८ वैशाख २०८१ शनिबार
विचार

गरिबको गर्जन

सन्दर्भ विश्व सामाजिक मञ्च

दिनभर मात्र हैन, साँझ र मिर्मिरे बिहानमा समेत काम गरिदियो तर खान भने उसले दिए पायो, नत्र भोकै। उसले गाली गरिरहन्छ एकोहोरो, रेडियो बजेझैँ। जवाफ दिन वर्जित छ। लुगा उसैका धोइदिनु पर्ने, उसको साबुन हाम्रा लुगामा दल्न मनाही। दलेमा हाम्रा लुगाको मयल साबुन हुँदै उसकोमा पुग्छ रे। बिरामी ऊ मात्रै हुन्छ, त्यसैले उपचार हाम्रो पनि हुने कुरै भएन। फलफूल उसकै पेवा भइहाल्यो। हामीले त कसैले दयामायाले दिँदा मात्र चाख्ने हो।

यही वास्तविक अवस्था हो गरिबको। त्यसैले उसलाई जहाँपायो त्यहीबोल्ने छूट कहाँ हुन्छ र? ऊ त रोगीभएरै बाँच्नुपर्छ। उपचार गर्‍यो भने त गतिलो भइहाल्छ नि। नुहाउन उसैलाई फुर्सद दिइन्न। अनि उसैलाई फोहोरीको पगरी गुथाइन्छ। पढ्न जान उसैलाई रोकिन्छ अनि अनपढ उसकै विशेषण झुण्ड्याइन्छ।

दिनरात काम गर्दा पनि खान नपुगेपछि काम लगाउने साहूसँगै लिएको ऋण कहिले तिर्ने? यस्तो अवस्थामा गरिब कहिले गरिबीको चक्रबाट मुक्त हुने? न आफ्ना पीडा पोख्ने उचित ठाउँ, न त धैर्यपूर्वक सुनिदिने न्यायिक कानकै उपलब्धता।

गएको ३ गतेदेखि काठमाडौँमा सुरु भएको विश्व सामाजिक मञ्चमा भने केही गरिब पनि कुर्लन पाए। आफ्नो खाद्य अधिकार लुटिएको कुरा ठूलो स्वरले दुनियालाई सुनाउन पाए। विकसित देशले आफ्ना मोजमस्तीका लागि गरेका क्रियाकलापले वायुमण्डल तातेर कुनै भूमिकै नभएका आफू जस्ता मानिसलाई पिरोलेकोबारे खबरदारी गर्न सके।

भूमिको जग्गाधनीपुर्जा बोकेर बस्नेले आफ्नै पुर्जामा उल्लिखित जमिन नचिन्ने तर जो दिनरात जमिनमै खट्छ, त्यहीँ खान्छ, त्यहीँ सुत्छ, त्यहीँ खनिखोस्री गर्छ अनि उत्पादन निकालेर आफू खान्छ र अरूलाई पनि खुवाउँछ ऊ भने त्यही जमिनको स्वामित्वबिहीन हुनुपर्ने अवस्थाको कारण खोजे।

त्यति मात्र हैन, विश्वभरबाट जम्मा भएका नागरिक समाजका प्रतिनिधिसामु सोधे–खोइ हाम्रो रोजगारीको अवसर? हामीले पढ्न नपाउने अपराध के गरेका छौँ? प्राकृतिक स्रोतको दोहनतिम्रो मात्र स्वार्थका लागि गर्ने अधिकार कसले दियो? हाम्रो जीविकाको आधार बनेको हिमताल र पोखरीहरू तिम्रा कारणले सुक्दा के हेरेर बसेका छौँ? हामीले उत्पादन गरेर तयार भएको रोटी तिमीले मात्र खाइदिँदा हाम्रा परिवार भोकै पर्नुपर्ने किन? असमानताको खाडल प्रत्येक दिन बढाउने आपराधिक कार्यका लागि तिमीलाई हामीले छूट दिनुपर्ने हो?

–मञ्चका अवसरमा आयोजित दर्जनौँ छलफल र बहस कार्यक्रममा गरमागरमरूपले उठे प्रश्न।

कोही मजदूरी गरिरहेको ठाउँबाट बिदा मागेर आएका थिए। कोही बिदा नदिएकाले जबर्जस्ती आएका थिए। अनि कोहीचाहिँ न जाभन्दाभन्दै काम खोसिए पनि खोसियोस् भनेर आएका थिए।

नेपालको मात्र कुरा हैन, बंगलादेशबाट यसैगरी आएका छन्। नडराइ आउनेहरू भारतबाटै पनि प्रशस्तै छ। फिलिपिन्स, पाकिस्तान जस्ता थुप्रै देशका श्रमिक श्रम मात्र हैन, कामै माया मारेर आइपुगेका छन्। किन ? किनकि उनीहरूलाई विश्व सामाजिक मञ्चमार्फत आफ्नादुखेसो दुनियाँलाई सुनाउनु थियो। किनकि यो मञ्चमार्फत उनीहरूलाई आफूभित्र गुम्सिएको गुनासो छताछुल्ल तुल्याउनु थियो। किनकि आफ्नू रोजगारदाताले दिएका दुःख, सास्ती आफू जस्तै पीडितबीच धक फुकाएर सुनाउनु थियो। त्यतिमात्र हैन, पीडा र वेदना साझा गर्ने मञ्चको भरमग्दुर उपयोग गर्ने चाहना पनि थियो।

उनीहरू यो विश्वमञ्चमा रोएनन् मात्र। उनीहरूले वेदनाको गीत मात्र गाएनन्। उनीहरू ताली र थपडी बजाएर मनोरञ्जन लिन मात्र आएका पनि थिएनन्। उनीहरू अरूका कुरा बेस्कन सुन्ने तर आफूचाहिँ तिनले व्यक्तगर्ने धारणाको साक्षी मात्र हुन आएका पनि थिएनन्। त्यसैले उनीहरूले यो मञ्चमार्फत आफूहरूलाई नखेद्न पनिखबरदारी गरे।

आफ्ना श्रमको उचित मूल्य दिन सतर्क पनि गराए। आफ्ना जीविकामाथि खेलवाड नगर्न चेतावनी पनि दिए। त्यसैगरी केहीव्यक्ति र परिवारको सुखसुविधाका लागि विश्वका बाँकी जनतालाई प्रताडित गर्ने काम नगर्न पनि सुझाए।  

यस अर्थमाविश्व सामाजिक मञ्च गरिब गर्जने थलो हो जहाँ पीडामा परेकाहरू जम्मा हुन्छन्, समस्याबारे मन्थन/ गन्थन गर्छन् र समाधान सुझाउँछन्। त्यसैले पनि यो मञ्चअझै दरिलो बन्नुपर्छ। यो सबैको आवाज पनि हो। अहिले काठमाडौँको भृकुटीमण्डप पनि यही उद्घोष गर्न व्यस्त छ।

(अध्यक्ष, राष्ट्रिय भूमिअधिकार मञ्च, नेपाल)

प्रकाशित: ७ फाल्गुन २०८० ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App