२० वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

प्रसंग स्वामी प्रपन्नाचार्यको

नेपालमा योगी नरहरिनाथ र स्वामी प्रपन्नाचार्य स्मरणीय व्यक्तित्व हुनुहुन्छ। योगी नरहरिनाथजी थापाकुलमा जन्मिएर पनि विद्वान् ब्राह्मणभन्दा माथिको कहलिनुभयो भने डा. स्वामी प्रपन्नाचार्य पनि राई वंशमा जन्मिएर पनि सिद्धहस्त ब्राह्मणभन्दा उच्चकोटिको मानिनुभयो। स्वामी प्रपन्नाचार्य पनि वेदका प्रकाण्ड विद्वान् हुनुहुन्थ्यो। उहाँले विद्यावारिधि वेदमै गर्नुभएको थियो।

स्वामी प्रपन्नाचार्य पाँचथरको नाँगीमा जन्मिनुभएर नेपालको एक सिद्धहस्त योगी तथा देशभक्त स्रस्टा तथा नीतिशास्त्रका ज्ञाता बनेर विभिन्न जातमा विभाजित नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्न सक्ने भावनाबाट अनेकौँ ग्रन्थ तथा लेख प्रकाशित गरेर मार्गदर्शन गर्न सक्नुभयो। उहाँले जीवनमा अनेकौँ संकट बेहोरेर पनि वेदमा विद्यावारिधि (पिएचडी) गर्नुभयो।

‘वेदमा के छ’ भन्ने ४६० पृष्ठको उहाँको वहुचर्चित ग्रन्थ हो। उक्त ग्रन्थको भूमिकामा उहाँले लेख्नुभएको छ-‘ऋग्वेद प्राचीन आर्यहरूको इतिहास मात्र हैन, अपितु समीत मानवको पहिलो ग्रन्थ हो। यसको भाषा पनि आदि मानवकै छ। आँखाको नानी सानो छ, जसले आफ्नो अस्तित्वलाई जान्दैन।

नेपालको मस्तक सबैभन्दा उचो छ। विश्वको सबैभन्दा ठूलो र अग्लो पर्वतको शिखर सागरमाथा छ। त्यसमा वैदिक सृष्टि सगरमाथाबाटै भएको हो। ब्रह्माले मानव सृष्टि मानसरोवरमा गरेको हो।

त्यसो भएकाले आर्य तथा हिन्दुहरूको उद्गम थलो पनि नेपाल ठहरिन्छ। श्रृङ्ग, परासर, व्यास, आदि ऋषिको जन्मभूमि र तपोभूमि नेपाल हो। चारै वेदका मन्त्र ऋषिहरू यसै पुण्यभूमिका सपुत थिए। जनक जस्ता विदेह राजाले पनि नेपालमै जन्म लिए। जगग्जननी सीता पनि नेपाल आमाकै छोरी थिइन्।

स्वामीजी लेख्नुहुन्छ-याज्ञवल्क्य, कहाल, आरुणि, धौम्य आदि ऋषिले पनि यसै भूमिलाई गुञ्जयमान गरेका थिए। मुक्तिक्षेत्र, बराहक्षेत्र, पाशुपात आदि जगत् प्रसिद्ध तीर्थस्थल पनि नेपालमै छन्। शालीग्राम, रुद्राक्षारण्य पनि नेपालको देन हो। नेमुनी, जनक, विराट राजा/महाराजाहरूले नेपाल भूमिलाई सुशोभित गरेका थिए। हिन्दु धर्मका शाखा, अहिंसा र शान्तिका प्रतिमूर्ति बुद्ध पनि नेपालमै हुर्केका थिए। विश्वको एक मात्र हिन्दु संवत्सर (विक्रम संवत्) मानेर बस्ने हिन्दु राष्ट्र पनि विश्वमा एक मात्र नेपालै हो।’

यसरी स्वामीजीले नेपालको महानताको उद्घोष गर्दै ‘वेदमा के छ’ भन्ने ग्रन्थ प्रकाशन गर्नुभएको हो।

वेदमा के छ भन्ने ग्रन्थमा ऋग्वेदका भाष्यकारहरू, किरातकालीन सभ्यता, वेदकालीन विमानहरू, हिन्दु धर्म कति पुरानो हो र हिन्दुहरूको आदि थलो, इशुख्रिष्ट र इसाईहरूको बारेमा प्रपन्नाचार्यले गहिरो अध्ययन गरेर सजिलो भाषाका उल्लेख गर्नुभएको छ।

 सबैभन्दा प्रभावकारी कुरा सन्दर्भमा इशुख्रिष्टको जन्म, ज्ञान प्राप्ति तथा मरणको विषयमा अत्यन्त उहाँले खोजपूर्ण विचार प्रस्तुत गर्नुभएको छ। प्रपन्नाचार्यले वेदमा के छ? पुस्तकमा श्री बाबा सावरकर, पादरी गोपालाचार्य, डा. बुखाानिन्, डा. स्पेन्सर, रुसका विद्वान् डा.निकोलस नोटोविचको पुस्तक ‘जिजसको ‘अज्ञान जीवनु पुस्तक आदिका भनाइ उद्धृत गर्दै लेख्नुभएको छ-‘हजरत ईशाको जन्म भारतको हिन्दु परिवारमा भएको हो। फ्लोरेन्समा ईशाकाकी आमा मेरीको मूर्ति राखिएको छ।

मेक्मिलन गिर्जाघरमा पनि म्याकमिलनको त्यस्तै मूर्ति राखिएको छ। ईशाकी आमाको मूर्ति हिन्दु रानी-महारानी जस्तो साडी–गुन्युँ र निधारमा हिन्दुहरूले लगाउने टीका लगाएको छ।

हिन्दु परिवारमा ईशाले जन्म लिएको बारेमा कतिपय पाश्चात्य विद्वान्को पनि यही मत छ। गड इज् लाइट भन्ने परमेश्वर शिव हो, ज्योति हो-क्रिस्चियनहरूको। जर्मनीको म्युनिखको चित्रघरमा जिसस् क्राइस्टको संन्यासी महात्माको भेषमा निधारमा तिलक-टीका लगाएको मूर्ति छ। फ्लोरेन्सको मूर्तिमा ईशाले हिन्दु ब्राह्मणको झैँ जनै धारणा गरेको छ।

स्वामी लेख्नुहुन्छ-रोममा पोप धर्मगुरुको भेटिकन राजमहलमा रहेको एउटा चित्रमा ईशाले टाउकोमा टुप्पी र धोती लगाएको साधु भेषमा छ। नेपालमा ६ वर्ष बसेर योग साधना र बौद्ध दर्शन सिकेकाले क्राइस्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्थामा वैदिक योगका प्रतापले मरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर ईशु भारततिर लागेको र पछि उनको मृत्युपछि काश्मीरमा राखिएको ईशाको समाधि देख्न सकिन्छ। ईशा १३ बर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दु संन्यासीको भेषमा नेपाल र भारतमा आएका र काशी, जगन्नाथ, बिहार, नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्ने गरेका तथ्य छन्।

नेपालमा लुम्विनी, कपिलवस्तु आदि हेर्दै तिब्बतको दक्षिणमा पर्ने कुम्भकर्ण गौरीशंकर, सगरमाथासँग साक्षात्कार गरेको कुरा भविष्य पुराणको प्रसंग सम्पादनमा संस्कृत भाषामा उल्लेख गर्दै मेरी बारेमा-‘ईशापुत्रञ्च मा विद्धि कुमारी गर्भसम्भवम्’ (अनुवाद) अर्थात जिसस्की आमाले विवाहभन्दा अगाडि गर्भ धारणा गरेको थियो’ भन्ने उल्लेख गरेर हिन्दु जगत्लाई ज्ञानबर्धक गराएका थिए। स्वामी प्रपन्नाचार्यको उद्धृत गरेर यस कुरालाई मैले अनेकौँ लेख नेपाली, अंग्रेजी भाषामा प्रकाशित पनि गरिसकेको छु। स्वामीजीको उक्त प्रस्तुतिले इसाई धर्मको उद्गम कहाँ रहेछ भन्ने प्रष्ट्याउँछ।

इसाईहरू आइतबार हिन्दुहरूले सूर्यलाई मान्छन्, सोहीअनुरूप चर्चमा सूर्यबार अर्थात् सन् डे हिन्दुहरूले ज्योतिस्वरूप शिवजीलाई माने जस्तै चर्चमा क्राइस्टलाई मान्न जान्छन्।

 यी तथ्य बुझेर क्रिस्चियन मूलका र क्रिस्चियन मिसनहरूले हिन्दुत्वको महानता र हिन्दुहरूका सिद्धहस्त विचार मान्न बाध्य हुनुपर्ने अवस्था छ। तर बदलामा क्रिस्चियनका भरियाहरू जहाँ भेट्यो त्यही हिन्दुहरूलाई झम्टने, लालचा देखाएर हिन्दुहरूलाई क्रिस्चियनमा परिणत गराएर हिन्दुको अस्तित्व समाप्त गर्नेमा छन्। तर यो क्रिस्चियनहरूका लागि पराजय हो। किनकि जबर्जस्त गरेर मानवको इच्छालाई नियन्त्रणमा राख्ने कुनै धर्म हुन सक्तैन।

इशु को थिए, उनी कहाँ, कुन धर्मबाट प्रभावित थिए र क्रिस्चियन धर्मको उद्गम कहाँ हो भन्ने कुराको अध्ययन गरेर अनुसन्धानात्मकरूपले प्रस्तुत गरेको यो विचारलाई सबै पक्षबाट मनन गरेर हिन्दु महिमाप्रति आक्रामक भएकालाई निश्चय पनि आँखा खुलाउन सक्छ।

प्रकाशित: २६ कार्तिक २०८० ००:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App