२३ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

लोकरिझ्याइँद्वारा विस्थापित अर्थशास्त्र

सन् १९४४ मा दोस्रो विश्वयुद्ध अन्त हुँदै गर्दा निर्वासनमा रहेका हंगेरीका समाजशास्त्री कार्ल पोल्यानीले समाजबाट आर्थिक प्रणालीलाई अलग्याउँदा हुने खतराबारे ‘द ग्रेट ट्रान्सफरमेसन’ किताब प्रकाशन गरेका थिए। उक्त किताब सार्वजनिक भएको ८० वर्ष पुग्दा पनि पोल्यानीले चेतावनी दिएझैँ मानवीय चाहना र सम्बन्धका कारण बजार अर्थतन्त्रमा पर्ने प्रभावबारे अझै पनि कम हेक्का राख्ने गरिएको छ। उनले भविष्यवाणी गरेको परिदृश्य मार्क सेलीको उपन्यास ‘फ्रान्केन्स्टाइन’ मा चिकित्सकले बनाएको जीव उन्मत्त भएर सर्जकलाई नै आक्रमण गरेको घटनासँग मिल्दोजुल्दो देखिन्छ।

अझै पनि भविष्य हाम्रै नियन्त्रणमा रहन सक्छ। सन् २०२४ इतिहासकै सबैभन्दा ठूलो चुनावी वर्ष हुँदैछ। विश्वका आधा जनसंख्या बसोबास गर्ने दर्जनौँ देशमा यो वर्ष चुनाव हुँदैछ। यो सूचीमा विश्वका सबैभन्दा ठूला लोकतान्त्रिक देश भारत र अमेरिका पर्छन् भने अत्यधिक जनघनत्व भएका इन्डोनेसिया, पाकिस्तान र बंगलादेशमा पनि यसै वर्ष चुनाव हुँदैछ। यसैगरी आधा अर्ब जनसंख्या भएको तथा युरोपका २७ देश समावेश भएको युरोपियन युनियनमा यही वर्ष संसदीय चुनाव हुँदैछ। कतिपय समालोचक तथा विज्ञले यो चुनावलाई युद्धोत्तर वैश्विक व्यवस्थाप्रतिको जनमत संग्रहसमेत भनेका छन्।

यसो भनिरहँदा, हालसम्म सार्वजनिक भएका चुनावी समीक्षाले नतिजा त्यति अनुकूल नहुने देखाएका छन्। केहीले विश्वले ‘लोकतान्त्रिक मन्दी’ अनुभव गरिरहेको, विश्वले स्वतन्त्रतताको स्तर गुमाउँदै गएको, अधिनायकवाद हाबी हुँदै गएको तथा स्वतन्त्र र निष्पक्ष चुनावमा आक्रमण भइरहेको दाबी गरेका छन्। स्वाभाविकरूपमा, वर्तमानको अन्योलबीच यी सबै शंकाले शीतयुद्धको अन्त्यपश्चात फ्रान्सिस फुकुयामाले संकेत गरेको ‘इतिहासको अन्त्य’ जस्तै हामी कसरी अन्ध अपेक्षाको अवस्थामा पुग्यौँ भन्ने विषय महत्वपूर्ण बनेको छ।

खराब नेतृत्वका कारण रुस, बंगलादेश तथा पाकिस्तानलगायतका देशको लोकतन्त्र शिकार भएको छ। हालको अवस्था यति धेरै बिग्रेको छ कि यो चुनावी अखण्डता र अभिव्यक्ति स्वतन्त्रतामा हुने डरलाग्दो धक्काभन्दा झन् गम्भीर प्रकृतिको छ। आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेद्वारी सुनिश्चित गर्ने दौडमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प रहेका छन् भने अयोध्यामा राम मन्दिर उद्घाटनमार्फत भारतका प्रधानमन्त्रीले चुनावी अभियानको थालनी गरेका छन्। यी दुवै नेता लोकप्रियतामा अगाडि छन्। उनीहरूको लोकरिझ्याइँ र तीव्र धुव्रीकरण उन्मुख अजेन्डाले विश्वव्यापी मानसिकताको फरक वास्तविकतालाई उजागर गरिरहेको छ। त्यो के हो त ? चर्चा गरौँ:

दोस्रो विश्वयुद्धपछि दीर्घकालीन शान्ति र समृद्धिको प्रतिबद्धता व्यक्त गरिएको थियो। लोकतन्त्र र कानुनी शासनसहितको राजनीतिक उदारवाद र त्यसपछि समाजले अपनाउन सक्ने अत्यधिक परिष्कृत मात्रात्मक पुनरावृत्तिसहितको नवशास्त्रीय अर्थशास्त्रप्रति विश्वले प्रतिबद्धता देखाएको थियो। तर मानवीय स्पर्शलाई अदृश्य हातले प्रतिस्थापन गर्ने प्रयासका कारण यी मोडेल शुद्ध हिसाबले प्रक्रियाजन्य बनेका छन्, राजनीतिविहीन, मान्यताविहीन र संवेदनाविहीन बनेका छन्। यिनीहरूलाई ‘जोड र खेल’ अर्थात् ‘प्लग एन्ड प्ले’ प्रणालीझैँ गरी मार्केटिङ गरिएको छ जहाँ समुदाय र नेतृत्वको आवश्यकता रहँदैन। यसैगरी अनन्त व्यक्तिगत तर्कसंगतताले प्राथमिकता पाउँदा सन्दर्भ र अनूभूतिको आवश्यकता न्यूनतम हुने गरेको छ।

अर्थतन्त्रलाई समाजबाट अलग्याउन सकिँदैन भन्ने पोल्यानीको अवधारणालाई आत्मसात गर्न नसक्नु नै वर्तमान समस्याको मूल कारण हो। औद्योगिक क्रान्तिपश्चात विश्वले अर्थतन्त्रलाई समाजभन्दा माथि ठानेको र मानिसलाई वस्तुका रूपमा हेरेको पोल्यानीको दाबी छ। यही कारणले हामी आफैँले निर्माण गरेको जीवले हाम्रो अस्तित्वमा संकट निम्ताउँदैछ। पछिल्ला दशकमा यही भाष्य प्रखर हुँदै आएको छ।

सन् १९९० को दशकमा विश्वव्यापीकरणप्रतिको असन्तोषलाई भौगोलिकरूपमा सीमित घटनाका रूपमा व्याख्या गरिएको थियो। सन् २००० को सुरुताका कमजोर आर्थिक वृद्धि दर, व्यापक असमानता, निकायहरूको असफलता, राजनीतिक सहमतिको अभाव, भ्रष्टाचार, विरोध प्रदर्शनी तथा गरिबीलाई विकासोन्मुख देशका समस्या मानिन्थ्यो तर ती समस्या क्रमशः विकसित देशमा पनि देखिन थालेका छन्। कतिपय चेतावनीलाई विश्वले सुन्ने धृष्टतासमेत गरेन। सन् २००८ को वित्तीय संकट, २००९ देखि सुरु भएको युरोजोनको ऋण संकट तथा २०१६ मा बेलायतको ब्रेक्जिट जनमत संग्रह यसका केही उदाहरण हुन्।

लोकरिझ्याइँ बुझ्ने प्राज्ञिक प्रयासले सीमित सफलता हासिल गरेका छन्। यी प्रयासले लामो समयदेखि पहिचान, विश्वास र समुदायलाई गरिएको अवहेलनाप्रतिको भावनात्मक प्रतिक्रिया के हो भनेर जान्न तार्किक प्रयासको प्रयोग गरेका छन्। विश्वका लोकरिझ्याइँमा आधारित नेताहरूले अर्थतन्त्रमा आधारित तर्कभन्दा मूल निवासीको चाहना, रहस्यवाद र जादूगरीलाई प्रश्रय दिने गरेका छन्। यो विकासक्रमसँगै, जर्मन समाजशास्त्री म्याक्स वेबरले भनेझैँ पुँजीवादको निर्णायक हिसाबले अन्त्य भएको छ। लोकप्रियतामा आधारित आख्यानकर्ताहरू युद्धोत्तर वैश्विक व्यवस्थाका डिजाइनकर्तालाई आफ्नै रचनामाथि नियन्त्रण गर्न नसक्ने पागल वैज्ञानिकको संज्ञा दिन थालेका छन्। यो त्रासदीपूर्ण संज्ञा हो तर यसमा केही सत्यताका अंश छन्। 

प्रकाशित: २१ माघ २०८० ०६:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App