१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

हिउँदे वर्षामा ह्रास

चालु हिउँद याममा नेपालमा पुस महिना बितिसक्दा पनि वर्षा शून्य रह्यो । गत वर्षको हिउँदमा पुस १० गते नेपालको पश्चिम भेगमा वर्षा भई ढिलै भए पनि हिउँदे वर्षाको आगमनको संकेत गरेको थियो । तर यस वर्ष पुसको अन्त्यपछि पनि वर्षामा शून्यताले एकातिर हिउँदे वर्षामा ह्रास आएको देखिन्छ भने अर्काेतिर वर्षाको आगमनमा ढिलाइ हुँदै गइरहेको स्पष्ट हुन्छ । सामान्यतया हिउँद याममा मंसिर महिनाको सुरुवातसँगै मेघ गर्जनसहित वर्षा भई हिउँदको आगमनको संकेत दिने गथ्र्यो । तर अहिले यस्तो मौसमी प्रक्रिया प्रायः शून्य भएको छ।

हिउँदे वर्षाको ह्रासले तराईको समथर मैदानमा बाक्लो कुहिरो लाग्ने र शीतलहर चल्ने जस्तो प्राकृतिक प्रक्रिया सीमित हुन पुगेको छ भने उच्च पहाडी भेगमा हिमपातमा कमी आएको छ । यसको परिणामस्वरूप देशको विभिन्न स्थानमा भने वायुमण्डलीय तापमानमा वृद्धि भएको छ । सामान्यतया हिउँदमा राजधानी काठमाडौँको न्यूनतम तापमान शून्यभन्दा तल झरी अत्यधिक चिसो हुने गथ्र्यो । तर चालु हिउँदमा शून्यभन्दा तल झर्न सकेन । र यो क्रम विगत केही वर्षदेखि निरन्तररूपमा जारी रहेको छ । मौसमी तथ्यांकअनुसार काठमाडौँको हालसम्मकै सबभन्दा कम न्यूनतम तापमान माइनस ३. ५ सेल्सियस १९७८ जनवरी ११ मा मापन गरिएको छ । त्यस्तै पश्चिम तराईको नेपालगञ्ज जहाँ गर्मीमा अति गर्मी र हिउँदमा कठ्यांग्रिने जाडो भई न्यूनतम तापमान शून्यभन्दा तल झर्ने गथ्र्यो त्यहाँ पनि चालु हिउँदमा न्यूनतम तापमान शून्यभन्दा माथि नै रह्यो। त्यस्तै देशको अन्य स्थानमा पनि चिसोमा कमी आएको महसुस भएको छ। यसले नेपालमा वायुमण्डलीय तापमान वृद्धिलाई पुष्टि गर्दै मौसम परिवर्तनको संकेतलाई प्रमाणित गरेको छ। 

ह्रासको कारण 
नेपालमा हिउँदे वर्षामा ह्रास एउटा अध्ययनकै विषय भएको छ । सामान्यतया हिउँदयाममा सक्रिय पश्चिम वायुको प्रभावबाट मौसममा फेरबदल भई वर्षा हुने गर्छ । यस्तो मौसमी प्रक्रिया देखापर्नुको मुख्य कारण हिउँदयामको सुरुवातसँगै नेपाललगायत दक्षिण एसियामा युरोप महादेशको चिसो भूभागबाट पूर्वतिर हावा चल्नु हो । यो हावा एसिया महादेशको उत्तरी भेगस्थित हिमालको बाटो हँुदै पाकिस्तानको उत्तरी भेग र उत्तर पश्चिम भारतबाट नेपाल भित्रिने हुँदा झन् चिस्सिने गर्छ र यो हावा जहाँ जहाँ बहन्छ त्यहाँ अत्यधिक चिसो मौसमी गतिविधि भित्रिने गर्छ । यसरी बहने पश्चिमी वायुको गतिमा अवरोध खडा भई वायुमण्डलीय चापमानमा ह्रास आएको खण्डमा मौसम बदली भई वर्षा हुने गर्छ। यस्तो मौसमी प्रक्रियालाई ‘वेस्टर्न डिस्टरवान्स’ भनिन्छ । हिउँदयाममा यस्तो प्रक्रियाबाट नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा कम्तीमा पनि तीन–चारपटक वर्षा हुने गर्छ । तर चालु हिउँदमा पुस महिना बितिसक्दा पनि यस्तो प्रक्रिया कमजोर हुनाको कारण वर्षा शून्य रह्यो । यसले दक्षिण एसियाका अन्य मुलुक पनि प्रभावित भएको छ। 

वैज्ञानिक अध्ययनले हिउँदे वर्षामा कमी आउनुको प्रमुख कारण विश्वव्यापीरूपमा देखापरेको इलनिनो भएकोे बताइएको छ । विश्वव्यापीरूपमा मौसमसम्बन्धी जानकारी राख्ने संयुक्त राज्य अमेरिकास्थित नेसनल ओसनिक एट्मोसफेरिक एड्मिनिस्टे«सन नामक संस्थाले जनाएअनुसार सामान्यतया इलनिनोको प्रभाव देखापर्ने बेला दक्षिण एसियामा गर्मीयाममा मनसुनी गतिविधि प्रभावित भई वर्षा न्यून हुने र वायुमण्डलीय तापमान वृद्धि हुने गर्छ । त्यही इलनिनोको प्रभावबाट हिउँदे वर्षा पनि प्रभावित हुने गरेको वैज्ञानिकहरूको ठहर रहेको छ । नेपाल लगायत दक्षिण एसियामा सन् २०१४ को जाडोयामसँगै विश्वव्यापी रूपमा इलनिनोको प्रभाव देखापरेको थियो जसको प्रभाव निरन्तर रूपमा बढ्दै सन् २०१७ को मनसुन कालसम्म पनि देखा परिरह्यो । यसैको प्रभावस्वरूप नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा ती वर्ष मनसुनी वर्षा कमी हुनुको साथै न्यानो मौसमी गतिविधि महसुस भएको थियो । त्यही इलनिनोको प्रभावले विगतका हिउँदको साथै चालु हिउँदयाम पनि प्रभावित भएको छ। 

वैज्ञानिक अध्ययन अनुसार उक्त इलनिनोको प्रभाव पछिल्लो समय अत्यन्त कमजोर हुँदै गई प्रायः निष्क्रिय अवस्थामा रहेको छ भने अबका दिन उक्त इलनिनो समाप्त भई बिस्तारै लानिनाको असर देखापर्ने सम्भावना रहेको छ । इलनिनो र लानिना विश्वव्यापी रूपमा देखापर्ने दुई वायुमण्डलीय प्रणाली हुन जुन केही वर्षको अन्तरालमा एकपछि अर्काे देखापर्ने गर्छ।

इलनिनो भूमध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी क्षेत्रको पानी औसतभन्दा बढी तात्ने प्रक्रियालाई जनाउँछ । यसरी पानी तात्ने बेला विश्वव्यापी रूपमा वायुमण्डलीय चापमान फेरबदल हुन गई कतै अस्वाभाविक रूपमा हुरीबतास चल्ने र बढी पानी पर्ने हुन्छ भने कतै वर्षामा ह्रास आई सुख्खापन महसुस हुने गर्छ । तर यसको ठीक उल्टो प्रक्रियालाई लानिना भनिन्छ अर्थात् लानिनाको बेला प्रशान्त महासागरको पूर्वी क्षेत्रको पानी औसतभन्दा चिसो हुने गर्छ । इलनिनोको प्रभाव देखापर्ने बेला गर्मीयाममा भूमध्यरेखास्थित प्रशान्त महासागरको पूर्वी क्षेत्रमा बढ्दो अाँधीबेहरीका कारण वर्षामा वृद्धि हुन्छ भने पश्चिमतिर वर्षामा कमी आउने र न्यानो मौसमी गतिविधि देखापर्ने गर्छ । अर्थात्, यस्तो बेला प्रशान्त महासागरको पूर्वी क्षेत्रस्थित दक्षिण अमेरिकाको पेरु, इक्वेडरलगायत आसपासकोे क्षेत्रमा वर्षामा वृद्धि हुन्छ भने पश्चिमस्थित दक्षिण पूर्वी एसियाको विभिन्न स्थान जस्तै इन्डोनेसिया र वरिपरिको स्थानमा कम मात्रामा वर्षा हुन्छ । त्यसैको प्रभावस्वरूप दक्षिण एसियाको विभिन्न स्थान प्रभावित भई सुख्खा मौसम हुने गर्छ । त्यही इलनिनोको सक्रियताले हिउँदमा पनि दक्षिण पूर्वी एसियामा वर्षा अत्यन्त न्यून हुने गरेको वैज्ञानिकहरूको ठहर छ । 

हिउँदे वर्षा नेपाल जस्तो पहाडी मुलुक जहाँ पर्याप्त मात्रामा सिँचाइ सुविधा उपलब्ध हुन सकिरहेको छैन, त्यहाँको लागि वरदान तुल्य छ । तर यसको कमीले वायुमण्डलमा जलवाष्प आपूर्तिमा ह्रास आई बाक्लो कुहिरो लाग्ने, शीतलहर चल्ने र हिमपात हुनेजस्तो प्रक्रियामा कमी आउँछ । जुन मानवीय जीवनयापनको हिसाबले सहज भए पनि कृषि उत्पादनका लागि भने अभिशापसिद्ध हुन्छ । विश्वमा देखापर्ने यस्ता विभिन्न किसिमका प्राकृतिक प्रक्रियाले मौसम फेरबदल हुन गई कृषि उत्पादनमा नकारात्मक प्रभाव पर्ने डर पछिल्ला वर्षहरूमा बढ्न थालकोे वैज्ञानिक अध्ययनले देखाएको छ । यसले मानवीय जीवनको रहनसहनसमेत प्रभावित हुने देखिन्छ ।  
(प्राध्यापन, काठमाडौँ विश्वविद्यालय)                        

प्रकाशित: ५ माघ २०७४ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App