२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

त्रिविको रेकर्ड रडाकाे

विद्यार्थी नपाएर खडेरी भोग्न थालेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को रेकर्ड काण्ड गत साता समाचारपत्रका पानाहरूमा छताछुल्ल भयो। सधैँजस्तै विद्यार्थी भर्ना हुन सकेनन्, विद्यार्थीको सङ्ख्या घट्यो भन्ने समाचार थिएन बरु विश्वविद्यालयले नयाँ रेकर्ड राखेको कुरा सगौरव प्रस्तुत भएको थियो समाचारपत्र र रेडियो टेलिभिजनमा। विश्वविद्यालयले उत्सव मनाइरहेको बेला मेरा मनमा भने झ्वाट्ट छिमेकी काकाले बाल्यकालमा सुनाउनुभएको कथा याद आयो।

काकालाई घरमा गोरस नहुँदा निकै अप्ठ्यारो परेको रहेछ। साना छोराछोरी दूध खान नपाएर तड्पिरहेका रहेछन्। यसरी त भएन, अब भैँसी खोज्नुपर्छ। उहाँले भैँसी भेट्टाउनुभयो। भैँसी किन्ने लगभग सहमति भयो। भैँसीधनीले भनेछन्: सिङ/कान मिलेको छ, चिल्लो, कालो र राम्रो छ। झिँगा बस्दा पनि चिप्लेला जस्तो मोटो र खाइलाग्दो छ। त्यसैले राम्रो मूल्य दिनुपर्छ। भैँसीले दिने दूध बारे केही कुरा नगर्दा काकालाई खसखस लागेछ। अनि दूध कस्तो छ नि, कति दिन्छ भनेर सोध्नुभएछ। भैँसीधनीले भनेछन्-यति राम्रो भैँसी छ ९९ वटा गुण छन् भने एउटा अवगुण त पचिहाल्छ नि, दूध भने यसले दिँदैन। काका जिल्लै!

आखिर न मासुका लागि हो न त मलका लागि भैँसी। खोजेको त मात्र दूधका लागि हो। जब दूधका लागि खोजिएको भैँसीले दूध नै दिँदैन भने उसका अरू रूप, रङ्ग र आनीबानीको के नै मूल्य रह्यो र?

आखिर कुनै पनि वस्तु वा व्यक्तिको मूल्य त्यतिखेर रहन्छ जतिखेर उसमा निहित गुण वास्तविकरूपमा प्रकट हुन्छन्। यसो भन्दैमा गोरुमा दूध दिने क्षमता, बाख्रामा खेत जोत्ने क्षमता अनि कछुवामा दौड्ने क्षमता खोजेर हुँदैन। मासुका लागि भैँसी खोज्नेले उसको रूप र मांसमा ध्यान देला तर दूधका लागि खोज्नेले दूधलाई नै प्राथमिकता दिन्छ।

विश्वविद्यालय विभिन्न विषय र क्षेत्रमा अध्ययन/अनुसन्धान गरी प्राज्ञिक दक्षता प्रदर्शन गर्ने स्थल हो। समाज र देशको अर्थतन्त्र, कानुन, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रमा जनशक्ति उत्पादन तथा अनुसन्धातालाई मार्गदर्शन गर्ने काम विश्वविद्यालयले गरेको हुन्छ।

विश्वविद्यालयका अनुसन्धानले देशमा ठूला ठूला उद्योग व्यवसायको सम्भावनाको ढोका खोल्छ भने देशको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक वातावरणलाई सन्तुलन गर्न सहयोग पुर्‍याउँछ।

यसैले प्रज्ञाको मन्दिरका रूपमा विश्वविद्यालयलाई लिने गरिन्छ। विश्वविद्यालयको महत्ता त्यहाँबाट उत्पादित जनशक्तिले समाज र राष्ट्रलाई पुर्‍याएको योगदानबाट मापन हुन्छ।

विश्वविद्यालयको उत्पादन बेरोजगारी समस्याका कारण तड्पिरह्यो भने त्यस विश्वविद्यालयको गुणस्तर र उपादेयतामाथि प्रश्न चिह्न लाग्छ। यसैले विश्वविद्यालयबाट शिक्षा आर्जन गरी सफल भएका व्यक्तित्वहरूको सफलताको कथामा विश्वविद्यालयको गरिमा प्रकट भइरहेको हुन्छ।

नेपालका सन्दर्भमा कुनैबेला राष्ट्रको मियो मानिएको त्रिभुवन विश्वविद्यालय अहिले अधोगतिमा लम्किरहेको छ। प्राविधिकतर्फ निकै आकर्षक मानिएका स्नातक र स्नातकोत्तरका कार्यक्रम अहिले बन्द प्रायः हुन थालेका छन्। विश्वविद्यालयका केन्द्रीय विभागहरू र स्नातकोत्तर क्याम्पसहरूमा विद्यार्थीभन्दा प्राध्यापकको संख्या धेरै देखिन थालेको छ।

जागिर जोगाउनका लागि स्नातक उत्तीर्ण गरेका व्यक्ति खोज्दै विश्वविद्यालयमा भर्ना गराउने अवस्थाको सिर्जना हुन थालेको देखिन्छ। त्रिभुवन विश्वविद्यालय राष्ट्रको प्राज्ञिक मेरुदण्ड बन्नुको सट्टा प्राध्यापकहरूको जागिर जोगाउने स्थल बन्दै गएको छ।

अधोगतिमा विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयका आकर्षक विभागहरूमा काम गर्ने प्राध्यापकहरू त्रिविलाई जागिर खाने स्थलका रूपमा मात्र लिए भने आफ्नो श्रम र पसिना निजी क्याम्पसमा खर्चिए।

आकर्षक नमानिएका विषयका प्राध्यापकसमेत निजी क्षेत्रमा पसिना बगाउने र विश्वविद्यालयमा गई आराम गर्ने गर्न थाले। रोजगारी समस्या बढिरहेको अवस्थामा जे/जसरी भए पनि पढ्नुपर्छ भनेर विश्वविद्यालय आउने विद्यार्थीको चाप रहने नै गरेको थियो।

बेलाबखत कुरा उठे पनि प्राध्यापकका अनुत्तरदायी, गैरजिम्मेवार र गैरकानुनी कामलाई त्यति ध्यान दिइएको थिएन तर अहिलेको अवस्था त्यस्तो छैन। विश्वविद्यालयका धड्कन मानिएका किशोरकिशोरीमा १२ कक्षा उत्तीर्ण गर्नासाथ विदेश जाने होडबाजी चल्न थालेको छ।

विश्वविद्यालयमा कहिले परीक्षा हुने हो र नतिजा कहिले आउने हो भन्ने कुनै ठेगान नहुँदा विश्वविद्यालयमा भर्ना भएका विद्यार्थी जेलमा परेको महसुस गर्न थालेको लामो समय भइसकेको छ।

समयमा नतिजा प्राप्त नहुने रोगले विद्यार्थीको वर्ष नै खेर जाने गरेको देखिन्छ। एकातिर विद्यार्थी दिनानुदिन प्रताडित भइरहेका छन् भने अर्कोतिर अयोग्य, अदक्ष र गुणस्तरहीन काम गर्ने प्राध्यापकहरूको हालीमुहाली बढ्दै गएको छ।

 रत्नपार्कमा जुस खुवाएर र पदाधिकारीलाई थर्काएर प्राध्यापक बनेका व्यक्तिहरू अहिले विभिन्न विभागका प्रमुख बनेका छन्। उनीहरूमा न योग्यता र दक्षता छ न पेसाप्रतिको जिम्मेवारीबोध नै। विश्वविद्यालयमा विद्यार्थीको अभाव र प्राध्यापकहरूको गैरजिम्मेवार व्यवहारले विश्वविद्यालयले अध्ययन, अध्यापन र अनुसन्धानका माध्यमबाट विश्व रेकर्ड बनाउने कुरा ‘आकाशको फल आँखा तरी मर’ बनिसकेको छ।

यसैले दिनदिनै स्तर खस्केका समाचार प्रकाशित हुने गरेका छन्। यस्तो बेलामा एक किसिमको हौवा फैलाएर पदाधिकारीहरूले मौकाको फाइदा उठाउने प्रयास गरेका छन्।

रेकर्ड रहस्य

विद्यार्थी नै नभएका क्याम्पस र विश्वविद्यालयमा बसेर गफ चुट्नुको सट्टा अध्ययन र अनुसन्धानमा लागेको भए विश्वविद्यालयको समग्र गरिमा बढ्थ्यो र अनावश्यक काममा खर्च भएको ऊर्जा समाज उपयोगी कार्यमा प्रयोग गर्न सकिन्थ्यो।

 काकालाई भैँसी बेच्न खोजेको भैँसीधनी जस्तै विश्वविद्यालयका पदाधिकारीहरू आफ्नो गुणस्तर खस्केको कुरालाई पटक्कै स्वीकार्ने अवस्थामा छैनन्। उनीहरूलाई आफ्नो कार्यकालमा विश्वविद्यालयले ऐतिहासिक यात्रा गरेको छ भन्ने भ्रमको सपनामा आराम गर्न रहर लाग्छ तर वास्तविक समस्याहरूलाई स्वीकार नगरी अगाडि बढ्न सक्ने अवस्था रहँदैन। यसैले विश्वविद्यालयले किन विद्यार्थी आकर्षित भएनन्, प्राध्यापन कार्य किन प्रभावकारी हुन सकेन, प्राध्यापकहरूलाई कुन काममा लगाउँदा उपयुक्त होला भन्ने विषयमा अध्ययन÷अनुसन्धान गर्नुपथ्र्याे।

यी सब कुरा छाडी नेतृत्व अपरिपक्व र अनुत्तरदायी किसिमले विश्वविद्यालयको स्तर बढ्दै गएको अनि धेरैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराइ विश्व रेकर्ड कायम गरेको हल्ला फैलाउन व्यस्त भएको छ।

बेरोजगारहरूको झुन्ड तयार गरेर यति धेरै विद्यार्थीलाई दीक्षित गर्‍यो भनेर फुर्ती लगाउनुभन्दा त ‘सुन्दरी प्रतियोगिता’ आयोजना गरेर टेलिभिजनका पर्दाहरूमा छाउनु राम्रो हुन्थ्यो कि ! विश्वविद्यालय र क्याम्पसका कक्षाकोठा होटल वा कारखाना बनाउनका लागि भाडामा लगाइदिने हो भने अर्को रेकर्ड तयार हुन्छ। विश्वविद्यालयको नाम लिनासाथ चर्चामा आइहाल्ने भ्रष्टाचारको रेकर्ड त त्रिभुवन विश्वविद्यालयले कायम गरेकै छ। अरूका किताबका गाता फेरेर बढुवा भएका प्राध्यापकहरूको जमात बढेपछि अन्य ऊर्जाशील रेकर्डको अपेक्षा गर्न नसक्ने रहेछ।

अब रेकर्ड नै राख्ने हो भने कक्षा कोठाहरूलाई प्राध्यापकका अपार्टमेन्ट बनाइदिऊँ। त्रिभुवन विश्वविद्यालयको सम्पत्तिको हकदार आखिर प्राध्यापक र कर्मचारी नै हुन्।

अब विद्यार्थी पढाउनका लागि क्याम्पस आवश्यक पर्दैन भने त्यत्रो ठूलो संरचना र जग्गा जमिन किन खेर फाल्ने? विश्वविद्यालयका सम्पत्तिका हकदार प्राध्यापक र कर्मचारीलाई अंशबण्डा गरी विश्वविद्यालयको जग्गा वितरण गरेर अर्को रेकर्ड किन कायम नगर्ने? बेरोजगारको जमात लगाएर विश्वको उत्कृष्ट रेकर्डको डुप्लिकेट नाम राखेको संस्थाले विश्वविद्यालयलाई यो तहको भनिदिएकै आधारमा १२ हात उफ्रिने परिपाटीले हामीलाई गलत दिशातर्फमात्र लैजान्छ भनेर कहिले बुझ्ने?

प्रकाशित: १९ पुस २०८० ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App