८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

वनस्पतीय औषधिको व्यावसायीकरण

नेपाल एउटा भौगोलिक सुन्दरता, औषधिजन्य प्राकृतिक वनस्पतिले हराभरा र परम्परागत उपचार प्रणालीको ज्ञानको प्रष्फुटन भएको मुलुक हो। यहाँ आधुनिक चिकित्सा पद्धति प्रवेश हुनुभन्दा हजारौँ वर्ष पहिलेदेखि नै मानव स्वास्थ्य रक्षार्थ रैथाने वनस्पतीय उपचार विधि अवलम्बन हुँदै आएको पाइन्छ। त्यसैले रोग निदान र उपचारका प्राचीनतम मौलिक चिकित्सा पद्धतिहरूलाई सरकारले पनि मान्यता दिएको छ। बोटबिरुवामा पाइने यस्ता रासायनिक तत्त्व वा ‘फाइटोकन्स्टिच्युएन्ट’ प्रयोग गरी नयाँ नयाँ औषधिहरूको खोजमा अहिले विश्वकै ध्यान आकृष्ट भएको छ।

हाम्रा हिमाली रैथाने जडीबुटीमा नयाँ–नयाँ सक्रिय रासायनिक औषधिहरू प्राप्त हुने र औषधि विज्ञानमा ठूलो चमत्कार हुन सक्ने प्रबल संभावना छ। यति हुँदाहुँदै पनि विदेशी कम्पनीहरूले सिलाजीत, निम, अमला, बेसार, तुलसी आदिका लाभकारी गुणहरू आफ्नो नाममा पेटेन्ट दर्ता गराइसकेका छन्। यस्ता बौद्धिक सम्पत्तिहरूको स्वामित्व जोगाउनका लागि प्रभावकारी रणनीतिहरू विकास गर्नुपर्नेछ।

डि.एन.ए. बारकोडिङ, केमिकल फिंगर प्रिन्टिङ, जिन बैंकिङ जस्ता वैज्ञानिक दस्ताबेजहरू तयार पारी यी जडीबुटीहरूका भौगोलिक संकेत निश्चित गर्दै उत्पादनको एकाधिकार सुनिश्चित गर्न विलम्ब गर्नु हुँदैन। नेपालले यी औषधिजन्य वनस्पति तथा प्राकृतिक उपचारको ज्ञान उपयोग गर्दै बौद्धिक सम्पत्ति तथा आणुवंशीक स्रोतबाट अर्थोपार्जन गर्न सक्ने प्रचुर संभावना स्पष्ट देखिन्छ।

जडीबुटीको व्यवसाय

वनस्पतिका फूल, पात, फल, डाँठ, बोक्रा, बिउ, जरा, चोप वा काठ जस्ता भागलाई धुलो, रस वा लेप बनाएर औषधिका रूपमा प्रयोग गरिन्छ। तर आधुनिक चिकित्सा प्रणालीमा यसबाट सार तत्त्व छुट्याएर औषधिका रूपमा प्रयोग गरिँदै आएको पाइन्छ। विज्ञानको विकाससंँगै रासायनिक विश्लेषण, प्रमाणीकरण, वैज्ञानिक अध्ययन र अनुसन्धानबाट उत्पादित जडीबुटीहरूका औषधि स्वास्थ्यका लागि बढी हितकर पुष्टि भएकाले यस्ता उत्पादनको बजार मूल्य पनि उच्च छ।

औषधि आविष्कार र मापनका सम्पूर्ण प्रक्रिया पूरा भएपछि यस्ता सार तत्त्वलाई मानव प्रयोगका लागि बजारमा अनुमति दिने गरिन्छ। त्यसैले समयसँगै अबको जडीबुटी व्यवसाय भनेको आधुनिक प्रविधिबाट सार तत्त्व निकाली विदेश निर्यात गर्ने वा स्वदेशमै ट्याब्लेट, क्याप्सुल वा झोल औषधि उत्पादनमा जोड दिनुपर्छ।

जडीबुटीको एक्स्ट्रयाक्टसन उद्योग स्थापना गर्न निजी क्षेत्रको सहभागिता बढाउँदै निकासीमूलक उद्योगमा लगानी बढाउन प्रेरित गर्न सकिन्छ। कच्चा जडीबुटी निर्यात गर्ने हो भने कम्तीमा पनि केही प्रतिशत मूल्य अभिवृद्धि गरेपछि मात्र निर्यात गर्नुपर्छ।

हामीले गुमाइरहेको खजाना

हामीले उत्पादन गरेको सुगन्धित तेल भारत, बेल्जियम, हंगेरी, चीन, अस्ट्रेलिया आदि मुलुकमा बिक्री हुने गर्छ। यी तेलमा पाइने बास्नादार अर्क छुट्टयाएर स्वदेशमै अत्तर उद्योग सञ्जालन गर्नुपर्छ।

बाँकी रहेकोे तेललाई पनि केही उपभोग्य वस्तु उत्पादनमा प्रयोग गर्नुपर्छ। जडीबुटीमा पाइने अति महत्त्वपूर्ण सक्रिय औषधिहरू, जस्तै–क्यानाबिनोवाइडस, ट्याकसोल, बरबेरिन, इफेड्रिन, कुरकुमिन, भिनक्रिस्टिन, आर्टीमेसिन, इरगोटामाइन, रिसरपाइन्, सरपेन्टाइन्, लिमोनिन, हेस्पिरिडिन, नरन्जेनिन, नोबेलिटिन, लुटिन, ग्लासरिजिन, क्युरिेसिटिइन, आकाकटेचिन, युजिनोल आदि जडीबुटीबाट निकालेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न सकिने सुनौलो अवसर छ।

विश्व स्वास्थ्य संगठनले तोकेको असल औषधि निर्माण संहिता अवलम्बन गर्नका लागि आवश्यक पूर्वाधारहरू बनाउन विज्ञहरूको सल्लाहबमोजिम जि.एम.पी. प्रमाणपत्र प्राप्त गर्न सकिन्छ। उद्योगको स्थलगत नक्सा, कच्चा पदार्थको विवरण, गुणस्तर मापन विधि प्याकेजिङको विवरण, सम्पूर्ण जानकारी नियमनकारी निकायलाई पेस गरेपछि प्रमाणपत्र पाइन्छ र उत्पादन सुरु गर्न सकिन्छ।

गुण नियन्त्रणका लागि हर्बल मोनोग्राफ, वनस्पतिशास्त्रका दस्ताबेज र फार्मकोपिया लगायत थुप्रै संहिता उपयोग गर्न सकिन्छ।

आधुनिक उपकरणहरू क्यालिब्रेसन गरी यस्ता उत्पादनमा भएका वा हुन सक्ने धातुहरू, सूक्ष्म जीवाणुहरू, सक्रिय रसायनको मात्रा आदि मापन एवं गुण नियन्त्रण गर्नुपर्छ।

यस्ता संरचनाबाट उत्पादित उच्च गुणस्तरका औषधिजन्य सक्रिय तत्त्वहरू अन्तर्राष्ट्रिय बजारमा हाम्रा उत्पादनले बढी मुनाफा लिन सक्ने स्थिति सिर्जना हुन्छ। विश्वलाई औषधीय रसायन निर्यात गर्न सक्ने यस्तो सम्भावना हुँदाहुँदै हामीले कच्चा पदार्थकै रूपमा जडीबुटीलाई निर्यात गर्दै आएको अभ्यास अब तुरुन्तै बदल्नुपर्छ।

औषधिको प्रभावकारिता र जोखिम

दुई दशकभन्दा लामो समयदेखि हामीले जैविक विविधता अध्ययनमा जोड दिँदै आएकामा अब भने साँच्चिकै छलाङ मार्ने हो भने वस्तु उत्पादनमा जोड दिनुपर्छ।

 परिमाणमा धेरै र आर्थिक हिसाबले महँगो मूल्यमा बिक्री हुने जडीबुटीलाई अगाडि बढाउँदा आर्थिक समृद्धिमा टेवा पुग्नेछ। उपलब्ध स्रोतलाई बोरामा भइरहेको निर्यातलाई बोतल वा प्याकेटमा निर्यात गर्ने जि.एम.पी. स्तरको पूर्वाधारको विकास गर्नुपर्छ।

 अन्तर्राष्ट्रिय बजारमा ठूलो परिमाणमा गुणस्तरीय जडीबुटी औषधिहरू, एक्स्टरूयाक्टहरू, सक्रिय रासायनिक तत्त्वहरू र प्याटेन्ट गरिएका उत्पादनहरू माग भएकाले, पूर्वाधार विकासमा लगानी थपौँ। निजी क्षेत्र, सरकारी कम्पनी र सरोकारवाला मन्त्रालयहरू यस विषयमा संवेदनशील हुन र दायित्वबोध गर्न जरुरी देखिन्छ।

वनस्पतिजन्य एक्स्ट्रयाक्ट वा पाउडरमा आधारित हाम्रा मौलिक र प्रोप्राइटरी औषधिहरूको प्रभावकारिता र प्रयोगबाट हुन सक्ने जोखिमको वैज्ञानिक विश्लेषण प्रतिवेदनसहित बजारमा निस्कनुपर्छ। ‘रिभर्स फर्माकोलोजी’ को सिद्धान्त अवलम्बन गरी वनस्पतिका औषधीय प्रभावकारिता पत्ता लगाउन सकेमा यस्ता उत्पादनले अझ ठूलो बजार ओगट्ने छन्।

(डा. ज्ञवाली काठमाडौँ विश्वविद्यालयका फर्माकोग्नोसीका प्राध्यापक तथा जडीबुटीविज्ञ हुन्।)

प्रकाशित: ११ माघ २०८० ००:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App