१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

के करुणा भाइरल बन्न सक्दैन?

पर हित सरिस धर्म नहिं भाई। पर पीडा सम नहिं अधमाई।।

निर्नय सकल पुरान बेद कर। कहेउँ तात

जानहिं कोबिद नर।।

-रामचरितमानस

अरूप्रतिको उपकार जस्तो धर्म छैन र अरूलाई दुख दिनु जस्तो पाप पनि छैन। व्यक्तिगत जीवनमा होस् या सामाजिक, राजनीतिक र आध्यात्मिक यात्रामा विभिन्न भाइरल दृश्य र धारणाहरूले सामाजिक सञ्जालदेखि लिएर सञ्चारजगत् भाइरल बनेको हुन्छ। ती भाइरल बन्ने समाचार सकारात्मकभन्दा धेरै नकारात्मक घटना र परिस्थिति समेटिएका हुन्छन्। के करूणालाई भाइरल बनाउने कार्य समाजमा भएका छैनन्? जे चिज भाइरल हुन्छ त्यसले धेरै स्थान पाउँछ भने करुणाका पात्रहरू किन भाइरल हुँदैनन्? कि करुणा भन्ने मानवीय स्वभाव मानवबाट हराइसक्यो? हुन पनि जताततै अराजकता र अन्योलता देख्दा र सुन्दा लाग्छ अब करुणा जागृत गराउने समय आएको छ।

एउटा पुरानो कहानी छ-भारतको मुम्बई सहरमा आएको आँधिबेरी र पानीले समुद्रमा समेत बाढी आयो। कहाँदेखि जीवजन्तु, बोट, वृक्ष बगाउँदै ल्यायो। समुद्रका हजारौँ माछा किनारमा पाखा लाग्नुपर्‍यो। भोलिपल्ट बिहानै सयर गर्ने क्रममा एकजना बुद्धिजीवी समुद्र किनारमा पुगे। १० मिनेटसम्म उनले एउटा दृश्यलाई एकटक भएर हेरे। एकजना आठ वर्षको बालकले समुद्र किनारमा छटपटाइरहेका माछालाई एकएक गर्दै हातमा लिंँदै समुद्रको पानीमा फ्याँकिरहेका थिए। १० मिनेटसम्म हेर्ने धैर्य ती बुद्धिजीवीले राखे तर अब उनलाई असह्य भयो र बालकको छेउमा गएर भने-बाबु यो मूर्खतापूर्ण काम होइन?  समुद्र किनारमा रहेका हजारौँ माछा तिमीले बचाउन सक्छौ?

ती बालकले उनको अनुहारमा हेरे, मुसुक्क मुस्काए अनि भने-एउटा माछा फुत्त समुद्रमा फ्याँके, हेर्नुस् त यो त बच्यो नि? यसैगरी एकएक गर्दै मैले करिव १०० माछा त बचाइसकेँ। हेरौँ म एक्लैले जतिलाई सक्छु त्यति बचाउने प्रयास गर्नेछु।

करुणा सानो कुराबाट र आफैँबाट सुरु हुने आत्मिक प्रयास हो। कसैले दुःख पाउँदा सहयोग गर्न एक कदम अघि बढ्नु करुणा हो। करुणा मानिसको हृदयबाट सिधै अभिव्यक्त भएर सहयोग गर्न तत्पर हुने भावना हो। करुणा आफ्नो तर्फबाट मानवीयता प्रस्तुत गर्ने शैली र स्वभाव हो।

करुणा बदला भाव होइन

एकपटक नदी किनारमा बसेर एकजना सन्त ध्यान गर्दै थिए। एउटा बिच्छी आएर उनलाई टोक्यो। उनले बिच्छीलाई करुणापूर्वक समातेर फेरि पानीमै छोडिदिए। केही मिनेटपछि त्यो बिच्छी फेरि आयो र उनलाई टोक्यो। उनले फेरि पनि त्यसरी नै करुणापूर्वक समाते र पानीमा छाडिदिए। एकजना माझी किनारमा बसेर माछा मारिरहेका थिए। उनले यो दृश्य देखिरहेका थिए। ध्यानमा बसेका सन्तलाई बोलाउन त भएन तर कतिबेला उनी ध्यान बाहिर आउलान् र केही भनुँला भनेर पर्खेर बसेका थिए।

जब सन्त ध्यानबाट उठे तब ती माझीले सोधे-महाशय, तपाईँले आफूलाई डस्ने बिच्छीप्रति पनि किन करुणा दर्शाउनुभएको? सन्त मुसुक्क हाँसे र भने-बाबु बिच्छीको स्वभाव अरूलाई डस्नु हो, मेरो स्वभाव अरूलाई बचाउनु हो।

त्यसैले बिच्छीले जे ग¥यो त्यसको बदला लिनु मेरो स्वभाव होइन। यही सूत्र हो आफ्नो हृदयको तलमा बस्नु भनेको। आफू को हुँ भन्ने थाहा भयो भने करुणा स्वतः जागृत हुन्छ। यो आत्मगत र हृदयबाट प्रष्फुटन हुने मानवीय स्वभाव हो। करुणा कसैको दबाबमा, कुनै अपेक्षा र प्रतिस्पर्धाका  आधारमा हुँदैन।

आत्मानुशासनले प्राप्त हुन्छ करुणा

आजको समाजमा हामी हेरौँ, प्रत्येकको जीवनशैली एक अर्काबीचको प्रतिस्पर्धामा चलेको छ। इष्र्या, द्वेष, कलह, लोभलालचले मानवीयता हराउँदै गएको छ। एकले अर्कोलाई हराएर आफू जित्नु र अघि आउनु छ। शारीरिक, मानसिक, सामाजिक, भावनात्मक रूपमै स्वस्थ जीवनशैली र मित्रता छैन।

बसुधैव कुटुम्बकमको मर्म हराइसकेको छ। मानिसको अन्तिम गन्तव्य कहाँ हो भन्ने कुरा भुलेको छ। जीवनको उत्तराद्र्धमा यो समझ आउँदा जीवनमा केही गर्न सक्ने संभावना नै बाँकी रहन्न। सरलता, सहजता, आत्मानुशासन जस्ता आन्तरिक गुणलाई व्यावहारिकतामा ल्याउनु छ।

बाहिरको मेहनतले सबै चिज हासिल हुन सक्छ तर यो जरुरी छैन कि बाहिरको समृद्धिले आन्तरिक शान्ति पनि मिल्छ। शारीरिक स्वास्थ्यभन्दा महत्वपूर्ण हुन्छ मानसिक स्वास्थ्य। त्यसका लागि पनि करुणावान स्वभाव विकसित हुन दिनुपर्छ।

हरेक क्रिया र व्यवहारमा सकारात्मक प्रभाव देख्न सक्ने खुबी आत्मानुशासन हो। सकारात्मक सोच, सकारात्मक परिणाम र सकारात्मक ऊर्जाको खोज आत्मानुशासनबाट प्राप्त हुन्छ।

आनन्द, शान्ति, प्रीति, भक्ति र सौम्य करुणाबाट प्राप्त हुने परिणाम हुन्। जीवनमा सबै चिज चाहने, सुख, शान्ति, प्रेम, सम्मान तर भित्रबाट करुणाभाव छैन भने त्यो चाहना बाहिरी चाहनामा मात्र सीमित हुनेछ।

सम्मान कसरी पाउने, पदोन्नति किन हुने, धन कसरी आर्जन गर्ने सबैका कारण होलान् तर करुणा अकारण प्रष्फुटन हुने मानवीय स्वभाव हो। यो अन्तर्मनबाट प्रष्फुटन हुन्छ। त्यसका लागि बाहिरी व्यवहार र वातावरणले समेत साथ दिनुपर्ने हुन्छ।

करुणाको अभाव क्रोध बनेर प्रष्फुटन हुन्छ जसले व्यक्तिगत स्वभाव, घर समाज र सम्बन्धमा नै नकारात्मक असर पाछृ। सज्जनता, परोपकारी भावना र समाजमा केही सकारात्मक प्रभाव छाड्ने आयाम करुणाभाव हो। मानव कल्याण र निस्वार्थ भावरूपी महान् धर्म परोपकार नै हो।

सर्वे भवन्तु सुखिनः।

सर्वे सन्तु निरामयाः।

सर्वे भद्राणि पश्यन्तु।

मा कश्चित् दुःख भाग्भवेत्।।

यही भाव करुणामा बाँच्न प्रेरित गर्ने सूत्र पनि हो।  

प्रकाशित: २१ आश्विन २०८० ००:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %