चार दशकअघि मुलुकमा धानचामल निर्यात कम्पनीमार्फत नेपालमा उत्पादन हुने धानचामल विदेशमा निर्यात हुने गरे पनि अहिले करोडौं रकम बराबरको धानचामल निर्यात गर्नुपर्ने जुन अवस्था आएको छ, त्यो विडम्बनापूर्ण हो । उतिबेला धानचामल निर्यात कम्पनीले मुलुकमा उत्पादन भएको प्रमुख खाद्यबाली धानचामललाई किसानबाट खरिद गरेर निर्यातको काम गथ्र्यो जुन कम्पनी २०३५ सम्म अस्तित्वमा थियो । त्यसयता धानचामल उत्पादनमा मात्रै होइन, समग्र खाद्यान्न उत्पादन घट्दै गएको देखिन्छ । पछिल्लो २० वर्ष अवधिमा त मुलुकको खाद्यान्न उत्पादन निराशाजनक अवस्थामा पुगेको छ । बर्सेनि अर्बौंको खाद्यान्न आयात भइरहेका बेलामा २०७३/७४ मा चामलमात्रै करिब २३ करोड ८८ लाख रुपैयाँको आयात भएको थियो । सरकारी नीतिनियम र योजनाले धानको मान गर्न नजान्दा मुलुकमा धानचामल आयात बढ्दै गएको छ । यसरी मुलुकको खाद्यान्न उत्पादनमा संकट देखिइरहेका बेला यस वर्ष धान उत्पादन बढ्ने भनी जुन किसिमको सरकारी प्रक्षेपण आएको छ, त्यसले थोरै भए पनि आशा जगाएको छ । गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा करिब १ लाख ७० हजार टन धनन उत्पादन बढ्दैछ भनी भएको सरकारी प्रक्षेपणलाई सुखद संकेतका रूपमा लिन सकिन्छ।
गत आर्थिक वर्षमा ५२ लाख ३० हजार टन धान फलेको थियो । आर्थिक वर्ष २०७३/७४ मा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको थियो । चालू आर्थिक वर्ष २०७४/७५ मा अहिलेसम्मको रेकर्ड तोडेर करिब ५४ लाख टन धान फल्ने कृषि मन्त्रालयले प्रक्षेपण गरेको छ, जसअनुसार यस वर्ष १ खर्ब ८ अर्ब रुपैयाँबराबरको धान उत्पादन हुने भएको छ । यो गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान हो । धान रोपण क्षेत्र वृद्धि, अनुकूल मौसम, सिँचाइ, प्रविधि, मल, बिउको राम्रो व्यवस्था हुँदा धान उत्पादन बढ्ने सरकारी अनुमान छ । त्यति हुँदाहुँदै पनि मौसमी अनुकूलताकै कारणले धान उत्पादन बढ्न लागेको हो भन्ने अनुमान गर्न कुनै कठिन छैन । त्यसैले पनि अहिलेको बढोत्तरीको प्रक्षेपणबाट धेरै उत्साहित हुनुपर्ने अवस्था देखिँदैन । मुलुकको खाद्य उत्पादन ‘मौसमीखेती’ रूपमा रहेकाले मौसम प्रतिकूल भएसँग यसको उत्पादन घट्ने सम्भावना पनि उत्तिकै छ।
कृषि आधुनिकीकरणका नाममा आयात प्रणाली अपनाउनुभन्दा स्थानीय खेतीप्रणाली सुधार गर्नुपर्ने र स्थानीय बिउ उत्पादनमा जोड दिनुपर्ने हुन्छ । त्यसका साथै सिँचाइ सुविधा र समयमै मलको व्यवस्था गर्न सकेमात्र कृषि उत्पादन बढ्नेछ । र, जुन अवस्थामा मौसममा मात्रै भर पर्नुपर्ने छैन।
मुलुकको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै योगदान कृषि क्षेत्रको रहेकोमा धानको योगदान ३ प्रतिशत छ । त्यस्तै, कृषिमा धानको योगदान करिब २१ प्रतिशत छ । यसपालि मौसमले साथ दिँदा खेतीको क्षेत्रफल पनि विस्तार भएको छ । गत वर्ष १५ लाख २५ हजार हेक्टरमा धानखेती गरिएकोमा यस वर्ष बढेर १५ लाख ६२ हजार हेक्टर पुगेको छ।
सरकारले ३५ जिल्लामा धान मिसन र २० जिल्लामा बास्नादार धान कार्यक्रम सञ्चालन गरेको छ । धान उत्पादन बढ्नुमा यो कार्यक्रमको प्रभाव पनि धेरथोर रहेको देखिन्छ । जे होस्, विगत चार दशकअघिझैं धानचामल निर्यात गर्ने अवस्थामा पुग्न मौसमी अनुकूलतालाई मात्रै हेर्ने होइन, कृषिमैत्री नीति तथा कार्यक्रमहरु ल्याउन सक्नुपर्छ । कृषि उत्पादनलाई मौसममा भर पर्नुभन्दा खेती प्रणालीमा सुधार गर्नुपर्ने देखिन्छ । सरकारले कृषि उत्पादन र मुख्य रुपमा धान उत्पादनलाई प्राथमिकतामा राखेर योजना बनाउने हो भने पुरानो धानचामल निर्यात कम्पनी पुनस्र्थापना गर्न सकिनेछ । कृषि आधुनिकीकरणका नाममा आयात प्रणाली अपनाउनुभन्दा स्थानीय खेती प्रणाली सुधार गर्नुपर्ने र स्थानीय बिउ उत्पादनमा जोड दिनुपर्ने हुन्छ । त्यसका साथै सिँचाइ सुविधा र मलको व्यवस्था गर्न सकेमात्र कृषि उत्पादन बढ्नेछ । र, जुन अवस्थामा मौसममा मात्रै भर पर्नुपर्ने छैन।
प्रकाशित: १२ कार्तिक २०७४ ०५:३४ आइतबार