५ वैशाख २०८१ बुधबार
विचार

नफेरिएको अवस्था

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा २०५७ चैत १८ गते प्रकाशित ‘विश्वदीप’ साप्ताहिकमा ‘किन बढ्दैछन् माओवादीहरू ?’ शीर्षकमा मैले लेखेको लेख  यस्तो थियो–

दृश्य–१

स्थान– नेपाल प्रहरीको रत्नपार्कस्थित सवारी चालक अनुमतिपत्र शाखा

पात्र– लेखक र आ–आफ्नो कामले आएका उपस्थित जनसमूह

मेरो सवारी चालक अनुमतिपत्र हराएकाले सोको प्रतिलिपि लिन लगातार दिनदेखि धाइरहेको हुन्छु र चौथो दिन मेरो धैर्यको सीमा टुट्छ । आक्रोशका साथ त्यहाँ कार्यरत कारिन्दाहरूलाई भन्छु– ‘तपाईँहरूको यस्तै व्यवहारले गर्दा देशमा माओवादी बढेका हुन् ।’ त्यहाँ अप्रिय र भनाभनको स्थिति पैदा हुन्छ र उपस्थित जनसमूहले पनि मेरो कुराको समर्थन गर्छन् । यसैबीच त्यहाँका कारिन्दाले आफ्नो अगाडि रहेको कार्ड उठाउँदै भन्छन्– ए ! हजुरको कार्ड भेटियो ।

दृश्य–२

पात्र– लेखक स्वयं ।

स्थान– डिल्लीबजारस्थित मालपोत कार्यालय ।

पिताको देहावसानपश्चात उहाँको नाममा रहेको जग्गा छोराहरूको नाममा नामसारी गर्ने प्रसंग ।

नामसारी गर्नाका निमित्त हामी ६ महिनादेखि धाइरहेका छौँ, परिणाम हामी घूस नदिने अनि हाम्रो काम पनि नहुने ।

मेरो यहाँ दुई दृश्य प्रस्तुत गर्नाका कारण के हो भने हामी जस्ता आफ्नो अधिकारप्रति जागरुक, दुई अक्षर पढेका, राजधानीमा बसेकाहरूसँग सरकारी कार्यालयमा यस्तो व्यवहार हुन्छ भने सुदूर गाउँमा बस्ने, पढ्न नजान्ने सोझासाझा ग्रामीण जनतासँग सरकारी कर्मचारीले कस्तो व्यवहार गरिरहेका होलान् ? मूलरूपमा देशमा माओवादी बढ्नु जनतामा सरकारप्रतिको नकारात्मक धारणा नै हो । यहाँ प्रस्तुत गरिएका यी दुई दृश्य जनतामा कसरी सरकारप्रति नकारात्मक सोचाइ आउँछ भन्ने कुराको उदाहरण दिन खोजिएको हो ।

लामा लामा लच्छेदार कुरा गरेर सरकारले माओवादीको आलोचना गर्नुभन्दा जनताको समस्याप्रति सम्वेदनशील भएर इमानदारीपूर्वक राजस्वको सदुपयोग गरी जनहितको काम गरेको भए विगत दश वर्षमा देशमा यो विकराल स्थिति आउने थिएन । सरकार अझै चेतेको छैन, जनप्रतिनिधिहरू जनताको रगत पसिनाबाट पैसा कमाउनमै व्यस्त छन् । मानौँ यस्तो लाग्छ, सरकार जनताको समस्याप्रति संवेदनशीलता छैन ।  

सरकारले सोचेको होला, प्रहरी र शाही सेनाको प्रयोगद्वारा यो समस्या समाधान गर्छु भनेर । तर सरकारले के कुरामा विशेष ध्यान पु¥याउनुपर्छ भने जीविकाका लागि लड्ने सेनाभन्दा विचारका लागि लड्ने योद्धाहरूको मनोबल सदैव उच्च हुन्छ । त्यसकारण गोली बारुदले समस्याको समाधान गर्छु भन्नु मुर्खतासिवाय केही हुँदैन । सरकारले जनताको समस्याप्रति अझै पनि सम्वेदनशील भएर काम गरेमा मलाई लाग्छ, अझै पनि टाउकोमाथिबाट पानी बगेको छैन । किनभने माओवादी पनि देशद्रोही होइनन् । हामीमा जति राष्ट्रप्रेमको भावना छ, पक्कै पनि उनीहरूमा पनि त्यति नै राष्ट्रप्रेमको भावना छ ।

माओवादी समस्याको समाधानका लागि भनेर सरकारले शक्ति प्रयोगमा अरबौँ रुपियाँ खर्च गरिसकेको छ तर जनसमस्याको समाधानका लागी सरकार लागिपरेको अनुभव जनताले गर्न सकिरहेका छैनन् । जनताले अनुभव गरुन् पनि कसरी ? किनभने यो काम गर्दा कमिसन पनि हात पर्दैन अनि शासक जस्तो पनि भइँदैन । अनि किन काम गर्ने जनताको ?

प्रधानमन्त्रीज्यू, जनताको समस्या समाधान गर्न राज्य कोषको सदुपयोग नगर्ने ? आफ्ना भाइभतिजाहरूलाई राज्यकोषको खुला दुरूपयोग गर्न छूट दिने अनि भन्ने माओवादी बढ्यो ? राज्यसंयन्त्रलाई जनहितमा नलगाइ आफ्नो पक्षपोषणमा लगाउने, अनि भन्ने माओवादी बढ्यो ? धेरै भइसक्यो भनाइ र गराइको यो नाटक ! बचाउनोस् नेपाललाई यो विध्वँशबाट । अनि हामी सबै मिली भनौँला प्रधानमन्त्री जिन्दावाद !

प्रधानमन्त्रीज्यू ! तपाईंभन्दा फरक मत राख्ने प्रदीप गिरीलाई तपाईंको एसम्यान खुमबहादुर खड्काले फलामको रडले रगताम्य पारेको दृश्य यो पंक्तिकारले वनारसको मंगलागौरीमा देखेको छ । अनि यस पंक्तिकारलाई वनारसमा राजाको जन्मोत्सव मनाउन तपाईँका दाजु (बीपी कोइराला) ले हौसलास्वरूप चन्दा दिनुभएको थियो भने तपाईंले भने तिमीहरूको कार्यक्रममा बम हान्छु भन्ने धम्की दिनुभएको थियो । यस्तो थियो तपाईंको प्रजातान्त्रिक चरित्र ! खुमबहादुर खडकाले प्रदीप गिरीलाई रगताम्य गरेबापत पटक–पटक राज्यकोषको खुला दुरूपयोग गर्ने छूट दिएर पुरस्कृत गर्नुभयो । खड्का आज करोडपति होइन, अरबपति हुन लागेका छन् । अनि नरबहादुर कार्की, शिव कँगाल, पदमबहादुर थापा जस्ता समर्पित कार्यकर्ताहरू सडकमा ठोकर खान बाध्य छन् भने प्रदीप गिरीचाहिँ तपाईँको यसम्यान हुन नसकेकाले अहिलेसम्म मन्त्री हुने सौभाग्य प्राप्त गर्न सकेका छैनन् । यस्तो छ तपाईंको प्रजातान्त्रिक समाजवाद ! अनि तपाईँ कसरी जनताको समस्याप्रति सम्वेदनशील हुनुहुन्छ भनेर पत्याउने ? यस्तोमा माओवादीरूपी असन्तोष नबढेर के हुने त ?  

माओवादीविरुद्धको लडाइँ भनेको भोका जनतालाई खान दिनु हो, हरेक गाउँमा स्वास्थ्य केन्द्र, बाटो, किसानका लागि मल, बिउबिजनको व्यवस्था गर्नु हो । प्रहरी, सेना परिचालन होइन । यो हो माओवादीविरुद्धको वास्तविक लडाइँ, शक्ति प्रयोग होइन ।

डा. बाबुराम भट्टराईलाई मैले सन् १९७८ मा चण्डीगढमा प्रथम अखिल भारत नेपाली विद्यार्थी सम्मेलन हुँदा भेटेको थिएँ । हाम्रो सम्मेलनको उद्घाटन हालका भारतका सूचना एवं प्रसारण मन्त्री र त्यतिबेला हरियाणा राज्यका मन्त्री सुषमा स्वराजले गर्नुभएको थियो । त्यतिबेला डा. भट्टराईसँग भएको लामो कुराकानीका क्रममा मैले के अनुभव गरेँ भने भट्टराईमा नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने अदम्य भावना थियो । त्यसका लागि उहाँ नेताको खोजीमा हुनुहुन्थ्यो । उहाँले पुष्पलालको पनि नाम लिनुभएको थियो । त्यसपछि काठमाडौँमा आक्कलझुक्कल भेट भइरहन्थ्यो । अब त समाचारपत्रहरूका माध्यमबाट मात्र भेट हुन्छ ।

मैले यहाँ डा. भट्टराईको प्रसंग ल्याउनुको तात्पर्य के हो भने उहाँमा देश र जनताका लागि काम गर्ने अदम्य उत्साह थियो, त्यसका लागि उहाँ आदर्श नेताको खोजीमा हुनुहुन्थ्यो । दुर्भाग्यवश उहाँको त्यो इच्छा पूरा हुन सकेन र उहाँ आफ्नै नेतृत्वमा आन्दोलनमा होमिनुभयो । आज उहाँ देशको सबभन्दा बढी चर्चित नेताका रूपमा हाम्रो सामुन्ने हुनुहुन्छ र उहाँको अगाडि पैसारूपी रगतको स्वाद पाएको सरकार लाचार देखिन्छ । हामीहरू मनमा सोच्दछौँ मात्र तर बाबुराम भट्टराई मनमा लागेको र सोचेको कुरा लिएर जनतामाझ हुनुहुन्छ । उहाँको सुरक्षा जनताले गरिरहेका छन् । साधन सम्पन्न सरकारले केही गर्न सकेको छैन ।

बाबुराम कुनै चोर डाँका होइनन् कि उनलाई प्रहरी, सेनाले समात्न सकोस् । जनताका लागि काम गर्ने व्यक्तिलाई जित्नु छ भने सरकारले पनि बाबुरामकोभन्दा बढी जनताका लागि काम गर्नुप¥यो अनि माओवादीलाई जितिन्छ । तर पैसारूपी रगतका स्वाद पाएका वर्तमान शासक र नेताहरूबाट त्यो आशा गर्नु व्यर्थ छ । उनीहरूलाई त जनताको रगत पसिनाको होली खेल्नमै मजा आउँछ । (लेख समाप्त)

२३ वर्षअघिको माथिको लेख आज पनि त्यत्तिकै समसमामयिक भएर यहाँ उल्लेख गरिएको हो । शासक र शासित (जनता) को मुलभूत चरित्रमा मुलुकमा यत्रो राजनीतिक परिवर्तन भएपश्चात पनि जनताले आफ्नो जीवनस्तरमा परिवर्तन भएको अनुभूति गर्न सकेका छैनन् । आमजनतालाई कुन तन्त्र, कुन वाद, कुन संविधानअनुसारको सरकार छ त्यसमा खासै सरोकार छैन । उनीहरूको चाहना भनेको त मात्र आफ्नो जीवनस्तरमा परिवर्तन भएको अनुभूति गर्न पाइयोस्, मुलुकमा भ्रष्टाचार नहोस् सरकारद्वारा जनतालाई दिइने सेवा सहजरूपमा प्राप्त होस् भन्नै नै हो । तर दुर्भाग्य ! यस स्थितिमा परिवर्तन भएको छैन ।  

यस्तो विकराल स्थितिमा पहिले गरेका गल्तीबाट पाठ सिक्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरूद्ध अभियान छेडेका छन् । हाम्रो राजनीतिक नेतृत्व र सरकारी कर्मचारीमा भ्रष्टाचारले यति नराम्रोसँग जरो गाडेको छ कि त्यसविरूद्ध उनी दृढरूपमा लाग्दा प्रधानमन्त्री पद नै धरापमा पर्छ । यस्तो विषम परिस्थितिलाई चिरेर प्रधानमन्त्री कसरी अघि बढ्छन्, प्रतीक्षाको विषय छ ।

प्रकाशित: २६ आश्विन २०८० ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App