१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

हिमालीको थाप्लोमा नाम्लो

पहिलो मुक्तिनाथ यात्रामा झारकोटबाट पाँच रुपियाँमा किनेर ल्याएको सानो शालिग्रामलाई नारायण भनी पूजा गर्न थालेको पनि ४५ वर्ष नाघिसकेछ। समुद्रको पिँधमा थ्रेगिएर शालिग्राममा अवतरित एउटा शंखे कीरा कुन कालखण्डमा कसरी हिमालयको थाप्लोसम्म उक्लिन सफल भयो भन्ने इतिहास आफैँमा रोमाञ्चक विषय हो। भूगर्भ शास्त्रका विद्वानहरू यस्तै जैविक अवशेषका आधारमा हिमालको उत्पत्तिको व्याख्या गर्छन्। प्रसिद्ध भूगर्भ शास्त्री टोनी हागनले थोरुङ्ग भज्याङमा पाँच हजार मिटरको उचाइमा भेट्टाएको एक विशाल शालिग्रामलाई २० करोड वर्ष पुरानो जीव अवषेश भन्ने अनुमान गरिएको थियो। हिमालयको उत्पत्ति भने ५ करोड ५० लाख वर्ष पहिले दुई विशाल भूखण्डको संयोगबाट सुरु भएको अनुमान छ। अफ्रिकी महादेशबाट छुट्टिएर आएको एक भूखण्ड ‘इन्डियन प्लेट' उत्तरतिर लाग्दालाग्दै युरेसियाको ‘एसियन प्लेट'सँग भेट्न पुग्छ। दुई प्लेटको ठेलमेल सुरु हुन्छ।

इन्डियन प्लेट एसियन प्लेटको मुनितिर धसिँदै जान्छ। एसियन प्लेट पिँधैदेखि माथि उठ्न थाल्छ। कालान्तरमा एसियन प्लेटको केही भूभाग उचालिँदै विश्वकै सर्वोच्च पर्वत माला हिमालयमा परिणत हुन्छ। त्यस उतारचढावमा हिमाली खण्डबाट स्खलन भएर बगेर गएका बालुवा र माटोले पुरिएर इन्डियन प्लेट दक्षिण एसियाको विशाल उर्वर भूमिमा परिणत हुन्छ। सिन्धु, गंगा र व्रम्हपुत्रका उर्वर भूमि त्यही हिमालयकै माटोले बनेको हो। त्यहाँ हिमालयकै पानीबाट सिंचाइ हुन्छ र ती क्षेत्र हिमालयकै वातावरणीय सुरक्षा कवचभित्र सुरक्षित छन्। वैज्ञानिकहरूका आंकलनअनुसार हिमालयको औसत उचाइ र सिन्धु, गंगा, ब्रम्हपुत्रमा थेग्रेको माटोको गहिराइमा ठूलो भिन्नता छैन। थेग्राइको गहिराइ पाँच हजार मिटरसम्म रहेको अनुमान छ।

सिन्धु र ब्रम्हपुत्रको अँगालोभित्र पर्ने २ हजार ५ सय किलोमिटर पूर्वपश्चिम फैलिएको हिमालयको आठ सय किलोमिटरको मध्यभाग नेपालको काखमा अवस्थित छ। गंगा नदीको जलाधार र यसले सिर्जेको समथर उब्जाउ भूमिले ओगटेको १० लाख वर्ग किलोमिटरभन्दा ठूलो क्षेत्रफल र त्यहाँका ४० करोडभन्दा धेरै जनसंख्याको जीवनको मूल आधार यही नेपाल हिमालयको जल सम्पदामा निहित छ। हिमाली जनता स्वयं भने जलसम्पदाकेा उपयोगबाट वञ्चित छन्। हिमाल र पहाडका भूस्वरूप र तिनका उचाइहरू के चढ्नका लागि मात्र हुन् त भन्नेमा घोत्लिने बेला आएको छ।

उकालो चढ्नाका सास्तीले सताइएका करोडौं नेपालीमध्ये संखुवासभा जिल्ला, याफु गाविसकी दिदीको भनाइ थियो - "हामीलाई विकास सिकास केही चाहिँदैन। एउटा दुःख हटाई दिनोस्। हाम्रो थाप्लोबाट नाम्लो हटाई दिनोस् ... ..."। त्यो वाक्य मेरो मस्तिष्कमा अझै मडारिरहेको छ। बिहानीको झिसमिसेमा स्याउला बोक्न जाँदा, पँधेरोमा पानी थाप्न जाँदा, खेतवारीको काम मेलापात जाँदा र कहिलेकाँहि हाट बजारमा जाँदासमेत नाम्लोले थाप्लोलाई थिच्न छाडेको हुँदो रहेनछ हिमाली भेगको जनजीवनमा। मकालु वरुण संरक्षणको सिलसिलामा २५ वर्ष पहिले भेटिएकी ती दिदीका नाति भए होलान्, पनाति भए होलान् तर तिनका थाप्लाबोट पनि नाम्लो छुटेको छैन। किनभने हिमालले प्रदान गरेको उचाइ र त्यसमा निहित विशिष्ट शक्तिलाई उपयोगमा ल्याउन हामी सफल हुन सकेका छैनौ। कारण विभिन्न होलान् तर नीतिगत त्रुटिका कुरालाई भने बिर्सन मिल्दैन।

हिमालयलाई तेस्रो ध्रुव पनि भनिन्छ, तर ध्रुवीय हिम भण्डार र आइसबर्गहरूजस्तै हाम्रो हिम भण्डार यत्तिकै पग्लेर पानी बन्ने पदार्थ हैन। हाम्रो हिँउ पग्लेपछि त्यसमा शक्ति पैदा हुन्छ। त्यसैले हिमालको जलस्रोत वास्तवमा शक्ति पनि हो। हिमालय पर्वत निर्माणको प्रारम्भकालदेखि नै यहाँका नदीले माटो र बालुवा बगाई लगेर सिन्धु, गंगा र ब्रम्हपुत्र नदीका पुर्खाले पाकिस्तान, भारत र बंगलादेशलाई मानवोपयोगी खेतीयोग्य भूमि बनाई दिए। वर्तमानमा यी भूखण्डका १ अर्ब ३० करोड जनसंख्याको जीवन आधार विशेष गरेर पिउने पानी, सिंचाइ, उद्योग र विद्युत् शक्ति यिनै पर्वतीय जलस्रोतमा निर्भर छन्। अंगे्रजहरूको उपनिवेशी कालखण्डको इतिहासले पाकिस्तान, भारत, भुटान र पछि आएर बंगलादेश आदि विभिन्न राष्ट्रका रूपमा स्थापित भएतापनि हामी सबै प्राकृतिक परिवेशमा एउटै छातामुनी छौं भन्ने क्षेत्रीय भावनाको विकास हुन सकेमात्र यस क्षेत्रको भविष्य सुरक्षित र सुन्दर बन्छ।

विभिन्न राजनीतिक कारणले समथरका १ अर्ब ३० करोड जनसंख्या र पर्वतीय क्षेत्रका २१ करोड जनसंख्यामा विभाजन र वैमनस्यको बीउ रोप्नु आफू बसेको हाँगा आफैले काट्ने कालीदासको कथालाई चरितार्थ गर्नुजस्तै हुनेछ। पर्वतीय परिवेश र त्यसको प्रभाव क्षेत्रमा पर्ने समथर भूभागको 'नङ र मासुको सम्बन्ध'लाई नेपालभित्रै पनि नेपाली राजनीतिले विच्छेद गर्न थालेको महसुस हुन्छ। त्यसभन्दा अर्को तहमा हेर्दै जाने हो भने नेपाल र भारतको सम्बन्ध अझ गहिरिएर हेर्नुपर्छ। जलस्रोतका विशेषज्ञ अजय दीक्षितको चर्चित पुस्तकलाई मनन गर्ने हो भने दुईपक्षीय जलयात्राले नेपालको राजनीतिक स्थायित्व र विकासलाई भन्दा अस्थिर राजनीति र संक्रमणकाललाई मलजल गरेको स्पष्ट हुन आउँछ। त्यसमा नेपाली नेतृत्वको व्यक्तिगत वा पार्टीगत स्वार्थले घिउ थप्न कल्यिलै छोडेन।

फलस्वरूप आजको नेपाललाई नेतृत्व गर्नेहरू कवि भूमि शेरचनका 'क्यारमबोर्डका गोटी' जत्तिकै निरीह बन्न पुगेको उदाहरण एकपछि अर्को आउन थालेको छ। हुँदाहुँदा बहालवाला प्रधानमन्त्री माधवकुमार नेपाललाई 'अब माधवकुमार इन्डिया भनिदिए हुन्छ' भन्ने सार्वजनिक अभिव्यक्ति राष्ट्रिय दैनिक पत्रिकामा पढ्न पाउँछौ। त्यो पनि बुद्धिजीवी, पेसाकर्मी, व्यवसायी र नागरिक समाज लगायतसँगको वृहत् अन्तर्क्रिया कार्यक्रममा। त्यसैले भूपिको 'घुम्ने मेचमाथि अन्धो मान्छे' नामक कविता संग्रहमा रहेको त्यो कविता एकपल्ट फेरि पढ्न मन लागेको छ।

‘हामी आफूखुसी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाई दिनुपर्ने,
हामी आफूखुसी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाई दिनुपर्ने,
हामी आफूखुसी कहिल्यै अगाडि बढ्न नसक्ने

कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रंग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारिम बोर्डका गोटी हौं
एउटा मनोरञ्जन खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित,
आफ्नो गति हराएका

एउटा 'स्ट्राइकर' द्वारा सञ्चालित
हो, हामी मानिस कम र बढ्ता गोटी हौं
वर्तमान विश्वको विकास र वातावरणीय प्रभावलाई दृष्टिगत गरेर सुरक्षित भविष्यका लागि नौलो अवधारणा विश्वव्यापी हुन थालेको छ। त्यस अवधारणालाई ‘पेमेन्ट फर इन्भाएरोमेन्टल सर्भिसेज' अर्थात् वातावरणीय सेवाबापतको तिरो भन्ने गरिन्छ।

तसर्थ गंगा र ब्रम्हपुत्रको जलाधारलाई स्वच्छ र सुरक्षित राख्ने काममा नेपाल र नेपालीको योगदानको मूल्यांकन हुन आवश्यक छ। नेपालले आपी र सैपालदेखि कञ्चनजंघासम्मको हिमाली क्षेत्रलाई संरक्षित क्षेत्रको कोटीमा राखेर यस क्षेत्रको वातावरणलाई सन्तुलित राख्न तथा हिमाली जलभण्डारलाई सुरक्षित राख्न विशेष योगदान पुर्‍याएको छ। यस यथार्थलाई राजनीतिक तहसम्म पुर्‍याएर क्षेत्रीय सहअस्तित्वको वातावरण सिर्जना गर्नु वर्तमान समयको माग हो। यसका लागि प्रत्येक राष्ट्रले अर्को राष्ट्रको स्वाभिमानी अस्तित्वलाई स्वीकार्नु आवश्यक हुन्छ। त्यसलाई खलबलाउन हुँदैन।

द्विपक्षीय, बहुपक्षीय वा अन्तर्राष्ट्रिय योग र सहयोगबाट जलविद्युत एवं सिंचाइका केही ठूला योजना र परियोजना कार्यान्वयन भएपनि सम्बन्धित जलाधार क्षेत्रको दुर्गम गाउँ बस्तीमा बस्ने नेपालीको थाप्लोबाट नाम्लो हट्ने सम्भावना छैन। तिनका लागि छुट्टै सोच हुनुपर्छ। पर्वतीय परिवेशको विशेषतामा आधारित विकास नीतिको खोजी गर्न आवश्यक पर्छ।

हिमाली परिवेशको तुलनात्मक विभिन्न विशेषतालाई आफ्नै ठाउँमा छोडेर जलस्रोतको प्रवर्द्धनतिर एकाग्रह हुँदा विगतका त्रुटिलाई दोहर्‍याउन हुँदैन। यस सन्दर्भमा अजय दीक्षितको एउटा पंक्ति मननीय छ।

‘विगतमा नेपाल-भारत जलस्रोत सम्बन्ध मुख्यतया ठूला आयोजना निर्माण गरी बिजुली निर्यात गर्ने अवधारणाले मात्र निर्देशित रह्यो। यस बाटोले न त सिर्जनात्मक द्विपक्षीय सहयोग सुरु गर्‍यो न नेपालकै आधारभूत आवश्यकता परिपूर्ति गर्ने बाटो संस्थागत हुन सक्यो।'

नेपालको विकासलाई संस्थागत गर्ने विषयतर्फ सोच्यौं भने विक्रम सम्वत् २००७ सालदेखि आजसम्म पनि हाम्रो राजनीतिक धरातल संक्रमणकालमा रहेको अनुभव हुन्छ। कुनै पनि सरकार, राजनीतिक दल वा अर्थ व्यापारी संघसंस्थाको स्थिरतालाई नेपाल-भारत जलस्रोत सम्बन्धले प्रभाव पारिरहेको आभास हुन्छ। तसर्थ जबसम्म हामी आफै आफू खुसी मिल्न सक्दैनौ, आफूखुसी अगाडि बढ्न सक्दैनौ र, हामी मानिस ज्यादा र गोटी कम हुन सक्तैनौ हामीले यो अन्तहीन संक्रमणकालको यात्राबाट त्राण पाउँदैनौ।

पुनश्चः हिमालयजस्तो विशिष्ट प्राकृतिक सम्पदाले सम्पन्न एसियाली मुलुकहरू जबसम्म आपसी सह-अस्तित्वको मर्मलाई मनन गरेर अगाडि बढ्दैनन् र राजनीतिक खिचातानीको भड्खालोभित्रै रमाउन रुचाउँछन् त्यस बेलासम्म नेपाललगायत अन्य छिमेकी राष्ट्रले पनि विकासको बाटो बहुसंख्यक गरिब र निमुखा जनताका दैलोसम्म पुर्‍याउन सक्दैनन।

 

प्रकाशित: ५ जेष्ठ २०६७ २२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %