३ वैशाख २०८१ सोमबार
विचार

कस्तो समाज बनाउँदै छौं हामी?

दुई घटनाले नेपाली समाजको आजको चेतनास्तर छर्लङ्ग पार्छ। एक, रामबहादुर बमजनले क्रिस्चियन धर्मान्तरण गरिरहेका जनजातिलाई बौद्ध धर्ममै टिकाइराखेका हुनाले फसाउन खोजिँदैछ, र दुई, क्रिकेटर सन्दीप लामिछानेले सगरमाथापछि देशलाई चिनाइरहेका हुनाले ‘गौशाला २६’ मार्फत् बलात्कार मुद्दा लगाएर सिध्याइएको छ!

लामिछानेको मुद्दामा न्यायालयले आदेश दिएपछि निरन्तर आक्रमण जारी छ। मिलेमतोमा हाँसीखुसी होटल जाने अनि फसाउने? भन्ने प्रकृतिका धारणा सार्वजनिक भइरहेका छन्। एक पीडितले आफू बलात्कारमा परेको भनी न्याय माग्न जाँदा र न्यायालयले न्याय दिइसक्दा पनि स्वीकार गर्न नसक्ने प्रवृत्ति देखिँदैछ। यसले हामी र हाम्रो समाज कता जाँदैछ भन्ने चिन्तालाग्दो तस्बिर देखिँदैछ। समाजका एकसेएक आदर्श भनिएका व्यक्तिले यो मुद्दामा आफ्नो असली चेहरा देखाइरहेका छन्।

बमजनको मुद्दामा पनि यही अवस्था छ। वर्षौंपछि बल्ल उनी समातिएका छन्। उनीमाथि अनुसन्धान भई न्यायालयले न्याय गर्ने नै छ। तर यसरी कुरा उठिरहेको छ मानौँ उनीबाट कुनै गल्ती हुँदैन। उनलाई अहिले समात्नु भनेको ठूलो षड्यन्त्र हो भनिएको छ।

धर्मगुरु भन्नेबित्तिकै सबै दूधले नुहाएका हुँदैनन्। भारतमा आशाराम बापुको कत्रो ठूलो समर्थन आधार थियो। यतिबेला उनी जेलको हावा खाइरहेका छन्। बमजनको मुद्दामा पनि बेपत्ता र यौन दुव्र्यवहारका मुद्दा परेका छन्। यसमा सम्बद्ध निकायबाट अनुसन्धान, तहकिकात र न्याय हुन्छ भन्नेमा विश्वास गरेको देखिएन।

जुन समाज तथ्यभन्दा षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्छ, त्यसले न्याय गर्न सक्दैन। भ्रममा बाँच्ने र त्यसैमा रमाउने समाजमा न्याय मर्नु स्वाभाविक हुन्छ। त्यस्तो अवस्थामा हल्लाकै भरमा ठुल्ठूला दुर्घटनातर्फ मुलुक उन्मुख हुन्छ।

विशेषगरी सामाजिक सञ्जालले प्रत्येक व्यक्तिलाई आफ्ना अभिव्यक्तिको मौका दिएको छ। त्यहाँ आफूलाई लागेका धारणा राख्न पाइन्छ। तथापि, भ्रमपूर्ण सूचना र जानकारी राख्ने र त्यसैलाई पत्याउने हो भने समाजलाई उल्टो बाटोतिर लैजानेछ। यसै पनि सूचना प्रविधिको यो युगमा मिथ्या सूचनाको बाढी आएको छ। यो बाढीमा परेर कैयन्ले आफ्नो होस गुमाएको अवस्था छ अहिले। त्यही भएर बलात्कारसम्बन्धी मुद्दामा समाज बढ्ता उद्वेलित भएको देखिन्छ।

बलात्कारसम्बन्धी मुद्दा अहिले बढ्नुको कारण बल्ल मुद्दामामिला हुन थालेर पनि हो। तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र दुई हजार ३८७ जना महिला जबर्जस्ती करणी भोग्न बाध्य भए। १० वर्षअघि आर्थिक वर्ष २०६९/७० मा यो संख्या ६ सय ७७  मात्र थियो।

खासगरी हाम्रो समाजले अझै पनि महिला, बालबालिका, दलित, अल्पसंख्यक आदिबारे राख्ने गरेको मत समयसापेक्ष छैन। कुनै मुद्दामा ‘सेलिब्रेटी’ परेपछि फसाउन खोजिएको भन्नु न्याय निरूपणमा विश्वास नहुनु हो। अपराधले ठूलो/सानो भन्दैन। एकातिर यही समाजले ठूला मानिसलाई कानुन लागेन भनिरहेको हुन्छ, अर्कोतिर कानुनको कठघरामा आफूलाई मन परेको मानिस परेपछि षड्यन्त्र भएको ठान्छ। जिम्मेवारी ठूलो हुन सक्छ। त्यस क्रममा गल्ती भयो भने त्यसको सजाय जोसुकैलाई हुन सक्छ भन्ने विश्वास हुनुपर्छ। त्यसलाई लिएर कुनै व्यक्तित्व सिध्याउन खोजेको भन्ने भाष्य निर्माण हुनु आफैँमा न्यायप्रतिको अविश्वास हो।

अमुक देशले कुनै खास क्षेत्रलाई सिध्याउन कुनै प्रतिभावान व्यक्तिलाई समाप्त पार्न खोजेको अर्थ लगाउन सकिँदैन। कुनै खास व्यक्तिलाई हेरेर कुनै छिमेकी देशले षड्यन्त्र गर्छन् भन्दा पत्याउने ठूलो जमात रहेको देखिन्छ। त्यसकारण पनि कस्तोसम्म सूचना पत्याउने भन्ने न्यूनतम मिडिया साक्षरता आवश्यक हुन्छ।

कुनै अन्यायपूर्ण कुरा समाजमा भइरहेका छन् भने त्यसमा चूप लागेर बस्ने प्रवृत्ति अझ खतरनाक हो। खासगरी बलात्कारपीडितमाथि अहिले जुन ढंगको आक्रमण भइरहेको छ, त्यसले हाम्रा छोरीचेलीलाई बाँच्न दिने छैन। आफूमाथि भएको अन्यायमा जबर्जस्ती चूप लगाउन खोज्नु कम अन्यायको कुरा होइन। कलाकार पल शाहसँग जोडिएकी किशोरीले बल्लतल्ल आफूलाई उभ्याएर काम गर्न खोज्दैछिन्।

क्रिकेटर लामिछानेविरुद्ध मुद्दा गरेकी गौशाला २६ माथिको आक्रमण अकल्पनीय छ। न्याय माग्ने कोही व्यक्तिमाथि यस किसिमको आक्रमणले भोलि कसैलाई पनि उठ्न दिने छैन। के हामीले अन्यायी समाज बनाउन खोजिरहेका छौं?

अहिले आएर अदालतमाथि त्यही तहको आक्रमण भइरहेको छ। अदालतले भीडलाई हेरेर न्याय गर्ने होइन। उसले प्रमाणका आधारमा निर्णय गर्न नसक्ने हो भने त्यो भन्दा अन्यायी समाज के हुन सक्ला र? लौ अब सबैलाई फसाइने भयो। यो देशमा कस्तो कानुन बनेको हो? त्यसलाई नफेर्ने हो भने कोही पनि बाँकी रहँदैनन् भन्ने भयपूर्ण धारणा अहिले फैलाइँदैछ। यो अत्यन्तै घातक प्रवृत्ति हो।

मुलुकको अहिलेको कानुन बुझ्न एउटा सामान्य उदाहरण लिए पुग्छ। हामीकहाँ सुर्ती वा मदिराजन्य वस्तु बालबालिकालाई बेच्न पाइँदैन। तर कसैले बेचिहाल्यो भने पनि अहिलेसम्म यसको कानुनी जिम्मेवारी पूरा गर्नुपरेको छैन। यही काम अन्यत्र मुलुकमा भयो भने पसलेमाथि कारबाही हुन्छ। उमेर पुगेको व्यक्तिलाई यस्ता वस्तु बेचेको सुनिश्चित गर्न परिचयपत्र हेर्ने चलन हुन्छ।

त्यसैगरी कुनै किशोरीले कुनै वयस्क पुरुषसँग सम्पर्क गर्न चाहेमा सम्बन्धित व्यक्तिले तिनलाई उमेर पुगेको छैन भनी सम्झाउने चलन हुन्छ। अन्यथा, कानुनले ती पुरुषलाई नै दोषी ठहर्‍याउँछ। हामीकहाँ पनि भएको यत्ति हो। यसबाहेक केही नयाँ र नौलो कुरा कानुनमा समावेश गरिएको छैन।

महिलाले आफैँ बोलाएर फसाएको भनी आफूलाई ‘पानीमुनिको ओभानो’ बनाउनुपर्ने आवश्यकता छैन। हो, कुनै व्यक्तिविशेषबाट यसको दुरूपयोग हुन सक्ला, त्योबेला त्यसरी नै हेर्न सकिन्छ।

अपवादलाई लिएर समग्र कानुनी प्रावधानमै प्रश्न गर्न सकिँदैन। यसको दुरूपयोग भएको छ भने अध्ययन गरेर त्यसका आधारमा निष्कर्ष निकाल्न सकिन्छ। आजको दिनमा पीडितले न्यायका निम्ति जानै नसक्ने अवस्था सिर्जना गरिएको छ।

कुनै बेला यो मुलुकमा सती प्रथा पनि थियो। पतिको मृत्यु भएपछि तिनले जिउँदै पतिको चितामा जल्नुपर्ने थियो। त्यो प्रथा समयसापेक्ष नभएका कारण हटाइयो। त्यसैगरी कुनैबेला पत्नी भनेको पतिको दासी हो भन्ने मान्यता यही समाजमा विद्यमान थियो।

अझै पनि कतिपयलाई पत्नीलाई कुट्नु वा दुव्र्यवहार गर्नु भनेको अधिकार नै हो भन्ने लाग्न सक्छ। पत्नीले चाहेमा सजिलै पतिलाई फसाएर जेल पठाउन सक्छन् पनि भनिँदैछ। तर मुलुकको सम्पूर्ण जनसंख्यामा कति प्रतिशत यस्तो घटना भएको होला?

हो, पत्नीमाथि अन्याय भयो भने जेल पठाउन सक्छन्। बलात्कारजन्य व्यवहार पत्नीमाथि पनि गर्न पाइँदैन। यसको अर्थ कसैमाथि पनि यस्तो व्यवहार हुन सक्दैन र भयो भने कानुन लाग्छ भनेको हो। सबैले समान इज्जतका आधारमा बाँच्न पाउनुपर्छ भनेर यसो गरिएको हो। पति हुने बित्तिकै पत्नीमाथि जस्तोसुकै व्यवहार गर्न पाइन्छ भन्ने होइन।

यो समान सम्बन्ध र सहयात्राको पक्ष हो। एउटा सभ्य समाजले यसलाई आत्मसात गर्छ।मानिसले मानिसलाई गर्ने व्यवहार मर्यादित र सम्मानपूर्ण हुनुपर्छ मात्र भनिएको हो।

हाम्रो समाजले जुन दिन यो पक्षलाई स्वीकार गर्छ, त्यही दिनबाट बलात्कार जस्तो जघन्य मुद्दालाई सामान्यीकरण गरिने छैन। सँगै मिलेर हिँडे पनि कुनै दिन नमिल्ने अवस्था आउन सक्छ।

कुनै पनि सम्बन्धलाई सदाकालका निम्ति अनुमतिपत्रका रूपमा लिन सकिँदैन, चाहे त्यो पत्नीसँगको किन नहोस्। कुनै पनि सम्बन्ध प्रत्येक पटकको अनुमतिमा निर्भर हुन्छ। कसैको शरीरमाथि अधिकार रहेको ठान्ने र व्यवहार गर्ने प्रवृत्तिमा सुधार चाहेको हो कानुनले।

कानुनी कारबाही माथि उल्लिखित प्रतिनिधि यी दुई व्यक्तिमाथि मात्र भएको होइन। अहिले देशभरि कैयन् मुद्दा चलिरहेका छन्। त्यसकारण कुनै चर्चित व्यक्तिमाथिको मुद्दालाई लिएर षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्ने अहिलेको प्रवृत्तिमा रहेको खतरनाक पक्षमा ध्यान पुग्नु आवश्यक छ।

प्रकाशित: १ माघ २०८० ००:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App