त हुन्छ भन्नेबारे पुनर्विचारको बलियो आधार नै फेला परेको छैन। यस्तो अवस्थामा नेपालले आफ्नो भविष्यलाई पुनः परिभाषित गर्ने चुनौतीको सामना गरिरहेको छ।

यो जलवायु परिवर्तनको युग र उदीयमान नयाँ बहुध्रुवीय संसारमा नयाँ खेलाडी तथा नयाँ मूल्य/मान्यताले कुन विकास उपयुक्त र कुन खराब विकास हो भनेर परिभाषित गर्नेछन्। यस्तो बेलामा नेपालीहरूले आफ्नो विकासको पछिल्लो शताब्दीलाई हेरेर पुनर्मूल्याङ्कन गरेर अगाडि बढ्नुपर्छ। 

यसो गर्दा नेपाललाई माया गरेर आफ्नो कर्मभूमि बनाउने केही समकक्षी विदेशी विज्ञहरूको नाम अगाडि आउनेछ जसले नेपाली समाजलाई गरेको योगदान नयाँ नेपाल बनाउनुपर्ने आजको युवा पुस्ताले श्रद्धासाथ मनन गर्नुपर्ने हुन्छ। ती हुन्–पहिलो आधुनिक अङ्ग्रेजी विद्यालय स्थापना गर्ने फादर मोरान, पहिलो आधुनिक अस्पताल स्थापना गर्ने डा. रोबर्ट र बेथेल फ्लेमिङ, आफ्नो अन्तर्निहित प्राविधिक क्षमता निर्माणका क्रममा नेपालको जलविद्युत् विकास गर्ने ओड होफ्टन र टोनी हागन, जसले हिमालय क्षेत्रको भूविज्ञान अध्ययनको जग बसालेका थिए।  

 

–पूर्वजलस्रोत मन्त्री ज्ञवालीको यो लेख टोनी हागनलिखित पुस्तक ‘कृषकविनाको कृषिः कृषि तथा वातावरणबारे व्याख्यान र विमर्श’ बाट लिइएको हो। बिहीबार लोकार्पण तय भएको यस पुस्तकको सम्पादन वसन्त थापाले गरेका हुन्।  

प्रकाशित: १७ फाल्गुन २०८० ०७:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App