८ वैशाख २०८१ शनिबार
विचार

सकारात्मक रूपान्तरणको आधार

एकादेशमा दुर्गम ठाउँमा एउटा सुन्दर गाउँ थियो । त्यहाँका मानिसहरू एकदम सांस्कृतिक र परम्परावादी थिए । बालविवाह त्यस समाजको अभिन्न अंग थियो । एकजना बालिकाको १० वर्षको उमेरमा नै विवाह भयो । दैवको खेल १४ वर्षको उमेरमा नै दैवले उहाँको श्रीमान्लाई खोसेर लग्यो । त्यसपछि उहाँको कष्टपूर्ण जीवन सुरु भयो । पारिवारिक–सामाजिक अपमान र अवहेलना सहँदै बाँच्नुप¥यो, उहाँलाई । जब चाडपर्व आउँछन्, सबैका घरमा आफन्त आउँछन्, विदेशिएकाहरू घरमा आउँछन्, रमाइलो हुन्छ, रौनक हुन्छ तर उहाँको घरमा कुनै रौनक र चमकधमक आउँदैन । गाउँघरमा हुने सामाजिक कार्य, विकासका कार्यहरूमा पनि उहाँको सहभागितालाई आवश्यक ठानिँदैन ।

भोट हाल्नुपूर्व सोच्नुपर्छ, आफ्नै भविष्य, सन्ततिको भविष्य र समृद्ध राष्ट्र निर्माणका लागि रूपान्तरणकारी निर्णय लिँदै छौँ ?

जब चुनाव आउँछ, एकाध नेताहरू उहाँकोमा पुग्नुबाहेक उहाँको बारेमा कसैले वास्ता गर्दैनन् । सधैँ हेपिनुपर्ने कारणले उहाँको जीवन एकदम निराशाजनक थियो । एकपटक दसँैको सेरोफेरोमा एकदिन उहाँलाई एउटा उपाय मनमा आयो र यसपटकको दसँै राम्रोसँग मनाउने सोच मनमा पलायो । उहाँले भगवान्लाई पुकार्ने विचार गर्नुभयो । अनि आफ्ना वेदनापूर्ण कहानीसहित भगवान्लाई चिठी लेख्दै भन्नुभयो— भगवान् ! मलाई एक हजार रुपियाँ पठाइदिनु होला । म यसपटकको दसैँ एकदम उत्साहका साथ नयाँ कपडा र मीठो भोजनसहित मनाउन चाहन्छु र जीवनको यो उत्तराद्र्धमा एकपटक रमाउन चाहन्छु ।

हे प्रभु ! सधँै हजुरको सेवा र ध्यानमा लिप्त हुनेछु मेरो पुकार सुनिदिनु होला, यो दुःखीको आत्मा रमाउनेछ । कारुणिक बिन्तीसहितको पत्र उहाँले भगवान्को नाउँमा हुलाकमा खसाल्नु भयो । सबै पत्रहरू जिल्लाको हुलाकमा पुगेर ठेगानाअनुसार मिलाउने क्रममा हुलाकीले भगवान्को पत्र कहाँ पठाउने भन्दै हुलाकको हाकिम साहेबलाई सोधे । हुलाकको हाकिम साहेबले कसैलाई समस्या परेको कारण भगवान् पुकारेको अनुमान लगाउँदै सबै कर्मचारीको रोहवरमा पत्र खोल्नुभयो र पढ्नुभयो । पत्र पढेपछि हुलाकका सबै कर्मचारीको सहमतिमा चन्दा उठाएर उहाँलाई रकम पठाउने निर्णय गर्नुभयो र पैसा उठाउनुभयो, ८५० रुपियाँ जम्मा भयो । दसँै राम्रोसँग मनाउनुहोला पैसा पठाइदिएको छ भन्ने एउटा चिठी लेख्दै त्यसैमा पैसा हालेर उहाँको ठेगानामा पठाइदिनु भयो ।

केही दिनमा पत्र पुग्यो । पत्र पाएर निकै खुसी हुनुभयो । पत्र खोल्नुभयो र पैसा गन्नुभयो अनि आफू निकै ठगिएको, अपहेलित भएको महसुस गर्दै आँसुका धारासहित धन्यवाद भन्दै फेरि पत्र लेख्न थाल्नुभयो । हे भगवान् धेरै धन्यवाद तर तपाईंको यो महान् काममा पनि भ्रष्टहरूको नजर लागेछ पठाउन त एक हजार नै पठाउनुभएको थियो होला तर भ्रष्ट र चोर हुलाकका कर्मचारीहरूले १५० रुपियाँ चोरेछन् ।

सदियौँदेखि हेपिएको र ठगिएको कारण सहयोग गर्नेहरूलाई पनि शंका गर्ने बानी परिसकेको थियो उहाँमा । कसैले सम्मान र सहयोग गरेको पनि विश्वास गर्ने साहस र हिम्मत नै विकास भएको थिएन । अनि सहयोग र सम्मान गर्नेहरूलाई तिरस्कार गर्ने बानीले गर्दा सहयोग गर्न चाहनेहरूको पनि प्रशंसा गर्न सक्नुभएन । लगातारको ठगाइ र हेपाइले उहाँमा शंका गर्ने बानी बसिसकेको थियो । यो एक प्रकारको मानसिक डिप्रेसन थियो । लामो समयसम्म नियमित रूपमा हुने नकारात्मक कुराहरूको प्रभाव र नकारात्मक र शंकालु मनस्थितिका कारण थाहै नपाई मानिस डिप्रेसनको शिकार भएको हुन्छ ।
जब डिप्रेसनको शिकार हुन्छ उसले कुनै पनि कुराको सकारात्मक पाटोलाई देख्न सक्दैन र त्यसमा अन्तर्निहित जीवनदायी ऊर्जाहरूलाई पहिचान गर्न सक्दैन । यस्तो अवस्थामा मानिस नकारात्मक कुराहरूप्रति अभ्यस्त हुन्छ र जस्तोसुकै अवस्थालाई पनि नकारात्मक पक्षबाट विश्लेषण गर्न थाल्छ । यो एक प्रकारको मानसिक रोग हो । जब समाजका प्रायःजसो मानिसहरू यस्तै प्रकारका कुराहरूमा रमाउन थाल्छन् तब त्यो सामाजिक वा राष्ट्रिय रोगका रूपमा स्थापित हुन्छ । जब कुनै समाज यस्तै विसंगतिपूर्ण रोगको शिकार हुन्छ त्यो समाज, जनता र देश प्रगतिभन्दा अधोगतितिर द्रुत रूपमा दौडिन थाल्छ ।

बडो दुःखसाथ भन्नुपर्छ, वर्षौंदेखि सिंगो नेपाल त्यो बाटोमा छ । परिवारदेखि सरकारसम्म सबैले समाज, देश, नेता, पार्टीहरू र संघ संस्थाहरूको नकारात्मक पक्षहरूमा टेकेर बहसको सुरुवात गर्छन् र एकदम कहालीलाग्दो अवस्थाको चित्रण गरेर बहसको अन्त गर्छन् । सिंगो बहस एकअर्काको उछितो काढ्नमा नै केन्द्रित देखिन्छ । राजनीतिक पार्टीहरू, सञ्चारमाध्यमहरू, नेताहरू सबैले सदियौँदेखि नकारात्मक पक्षहरूमा मात्रै ध्यान दिने गरेकाले आम जनमानसमा अब देशमा केही हुँदैन, सबै चोर फटाहा मात्रै छन्, सबैले लुट्न मात्रै चाहन्छन् भन्ने भावनाको विकास भएको छ ।

जसको प्रभावले गर्दा देश, समाजमा भएका राम्रा कामहरूको पनि प्रशंसा गरिँदैन र राम्रो काम गर्न चाहनेहरूको पनि सही मूल्यांकन हँुदैन । अहिले देश निर्वाचनमय भएको छ र मतदातामा जसले जिते पनि केही हँुदैन भोट हालेर हामीलाई के हुन्छ र, भन्ने भ्रमले जरा गाडेको छ । सबैलाई एउटै कोटिमा राखेर हेर्ने प्रवृत्तिले गर्दा राम्रो काम गर्न चाहनेहरूको उचित मूल्यांकन हुन सकेको छैन । यस्तो अवस्थामा हामी मतदाताहरूले आफ्नो विवेकको उच्च प्रयोग गर्नुपर्छ र एक भोट सही पार्टीलाई दिनुपर्छ ।

नेपालले अवलम्बन गरेको वेस्ट मिनिस्टरियल प्रणालीमा व्यक्तिको भूमिका गौण र पार्टीको भूमिका महत्वपूर्ण हुने हुँदा हालसम्म राजनीतिक पार्टीहरूले खेलेको भूमिकाको आधारमा राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई भोट हाल्नुपर्छ । भोट हाल्नुपूर्व व्यक्तिका लागि एउटा राम्रो सरकारले के के गर्न सक्छ भन्ने कुराको हेक्का राख्नुपर्छ । स्मरण रहोस् सरकार भनेको नागरिक सुरक्षा, आत्मसम्मान, स्वतन्त्रता र आधारभूत आवश्यकता परिपूर्ति गर्ने जिम्मेवार निकाय हो । तपाईं हाम्रो एक भोटको बलमा नै सरकार बन्ने हो र माथि भनिएका कुराहरू पूरा गर्ने जिम्मेवारी सरकारको हो ।

हामीलाई सुन्दा कथाजस्तो लाग्छ हाम्रो जस्तै राजनीतिक व्यवस्था भएका बेलायत, जापान, जर्मनीजस्ता देशहरूमा सरकारले नै माथि भनिएका कुराहरू पूरा गर्छ । नयाँ सँविधानले नेपालमा पनि सरकारले न्यूनतम कुराहरू पूरा गरेर समाजवादका आधार तयार गर्नुपर्छ भन्ने परिकल्पना गरेको छ । मूलतः संविधान र नीतिमा लेखिएका कुराहरू लागू गर्ने प्रतिबद्धता चुनावका बेलामा सबैले गर्छन् तर व्यवहारमा कसले गर्छन् भन्ने कुरा महत्वपूर्ण हो । चुनाव जित्न सबैले विभिन्न प्रकारका हतकण्डाहरू अपनाउँछन्, प्रतिबद्धताहरू व्यक्त गर्छन् तर कसका प्रतिबद्धताहरू सही हुन्छन् भनेर पत्ता लगाउने काम जनताको हो ।

बेलायत, जापान, जर्मनी, फ्रान्स जस्ता देशहरूमा सुशासन हुनुका कारण नै जनताले पार्टीहरूका प्रतिबद्धतालाई जाँचेर भोट हाल्छन् । एक प्रकारका नेता र पार्टीहरूले बारम्बार हामीलाई बेबकुफ बनाउनु भनेको गल्ती हाम्रै हो । हामीले आफूले गल्ती गरेर अरूलाई दोष दिन मिल्दैन । अहिले नेपाल सकारात्मक रूपान्तरणको संघारमा छ । गरिबीको चंगुलबाट मुक्त हुन हामीलाई आमुल रूपान्तरण गरेर सकारात्मक परिणाम दिने सरकार चाहिएको छ । नेपाल आर्थिक, मानवीय र प्राकृतिक स्रोत साधनले भरिपूर्ण भएको देश हो । एक सही सरकारको अभावमा नेपालको पहिचान पछौटे र गरिब राष्ट्रका रूपमा रहेको छ । त्यसकारण एक भोट हाल्नुपूर्व हामीले सोच्नुपर्छ, परम्परागत रूपमा नै भोट हाल्ने कि आफ्नै भविष्य, सन्ततिको भविष्य र समृद्ध राष्ट्र निर्माणका लागि रूपान्तरणकारी निर्णय लिने ? रोजाइ हाम्रै हो ।  

चुनावमा एक पार्टीले अर्को पार्टीलाई आरोप लगाएजस्तो कुनै पार्टीले हार्दैमा न त हाम्रो लोकतन्त्र खतरामा पर्छ, न त राष्ट्रियता नै वा समावेशी र प्राप्त उपलब्धिहरू नै गुम्छ । यी त एकदमै बकम्फुसे कुराहरू मात्रै हुन् । लोकतन्त्र, राष्ट्रियता वा समावेशिता चुनाव जित्नेका मात्रै पेवा पनि होइनन् । ती सबै कुराहरू संविधानमा लिपिबद्ध भइसकेका छन् । बहुदलीय व्यवस्थामा हामी सबै जनता कुनै न कुनै राजनीतिक पार्टीसँग आबद्ध हुनु स्वाभाविकै हो तर रूपान्तरणको संघारमा हुन गइरहेको यस महानिर्वाचनमा बडो विचार पु¥याएर मात्र मत हाल्नु आवश्यक छ ।

सबैमा याद होस्, बहुदलीय शासन प्रणाली भएको राज्यव्यवस्थामा सकारात्मक रूपान्तरणको आधार भनेको स्थिर, शक्तिशाली र प्रतिबद्ध सरकार हो । मिलिजुली सरकार यो देशका लागि अभिशाप हो भने त्यो भन्दा पनि ठूलो अभिशाप मिलिजुली सरकार बनाउने गरी भोट हाल्ने हामी मतदाता हाँै । चारकोसे झाडीमा रहेको मृगले आफ्ना बालबच्चाहरूलाई सम्झाउँदै भन्छ— हेर नानी हो ! हामीले आफ्नो प्राण रक्षा गर्न बाघभन्दा धेरै छिटो दौड्न सक्नुपर्छ । त्यसै गरी बाघ आफ्ना नानीहरूलाई सिकाउँदै भन्छ— हेर नानी हो ! हामीले आफ्नो आहारा खोजेर जीवन बचाइराख्न मृगहरू भन्दा धेरै छिटो दौड्न सक्नुपर्छ अनि मात्रै उनीहरूको शिकार गर्न सकिन्छ । यस कथाबाट बुझ्न सकिन्छ, हामीले लोभी, पापीहरू र भ्रष्टहरूकोे चंगुलबाट देशलाई बचाएर आफ्नो र सन्ततिहरूका लागि नयाँ भविष्यको निर्माण गर्ने हो भने हामीले द्रुतगतिमा नयाँ निर्णय गरेर स्थिर विकासप्रेमी सरकारका लागि एक भोट हाल्न सक्ने निर्णय गर्न जरुरी छ । अन्यथा, देशविकास भएन भनेर विलाप गर्नुको कुनै औचित्य रहनेछैन ।
कार्यकारी निर्देशक, अकोराव

प्रकाशित: १० मंसिर २०७४ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App