१६ चैत्र २०८० शुक्रबार
विचार

साहसिक र ऐतिहासिक

लोकतन्त्रमा जनता सबैभन्दा निर्णायक शक्ति हुन्छन् भनिन्छ तर असंगठित जनताहरू सधैँ संगठित शक्तिशाली निकायबाट शासित भएर निरीह भइरहेका हुन्छन् । असंगठित जनता जहिले पनि अल्पमतमा रहिरहन्छन् र संगठित अल्पमतले असंगठित बहुमतलाई शासन गरिरहेको हुन्छ । त्यसकारण लोकतन्त्रमा संगठन नै शक्ति हो । कुनै पनि राज्यमा शासक र शासित वर्ग हुन्छ । शासक र शासितबीचको दूरी चेतनाको स्तरले निर्धारण गर्छ । अत्यधिक चेतनशील शासित वर्ग भएको ठाउँमा शासक वर्गले न्यूनतम र कानुनी तवरमा शासन गर्छन् र जनताले प्रत्यक्ष सहभागितामा आवधिक निर्वाचनको माध्यमले शासकहरूको छनौट गर्छन् । त्यस्तो ठाउँमा सुशासन जनताको नैसर्गिक अधिकारका रूपमा स्थापित भएको हुन्छ । आधुनिक विकसित देशहरू त्यस्तै शासन व्यवस्थाका परिणाम हुन् ।

जहाँका जनताको चेतना कमजोर रहन्छ, त्यस्तो ठाउँमा परम्परागत शक्ति वा देखावटी निर्वाचनको आधारमा शासक वर्गले अत्यधिक कठोर रूपमा शासन गर्छन् र शासकले आफ्ना सबै कर्तुतहरूलाई नियम र कानुनको आवरणमा वैध साबित गर्दै निरन्तर जनताको शोषण गर्दछ । शासकवर्गले आफ्नो स्वार्थ सिद्धिका लागि र सचेत नागरिकहरूले आफ्नो स्वतन्त्रता प्राप्तिका लागि निश्चित दर्शन वा सिद्धान्तभित्र गोलबद्ध भएर सिद्धान्तअनुरूप व्यवहार गर्दै लक्ष्य प्राप्तिको दिशामा अग्रसर हुनु नै राजनीति हो । लोकतन्त्रमा राजनीतिको अन्तिम लक्ष्य भनेको नै राज्यसत्ता प्राप्त गरी आफूले चाहेअनुसारको संविधान, नियम, कानुन, नीति, योजना आदि निर्माण गरी समाजलाई प्रगतिपथमा लैजानु हो । राजनीति समाजको अभिन्न अंग हो । राजनीतिविनाको कुनै पनि समाजको परिकल्पना गर्न सकिँदैन । समाज जनतासँग सम्बन्धित छ भने राजनीति जनताको चेतनासँग । जब जनताको संगठनका रूपमा राजनीतिक पार्टीहरू सशक्त हुन्छन् तब मात्र जनताले चाहेअनुसारको शासन व्यवस्था स्थापित हुन्छ ।

झट्ट हेर्दा चुनावी एकता मात्रै वा पार्टी एकीकरणजस्तो मात्रै देखिएला तर यसभित्रको अन्तर्यात्रा र सम्भावनालाई केलाउने हो भने नेपालको इतिहासमा नयाँ नेपालको आधारशीला निर्माण गर्ने ऐतिहासिक सुरुवात वा आधारशीला हो, यो । ।


जुन समाज बढी चेतनशील हुन्छ, त्यहाँको राजनीति पनि त्यति नै पारदर्शी, जिम्मेवार र जवाफदेही हुन्छ । आधुनिक राजनीतिलाई सफल, जिम्मेवार र जवाफदेही बनाउने माध्यम भनेको राजनीतिक पार्टीहरू हुन् । राजनीतिक पार्टीहरूको अन्तिम उद्देश्य भनेको राज्यसत्तामा नियन्त्रण गरी आफ्नो सिद्धान्तअनुसार शासन सञ्चालन गर्नु हो । लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनताको मतद्धारा बहुमत ल्याएर सरकार सञ्चालन गर्नु र आफ्नो राजनीतिक दर्शन मुताबिक राज्यलाई अगाडि बढाउने माध्यम भनेको नै राजनीतिक पार्टीहरू हुन् । राजनीतिक पार्टीहरू वर्गीय हुन्छन् किनकि सबै समाजहरू वर्गीय र विविधतायुक्त हुन्छन् । समाज वा देशमा विभिन्न प्रकारका राजनीतिक पार्टीहरू हुन्छन् जसका आफनै लक्ष्य र उद्देश्य हुन्छन् । वर्ग, रहन, सहन, भेषभूषा, पेसा–व्यवसायअनुसार जनताका पनि आफ्नै लक्ष्य र उद्देश्य हुन्छन् र आफ्ना लक्ष्य र उद्देश्यहरूसँग सामीप्य भएका राजनीतिक पार्टीहरूलाई उनीहरूले आफ्नो पार्टीको रूपमा स्वीकार गर्छन् ।

यसरी हेर्दा जुन पार्टीको लक्ष्य र उद्देश्य सबैभन्दा वढी जनताको लक्ष्य र उद्देश्यहरूसँग मेल खान्छ, त्यही राजनीतिक पार्टी सबैभन्दा जनप्रिय हुन्छ । हालसालै सम्पन्न स्थानीय निकायको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीहरूलाई अधिकांश जनताले मन पराएको देखियो । आवरण र भाषणमा यी सबै पार्टीहरूले लोकतन्त्रको संवर्धन, आर्थिक विकास, सुशासन आदि जेजस्ता नारा दिए पनि २०४७ सालदेखि निरन्तर सरकारमा छन् तर जनताले चाहेजस्तो शासन दिन सकेका छैनन् भने राजनीतिक स्थिरताको जतिसुकै वकालत गरे पनि २५ वर्षमा २६ वटा सरकार निर्माणमा यिनै दलको भूमिका छ । यसले स्पष्ट सन्देश के दिन्छ भने यिनै दलहरूको नेतृत्वमा, यही संविधानमुताबिक नेपालमा राजनीतिक स्थिरता र स्थायी सरकार सम्भव छैन तर जति नै गुनासो गरे पनि अन्ततः नेपाली राजनीतिको नेतृत्व गर्ने वर्ग यही हो, त्यसकारण जब यस वर्गले आफ्नो सोच्ने र काम गर्ने शैलीमा परिवर्तन ल्याएर सकारात्मक कदम चाल्छ तब हाम्रो देश र समाजले गति लिन थाल्छ र विकासको मार्गमा अगाडि बढ्छ । आशा गरौँ अब यस्तो नै हुनेछ ।

हामीलाई नेपालको आफ्नै र दुनियाँको अनुभवले के सिकाएको छ भने जबसम्म स्थिर सरकार हुँदैन, विकास सम्भव हँुदैन । खालि भाषण र कुराले विकास हुँदैन । अधिकारका खोक्रा कुरा गर्ने तर आफूले चुनाव हारे पनि श्रीमतीलाई र पैसावालहरूलाई पद बेच्ने अनि अधिकार खोसियो भन्दै जनतालाई आहूति दिन आह्वान गर्ने निकृष्ट नेतृत्वको बोलवाला भइन्जेलसम्म देशमा न त राजनीति स्थितर हुन सक्छ, न त विकास नै । लोकतन्त्र र विकासको सपनामा आफ्नो प्राणको आहूति दिने, अंगभंग भएका, घाइते भएका, घरबारविहीन भएका, दुई छाक खान र सहज उपचार र शिक्षाको सपना देखेका, देशलाई सम्पन्न बनाएर नेपाल र नेपालीको उच्च पहिचान हेर्न लालायित जनताहरूको इच्छा र चाहना पूर्ति गर्न कठोरभन्दा कठोर कदम चालेर परिणाम ल्याउन निकै लामो कष्टपूर्ण राजनीतिक त्याग, संघर्ष र बलिदान भएका नेताहरूबाट जनताले अपेक्षा गर्नु अत्यन्त स्वाभाविक हो ।

करिब ७५–८० वर्षको राजनीतिक इतिहास भएका नेपाली कांग्रेस र कम्युनिस्टका नेताहरूले सदैव महसुस गरेको राजनीतिक अस्थिरताको स्रोतका रूपमा रहेका राजनीतिक लक्ष्य र उद्देश्यविहीन साना राजनीति पार्टीहरू र असहिष्णु एवं अदूरदर्शी र जवाफदेहीविहीन र गैरजिम्मेवार नेतृत्वपंक्ति हो । जबसम्म राजनीतिक पार्टीहरू बलियो र संस्थागत हँुदैनन् तबसम्म विकासले गति लिन सक्दैनन् । राजनीतिशास्त्रको यो सर्वस्वीकार्य तथ्यलाई गत हप्ता मोर्चाबन्दी गरेर पार्टी एकताको यात्रा तय गरेका वामपन्थी पार्टीहरूले नेपालको राजनीतिक इतिहासमा एकपटक फेरि आशलाग्दो अग्रगामी निर्णय गरेर राजनीतिक परिपक्कता प्रदर्शन गरेका छन् भने मध्यम, निम्न मध्यम र निम्नवर्गीय तथा राष्ट्रिय पुँजीपतिहरूका लागि आशलाग्दो अवस्था सिर्जना गरेका छन् । यस मोर्चावन्दीले लोकतन्त्रको स्थायित्व र संवर्धनका लागि सत्तारूढ नेपाली कांग्रेसलाई भरपर्दो प्रतिस्पर्धी र सहयात्री भएको सन्देश दिएका छन् ।

यस मोर्चाबन्दीले कम्युनिस्टहरूमा त एक प्रकारको उत्साह र उमंग पैदा गरेकै होला, यसका अलावा नेपाली कांग्रेसलगायतका लोकतान्त्रिक शक्तिहरूलाई पनि कम्युनिस्टहरूको चुनाव र लोकतन्त्रप्रतिको प्रतिबद्धताले उत्साही बनाएको हुनुपर्छ । विशेषतः नेपालको लोकतन्त्रका लागि नेपाली कांग्रेसको उत्प्रेरणामा कम्युनिस्टहरूको सहकार्यको उत्कृष्ट नमुनाका रूपमा नेपाली कांग्रेसले यस सहकार्यलाई ग्रहण गर्न सक्नुपर्छ । विभिन्न टुक्राहरूमा विभाजित नेपाली कम्युनिस्टहरूलाई एकीकृत हुन नेपाली कांग्रेस र यसका नेताहरूले खेलेको भूमिकालाई कम्युनिस्ट नेताहरूले सवर्था प्रशंसा नै गर्न सक्नुपर्छ । २०४६ सालमा गणेशमान सिंंहको प्रेरणाले बनेको वाममोर्चाका कारण नै तत्कालीन माले र माक्र्सवादीबीच एकताको आधारशीला तयार भएको थियो भने गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा भएको १२ बुँदेले अन्ततः आगो र पानीजस्ता एमाले र माओवादी केन्द्रलाई एक बनाएर छोड्यो ।

एक प्रकारले झट्ट हेर्दा यो चुनावी एकता मात्रै वा पार्टी एकीकरणजस्तो मात्रै देखिएला तर यसभित्रको अन्तर्यात्रा र सम्भावनालाई केलाउने हो भने नेपालको इतिहासमा नयाँ नेपालको आधारशीला निर्माण गर्ने ऐतिहासिक सुरुवात वा आधारशीला भन्न सकिन्छ । यो नै नयाँ नेपाल निर्माण गरेर समुन्नत नेपाल निर्माण गर्ने प्रमुख निर्णय हो । पक्कै पनि तीनै पार्टीका नेताहरू यस एकताप्रति प्रतिबद्ध हुनुहुन्छ र बाँकी जीवन यस एकतालाई उचाइमा पु¥याउन योगदान दिनुहुनेछ । करिब करिब ऊर्जाशील जवानी संघर्ष र त्यागमा बिताएका यी तीनै पार्टीका नेताहरूले नयाँ पुस्तालाई दिएको सबैभन्दा महत्वपूर्ण र गौरवशाली उपहार हो, यो । त्यसकारण उपहार दिने र प्राप्त गर्ने सबैले यसलाई सम्मान गरेर यसको भावना र मर्मअनुसार आफूलाई प्रस्तुत गर्न सकेमा नेपालमा नेपाली रूपका देग सियाओ पिङ, लि क्वान यु वा मोहम्मद माथिरजस्तै नेताको जन्म हुने आधारशीला तयार भएको छ ।

त्याग, बलिदान र संघर्षले भरिपूर्ण गर्विलो इतिहास बोकेका नेताहरूको अगाडि नयाँ नेपाल निर्माणको आधारशीला तयार गरेर समुन्नत र समृद्ध नेपाल नयाँ पुस्तालाई हस्तान्तरण गर्ने दुर्लभ तर महत्वपूर्ण अवसर तयार भएको छ । यस एकतालाई सार्थक बनाउन तीनै पार्टीका सबै तह र तप्काका नेतृत्वले यसमा अन्तर्निहित सकारात्मक पक्ष, यसले सिर्जना गर्न सक्ने अवसर र त्यसबाट पर्न सक्ने सकारात्मक प्रभावबारे ससम्मान खोजी गर्न सक्नुपर्छ । नेपाली कम्युनिस्टहरूलाई यो एकताका लागि प्रेरित गरिरहने नेपाली कांग्रेस, भारत र अन्य विपक्षी पार्टीहरूलाई पनि यस एकताका पक्षधरहरूले धन्यवाद दिनुपर्छ । यस एकताले एकीकृत पार्टीलाई त फाइदा पुग्ने नै छ । यस एकतालाई सकारात्मक तरिकाले उपयोग गर्न सकेमा दसौँ वर्षसम्म नेपाल कम्युनिस्ट पार्टीको स्थायी सरकार निर्माण गरेर तीव्र आर्थिक विकास गरी समग्र नेपालको पहिचानमा आमुल रूपान्तरण ल्याएर नेपाली जनतालाई समृद्धिको स्वाद चखाउने अवसर पनि प्राप्त हुनेछ । यस ऐतिहासिक र साहसिक कदमका लागि यस एकताका आर्किटेक्चरहरूलाई हार्दिक धन्यवाद । नेपाली कांग्रेसको नेतृत्वमा पनि बृहत् लोकतान्त्रिक गठबन्धनको प्रयासले सार्थकता पाओस् र नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको आधार बलियो बनोस् ।

प्रकाशित: २५ आश्विन २०७४ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App