१७ फाल्गुन २०८० बिहीबार
विचार

मोटोपन, मधुमेह र मदिरा

तीन, चार दशकअघिसम्म पनि विश्वको ठूलो हिस्सामा खान्कीको अभाव थियो। मानिस भोजनको कमीले हुने कुपोषणजन्य रोगको सिकार थिए। अहिले अवस्था फेरियो। चाहिनेभन्दा अधिक भोजन गर्ने र अस्वस्थकर चलानी खानामा बाँच्ने समूह चुलियो। मोटा मानिसको संख्या बढ्यो। मानिसको तौल बढ्दा धेरै रोग भित्रने मात्र होइन, अल्पायुमै मृत्यु हुनेको संख्यासमेत अकासियो।

क्यान्सर, मुटुका समस्यादेखि चिनी रोगसम्मको मुख्य जड भयो वजन। अत्यधिक तौल भएको अथवा ओबिस अवस्थामा भित्रने टाइप–टु डायबेटिजलाई सम्बोधन गर्न अंग्रेजी भाषामा नयाँ शब्द थपियो डायबेसिटी।

डायबेसिटीका रोगीले आफ्ना वजन घटाउने हो भने मधुमेहबाट स्वतः मुक्ति पाउने ठान्छन् संयुक्त राज्य अमेरिकाका ख्यातिप्राप्त इन्डोक्राइनोलोजिस्ट डा. जे बाडाडर।

 त्यस्तै अमेरिकाको क्लिभल्यान्ड क्लिनिकले सन् २०१७ मा जर्नल अफ् मेडिसिनमा प्रकाशित गरेको एक अध्ययनले डायबेसिटी अवस्थामा पुगेका रोगीले आफ्नो वजनको पाँचदेखि सात प्रतिशत तौल मात्र पनि घटाउन सक्ने हो भने चिनी रोगको ओखती खानु  नपर्ने मात्र भन्दैन, बरु उच्च रक्तचापको अवस्था सन्तुलनमा पनि मद्दत गर्ने देख्यो। शारीरिक तौल दिनैपिच्छे फेरिने भएकाले हप्ताभरिको वजनको औसतलाई आधिकारिक अंक मान्नुपर्छ।

प्रश्न उठ्छ, कसरी चिनी रोग र मोटोपन सम्बन्धित छन् त ? खाएको भोजन पाचनपछि रगतमा पुग्छ। तर खानाले शक्ति दिन ग्लुकोज रक्त सञ्चार प्रणालीबाट कोष (सेल) मा पुग्नुपर्छ। अनि त्यसका लागि इन्सुलिनको दरोकार पर्छ। तर, मोटो व्यक्तिमा रहेको अत्यधिक बोसोले इन्सुलिनको मात्रा पर्याप्त भए पनि अल्छी ज्यामीको ठूलो झुण्डका अतिरिक्त कामन ओस्रिएझैं रगतमा भएको ग्लुकोजलाई मांसपेशीमा पुर्‍याउन सक्दैन।

 यसरी कोसमा चिनीको मात्रा कम भएपछि व्यवस्थापकीय कौशल नभएको व्यक्तिले ज्यामीको क्षमता परीक्षण नगरी श्रमिकको संख्या थपेझैं मोटो मानिसको शरीरले अझ बढी इन्सुलिन उत्पादन गर्न थाल्छ।

यसरी इन्सुलिन बेरोकतोक उकासिँदा पहिले नै ओभर स्टाफ भएको सरकारी आमा कर्मचारी थपिँदा बस्ने ठाउँ पनि नभएर सेवाग्राहीले थप समस्या भोगेझैं हुन पुग्छ शारीरिक संयन्त्र। पहिले नै मधुमेहले जीर्ण शरीर थप संकटमा पर्छ। यस्तो जटिलता समाधानका लागि वजन घटाउनु उत्तम समाधान देखियो।

बोसोको परिमाण उच्च भएका कारण शिथिल बन्न पुगेको इन्सुलिन व्यक्तिको तौल घट्नेबित्तिकै प्रभावकारी हुने भएकाले विगतमा डायबेटिजको ओखती खाने अवस्थामा पुगेको व्यक्ति वजन व्यवस्थापनपछि सामान्य अवस्थामा पुग्छ भन्छन् डा. बाडाडर।

चिनी रोग अनियन्त्रित बन्न पुग्दा मुटु रोग, मिर्गाैला बेकामे बन्ने, स्नायु प्रणालीमा बेथिति आई बहुआयामिक समस्या देखिन्छ। तसर्थ, वजन घटाउँदा धेरै किसिमका रोगबाट एकै पटक मुक्ति पाउन सकिन्छ भन्ने यथार्थ बुझ्न आवश्यक देखियो।

मोटोपन व्यवस्थापनले धेरै चरित्रका रोग नियन्त्रण गर्न सकिने भए पनि एकपटक बढेपछि तौल घटाउने काम त्यति सहज छैन। तैल बढ्नुमा व्यक्तिको आनुवांशिक बनोट, खानपिन अनि वातावरणले महत्त्वपूर्ण भूमिका खेल्छ। जेनेटिक्स फेर्न सक्ने कुरा भएन। वजन घटाउन सबैभन्दा सहज जुक्ति खान्की र शारीरिक परिश्रमबीच समन्वय देखियो।

खानाको मात्रामा भारी कटौती गर्दा छोटो समयमै व्यक्तिको तौल निकै घट्छ। तर ह्वात्तै खान्की घटाएर पातलो हुँदा उक्त वजन नियन्त्रण क्षणिक मात्र हुने अनि व्यक्ति केही समयपछि नै पहिलेको भन्दा पनि अझ बढी मोटो हुने गरेको देखियो। खान्की कम गरी छिटो दुब्लाउनेहरूको वजन नियन्त्रण किन अल्पकालीन भयो त?

भोजनपछि तृप्त महसुस गर्नुमा लेप्टिन हर्मोनले भूमिका खेल्छ भने पेट खाली भएपछि भोको अनुभव हुनुमा ग्रेलिन हर्मोनको रोल हुन्छ। खान्कीमा व्यापक कटौती गरी छिटै दुब्लाएकाको बायोलोजिकल परीक्षण गर्दा हर्मोनको उत्पादनले फरक चरित्र देखायो।

पेट टन्न भएपछि स्वाभाविकरूपले मात्रा कम हुनुपर्ने लेप्टिनले उनीहरूको शरीरमा विपरित चरित्र देखायो, खानापछि बढ्नुपर्ने लेप्टिक हर्मोनको मात्रा झन् घट्यो। पेट टन्न भए पनि उनीहरूले सधैँ भोको महसुस गरे अनि खाना देख्नेबित्तिकै खाइहाले। पेटको आकार अझ बढ्यो अनि खान्कीमा आशक्ति देखाउन थाले। परिणामस्वरूप उनीहरू पहिलेभन्दा अझ बढी खान थाले, अनि विगतभन्दा अझ मोटा भए। तसर्थ शारीरिक तौल व्यवस्थापन चुनौतीपूर्ण छ।

नेपालमा मदिराको खपत पछिल्लो दशकमा निकै बढ्यो। अब मधुमेहको ओखती खाने मोटो मानिसले रक्सी पिउँदा कस्तो असर पर्छ त? अहिलेसम्म प्रकाशित सबै अन्वेषणले रक्सीको कुनै पनि मात्रा मानिसका लागि सुरक्षित छैन भन्छ।

तसर्थ, मदिरा सेवन नगर्ने मानिसले त्यतातिर मन नडुलाउनु अनि यसको अम्मलमा हुनेले मात्रा घटाउँदै शून्यमा झार्नु हितकर देखियो। युनिभर्सिटी अफ् क्यालिफोर्निया सान् फ्रान्सिस्कोबाट प्रकाशित अन्वेषणले चिनी रोगका बिरामीले मदिरा सेवन गर्दा हुने स्वास्थ्य विनाशको मोलिकुलर लेभलमा विश्लेषण गर्‍यो।

चिनी रोगका कारण ओखती खाने बिरामीको रगतमा ग्लुकोजको मात्रा एक्कासि घट्न गई व्यक्ति मूर्छित अवस्थामा नपुगोस् भन्नका लागि कलेजोले अहम् भूमिका खेल्छ। ग्लुकोजबिना मस्तिष्क एकै क्षण पनि बाँच्न नसक्ने भएकाले रगतमा चिनीको मात्राको सन्तुलन हरदम कायम हुनुपर्छ।

रगतमा चिनीको मात्रा घट्नेबित्तिकै कलेजोले आफूमा सञ्चित खान्कीलाई रासायनिक परिवर्तनमार्फत ग्लुकोजमा परिवर्तन गरी रक्त प्रणालीमा छाड्छ। तर चिनी रोगीको बिरामीले मदिरा सेवन गर्दा भने परिस्थिति फेरिन्छ।

खानामार्फत रगतमा पुगेका अथवा बायोलोजिकल प्रक्रियामार्फत शरीरमा उत्पादित टक्सिनलाई अविलम्ब नास गरी हामीलाई स्वस्थ राख्ने प्रमुख दायित्व कलेजोको हो। शारीरिक प्रणालीले रक्सीलाई विषाक्त तत्त्वका रूपमा चिन्ने भएकाले व्यक्तिले मदिरा पिउनेबित्तिकै कलेजोले अन्य सबै कामलाई थाती राखी मदिरालाई  टुक्र्याउन थाल्छ।

 रक्सीलाई निस्तेज गर्न झण्डै एक घण्टा लाग्ने भएकाले उक्त अवधिभर कलेजोले रगतमा आएको ग्लुकोजको उतारचढावलाई ध्यान दिन सक्दैन। त्यस्तो अवस्थामा ब्लड ग्लुकोजको मात्रा एक्कासि घट्न गइ चिनी रोगीको मृत्यु पनि हुन सक्छ। तसर्थ, मधुमेहका रोगीले मधुशाला जाँदा धेरै ध्यान दिनुपर्ने देखियो।

सामाजिकीकरणका लागि मदिरा सेवन गर्नेको समूह संसारभर छन्, नेपाल अपवाद होइन नै। रक्सीले पार्ने नकारात्मक स्वास्थ्यवस्थालाई मध्यनजर राख्दै संसारका धेरै देशमा अल्कोहल फ्रि बार खुल्न थालेका छन्। रक्सी जस्तै स्वाद हुने मदिरारहित पेयमार्फत ग्राहकलाई सोसलाइज हुन मद्दत गर्ने उद्देश्यले हालै अमेरिकाको लस एन्जलसमा एउटा बार खुल्यो। छोटो समयमै उक्त मधुशाला लोकप्रिय भयो।

उक्त बारले सोसल ड्रिंकर्सलाई आकर्षित गरेको ठान्छन् बेभरेज डाइजेस्ट पत्रिकाका सम्पादक डुबेन स्टानफोर्ड। रक्सीले स्वास्थ्यलाई पार्ने असरको चेतनाका कारण अमेरिकामा पछिल्लो दुई दशकमा रक्सी सेवन गर्नेको संख्या १० प्रतिशतले घटेको ठान्छन् पत्रकार डुबेन।

पछिल्लो समय नेपालमा रक्सीको खपत निकै बढ्यो। रक्सीबिनाको विवाह, व्रतबन्ध र भोज कल्पना गर्न कठिन हुन थाल्यो। स्वास्थ्य असरको प्रचारप्रसार अनि अल्कोहल फ्रि रेस्टुरेन्ट र बारमार्फत सोसलाइज हुने वातावरण मिलाउन सके रक्सीको अम्मली घटाउन सकिन्थ्यो। कर छूटमार्फत अल्कोहल फ्रि बारको स्थापना विकल्प हुन सक्छ। रक्सीको बेइमानी पक्षको चर्चा अनि सोसलाइजेसनको विकल्पले रक्सीको खपत घट्थ्यो कि!

प्रकाशित: २३ माघ २०८० ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App