१७ फाल्गुन २०८० बिहीबार
विचार

किन सम्झने सात साल?

२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्‍यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त माथेमालाई पठाएका थिए।

उनले नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत सुवर्णशमशेर, महावीरशमशेरसँग भेट गरी नेपालको राजनीतिक वस्तुस्थितिबारे जानकारी गराएका थिए। सोबारे राणा शासनका अन्तिम प्रधानमन्त्री मोहनशमशेरले थाहा पाएर राजा त्रिभुवनलाई धम्क्याएका थिए।

बैरगनिया सम्मेलनले राजा त्रिभुवनलाई भारतीय राजदूतावासमा सुरक्षित राख्ने र नेपालमा सशस्त्र आन्दोलन गरी राणाहरूमाथि जाइलाग्नेसम्मका निर्णय गरेको थियो। सो कार्यका लागि गणेशमानसिंह, सुवर्णशमशेरलगायतका नेतालाई नेपाल पठाएको थियो। सो जानकारी नेपालमा रहेका प्रजातन्त्रवादी जनसमुदायले पाएकाले राणा विरोधी आन्दोलन थप चर्कँदै गएको थियो।

काठमाडौँ आइपुगेको केही समयमा नै गणेशमानसिंह, दिलमानसिंह, सुन्दरराज चालिसे, तोरणशमशेर आदिले बैरगानिया सम्मेलनका गोप्य सूचना नेपालका युवामाझ सुनाइसकेकाले जसरी भए पनि राणा विरोधी आन्दोलन सफल पारेर छाड्ने मनशाय उत्पन्न भएको थियो।

यी कुराको सुइँको पाएर सुन्दरराज चालिसेलाई राणाहरूले गिरफ्तार गरे। मोहनशमशेले आफूविरुद्ध षडयन्त्र हुँदैछ भन्ने जानकारी गोरखापत्रमा छाप्न लगाए।

गणेशमान रातारात भागेर चितवन पुगे। ठोरी भन्ने ठाउँमा उनी समातिए। साविती बयान दिन लगाए। उनले गोप्य कुरा नबताउँदा ४०० कोर्रा पुलिसले लगाए। चोटका कारण उनलाई हिँडडुल गर्न मुस्किल भयो।

गिरफ्तार गरिएका सबैलाई र गणेशमानसिंहलाई पनि मृत्युदण्ड दिनेबारे राणाहरूको भारदारी बैठक बस्यो। साथै कट्टरपन्थी राणाहरूले राजा त्रिभुवन कांग्रेससँग मिलेको आरोप लगाई राजगद्दी च्युत गर्नेसम्मका निर्णय गरेका थिए। तर त्यसका लागि श्री ५ को लालमोहर लगाउनु अनिवार्य थियो।

राजा त्रिभुवन भारतीय राजदूतावासमा पुगेकाले सो कार्य सम्भव भएन। भारतीय राजदूतावासबाट नारायणहिटीमा फर्काउन राणाले कोसिस गरे पनि राजाले अस्वीकार गरे। केही राणाले तत्कालीन युवराज महेन्द्रलाई र केहीले स्वयम् मोहनशमशेरलाई नै राजगद्दीमा राख्ने सल्लाह दिए तापनि मोहनशमशेरले सो कुरा अस्वीकार गरे। बरू उनले जबर्जस्ती त्रिभुवनलाई राजगद्दीमा राख्ने, सो नभए भारतीय राजदूतावासमाथि आक्रमण गर्नेसम्मको योजना बनाएका थिए।

सो कुराको जानकारी तत्कालीन राजदूत पि.एन. सिंहले पाएपछि त्यसको खबर तत्कालै दिल्ली पुर्‍याउने र त्यसको परिणाम मोहनशमशेरले पाउनेछन् भन्ने जवाफ पाए। अनि आक्रमण गर्ने योजना उनले गरेनन्।

अब केही चर्चा राणा विरोधी आन्दोलनका लागि स्थापना गरिएको प्रजापरिषद् र प्रचण्ड गोरखाबारे गर्दा उपयुक्त होला। १९८८ सालमा स्थापना भएको प्रचण्ड गोरखा नामक संस्थालाई त्रिभुवनले भित्रीरूपमा सहयोग गरेका थिए। त्यसपछि स्थापना भएको प्रजापरिषद् नामक संस्था र सो संस्थाका अध्यक्ष टंकप्रसाद आचार्यलाई राणा विरोधी कार्य सञ्चालन गर्नका लागि केही नगदी सहयोग पनि गरेको थियो भन्ने भनाइ छ। गोप्य योजना राणाहरूले थाहा पाए।

प्रजापरिषद्का सम्पूर्ण सदस्य गिरफ्तार भए। १९९७ माघको कठ्याङ्ँिग्रदो जाडोमा राणा शासकको मन पनि कठोर थियो। राणाहरूले आन्दोलन दबाउनका लागि गिरफ्तार गरेका सबै युवालाई मृत्युदण्ड दिने निर्णय गरे।

मृत्युदण्ड दिँदा त्रिभुवनसँगै उपस्थित हुनुपर्ने जस्ता घृणित र गैरराजनीतिक सोच राखेछन्। सङ्घर्षको ज्वाला फैलने डरले होला, शायद मोहनशमशेर राजा त्रिभुवन उपस्थित गराउने कुरामा पछि हटे। शुक्रराज शास्त्री, गंगालाल, धर्मभक्त र दशरथ चन्दलाई राजधानीका सिफल, शोभा भगवती, पचलीलगायतका ठाउँमा क्रुर तवरले गोली हाने, फासी दिए, माघमा जस्तो पुण्य आर्जन गर्ने 
धार्मिक महिनामा। माघ १० देखि १६ गतेको समय नेपाली जनताका लागि प्रजातन्त्र प्राप्तिको उद्देश्यले कहिल्यै पनि बिर्सन नसकिने दिन हुन्।

भारतीय राजदूतावासमा शरणार्थी भएर बसेका राजा त्रिभुवन राजदरबारमा नफर्केपछि राणाहरूले २००७ कात्तिक २३ गते साढे तीन वर्षका तत्कालीन शाहज्यादी ज्ञानेन्द्रलाई (हालका पूर्वराजा) राजगद्दीमा राखेर राज्यभिषेक गराएका थिए।

अमेरिका, बेलायतलगायत अन्तर्राष्ट्रिय स्तरबाट ज्ञानेन्द्रलाई राजाका रूपमा मान्यता दिइएको थिएन। त्यसपछि २००७ कात्तिक २५ गते भाइटीकाका दिन त्रिभुवन आफ्ना परिवारसहित दिल्ली पुगेका थिए।

भारतीय जहाज नेपालमा अवतरण गर्दा राणाहरूले गरेको विरोध र २०३३  पुस १६ गते नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला चढेको जहाज भारतको पटनाबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्दाको उदण्डताको प्रकृति हेर्दा राणा शासन र पञ्चायत शासनको पनि शैली करिब उस्तै देखिन्छ। 
राणाकालका अन्तिम प्रधानमन्त्री मोहनशमशेरले नेपाली जनताका अगाडि हार स्वीकार गरिसकेकाले आफ्ना सहयोगी केशरशमशेर र विजयशमशेरलाई राजनीतिक सम्झौताका लागि दूत बनाएर दिल्ली पठाएका थिए। भारतका तत्कालीन प्रधानमन्त्री जवहारलाल नेहरूको मध्यस्थतामा राजा, नेपाली कांग्रेस र राणाबीच पाँच बुँदे राजनीतिक सहमति भएको थियो। ती सहमतिका बुँदामा त्रिभुवनलाई वैधानिक राजा मान्ने, कांग्रेसले छानेको जनताको प्रतिनिधिसहितको मन्त्रिमण्डल गठन गर्ने, बालिग मताधिकारका आधारमा वैधानिक सभा गठन गर्ने, सबै राजनीतिक बन्दी मुक्त गर्ने, राजनीतिक संगठन खोल्ने अधिकार दिने आदि थिए।

यसरी १९०३ सालको कोत पर्वबाट जंगबहादुर कुँवर (राणा) को पालामा सुरु भएको एकतन्त्रीय राणा शासनको अन्त्य २००७ फागुन ७ गते हुन गयो। पार्टी स्थापनाको ७८ वर्षको अन्तरालमा वर्तमानमा नेपाली कांग्रेस पार्टी ‘समुदायमा कांग्रेस’ नाराका साथ माघ २६ गतेसम्म देशका ६४४३ वटै वडामा केन्द्रित रहनेछ। जसको सुरुवात महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाका साथै भर्खर मात्र राष्ट्रिय सभामा निर्वाचित एवं कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापाबाट गरे। आफैँमा इतिहासको गरिमा बोकेको पार्टीका लागि यो गौरवको विषयका साथै लोकतन्त्रमा कांग्रेसको उपस्थिति कति सार्थक छ भन्ने चेतनाको कार्यक्रम पनि हो।

इतिहासका हरेक मोडमा कठिन दिनहरू आउँदा देश र जनताका लागि मनमा कुनै दुविधा आउन पनि सक्छ। त्यस्तो बेला देशका माटो हातमा लिनु र ब्रह्मले जे देख्छ त्यही निर्णय गर्नु भन्ने बिपी कोइरालाको अर्ती आज प्रत्येक कांग्रेसीजनले पुनः मान्नुपर्ने बेला आएको देखिन्छ। गाउँबस्तीले कांग्रेसलाई बचाएको छ तर नेतृत्वपंक्तिको कमजोरी र अंशबन्डाका कारण यो पार्टीले बदनामी कमाउँदैछ।

लोभी, पापी र भ्रष्टाचारीको अखडा नबनोस् भन्ने लोकतन्त्रवादीको चाहना रहेको पाइन्छ। बिपीको विचार, गणेशमानको त्याग, किशुनजीको इमानदारिताले जन्मेको र अडेको यो पार्टीले सयौँ सहिद जन्मायो। तर खोलो तर्‍यो लौरो बिर्सियाे भनेझैं झुपडीमा बस्ने कांग्रेसले नभएर महलमा बस्ने कांग्रेसले चारतारे झण्डाको बदनामी गर्दैछन्, कांग्रेस पार्टीको गौरवशाली इतिहास बिर्सदैछन्।

कृपया नेतृत्व पंक्तिले कांग्रेसी धर्म सम्झेर देश निर्माणका लागि र पार्टी संगठनका लागि काम गरोस्।
जहानिया राणा शासनविरुद्ध स्थापनाकालदेखि नै नेपाली कांग्रेस पार्टीका नेता/कार्यकर्ताले निडरतापूर्वक कसरी लडे? बिपीको समाजवादी चिन्तन कस्तो थियो? २०१६ असार १६ गते आफ्नो नेतृत्वमा गठित मन्त्रिमण्डलमा समावेशिताको प्रयोग बिपीले कसरी गरेका थिए? बाहुन, क्षत्री, राई, लिम्बू, महिला, चौधरीलगायतका विविध जातजाति समावेश उनले किन र कसरी गरे? आदि कुराको ज्ञान बिपीमा प्रशस्त मात्रामा थियो भनेर कांग्रेसका पुराना नेता जगन्नाथ आचार्यले यो पंक्तिकारलगायतलाई २०४२ सालमा सत्याग्रहको माग गर्दै ललितपुरस्थित नख्खु कारागारमा सँगै बस्दा सुनाउने गर्थे।

१९९७ देखि २००७ सालसम्म कांग्रेस पार्टीले राणा विरोधी आन्दोलनमा गरेका गतिविधि नेता आचार्यबाट नै सुनेर यहाँ उल्लेख गरेको हुँ। १० महिना नख्खुमा बन्दी जीवन बिताउँदाका दिन याद आउँछ। साथै पहिलेको कांग्रेस र वर्तमान कांग्रेस पार्टीको कार्यशैली, नीति र विचारमा निकै फरकपन अनुभूत हुन्छ।

आध्यात्मिक र धार्मिक दृष्टिकोणले माघ उत्तम मानिन्छ। स्वस्थानी व्रत कथा पनि यो महिनामै सुरु हुन्छ। साथै राजनीतिकरूपमा पनि यो महिनाले विशेष महत्त्व राख्छ। अमर आत्मालाई सम्झने महिना पनि हो यो। ‘हुँदैन बिहान दुई चार तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए’ भनेझैँ वर्तमान शासन शैलीसम्म पुर्‍याउन देशका १२ हजार १९७ जना सहिद भएको तथ्यांक गृह मन्त्रालयले देखाउँछ। राणा शासनकालदेखि हरेक आन्दोलनमा सहिद हुन पुगेका अमर आत्माप्रति र उनका परिवारजनप्रति सम्मान प्रकट गर्नु सचेत नागरिकको कर्तव्य ठहरिनेछ।

प्रकाशित: १९ माघ २०८० ०६:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App