साधारण अर्थमा भन्ने हो भने सम्झना-शक्ति वा सम्झिराख्ने मानसिक शक्ति नै मेमोरी पावर (स्मरण शक्ति) हो। अर्को शब्दमा भन्ने हो भने पञ्च ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो तथा त्वचा) मार्फत मनमस्तिष्कले ग्रहण गरेका जति पनि विषय तथा अनुभव छन्, लाई याद गर्ने (रिकल) क्षमता वा सामर्थ्यलाई स्मरण शक्ति (मेमोरी पावर) भनिन्छ।
मेमोरी मस्तिष्कको प्रमुख कार्य हो। मानिसको सम्पूर्ण ज्ञान तथा सिप मेमोरीमा आधारित रहन्छ। हरेक विचार, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै मेमोरीमा निर्भर रहन्छ। घरबाट निस्किएको मानिस पुनः घर फर्किनदेखि लिएर रकेट बनाउन र बनाएको रकेट उडाउनसमेत मेमोरीको आवश्यकता हुन्छ।
मानिसको जीवनमा मेमोरीको यो महत्वलाई हृदयंगम गर्दै अलेकजेन्डर स्मिथले भनेका छन्– “मानिसको वास्तविक सम्पत्ति भनेको मेमोरी हो। अन्य कुनै कुराले मानिसलाई धनी वा गरिब बनाउन सक्दैन।”
हुन पनि हो, तपाई आफैँ एक क्षण सोच्नुहोस् त, मेमोरी नभए के हुन्छ? र, मेमोरी तेज भए के हुन्छ? त्यसैले पनि प्रत्येक मानिस आफ्नो मेमोरी तेज होस् भन्ने चाहन्छन्। र, मेमोरी बढ्छ कि बढ्दैन भन्ने जिज्ञासा राख्छन्। तर, अर्को उल्लेखनीय कुरा के भने मेमोरी मात्र केही होइन। त्यसो हुन्थ्यो भने एक पटक सुनेका तथा पढेका कुराहरू हुबहु याद गर्न सक्ने रसियाका पत्रकार एस.बी. शेरेस्वस्की संसारकै सबैभन्दा बुद्धिमान मानिस ठहरिन्थे। तर यथार्थमा उनी एक सामान्य पत्रकार थिए। त्यसैले मानिसको इन्टेलिजेन्ट मेमोरीलाई बढी महत्व दिनुपर्ने तर्क मेमोरी विशेषज्ञहरूको छ।
न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनुभन्दा पहिला पनि रुखबाट स्याउहरू खस्ने गर्थे। स्याउ खसेको देख्ने असंख्य मानिस थिए।
जेम्स वाटले कित्लीको बिर्कोलाई वाफ धकलेको देख्नु भन्दा पहिला पनि यस्तो दृश्य धेरैले देखेका थिए। तर उनीहरूलाई यस्ता घटनाले कसरी नयाँ ज्ञान दियो? केही मानिसमा यस्तो ज्ञान कहाँबाट आउँछ? यो निकै गहकिलो प्रश्न हो।
अतः कुरा इन्टेलिजेन्ट मेमोरीको हो। यहाँ अर्को उल्लेखनीय कुरा के भने मानिसले जुन मेमोरी बढाउन चाहन्छन्, वास्तवमा मानिसलाई त्यो मेमोरीको त्यति आवश्यक पर्दैन। तर जुन मेमोरीको बढी आवश्यकता पर्छ, त्यो मेमोरी बारे मानिसलाई राम्रो ज्ञान छैन।
प्रायः मानिसले आफ्नो दैनिक जीवनमा नाम, ठाम, मिति, चाबी तथा वालेट आदि बिर्सिने गुनासो गर्छन्। मानिसका यस्ता समास्या सामान्य मेमोरीसँग सम्बन्धित हुन्छन्। तर अधिकांश मानिसले यसलाई नै मेमोरी पावर ठान्ने गर्छन्। त्यो किनभने सामान्य मेमोरी मानिसको चेतन प्रक्रियासँग सम्बन्धित हुन्छ जसको मानिसलाई प्रत्यक्ष अनुभव हुन्छ, विशेषतः यो मेमोरीले कार्य नगर्दाको अवस्थामा। यो हाम्रो सामान्य मेमोरी हो जसले ठीकसँग कार्य गरेन भने बिहान राखेको पर्स कहाँ राखियो भन्ने कुरा बिर्सन सकिन्छ।
हातमा नै मोजा हुन्छ तर मोजा कहाँ राखे कहाँ भन्दै भन्किँदै हुन सक्छौँ। यसप्रकारको मेमोरीको दैनिक जीवनमा महत्व त हुन्छ तर योभन्दा पनि बढी महत्वपूर्ण छ, मानिसको इन्टेलिजेन्ट मेमोरी बौद्धिक स्मरण शक्ति।
किन मानिस आफूले जति छिटो र तर्कपूर्ण ढंगले सोच्न सक्थे, त्यसरी सोच्न नसकेको गुनासो गर्छन्? किन मानिसले साथीसंगी तथा आफन्तले झैँ सवाल/जवाफ गर्न, समस्या समाधान गर्न, चुटकिला भन्न तथा तर्क अघि सार्न पछि परेको महसुस गर्छन्? अरूले जवाफ दिएपछि ए, हो त नि, यो कुरा मलाई पहिला किन आएन? मैले किन यस्तो अनुमान गर्न सकिनँ? मैले किन यस्तो सोच्न सकिनँ? भन्ने पछुतो गर्छन्। अतः उपर्युक्त सबै कुरा इन्टेलिजेन्ट मेमोरीसँग सम्बन्धित छन्।
इन्टेलिजेन्ट मेमोरी यस्तो मेमोरी हो जसले सिर्जनात्मक विचार र सामान्य स्मरणका अंशलाई सँगसँगै, एकाकार बनाएर स्मृतिमा ल्याउँछ। इन्टेलिजेन्ट मेमोरी विचार तथा जुक्तिका साथसाथ एक मानसिक प्रक्रिया हो जसलाई सिर्जनशील वा बौद्धिक सोच भन्ने गरिन्छ। इन्टेलिजेन्ट मेमोरीले मानिसको बुद्धिमत्ताका लागि ऊर्जाको कार्य गर्छ। यसले मानिसलाई छिटो समस्या समाधान गर्न तथा सिर्जनात्मक ढंगले सोच्न सहयोग गर्छ। वास्तवमा यही मेमोरीले नै मानिसलाई स्मार्ट बनाउँछ। त्यसैले इन्टेलिजेन्ट मेमोरीलाई सफलताको मुटु मान्न सकिन्छ।
कग्नेटिभ मनोवैज्ञानिक भन्छन् -साधारणतया आइक्यु बढी व्यक्तिको सामान्य मेमोरी तेज हुने गर्छ भने इक्यु (भावनात्मक बुद्धिमत्ता) बढी भएका व्यक्तिको इन्टेलिजेन्ट मेमोरी तेज हुने गर्छ।
यसबाट के प्रष्ट छ भने सामान्य मेमोरी आइक्युसँग सम्बन्धित छ जबकि इन्टेलिजेन्ट मेमोरी इक्युसँग सम्बन्धित छ।
हो, यस कुरामा कुनै सन्देह छैन कि तेज मेमोरी तथा आइक्यु बढी भएको व्यक्तिले पढाइलेखाइमा राम्रो गर्न सक्छ। उच्च शैक्षिक योग्यता हासिल गर्न सक्छन् तर आइक्यु बढी भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गरेका सबै व्यक्तिले उच्च पेसागत दक्षता प्रदर्शन गर्छन् भन्ने छैन। उच्च पेसागत दक्षताका लागि इन्टेलिजेन्ट मेमोरी तथा इक्यु बढी हुन आवश्यक छ।
सामान्य मेमोरी तथा आइक्युले शैक्षिक परीक्षामा राम्रो अंक दिलाउँछ जबकि इन्टेलिजेन्ट मेमोरी तथा इक्युले जीवनको परीक्षामा राम्रो अंक दिलाउँछ। मनोविज्ञानको दाबी छ कि जीवनमा २० प्रतिशत सफलता आइक्युको कारण हुन्छ भने ८० प्रतिशत सफलतामा इक्युको कारण हुन्छ। त्यसैले मानिसको जीवनमा आइक्यु भन्दा बढी महत्वपूर्ण हुन्छ, स्मरणशक्ति भन्दा बढी महत्वपूर्ण हुन्छ, बौद्धिक स्मरण शक्ति (इन्टेलिजेन्स मेमोरी)।
आफ्नो क्षमता र अरूको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि होसहवास नछाड्ने, कठिनाइहरूमा अवसर खोज्न सक्ने, आफूलाई आफैँ उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्न सक्ने खुबी नै इक्यु हो।
(साइकोथेरापिस्ट)
प्रकाशित: २० कार्तिक २०८० ००:२७ सोमबार