coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

लाउत्सेको विजयसूत्रमा महिला

मंसिर १० र २१ गते हुने भनिएको पहिलो र दोस्रो प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा अत्यन्त न्यून मात्रामा महिला उम्मेदवार तोकिएपछि सामाजिक बहस सुरु भएको छ । ३३ प्रतिशत महिलाको सहभागिताका लागि कानुनी सुनिश्चितता भए पनि व्यवहारमा किन प्रकट भएन ? निर्वाचनको पहिलो चरणमा प्रतिनिधिसभामा कांग्रेसले २ जना, माओवादी केन्द्रले १ जना र एमालेको तर्फबाट कुनै पनि उम्मेदवार पर्न सकेनन् । त्यस्तै प्रदेशसभाका लागि कांग्रेसबाट २ जना, एमालेबाट २ जना, माओवादी केन्द्रबाट ३ जना र राजपाले २ जना महिलालाई प्रतिस्पर्धी बनाएका छन् ।

‘म विजय हुने चाहना नै राख्दिनँ, त्यसैले मलाई कसैले हराउन पनि सक्दैन ।’ यस सूत्रअनुसार महिला अपराजित छन् । महिला हार्दैनन् । पराजितको पीडा पनि उनीहरूले भोगिराख्नु पर्दैन, यसपालि ।

दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभामा कांग्रेसबाट ७ जना, एमालेबाट ५ जना र माओवादीले ३ जनालाई उम्मेदवार बनाएका छन् । महिला उम्मेदवारको संख्या अत्यन्त कम छ ।
अहिलेको राजनीतिमा प्रतिस्पर्धामा भन्दा पनि जसरी भए पनि चुनावमा जित्ने र आफ्नो सुनिश्चितताका लागि दलहरूको बीचमा तालमेल र साँठगाँठ भएको परिवेश छ । यो कुनै सैद्धान्तिक तथा वैचारिक मिलाप होइन । विशुद्ध चुनावी रणनीति हो । त्यसैले आफ्नै सुरक्षाका लागि तालमेल र गठबन्धनमा लागेका दलको नेतृत्वको आँखाबाट महिला ओझेलमा पर्नु स्वाभाविक थियो । तर तालमेलको आँकलन अनुसारकै परिणाम आउँछ भन्ने पनि छैन । जनमतको प्रकृति स्थिर होइन, अस्थिर हुन्छ । कुनै बेलाका निर्वाचनका नायक, नायिकाका स्थान बनाएका पद्मरत्न तुलाधर र नानीमैया दाहाललाई काठमाडौँका मतदाताले अत्यधिक मतका साथ विजयी बनाएका थिए । पछि तिनै तुलाधर र दाहाललाई जमानत जोगाउने मतसम्म पनि दिन काठमाडौँका मतदाताले चाहेनन् । फेरि गठबन्धन स्वयंमा स्थिरता छैन, वाम गठबन्धनबाट बाबुराम भट्टराई कांग्रेसको कित्तामा पुग्नु र लोकतान्त्रिक गठबन्धनका राजेन्द्र लिङ्देन वाम गठबन्धनमा पुग्नुको अर्थ हो— गठबन्धनको जग र धरातल अत्यन्त कमजोर छ ।
पहुँच, आर्थिक सामथ्र्य, पारिवारिक सम्बन्ध र विरासत भएकाहरूलाई जति सहज रूपले राजनीतिमा स्थापित हुन्छन् । त्यसको तुलनामा जति योग्य भए पनि अरू महिला वा पुरुष टुहुरो, निर्धो र मायालाग्दा हुन्छन् । आर्थिक सामथ्र्य हुनेहरूका लागि राजनीतिमा मात्र होइन, कूटनीति लगायत हरक्षेत्रमा पुग्न सफल भएको पाइन्छ । विशेष ज्ञान र दक्षता हुनुपर्ने कूटनीतिक क्षेत्र आर्थिक बलको आधारमा बाँडफाँड हुन्छ भने राजनीतिक क्षेत्र त्यसबाट अप्रभावित छ भनेर अनुमान गर्न सकिँदैन पनि ।
फेरि यथार्थमा भन्दा मानिस भ्रममा बाँच्छ । जहाँ जुन ठाउँमा पुग्ने भनेको पुरुष वा महिला नै हो । कुन पुरुष वा महिला कहाँ कुन हैसियत र स्थानमा पुगेका छन् भन्ने आधारमा अरू पुरुष वा महिलाको जीवनमा तात्विक भिन्नता हुँदैन । यो यथार्थलाई आत्मसात गर्नुपर्छ त्यसमा पनि राजनीति यस्तो क्षेत्र हो, जहाँ सत्ताको नाफा–नोक्सान, जोड–घटाउभन्दा अरू कुरा गौण हुन्छन् । सबै कुरा त्यसैको मानकमा हेरिन्छ । बंगलादेशमा सरकार र विपक्षी दलको नेतृत्व दुवैमा महिला छन् । तर उनीहरूले तसलिमाको पक्षमा वकालत, बहस, पैरवी गर्न किन सक्दैनन् ? आऊ तसलिमा फर्क हामी छाँै, तिम्रो सुरक्षामा । आफ्नै घर, आँगन, फूलबारीमा बसेर साहित्यिक सृजना गरेर रमाऊ भनेको पाइँदैन । त्यसैले प्रतिनिधित्व हुनासाथ वर्गीय मुद्दाको सम्बोधन र हित हुन्छ भन्ने हुँदैन । जनमतलाई कसरी कब्जामा पार्न सकिन्छ भन्नेमा राजनीतिक ध्याउन्न हुन्छ । सत्तामा पुग्नमा हुन्छ । वर्गीय हितको विषय चुनावको मुद्दा हुन सक्छ तर त्यो सम्बोधन नहुन पनि सक्छ ।
२०४७ सालको संविधानमा ५ प्रतिशत महिलाको सुनिश्चिताको व्यवस्था थियो । यो व्यवस्थाका कारण लामो राजनीतिक इतिहास र योगदान भएका मंगलादेवी, सहाना प्रधान, शैलजा आचार्य आदि पाँच प्रतिशतको आरक्षणमा खुम्चिन पुगे । यसले उनीहरूको इतिहासको सम्मान वा अवमूल्यन के भयो ? अनुसन्धानको विषय बनेको पाइँदैन । जुन बेला समावेशी अवधारणा र आरक्षणको कुरा उठानमा आएको थिएन । चेतना र शिक्षाको विकास तथा विस्तार भएको अवस्था पनि थिएन । त्यस्तो बेलामा उल्लिखित महिलाले राजनीतिक जीवनमा भाग लिएर गर्विलो इतिहास रच्न सफल भएका थिए । उनीहरू ५ प्रतिशतको आरक्षणमा परे । महिला मताधिकारको आवाज उठाउने मंगलादेवी सिंह थिइन् भनिन्छ । सिंहकै अध्यक्षतामा २००४ सालमा नेपाल महिला संघको स्थापना भएको थियो भने २००८ सालमा कामक्षा देवीको अगुवाइमा अखिल नेपाल महिला संघ खुलेको थियो । जसमा साधना, साहना प्रधान थिए ।
१७ वर्षको कलिलो वय थियो, शैलजाले राजनीतिमा पाइला उठाउँदा । प्रवासमा निर्वासित जीवन बिताउँदा, बनारसमा स्थापना भएको डेमोक्रेटिक सोसलिस्ट लिगको पहिलो निर्वाचित सभापति थिइन् । त्यो संगठन नेपाल विद्यार्थी संगठनभन्दा जेठो थियो भनिन्छ । नेपाली कांग्रेसले प्रकाशित गर्ने ‘तरुण’को सम्पादक आचार्यको जीवनको अर्को रोचक पक्ष पनि छ । उजागर नभएको त्यो पक्ष हो, २०१७ सालको राजनीतिक घटनापछि सशस्त्र संघर्षको बाटो लिएको कांग्रेसका लागि हतियार जुटाउन डाकाका साथ हिँड्नु ।
त्यसबेलाको सम्झना गर्दै शैलजाले लेखेकी पनि छन्, “हतियार संकलन गर्ने सबैभन्दा सजिला व्यक्ति भनेका डाँका नै थिए । त्यसैले उनीहरूको माध्यमबाट हतियार संकलन गरेर नेपाल भित्र्याउने काम गर्न थाल्यौँ । भारतमा संकलन गरेको हतियार बोर्डर हुँदै नेपाल ल्याउन म खटिएको थिएँ । उनीहरू जता जता जान्थेँ, म पनि सँगसँगै हिँड्नुपथ्र्यो । एक त केटी मान्छे, त्यसमा पनि हतियार संकलन गर्न डाँकाहरूसँगै हिँड्नुपर्ने चानचुने काम त होइन नि । तैपनि ममा त्यो साहस र आँट कसरी पो आयो । मलाई केटी जस्तो नदेखियोस् भनेर मैले केटाको जस्तै छोटो कपाल काटेको थिएँ, केटाको जस्तै जिन्स पाइन्ट लगाउँथेँ, त्यसैले म उनीहरूसँग हिँड्दा कसैले पनि केटा हो कि केटी हो भनेर छुट्याउन सक्दैन थिए ।” (बरगाछी, पूर्णाङ्क १४, प्रकाशक गुराँस पुस्तकालय, विराटनगर) शैलजा निष्ठा र आदर्शको राजनीति गर्थिन् । लप्पन, छप्पन जान्दिन थिइन् । त्यति लामो स्वनिर्मित इतिहास बनाएकी शैलजा स्वयं पनि ५ प्रतिशत महिलाको आरक्षणमा खुम्चिएको तथ्यले महिलाका लागि राजनीतिमा स्थान लिन र पाउन सहज छैन ।
ताओ धर्मसँग सम्बन्धित चिनिया प्रसिद्ध दार्शनिक लाउत्सेले भनेका थिए, “उनलाई कसैले पनि हराउन सक्दैन । सबैको इच्छा विजयी हुने हुन्छ, पराजित हुने हुँदैन ।” त्यसैले लाउत्सेका शिष्य तथा अनुयायीले लाउत्सेसँग विजय सूत्रको रहस्य भन्न आग्रह गर्छन् । लाउत्सेले उनीहरूको जिज्ञासा भेटाउँदै भनेका थिए, “म विजय हुने चाहना नै राख्दिनँ, त्यसैले मलाई कसैले हराउन पनि सक्दैन ।” लाउत्सेको यो प्रसंग न्यून संख्यामा महिला उम्मेदवार भएको विषयमा समय सान्दर्भिक छ । लाउत्सेको विजय सूत्रमा भन्ने हो भने महिला अपराजित छन् । महिला हार्दैनन् । पराजितको पीडा पनि उनीहरूले भोगिराख्नु पर्दैन । यसपालि ।
महिलाका लागि अबको बाटो भनेको बुद्ध वचन “अप्प दिप्पो भव” अर्थात् आफ्नो प्रकाश आफैँ बनलाई अनुसरण र पालना गर्नपट्टि लाग्नु हो । आर्थिक सामथ्र्य, सांगठनिक विस्तार र जनाधार निर्माणमा अग्रसर भएर निर्विकल्प हैसियत र स्थान बनाउने हो भने महिलालाई दलको टिकट खोज्न आफैँ आउनेछ । टिकट पाउनका लागि कोही कसैको ढोका ढकढकाउन पर्दैन । “अता हि अतानो नाथ, अता हि आतनो गति” अर्थात् तिमी नै आफ्नो भाग्यनिर्माता हौ र तिमी नै अद्योगतिको कारण पनि हौ भन्ने बुद्धको ज्ञानलाई पछ्याउने हो भने निश्चय पनि भोलिका दिनमा प्रतिशतको लेखामा महिला अलमलिनुपर्ने अवस्था हुनेछैन ।

प्रकाशित: २७ कार्तिक २०७४ ०३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App