१८ असार २०७७ बिहीबार
विचार

नेपालको आधारशिला के हो ?

नेपालको सबभन्दा महत्वपूर्ण आधारशिला दुइटा छन् । एउटा राजनैतिक र अर्को सांस्कृतिक । राजनैतिक अस्तित्वलाई हार्ड पावर भनिन्छ भने सांस्कृतिक शक्तिलाई सफ्ट पावर भनिन्छ । शाहवंशले गरेको एकीकरणलाई आधुनिक नेपालको आधारशिला मानिन्छ । नेपालको नेवार समुदायले हासिल गरेको सांस्कृतिक सम्मिश्रणलाई अर्को आधारशिला मानिन्छ । धेरै इतिहासकारहरूले नेवार समुदायलाई जातिका रूपमा मान्दैनन् । यसलाई एउटा भाषा र सम्मिश्रित संस्कृतिको समुदायका रूपमा मान्छन् । नेवार समुदाय पहिले किराँत वर्गको एक भाग मानिएको थियो र यसलाई किराँती छातामुनि राखिएको थियो । तर पछि यो समुदायमा आर्यावर्तबाट आएका सबै प्रकारका जातजातिहरू समावेश भए । कालान्तरमा नेवार समुदायले नै एउटा छाताको रूप लियो र यसमुनि ब्राह्मण, क्षत्री, छूत, अछूत सबै जातजातिहरू मिसिन आए । त्यसैले नेवारी संस्कृतिमा सबै जातजातिको सम्मिश्रण भएको मानिएको छ । यही यसको महत्व हो, शक्ति हो ।

कान्तिपुरको इन्द्रचोकस्थित आजुदयो, जसलाई गैरनेवारहरूले आकाशभैरव भन्न थाले वास्तवमा नेवारहरूले त्यस मूर्तिलाई आजुदयो (नेवारहरूको सबभन्दा सुरुको पुर्खा) भन्छन् ।

नेपाल हजारौँ वर्षदेखि आफ्नो अस्तित्व र पहिचानसहित खडा भएको मानिएको छ । यो एक अविभाज्य राज्यका रूपमा अस्तित्वमा थियो । करिब २७ सय वर्षको इतिहासको मध्यकालमा यसमा विभाजन आयो । प्रारम्भमा नेपाल तीन ठूल्ठूला राज्यका रूपमा विभक्त हुन पुग्यो । ती तीन राज्य थिए— नेपाल मण्डल, साम्रौनगढ र खसदेश । नेपालमण्डल काठमाडौँ उपत्यका, नुवाकोट, बनेपा र दोलखाले बनेको थियो । सिम्रौनगढ राज्यभित्र सम्पूर्ण दक्षिण तराई तथा उत्तर बिहार परेको थियो । सिम्रौनगढले काटेको पश्चिमी नेपाल, दक्षिण पश्चिमी तिब्बत र कुमाउ, गढवालसम्म खसदेश अवस्थित थियो । पछिबाट न सिम्रौनगढ, न नेपालमण्डल न त खसदेश एक रहन सके । यक्ष मल्लको निधनपछि नेपालमण्डल कान्तिपुर, ललितपुर तथा भक्तपुरका रूपमा विभाजित हुन पुग्यो । त्यसैताका सन् १३२४ मा दिल्लीका सुलतानद्वारा सिम्रौनगढ ध्वस्त पारियो । उतापट्टि स्थापनाको ३०० वर्षपश्चात् सन् १३५८ तिर विशाल खसराज्य पनि विघटन हुन लाग्यो । तर प्राचीनकालमा पृथ्वीको यस भेगमा नेपालका अतिरिक्त कुनै अर्को स्वतन्त्र राज्यको अस्तित्व थिएन । थियो भने ईशापूर्व सातौँ, आठौँ शताब्दीतिर काठमाडौँमा किराँत राज्य, कपिलवस्तुमा शाक्य राज्य, रामग्राममा कोलिय राज्य र जनकपुरमा विदेह राज्य थिए । तर ईश्वी संवत्को प्रथम शताब्दीका वरिपरि नै यी राज्यहरू एकपछि अर्को समाप्त भएर गए ।
यस विषयमा इतिहास शिरोमणि बाबुराम आचार्यले भन्नुभएको छ, ‘पृथ्वीनारायण शाहको नेतृत्वमा गोर्खालीहरूले तात्कालिक नेपाली (नेवार) हरूमाथि राजनीतिक विजय प्राप्त गरेर एकीकृत नयाँ नेपाल राष्ट्रको निर्माण प्रारम्भ गराएका थिए तापनि यस नेपाली जातिको ललितकलात्मक संस्कृतिबाट भने स्वयं पराजित भई काठमाडौँ सहरलाई नै राजधानी गराएर गोर्खालीहरू स्वयं नै पनि नेपाली बन्न आएका थिए । यस तरहसँग गोर्खालीहरूको सांस्कृतिक पराजय र नेवारहरूको सांस्कृतिक विजयले बनेको यो राष्ट्र ‘नेपाल’ भन्ने नामले आजभोलि संसारमा प्रसिद्ध रहेको छ ।’
उहाँको विचारमा भारतमा उत्थान र विकास भएको सभ्यता र संस्कृतिको पृष्ठभूमिमा नेपालमा सभ्यता र संस्कृतिको आधारशिला स्थापित भएकामा कुनै शंका छैन । उत्तर भारतको समतल मैदान र नेपालको पहाडी क्षेत्रको हावापानीमा पर्याप्त अन्तर रहेको थियो । यसैले यहाँका किराँत नेवारहरूको रहनसहन, रीतिरिवाज, खानपान र भेषभूषा आदि सबै कुरा आर्यावर्तीय आर्यहरूको भन्दा अलग हुनु स्वाभाविक नै थियो । यस प्रकार सभ्यताको उषाकालदेखि नै नेपाली सभ्यता र संस्कृति भारतीय सभ्यता र संस्कृतिभन्दा अलग भएर आफ्नै विशिष्ट पहिचानसाथ विकसित हुँदै आएको स्पष्ट देखिन्छ ।
उहाँले यो पनि भन्नुभएको छ, ‘किराँत नेवारहरूमा दुई विशिष्ट मौलिक गुण रहेका देखिन्छन् । ती हुन्— सामाजिक सद्भाव र आफ्नो सभ्यता एवं संस्कृतिप्रतिको अगाध स्नेह । आफ्नो भाषा, भेषभूषा र रीति परम्पराहरूप्रति अगाध आस्था राख्दै सामाजिक सद्भावलाई पनि कायमै राखेर आफ्नो सांस्कृतिक परम्परालाई यिनीहरूले प्रायः जोगाई नै रहेको पाइन्छ । थोरै संख्यामा आएका नवागन्तुक आर्यावर्तीय आर्य वा किराँतहरूले यहाँका बहुसंख्यक किराँत नेवारहरूको सभ्यता र संस्कृतिलाई प्रत्यक्ष प्रभाव पार्नु सम्भव पनि थिएन । यसैले उनीहरू उल्टो नेपाली नेवारहरूकै सभ्यता संस्कृतिहरूमा रंगिए । तर पछि आर्यावर्तीय आर्यहरूको प्रभाव बढ्दै आएपछि उनीहरूको सभ्यता र संस्कृतिको प्रभाव भने यहाँका किराँत नेवारहरूमा पनि पर्दै गयो । यसबाट यिनीहरू यस क्षेत्रका अन्य किराँतहरूभन्दा अलग भएर सभ्यता र संस्कृतिको दौडमा अरूहरू भन्दा निकै अघि बढ्न समर्थ भएका पाइन्छन् ।’
उहाँ भन्नुहुन्छ, ‘नेपाल भित्र रहेको नेपाली जनतामा मुख्यगरी आग्नेयदेशी वा किराँत, वृजि वा बाजी (आर्यावर्तीय आर्य) र खस (खस आर्यहरू) गरी तीन जातिहरू सम्मिलित रहेको पाइन्छन् । खस र वृजि दुवै आर्यजातिका भए पनि धेरै फरक शाखा भएका हुनाले यिनीहरूको सभ्यता र संस्कृतिमा पनि पर्याप्त अन्तर पाइनु स्वाभाविक छ । वृजि सभ्यता एवं संस्कृतिसँग मिसिएर नेपाली सभ्यता संस्कृतिको आधारशिला स्थापित भएको देखिन्छ । वर्तमान युगमा — आजभन्दा ३०० वर्ष जति पहिले — गोर्खामा, किराँत जातिका मगर र गुरुङहरूलाई समेत आफ्नो समाजमा मिलाई आर्य—परिवारकै खसहरूले जुन नयाँ सभ्यता र संस्कृतिको उत्थान गराएका थिए, त्यसलाई ‘गोर्खा संस्कृति’ भन्ने नाम दिनु उपयुक्त देखिन्छ । यस सैनिक संस्कृतिमा गोर्खादेखि पश्चिमपट्टि लमजुङ, तनहुँ, कास्की आदि प्युठानसम्मका पहाडी प्रदेशका खस, मगर र गुरुङहरूका संस्कृतिहरू समेत सम्मिलित रहेका देखिन्छन् । यसै समाजमा कहिलेकाहीँ पूर्वका खम्बू र लिम्बूहरू पनि मिल्ने गरेको पाइन्छ । गोर्खा जाति नेपाली जातिभित्र पर्छ, गोर्खा जातिभित्र नेपाली जाति अट्न सक्तैन ।’
अनुुसन्धानकर्ता ज्ञानमणि नेपालको भनाइ छ, ‘मेरो ठम्म्याइ के हो भने लिच्छविअघिका किराँतहरू एउटा वर्ग हुन् जस्तो कि अहिलेका नेवारहरू । नेपालबाट नेवार शब्द बन्यो । नेवार शब्दले कुनै जाति विशेषलाई नभई वर्गविशेषलाई व्यक्त गर्छ । त्यहाँ जाति छुट्याउँदै जाने हो भने धेरै जाति छन् । त्यहाँ देउभाजू छन् — बाहुन, गुभाजु छन् — पुरेत, मल्लहरू छन् — क्षत्री । यसरी नै वैश्यहरू छन्, श्रेष्ठहरू छन्, किसानहरू छन् । त्यसो भए नेवार चाहिँ कुन हो त भन्दा त्यो छुट्टिँदैन । किराँत पनि त्यस्तै एउटा वर्ग हो । त्यसमा धेरै जाति अटाउँथे ।’
प्राध्यापक माणिकलाल श्रेष्ठको विचारमा, ‘किराँत शासनपछि लिच्छवि शासन अनि मल्ल शासनको अवधि पार गरी कान्तिपुर उपत्यकामा विभिन्न जाति र मूलका मानिसहरू सम्मिश्रण हुँदै नेवार जाति (नेवार राष्ट्र) बन्न पुगेको छ । तर पनि नेवारमा सबभन्दा ठूलो अंश किराँत मूलकै छ । कान्तिपुरको इन्द्रचोक स्थित आजुदयो, जसलाई गैरनेवारहरूले आकाशभैरव भन्न थाले वास्तवमा नेवारहरूले त्यस मूर्तिलाई आजुदयो (नेवारहरूको सबभन्दा सुरुको पुर्खा) भन्छन् । त्यस मूर्तिलाई किराँत शासन स्थापना गर्ने यलम्बरको स्मृतिमा स्थापना गरिएको मूर्ति र मन्दिर भन्ने विश्वास छ । सो मूर्ति प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा प्रदर्शन गर्ने गरिन्छ । मूर्तिका रक्षक र पूजारीहरू इन्द्रचोकका एउटा ज्यापु समुदायभित्रका एउटा खास परिवारका सदस्य छन् । उनीहरू आफूलाई किराँतको सन्तान ठान्छन् । नेवार जातिभित्रको ज्यापु समुदाय कान्तिपुर उपत्यकाका आदिवासीहरू हुन् । उनीहरू मूलतः किराँत जातिभित्रको एउटा समुदाय हो । यद्यपि लिच्छवि शासनको पतन भई मल्ल शासन कायम भएपछि केही लिच्छवि परिवारहरू पनि ज्यापु समाजमा नै विलय भएका थिए ।’ उहाँ अगाडि भन्नुहुन्छ, ‘नेवार जातिभित्रकै विशाल जनसंख्या ओगटेका ज्यापु मात्र होइनन्, नेवार जातिभित्रका व्यञ्जनकार, माली, बिन्दुकार, तण्डुकार आदि परिवारहरू आफूलाई किराँतका सन्तान भन्छन् । तीमध्ये कुनै कुनै परिवारले त आफू यलम्बरका सन्तान भनी दाबीसमेत गर्छन् ।’
यस पृष्ठभूमिमा बाबुराम आचार्य भन्नुहुन्छ कि किराँत, आर्य र खस गरी तीन थरी संस्कृतिका तीन प्रमुख धाराहरू र अन्य अनेक सांस्कृतिक धारा तथा उपधाराहरू मिलेर वर्तमान नेपाली संस्कृतिको निर्माण भएको पाइन्छ । नेपालमा हाल विकसित भएर आएका अन्य विभिन्न संस्कृतिहरूको पारस्परिक आदानप्रदान र नेपाली संस्कृतिको मूल प्रवाहमा परिष्कार हुने क्रम अझै पनि जारी नै रहेको छ । यस किसिमको सामाजिक तथा सांस्कृतिक हेलमेलले गर्दा नेपालका सम्पूर्ण निवासीहरू आज सामाजिक आदर्शको दृष्टिले एक भएका छन् । यस किसिमको भावनात्मक एकताबाट हाम्रो राष्ट्रिय एकतालाई ठूलो बल मिलिरहेको छ । यस परम्पराको संरक्षण एवं संवद्र्धन गर्नु आजका लागि हामी सम्पूर्ण नेपालीको साझा कर्तव्य हुन आएको छ ।

प्रकाशित: १२ मंसिर २०७४ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App