१४ फाल्गुन २०८० सोमबार
विचार

नारायणगोपाल ३३औं स्मृति दिवस: राष्ट्रिय विभूति नारायणगोपाल

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको निधन भएको ३३ वर्ष पूरा भएको छ।

तीन दशकभन्दा बढी समयसम्म पनि रेडियो, टेलिभिजन, एफ.एम. जस्ता सञ्चार क्षेत्रमा उनले गाएका कालजयी गीतहरू गुञ्जिरहेका छन्। यति लामो कालखण्डमा पनि सबै वयका स्रोताले स्वर र संगीत मन पराउनु सामान्य विषय होइन। गीतसंगीतका मर्मज्ञहरू यसै भन्ने गर्दछन्।

 उनले गायन सुरू गर्दाको समय र वर्तमान कालखण्डलाई तुलना गर्न मिल्दैन। तथापि उनको गायन कलाको माधुर्य, शब्दशब्द केलाएर गाउने तरिका, बहुअर्थ लाग्ने शब्द चयनको महत्व र गायन शैलीलाई गम्भीर भएर श्रवण गर्ने हो भने आउने ५० वर्षसम्मका संगीत अनुरागीहरूले उनको संगीतको गोरेटो पछ्याइनै रहने छन्। यस्तो विलक्षण प्रतिभा नेपाली भूमिमा जन्मनु आफैँमा गौरवको विषय हो।

स्वरसम्राटलाई नेपाली धर्तीले जुनबेला जन्म दिइन्, त्यसबेला प्रजातन्त्रको बिहानी झुल्कँदै थियो। राणाशासनको अन्त्य हुनै लाग्दा प्रजातन्त्रसँगै नेपाली गीतसंगीतले पनि आफ्नो बाटो खोजिरहेका बेला स्वरसम्राटलाई पिता, माताले जन्म दिनु आफैँमा वरदान सिद्ध भएको मान्न सकिन्छ।

काठमाडौँको मुटु किलागलमा पिता आशागोपाल गुरुवाचार्य, आमा रामदेवी गुरुवाचार्यका कोखबाट १९९६ असोज १८ गते बुधबारका दिन उनको जन्म भयो। सानैमा गीतसंगीतमा रुचि भएका उनी टोल, छिमेक र खुल्लामञ्चका ससाना गीति कार्यक्रमहरूमा सहभागी हुने गर्दथे। २०१२ सालदेखि त उनी रंगमञ्चमा सफल कलाकारका रूपमा देखापरे।

नेपाली गीतसंगीत र भाषाको श्रीवृद्धि गर्न पनि नारायणगोपालले २२ वर्षको उमेरमै २०१८ सालमा पहिलोपटक कलकत्तामा गएर गीत रेकर्ड गरे। यसैगरी २०२० देखि २०२२ सालसम्म भारतको एम.एस. विश्वविद्यालय बरोडामा शास्त्रीय संगीत अध्ययन गरे।

२०२३, २०२४ सालमा रेडियो नेपालद्वारा आयोजित प्रतियोगितात्मक आधुनिक संगीत सम्मेलनमा क्रमशः सर्वोत्कृष्ट संगीतकार तथा सर्वोत्कृष्ट गायक घोषित भएका थिए। यसैगरी तत्कालीन युवराजाधिराज वीरेन्द्रवीरविक्रम शाहको विवाह समारोहमा २०२६ फागुनमा नारायणहिटी दरबारमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आफैँले गीत प्रस्तुत गरेर नाम कमाए।

२०३६ सालदेखि २०४० सम्म नारायणगोपालले सांस्कृतिक संस्थानमा महाप्रबन्धकका रूपमा काम गरे। प्रशासनमा भन्दा गायन र संगीतमा नै जीवन व्यतीत गरेका उनले केही विशिष्ठ पुरस्कार र मानपदवीसमेत प्राप्त गरे।

जसमा २०३९ सालमा रत्न रेकर्डिङ पुरस्कार, २०४० मा इन्द्रराज्यलक्ष्मी पुरस्कार,२०४४ मा छिन्नलता गीतसंगीत पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार प्राप्त गरेका थिए। यसैगरी २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४७ सालमा त्रिशक्तिपट्ट तेस्राबाट विभूषित भएका थिए।

सांगीतिक पत्रिका ‘बागिना’ को सम्पादक तथा प्रकाशक उनी नेपाली संगीतको श्रीवृद्धि र विकासका लागि त्यसबेलाका गायक, गायिकालाई साथमा लिएर सोभियत संघ, दक्षिण कोरिया, उत्तर कोरिया, चीन, भारत, बर्मा, मलेसियालगायतका मुलुकमा सांगीतिक भ्रमणमा गएका थिए।

चेस खेल्ने, चंगा उडाउने, टेबल टेनिस खेल्ने सौख भएका नारायणगोपालको धेरैजसो समय हार्मोनियम बजाउनमै व्यतीत हुन्थ्यो। नयाँनयाँ धुन सिर्जना गरी गीतको भावअनुसार बाजाहरू बजाउनु उनको विशेष सौख थियो भन्छन् संगीतका अनुसन्धाता प्रकाश सायमी।

हुन पनि एउटा गीत रेकर्ड गर्न चित्त नबुझेको खण्डमा महिना दिनसम्म लाग्थ्यो। गीत र स्वरको निखारपनबाट मात्र नयाँ सिर्जना उनीबाट प्रकाशित हुन्थ्यो भनी टिप्पणी गर्छन् संगीतकार भूपेन्द्र रायमाझी र टीका भण्डारी।

नेपाली माटोको वास्ना छरी सुमधुर आवाज दिन सक्ने गायनका विलक्षण प्रतिभा नारायणगोपालले नेपालको प्राकृतिक सौन्दर्यको वर्णन आफ्नो  स्वरमार्फत गरेका देखिन्छ। यसैगरी हरेक वर्गका मानिसको जिन्दगीसँग मेल खाने किसिमका गीतहरू गाएर लाखौँ स्रोताजनलाई संगीत र गायनका खुराक दिलाए।

नारायणगोपालले गाएका गीत सुनेर नदीको बगरमा गिट्टी कुटेर जीविकोपार्जन गर्ने साधारण मजदूरले आफ्नो  जीन्दगीका गीत सम्झन्छन्। पसिना निकाल्दै भारी भोक्ने भरियाले ती गीत आफ्नो  सम्झन्छन् भने प्रेम सम्बन्धमा बाँधिएकाहरू सगौरव नारायण गोपालको स्वर ईश्वरको वरदान सम्झन्छन्।

वरिष्ठ गीतकारहरूलाई हृदयदेखि सम्मान व्यक्त गर्दछन्। स्वरसम्राटप्रतिको लाखौँ स्रोताहरूको सम्मान तराजुमा जोख्न, हृदयको मिटरमा नाप्न सकिँदैन। अनन्त गहिराइसम्म जोडिएको छ उनको स्रोताप्रतिको अमिट माया।

उनी निडर, निर्भीक र स्वाभिमानी गायक हुन्। उनमा राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रप्रति श्रद्धा उच्च थियो भन्ने कुरा उनले गाएका गीत र उनको व्यवहारबाट प्रष्टिन्छ। रेडियो नेपाल त्यसबेला कलाकारका लागि गीत रेकर्ड गर्ने एक मात्र संस्था थियो। जुन संस्था प्रत्यक्ष र परोक्ष रूपमा तत्कालीन राजदरबारको नियन्त्रणमा थियो। सोहीअनुसार हरेक गीत रेडियो नेपालको सेन्सर बोर्डले हेर्ने गर्दथ्यो, त्यसबाट पास भएपछि मात्र रेडियोमा मुस्किलले गीत रेकर्ड गर्न पाइन्थ्यो।

आधुनिक गीतमा मात्र होइन, देउडा लोक गीतमा पनि रेडियो नेपालको सेन्सरसिप लागु भएको थियो। कैयौँ पटक देउडा गीतमा बहुअर्थ लाग्ने शब्दहरू यो पंक्तिकारले हटाउनुपरेको थियो।

वास्तवमा पञ्चायतकालखण्डमा अनुशासन भने कडा थियो। आफ्नो  गीत रेकर्ड गर्नुपर्ने दिनमा निक्कै होसियारी अपनाएर, अनुशासित भएर गीत प्रत्यक्षरूपमा रेकर्ड गर्नुपर्दथ्यो।

 संगीतकार, वाद्यवादक र गायकगायिकाहरूले होस पुर्‍याउनुपर्दथ्यो अनि गीतहरू कालजयी बन्ने गर्दथे। स्वर सम्राटले रेडियो नेपालमा गीत रेकर्ड गर्दा स्रोता र दर्शकहरू स्टुडियोमा जम्मा हुने गर्दथे।

नारायणगोपालले धेरै गीतकारका गीतहरूमा आफ्नो  जादुमय स्वर दिएका छन्। आफ्नो बाहेक अरू विशिष्ठ संगीत साधकहरूको संगीत पनि दिएर नेपाली गीतसंगीत क्षेत्रलाई ठूलो गुन लगाएका छन्। उनले सबैभन्दा बढी गीतसंगीतमा गाएका साधक हुन गोपाल योञ्जन।

 नारायणगोपालझैँ गोपाल योञ्जन पनि विशिष्ठ साधक भएका कारण यसो भएको हुन सक्छ। २३ वटा गीत र संगीतमा स्वर सम्राटले आवाज दिएका छन्। नातिकाजीसहित गोपाल योञ्जनको संगीतमा थप तीनवटा गीत पनि छन्।

‘लौ सुन म भन्छु, मेरो रामकहानी’ देखि ‘तिम्रो जस्तो मुटु मेरो पनि’ जस्ता सर्वप्रिय गीतका रचनाकार र संगीतकार गोपाल योञ्जन नै हुन। ‘ए! कान्छा ठट्टैमा, स्वर्गकी रानी, बिछोडको पीडा, जाग, लम्क, चम्क’ आदि जनजिब्रोमा झुन्डिने गीतका सर्जक रत्नशमशेर थापाका १४ वटा गीतमा उनले स्वर दिएर सांगीतिक धर्तीका कहिल्यै नअस्ताउने जुन बने।

स्वरसम्राट नारायणगोपालको निधनपछि उनकै निवास महाराजगन्जमा स्थापना गरिएको नारायणगोपाल संगीत कोषले २०४८ सालदेखि उनको सम्झनामा विविध सांगीतिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। साथै मुर्धन्य कलाकारहरूलाई पुरस्कार पनि प्रदान गर्दै आइरहेको छ।

अब सरकारले सांगीतिक क्षेत्रबाट संगीतका उज्याला नक्षत्र नारायणगोपाललाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्दछ। उनको सन्तान भनेकै संगीतमा लागिपरेका सन्ततिहरू हुन। उनकी अर्धाङ्गिनी पेमला गुरुवाचार्य पनि परलोक भएको धेरै वर्ष भयो। महाराजगन्ज बीच सडकमा स्वर सम्राटको अर्धकदको सालिक स्थापना गरिएको छ।

सबै जात र गोत्रका नरनारीले सालिकलाई ओहोरदोहोर गर्दा शिर झुकाउने गरेका देखिन्छ। जुन कार्य आफैँमा स्तुत्य छ। काठमाडौँ महानगरपालिका र वडा कार्यालयले मात्र नभएर सरकारले पनि गीत र संगीतका पारखीहरूलाई न्यानो माया दिइरहोस्। यसो गरे मात्र स्वरसम्राटप्रति सच्चा श्रद्धाञ्जलि ठहरिनेछ।

प्रकाशित: १९ मंसिर २०८० ००:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App