८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

युवा पलायनको अन्तरवस्तु

पछिल्ला दिनहरूमा देश छाडेर विदेशमा काम गर्न र उतै बस्न जाने युवाहरूको संख्या बढ्दो क्रममा छ। दैनिक हजारौँ युवा मुलक छाडेर विदेशिएका छन् । यसरी जानेहरूमा रोजगारीका लागि जाने/आउने गर्नेहरू मात्र हैन, पढाइ र कामको बहानामा सधैँका लागि उतै बस्न जानेहरूको संख्या पनि दिनहुँ बढिरहेको छ। देशको ऊर्जाशीला जनशक्ति पलायन हुने क्रम आश्चर्यजनकरूपले बढेकाले गर्दा नीति निर्माता, राजनीतिज्ञ तथा योजनाविद्लगायत देश विकासको चासो राख्ने सबैलाई चिन्तित बनाएको छ । त्यसैले सरकारले युवा पलायनको प्रवृत्ति, कारण र चुनौती तथा असरको पहिचान गरी समस्याको समाधान गर्नु आवश्यक भइसकेको छ ।

नेपालमा युवा पलायन हुने क्रमलाई विशुद्ध नेपालभित्रको मात्रै समस्या हो वा नेपाली राजनीतिमा देखिएको खराब चरित्रले मात्र हो भन्ने बुझाइ अपूर्ण हुन सक्छ । विश्व जनसंख्यामा विकसित भएको बसाइँ सराइको प्रवृत्ति तथा असमान विश्वव्यवस्था र त्यससँगै युवा बसाइँसराइको अवस्थालाई समेत नियाल्नु आवश्यक छ । संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा सांस्कृतिक मामिला विभागको तथ्याङ्क अनुसार यसको संख्या ४५ प्रतिशतले बढेको छ । सन् १९९० र सन् २०१९ बीचमा ५.३ बाट ७.७ अर्ब पुगेको छ जसमा १५ देखि २९ वर्ष उमेर समूहका मानिसको संख्या २५ प्रतिशतले बढेर १.४ बाट १.८ बिलियन पुगेको छ ।  

यद्यपि, कुल जनसंख्यामा युवाहरूको हिस्सा सन् १९९० मा २७ प्रतिशत रहेकामा सन् २०१९ मा २३ प्रतिशतमा झरेको छ । यसै अवधीमा अन्तर्राष्ट्रिय बसाइँ सराइको दर पनि लगभग अठहत्तर प्रतिशतले वृद्धि भएको छ । कुल बसाइँ सराइको संख्यामा १५ देखि ४४ वर्षसम्मका युवाको हिस्सा ५५ प्रतिशत छ । यसरी हेर्दा युवा बसाइँ सराइको प्रवृत्ति सन् १९९० पछिको विश्वव्यापीकरणले ल्याएको लहरका रूपमा देखिन्छ । यसमा मूलतः नवउदारवाद, आन्तरिक द्वन्द्व, व्यक्तिगत छनोट गर्ने अधिकारको विस्तार, उपभोक्तावाद, विश्व व्यवस्थाको असमान सम्बन्ध, लोकतान्त्रिक राजनीतिक प्रणालीको विस्तार र जलवायु परिवर्तनको असर मुख्य कारण हुन् । देश, काल र परिस्थितिअनुसार कारण र प्रभावको विशिष्टता फरक फरक भए तापनि युवा पलायन तथा जनशक्तिको अभाव तथा आवश्यकताको सवाल विश्वव्यापी बहसको विषय बनेको छ ।

खुला बजार अर्थतन्त्र र विश्व बजारमा पुँजी, प्रविधि तथा जनशक्तिको सीमाबिहीन सारनतारनका कारण जनशक्तिको आवतजावत पनि स्वाभाविक भएको छ । यसले गर्दा रोजगारको पर्याप्त अवसर भएका र श्रम ज्याला उच्च भएका विकसित देशका युवाहरूसमेत आफ्नो व्यक्तिगत छनोटअनुसार काम गर्न वा विदेशमा बसोबास गर्न जाने गर्छन् । जस्तै– चीनमा रहेको अनुशासित तथा सरकारको नियन्त्रणकारी भूमिका मन नपराउनेहरू अन्य विकसित लोकतान्त्रिक देशमा गएर बसोबास गर्ने गर्छन् । दक्षिण कोरियालीहरू आफ्नो देशमा कामलाई मात्र बढी प्राथमिकता दिने हुँदा व्यक्तिगत स्वतन्त्रता, परिवार र मनोरञ्जन मन पराउनेहरू अमेरिका, अस्ट्रेलियालगायतका देशमा गएर काम गर्ने गर्छन् ।  

नेपालमा पनि कतिपय राम्रा व्यवसाय गर्नेहरू र आर्थिक हैसियत राम्रै भएकाहरू पनि विकसित देशको सेवा सुविधा उभोग गर्न अन्य देशमा जाने गरेका छन् । बसाइँ सराइको यो प्रवृत्तिले मुलुकको अर्थतन्त्र वा विकासमा खासै असर गर्दैन तर मुलुकभित्रको आन्तरिक द्वन्द्व वा खराब राजनीतिक नेतृत्वका कारण देशमा गरिबी तथा बेरोजगारी भएको, विकृति/विसंगति बढेको, दण्डहीनता मौलाएकाले मुलुकमा जीवन धान्न कठिन हुने, देशप्रति नागरिकको अपनत्व टुट्दै जाने, नेतृत्वप्रति भरोसा हराउँदै जाने र समग्रमा देशप्रति नै वितृष्णा जागेर विदेशिने गरेको परिदृष्य भने मुलुकका लागि निकै घातक बन्न सक्छ । नेपालमा युवा पलायन हुनुको ठूलो हिस्सा यिनै कारणमा निहित छ । नेपालबाट युवा किन विदेशिन्छन् भन्ने परिदृष्यलाई चारवटा दृष्टिकोणबाट हेर्न सकिन्छ ।

पहिलो, नेपालमा रोजागारीको अवसर न्यून र पाएको रोजगारीले पनि दैनिक जीवन धान्न वा आधारभूत आवश्यकता पनि परिपूर्ति गर्ने कठिन छ । श्रम ज्याला र बजार मूल्यबीच ठूलो खाडल छ । हाल सरकारले श्रमिकको दैनिक ज्याला ६६८ रुपैयाँ तोकेको छ तर बजार मूल्यको तुलनामा यो अत्यन्त न्यून हो । त्यसैले गर्दा सहजतवरले दैनिक गुजारा चालउनसमेत युवाहरू वैदेशिक जोगारीमा जान चाहन्छन् ।

दोस्रो, मध्यम वर्गका युवाहरू दैनिक गुजारामा मात्र आफ्नो भविष्य देख्दैनन् । उनीहरू शहरी सेवा÷सुविधा उपभोग गर्न चाहन्छन् । त्यसैले उनीहरू वार्षिक लाखौँ आम्दानी हुने गाँउघरका खेतबारी र आय आर्जनका अन्य स्रोतसाधन चटक्कै त्यागेर गुणस्तरीय शिक्षा, स्वास्थ्य उपचार तथा मनोरञ्जनको सुविधा उपभोग गर्न शहर पसेका छन् । उनीहरूले चाहेको जीवनस्तर धान्न उच्च पारिश्रमिकको काम वा ठूलो लगानीको व्यापार व्यवसाय गर्नुपर्ने हुन्छ । 

सबैले उक्त अवसर नेपालमा पाउँदैनन् र संभावना पनि देख्दैनन् । त्यसैले उनीहरू आफ्नो आर्थिक स्रोत र योग्यताले भ्याएमा अमेरिका, युरोप वा अस्ट्रेलिया जस्ता देशमा गएर बस्न चाहन्छन् र त्यो संभव नभएमा रोजगारीका लागि खाडी मुलुक, मलेसियालगायतका देशमा जाने÷आउने गर्छन् ।

तेस्रो, उच्च मध्यम वर्गका युवाहरूलाई आर्थिक स्रोतसाधन र सुविधा उपयोग गर्न समस्या छैन । नेपालको भौतिक सेवा सुविधाको स्तरसँग उनीहरू सन्तुष्ट बन्न सक्दैनन् । करोडौँ मूल्यको कार हुन सक्छ तर कार कुद्ने सडक तथा अन्य भौतिक सुविधा उनीहरूले चाहेको जस्तो नेपालमा छैन । अर्कोतर्फ नेपालमा कमाएर विदेश घुम्न जानलाई पनि डलरको तुलनामा नेपाली मुद्रा निकै कम भएकाले धेरै खर्चिलो महसुस गर्ने गर्छन् । मानौँ, उनीहरू नेपालमा अस्ट्रेलिया वा अमेरिकाको विकास प्रणाली चाहन्छन् । त्यो अहिले नेपालमा संभव छैन, त्यसैले उक्त स्तरको सुविधान उपभोग गर्न उतै जानुपर्ने हुन्छ र जान्छन् । यो उनीहरूको व्यक्तिगत छनोटको विषय हो, कुनै बाध्यता होइन । विश्वव्यापीकरणको लहरसँगै यो निरन्तर चलिरहने प्रक्रिया हो ।  

चौथो, उच्च सम्भ्रान्त वर्गीय युवा वर्ग छ । प्रायः यसमा सत्ता र शक्तिको उच्च पदमा आसीनहरूका सन्तानहरू छन् । उनीहरूलाई धेरै दुःख गर्नु आवश्यक छैन र चाहँदैनन् पनि । तर यो वर्गको युवा पनि अमेरिका, अस्ट्रेलिया जस्ता विकसित देश जाने लाइनमा छ । यसरी विदेशिनेको हिस्सा थोरै छ । यसमा मूलतः अभिभावकको जोडबल रहेको हुन्छ ।अर्कोतर्फ सरकारी उच्चपदस्थहरूप्रति नागरिकको नकरात्मक टिक्काटिप्पणीले पनि यी युवालाई हैरानी भएको हुन सक्छ। 

कुनै कुराको अपुग नहुँदानहँुदै पनि उच्च पद र शक्तिमा बसेका सम्भ्रान्तहरूले आफ्ना सन्तानलाई विदेश पठाउनुका मूलतः दुईवटा कारण छन् । पहिलो, अकुत सम्पत्ति आर्जन तथा भ्रष्टाचारमा छानविन तथा कारबाही भइहालेमा विदेश भाग्न सुरक्षित गन्तव्य सुनिश्चित गर्ने ।दोस्रो, सरकारी उच्च पदमा बसेर राज्यकोषबाट भ्रष्टाचार गरेर कमाएको सम्पत्ति छोराछोरी पढाउने नाममा अवैध माध्यमबाट विदेश पठाउने तथा विदेशमा घर जग्गा किनेर विदेशमा सम्पत्ति सुरक्षित गर्ने ।

यसका साथै अवैध माध्यमबाट विदेश पठाएको पैसा उताबाट बैंकको च्यानलमार्फत स्वदेश पठाएर छोराछोरीले कमाएर पठाएको भनेर कालो धन सेतो बनाउने । यसरी गएका युवाले विदेशमा अध्ययन गर्दा अन्य युवाले जस्तो काम गरिरहनु आवश्यक पनि हुँदैन । कतिपय युवाले प्रायः घरकै खर्चले धानिरहेका हुन्छन् र पढाइपछि आफ्नै व्यावसाय पनि गर्ने गर्छन् ।

–शंकर युवा तथा खेलकुद मन्त्रालयका अधिकृत हुन् ।

प्रकाशित: ११ मंसिर २०८० ००:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App