१० आश्विन २०७७ शनिबार
विचार

अतीतमोहमा फसेको कांग्रेस

काँग्रेस सभापति शेरबहादुर देउवाकै पुस्ताका वरिष्ठ नेता रामचन्द्र पौडेलले अतीतमुखी होइन, भविष्यमुखी कांग्रेस आजको आवश्यकता रहेको ठहर्‍याएका छन् । भर्खरैको निर्वाचनमा पराजित भएर आएका पौडेलको सूत्रको सुनुवाइ होला कि नहोला भन्न सजिलो छैन । तर उनले कांग्रेसको एउटा गम्भीर समस्या भने फेला पारेका छन् । उनको ठहर छ, वर्षौंदेखि नयाँ मानिसलाई पार्टीमा आकर्षित गर्ने र पार्टी सदस्य र समर्थकको संख्या बढाउने प्रयत्न गरिएकै छैन । 
कांग्रेसमा अतीतमुखी सोच प्रभावशाली छ । यद्यपि छयालीस सालमा कम्युनिस्टहरूसँग संयुक्त भएर आन्दोलन गर्ने वा २०६२–६३ पछि गणतन्त्रको नारामा समाहित हुने कांग्रेसको निर्णय अतीतमुखी सोच विपरीत थियो । तर ती ऐतिहासिक निर्णयहरूलाई आत्मसात् गर्ने क्रममा कांग्रेस धरमराएको देखिन्छ । २०४६ सालको जनआन्दोलनको सफलतापछि वामपन्थीहरू विरुद्धको उग्र अभिव्यक्ति र व्यवहार त्यसको एउटा उदाहरण हो । अर्को उदाहरण, आजसम्म पनि गणतन्त्र र धर्मनिरपेक्षताविरोधी धारणाले त्यही पार्टीमा आश्रय र स्थान पाइरहेकै छ । कांग्रेस आजसम्म यो ठाउँमा रहनुको कारण ००७, ०४६ र ०६२–६३ को आन्दोलनमा यसले निर्वाह गरेको सकारात्मक भूमिका नै हो । तर ०६२–६३ को आन्दोलनका उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै लैजान यसले व्यवहारमै संशयविहीन दृढता दर्शाउन सकेको छैन । नेपाली राजनीतिमा हिजोका कठिन दिनहरूजस्तै आउँदा दिनहरूमा पनि वामपन्थी र कांग्रेसबीच प्रतिस्पर्धासँगसँगै सहकार्यको सम्बन्ध पनि कायमै रहनुपर्ने देखिन्छ । तर त्यसका लागि सबैभन्दा पहिले कांग्रेस भविष्यमुखी र परिवर्तनलाई निशंकोच सुदृढ गराउने आधारभूत सर्तमा प्रतिबद्ध देखिनुपर्छ। 

कांग्रेस आजसम्म यो ठाउँमा रहनुको कारण ००७, ०४६ र ०६२–६३ को आन्दोलनमा उसले निर्वाह गरेको सकारात्मक भूमिका नै हो । तर ०६२–६३ को आन्दोलनका उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै लैजान यसले व्यवहारमै संशयविहीन दृढता दर्शाउन सकेको छैन । 

निश्चय पनि निर्वाचनअघिसम्म एमाले र कांग्रेसबीच सहकार्य प्रमुख र प्रतिस्पर्धाको पक्ष गौण हुनुपर्छ भन्ने आग्रह लोकतन्त्रका पक्षपातीहरूबीच थियो । अब एमाले र माओवादी केन्द्रबीचको एकतापश्चात् उदाउने एकीकृत कम्युनिस्ट पार्टी र कांग्रेसबीचको सम्बन्ध प्रवृत्ति र तत्कालीन मुद्दाका आधारमा प्रतिस्पर्धा र सहकार्यको मान्यताअनुसार कायम हुनुपर्छ । त्यसैले कांग्रेसभित्र उठेको आन्तरिक लोकतन्त्रको बहस सफल हुन सक्यो भने नेपाली मतदाताको आकांक्षाअनुसारको राष्ट्रिय अर्थतन्त्रको निर्माण, राष्ट्रिय हितको रक्षा र समृद्धितर्फको बाटो फराकिलो हुनेछ । नेपालको कम्युनिस्ट आन्दोलन मौलिक बाटोबाट यहाँसम्म आइपुगेको हो । यहाँको कम्युनिस्ट आन्दोलन चीनलगायतका देशमा जस्तो गरी कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा हिंसात्मक क्रान्ति सम्पन्न गर्दै यहाँसम्म आइपुगेको होइन । कांग्रेससँगको प्रतिस्पर्धामै कम्युनिस्ट पार्टीले चरणबद्ध रूपमा प्राप्त उपलब्धिहरूको रक्षा गर्दै आएको छ । अहिले पनि एकीकृत कम्युनिस्ट पार्टी प्रतिस्पर्धाकै माध्यमबाट सामाजिक आर्थिक रूपान्तरण गर्न र देशलाई समाजवादतर्फ डो¥याउन अग्रसर भएको छ । अहिलेसम्मको अवस्थाको अवलोकन गर्दा, कांग्रेस अतीतबाट मुक्त भएको खण्डमा मात्रै नेपालमा राजनीतिक प्रतिस्पर्धा तीव्र हुन सक्ने देखिन्छ । नेपालको लोकतान्त्रिक क्षितिजमा दलहरूबीच जति बढी सकारात्मक प्रतिस्पर्धा हुन्छ, नेपाली जनता त्यति नै परिमाणमा लाभान्वित हुन सक्नेछन्। 

सात सालको परिवर्तनमा आफ्नो भूमिकाको सधैँ गौरव गाउने कांग्रेसले सत्र सालपछि कष्ट र अपमानको कथा सुनाउँदै सहानुभूति बटुल्ने राजनीति गर्दै अएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि पहिलो पल्ट कांग्रेसलाई तलदेखि माथिसम्म आफ्नो स्वर्ण युगको पटाक्षेप भइसेकेको अनुभूति भएको छ । तर यो अवस्था रातारात आएको होइन । ०१५ फागुनमा सुरु भएर ०१६ वैशाखमा सम्पन्न भएको पहिलो आमनिर्वाचनमा कुल १ सय ९ स्थानमध्ये ७४ स्थानमा विजय हासिल गरेको गौरवमय इतिहास कांग्रेसको स्मृतिमा छ । त्यसबेला अभिवाजित नेपाल कम्युनिस्ट पार्टीले केवल चार स्थानमा जितेको इतिहास पनि कांग्रेसले निकै सम्झने गर्छ । त्यस चुनावमा प्रमुख प्रतिपक्ष नेपाल राष्ट्रिय गोरखा परिषद्ले केवल १९ स्थानमा जितेको थियो । तर त्यति व्यापक परिमाणमा लोकप्रिय मत हासिल गर्ने पार्टीले लोकतन्त्र जोगाउन नसकेकामा आफ्नो पनि कमजोरी थियो कि थिएन भन्ने समीक्षा कहिल्यै गरेको छैन । पञ्चायतकालभरि मात्र होइन, गणतन्त्रको उदय हुनु अघिसम्म दरबारसँग प्रधान अन्तरविरोध रहेका कारणले गर्दा यस विषयमा कांग्रेस इतरबाट प्रश्न नउठाइएको मात्र हो । अब बल्ल कांग्रेसका यावत् विगत र वर्तमानको हिसाब किताब हुन थालेको छ। 

पञ्चायतको अन्तिम समयतिर ०४२ सालमा कांग्रेसले आन्दोलनमा कम्युनिस्टहरूबाट अघि बढाइएको सहयोगको प्रस्तावलाई लत्यायो । केही वर्षपछि, छयालीस सालमा वाममोर्चासँग संयुक्त रूपमा गरिएको आन्दोलन सफल भएपश्चात् कांग्रेसले फेरि आफ्नो स्वर्ण युग आएको ठान्यो । दरबारसँग धोका खाँदै, दरबारसँगै सम्झौता गर्दै त्यहाँसम्म पुगेको कांग्रेसले ०४६ पछि प्राप्त लोकतान्त्रिक उपलब्धिहरूको रक्षाका निम्ति संयुक्त जनआन्दोलनका सहयात्रीसँग न्यूनतम सहमति पनि कायम गर्न चाहेन । ०४८ सालको निर्वाचनका क्रममा कांग्रेसका नेताहरू व्यंग्य गर्थे, ०१५ सालमा एउटै कम्युनिस्ट पार्टी हुँदा त चार सिट ल्याएका थियौँ, अहिले अनेकौँ कम्युनिस्ट पार्टीका नाममा निर्वाचन लड्दा कति स्थानमा जिताैँला । त्यसअघि पनि कांग्रेसले अतीतमुखी हुँदै नेपाली सामन्तवादको प्रतिनिधि संस्था दरबारसँग निर्णायक संघर्ष होइन, दबाब र मेलमिलापको नीतिलाई प्राथमिकतामा राख्दै आएको थियो । छयालीस सालपछि सत्ता पुगेपछि कांग्रेसको सर्वसत्तावादी आचरण यति व्यापक भयो, पार्टीभित्रै विद्रोहको स्थिति उत्पन्न भयो।  

छयालीस सालअघि नेपालका कम्युनिस्ट पार्टी र कांग्रेसबीच तुलना गर्न ०१५ सालको निर्वाचन परिणाम मात्रै उपलब्ध थियो । २०४८ सालको निर्वाचनमा कांग्रेस करिब ३८ प्रतिशत मत ल्याएर १ सय १० स्थानमा जित्न सफल भयो । तर कांग्रेसको बलियो प्रतिपक्षका नेकपा (एमाले) को उदय भयो । त्यस बखत एमालेले करिब ३० प्रतिशत मत ल्याएर ६९ स्थानमा जितेको थियो । वामपन्थी मतको बढोत्तरी कायम रह्यो र ०५१ सालको निर्वाचनमा एमालेले करिब ३० प्रतिशत मत हासिल गरी ८८ स्थानमा जित्यो । कांग्रेसले ३३ प्रतिशत मत र ८३ स्थानमा चित्त बुझाउनु प¥यो । त्यसपछिको निर्वाचनमा एमालेले सुविधाजनक बहुमत हासिल गर्न सक्ने बलियो आधार थियो । तर नेतृत्वलाई विर्सजनवादी भएको आरोप लगाउँदै पार्टीको एउटा हिस्सा अलग भएपछि ०५६ सालको आमनिर्वाचनमा एमालले झन्डै ३१ प्रतिशत मत हासिल गरे पनि ७१ स्थानमै चित्त बुझाउनु प¥यो । यसबाट चोटिएर चुनावमा होमिएको मालेले एकै स्थानमा पनि जितेन, तर ६ प्रतिशतभन्दा बढी मत हासिल ग¥यो । कांग्रेसले ३६ प्रतिशत मत हासिल गरी १ सय ११ स्थानमा जित्यो।

सपछिका दिनमा पनि नेपालमा वामपन्थी मत बलियो देखिँदै आएको छ । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दलका रूपमा देखाप¥यो, जसले प्रत्यक्षतर्फ ३० प्रतिशतभन्दा बढी मत ल्याएर १ सय २० स्थानमा जित हासिल ग¥यो । त्यसबेला माओवादीले समानुपातिकतर्फ २९ प्रतिशत मत हासिल गरेर १०० स्थानमा जितेको थियो । त्यस निर्वाचनबाट कांग्रेसले कुल १ सय १० र एमालेले १ सय ३ जनालाई विधायक बनाएको थियो । कांग्रेसले त्यसबेला प्रत्यक्षतर्फ करिब २३ र समानुपातिकतर्फ २१ प्रतिशत मत हासिल गरेको थियो । एमालेले त्यस निर्वाचनमा प्रत्यक्षतर्फ झन्डै २२ र समानुपातिकतर्फ २० प्रतिशतभन्दा बढी मत हासिल गरेको थियो। 

संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ झन्डै ३० प्रतिशत मत हासिल गरेर १ सय ५ स्थानमा जित्यो । त्यसबेला कांग्रेसले समानुपातिकतर्फ २५ प्रतिशतभन्दा बढी मत ल्याएर ९१ स्थानमा जितेको थियो । त्यसबेला कांग्रेसका कुल सांसदको संख्या १ सय ९६ पुगेको थियो । दोस्रो संविधानसभा निर्वाचनमा एमालले प्रत्यक्षतर्फ २७ प्रतिशतभन्दा बढी मत ल्याएको थियो भने समानुपातिकतर्फ झन्डै २४ प्रतिशत मत हासिल गरेको थियो । एमालेको कुल सांसद संख्या कांग्रेसकै हाराहारीमा १ सय ७५ पुगेको थियो । दोस्रो संविधान सभामा माओवादीले प्रत्यक्षतर्फ झन्डै १८ प्रतिशत मत ल्याएको थियो भने समानुपातिकतर्फ १५ प्रतिशत मत पाएको थियो । त्यसबखत माओवादी विधायकको कुल संख्या ८० मा झर्‍यो। 

यस्तो पृष्ठभूमिमा मतपरिणाम आउनुअघि नै यसपटक देउवाको नेतृत्वमा कांग्रेसको आकार घट्ने अनुमान गरिएको थियो । प्रत्यक्ष र समानुपातिकतर्फ गरी प्रतिनिधिसभामा कांग्रेस अब ६३ स्थानमा खुम्चिएको छ । तर समानुपातिकतर्फ यसले यसपालि पनि झन्डै ३३ प्रतिशत मत हासिल गरेको छ । एमाले र माओवादीले समानुपातिकतर्फ संयुक्त रूपमा ४७ प्रतिशतभन्दा बढी मत हासिल गरेका छन् र २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा दुवैका सांसदको कुल संख्या १७४ पुगेको छ । यद्यपि एमाले एक्लैले समानुपातिकतर्फ ३३ प्रतिशत मात्रै मत त हासिल गरेको छ भन्न सकिएला । तर ०४६ सालयता एमालेले केही अपवादबाहेक निरन्तर बढोत्तरी नै हासिल गर्दै आएको प्रस्टै देखिन्छ । कांग्रेसले सातदेखि सत्र, सत्रदेखि छत्तीस–सैँतीस र त्यसपछि छयालीस सालसम्मका कालखण्डमा निर्वाह गरेको भूमिकाको सरसर्ती अवलोकन गर्दा यो अवस्था आउनु अस्वाभाविक होइन । अब कांग्रेसमा साँच्चै भविष्यमुखी सोच स्थापित हुन सक्यो भने मात्र नेपाली राजनीतिमा जनताबीच अब्बल ठहरिन सकारात्मक प्रतिस्पर्धा गर्ने क्रम तीव्र र घनिभूत हुन सक्नेछ । 

प्रकाशित: १६ फाल्गुन २०७४ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App