१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

टिकटकले तर्सेको सरकार

बाइरोडको बाटोमा

कुनै बेला किताब छापिन थालेपछि ठूलो विरोध भएको थियो। किताबले सजिलै खराब विचार प्रसार गर्छ भनेर समाजका प्रभावशाली व्यक्तिहरूले विरोध गरेका थिए। धन्य, विरोधका बाबजुद छपाइ रोकिएन। आज संसारले किताब पढिरहेको छ। ज्ञान विज्ञानको क्षेत्रमा यसले योगदान गरेको छ।

यतिबेला हाम्रो मुलुकमा सबै विकृतिको कारक टिकटक बनेको छ। त्यसै कारण तिहारको मुखमा सरकारले यसलाई बन्द गर्ने साइत रोजेको छ। यतिबेला सञ्चार माध्यम पनि धेरै सक्रिय नहुने र आममानिस चाडपर्वको मनस्थितिमा हुने भएकाले बन्द गर्न सजिलो हुने समय तोकेको हुनुपर्छ।

टिकटक बन्द हुने समय ठ्याक्कै तत्कालीन राजा ज्ञानेन्द्रले आफ्ना पुत्र पारसलाई युवराजाधिराज घोषित गर्न दसैँको समय खोजे जस्तै भएको छ। यो एउटा सिकाइ वर्तमान सरकार र यसका सल्लाहकारहरूले राम्रैसँग लिएको बुझ्न सकिन्छ।

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको एउटा माध्यमका रूपमा टिकटकको उदय भएको हो। आफैँ निर्माण गरेका छोटा भिडियोहरू यसमा राख्ने र आवश्यकताअनुसार सेयर गर्ने माध्यम हो यो। जसरी कुनै बेला फेसबुक आउँदा समाज तरंगित भएको थियो, पछिल्ला वर्षहरूमा टिकटकले सबैलाई तरंगित तुल्याएको हो।

कुनै बेला मनोरञ्जनका रूपमा मात्र लिइने यो माध्यमलाई ज्ञानविज्ञान, समाचार र जीवनका अनेकन क्षेत्रमा प्रयोग भइरहेको छ। शब्दको जानकारीमा रमाउने व्यक्तिदेखि व्यक्तित्व विकाससम्मका क्षेत्रले यसलाई प्रयोग गर्दै आएका छन्। संसारका सबैजसो सञ्चार माध्यमले समेत टिकटकको लोकप्रियतासँगै आफूलाई पनि यसको प्रयोगमा लगाएका छन्।

कुनै पनि माध्यम आफैँमा दोष दिनुपर्ने हुँदैन। कसैको घरमा खुकुरी छ, त्यसको सदुपयोग र दुरूपयोग दुवै हुन सक्छ। कसैले खुकुरीको प्रयोग आक्रमण गर्न गर्‍यो भने सम्बन्धित व्यक्तिको दोष हो। खुकुरीको दोष खोज्ने होइन। नेपालको सन्दर्भमा टिकटकमाथिको प्रतिबन्ध अहिलेका लागि खुकुरीमाथि लगाएको रोक जस्तै हो।

यो अभिव्यक्तिको एउटा माध्यम मात्र हो। हाम्रो संविधानले अभिव्यक्तिलाई स्वीकार गरेको छ। नागरिकले बोल्न पाउने अधिकारको रक्षा यसले गरेको छ। नागरिकले कुनै पनि माध्यमलाई प्रयोग गरेर बोल्न खोज्नु स्वाभाविक हुन्छ। तिनले बोल्दा कानुनको उल्लंघन भयो भने त्यसका निम्ति उपाय छन्। तर बोल्नै नदिई मुख थुन्ने काम अहिले भएको छ।

अहिले सरकार निकट व्यक्तिहरूले एक मुख लागेर भनिरहेका छन्-यसले विकृति फैलायो। टिकटक अल्गोरिदममा आधारित हुन्छ। इन्टरनेटमा आधारित यस्ता माध्यममा अल्गोरिदमको प्रयोग हुन्छ। तपाईले जस्ता सामग्रीमा रुचि राखेर उपभोग गर्नुहुन्छ, त्यस्तै सामग्री तपाईँको स्क्रिनमा आउँछन्। त्यसैले सामग्री छान्ने जिम्मेवारी तपाईँको हो। समुद्रमा सबै किसिमका वस्तु पाइन्छन्, मोती चिन्ने काम तपाईँको हो।

कुनै बेला खुलामञ्चमा पुगेर नेताले भाषण गर्थे। सरकारलाई केही सुनाउनुपरेमा मानिसले जुलुस निकाल्नुपर्थ्याे। अहिले जुलुस वा आमसभा माइतीघर मण्डलमा सीमित भएको छ। तर कैयन् गुणा ठूलो टुँडिखेल भनेको सामाजिक सञ्जाल हो। सामाजिक सञ्जालबाट बोलेपछि सबैले सुन्छन्। सरकार पनि त्यो सुन्न बाध्य हुन्छ।

टिकटक बन्द भएपछि हाम्रो सरकारलाई हाइसञ्चो भएको हुन सक्छ। धेरै मानिसले यसको प्रयोग गर्न सक्दैनन् भन्ने लाग्न सक्छ। तर यस्ता सामग्री रोक्नका निम्ति आफ्नो बल लगाउने भन्दा सकेसम्म आफूले त्यस्तो अवस्था आउनै नदिने गरी काम गर्नु उचित हो। आलोचनाको डरले सामाजिक सञ्जाल बन्द गर्ने भन्दा पनि त्यसबाट आएका सामग्रीको विश्लेषणका आधारमा आफूलाई सुधार गर्ने हो।

कुनै बेला राजा/महाराजाले जनताको राय बुझ्न भेष बदलेर हिँड्नु पथ्र्यो। त्यो बेलामा तिनले पाएका प्रतिक्रियाका आधारमा आफूलाई सुधार गर्ने गर्थे। सरकारलाई अहिले भेष बदलेर हिँड्नु पर्दैन। आफूलाई चाहिएका जानकारी सामाजिक सञ्जालमा खुला रूपमा पाइन्छन्। तिनलाई विश्लेषण गरेर आफूलाई सुधार गर्न सकिने सम्भावना प्रशस्त छ।

टिकटक बन्द गर्नुका पछाडि मुख्य गरी दुई कारण हुन सक्छन्। एक, सरकारको चौतर्फी आलोचना मात्र भएको छैन, यसका कतिपय पात्रलाई सञ्जालले नङ्ग्याएको पनि छ। दुई, टिकटक भूराजनीतिक रणनीतिको एउटा हिस्सा पनि हो। चिनियाँ कम्पनी बाइटडान्स टिकटकको सञ्चालक हो।

यसले कतिपय अवस्थामा सूचना लिने र व्यक्तिमाथि जासुसी गर्ने भन्दै पश्चिमा सरकारहरूले आफ्ना कार्यालयका डिभाइसमा यसलाई प्रयोग गर्न अनुमति दिएका छैनन्। बाँकी त्यहाँ पनि खुला छ। भारतमा यसको प्रतिबन्ध किन भएको हो भन्ने बुझे पनि हुन्छ। तर त्यही भारतका अधिकांश कलाकारले यसलाई प्रयोग गरेर आफूलाई अगाडि बढाएका छन्।

इन्टरनेटमा आधारित यस्ता सामाजिक सञ्जालले आम रूपमा सबै मानिसका निम्ति एउटै तहको खेल मैदान सिर्जना गरेका छन्। यसले हिजो जस्तो बोल्ने अधिकार सीमित व्यक्तिलाई मात्र दिएका छैनन्। हिजो सञ्चार माध्यमले मात्र सूचना र समाचार दिन्थे भने आज सर्वसाधारणलाई पनि प्रकाशक र प्रसारक बन्ने क्षमता यसले दिएको छ।

यो अवस्था बुझेपछि आज सञ्चार माध्यमहरूले पनि आफूलाई आममानिसले गर्ने काम भन्दा भिन्न के गर्न सकिन्छ भन्ने सोचमा पुर्‍याएको छ। त्यति मात्र होइन, आफ्ना सामग्रीलाई बढी भन्दा बढी विश्वसनीय बनाउनतिर ती लागेका छन्।

सामाजिक सञ्जालमार्फत आममानिस बोल्न पाउँछन्। तिनलाई बोल्नबाट रोक्न सकिँदैन। बरु तिनलाई कसरी बोल्ने? के बोल्ने आदि भनेर सिकाउन सकिन्छ। धेरै मानिसलाई इन्टरनेटमार्फत व्यवहार गर्न आफू कुनै पर्दाले छेकिएको महसुस भई जथाभावी गर्ने हुन्। तिनलाई इन्टरनेटमा गरिने व्यवहार अर्थात् ‘नेटिकेसी’ बारे जानकारी गराउन सकिन्छ। तिनले त्यसपछि जथाभावी गर्दैनन्।

यसकारण पनि अचेल मिडिया साक्षारताको कुरा गरिन्छ। यसले मिडियाका उत्पादन कसरी उपभोग गर्ने भन्ने जानकारी पनि सर्वसाधारणलाई प्राप्त हुन्छ। सामाजिक सञ्जालमा आएका सबै कुरा सही हुँदैनन्, तिनलाई हामीले आधिकारिक माध्यमबाट पुष्टि गर्नुपर्छ भन्ने ज्ञान दिन सक्नुपर्छ। र, विस्तारै मानिसले आफैँ यस्ता माध्यमलाई गुण र दोषका आधारमा उपयोग गर्छन्।

व्यक्तिलाई जथाभावी बोल्दै हिँड्ने अधिकार हुन्छ तर सबैले त्यसरी बोलेर हिँडेका हुँदैनन्। सामाजिक सञ्जाल पनि नयाँ छ। त्यसमा पनि हाम्रो समाज निकै पछि मात्र यस्ता माध्यमप्रति जानकार भएको हो। अझ भनौँ, घरमा टेलिफोन जडान गर्नै नपाई खल्तीमा मोबाइल बोक्न पाएको हो। त्यसपछि आफ्नै औँलाका टुप्पामा सबै जानकारी र सूचना पाएपछि समाज आफैँमा तरंगित भएको मात्र हो।

सरकारले सुन्न पनि सक्नुपर्छ। नागरिकले सामाजिक सञ्जालकै कारणबाट सत्ता उल्ट्याउन सक्छन् भन्ने ठान्नु आवश्यक छैन। सत्ता उल्ट्याउने नै भए भने सामाजिक सञ्जाल चाहिँदैन, सडकमै आएर पनि यो काम सम्पन्न हुन्छ। आमनागरिक भन्दा बलियो कुनै सरकार हुँदैन।

सरकारलाई कुन बुद्धिले टिकटक बन्द गर्न सिकायो, त्यसले स्वाभाविकरूपमा डुबाउने निश्चित छ। अहिले टिकटक बन्द गर्ने, भोलि अर्को कुनै माध्यम बन्द गर्ने बुद्धि पनि प्राप्त हुन सक्छ।

 यस्ता माध्यमको प्रयोग गर्दा स्वनियमनमा ध्यान दिने हो। प्रत्येक व्यक्तिलाई आफूले कतिसम्म गर्न सक्छु भन्ने जानकारी दिनुपर्छ। मेरो अधिकारको सीमा अर्कोको नाक नछोइञ्जेल मात्र हो भन्ने जानकारी भएपछि यसबाट समस्या हुँदैन।

सरकारले यो मूर्खतापूर्ण निर्णयबाट आफूलाई सच्याउनुको विकल्प छैन। नियन्त्रण होइन नियमनबाट मात्र समस्याको समाधान हुन्छ। हिजो किताबको विरोध गर्ने समाजको उदाहरण सुनेर हामीलाई आज जसरी हाँसो उठ्छ, भोलि टिकटक बन्द गरेर सबै समस्याको जड समाप्त गरेका ठान्ने अहिलेको हाम्रो बुद्धिमाथि पनि त्यस्तै ठट्टा हुन सक्छ। 

प्रकाशित: १ मंसिर २०८० ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App