२५ श्रावण २०७७ आइतबार
विचार

वाम एकता बुझ्ने तरिका

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता कतिपयलाई रोमाञ्चक लागेको छ । कतिपयले यसलाई विष्मय मानेका छन् । कतिपयले चमत्कार ठानेका छन् । एकता घोषणाको यो एक हप्ता नेपालका वामपन्थीहरूको यो मिलनमा नै नेपाली राजनीति केन्द्रित भएको छ । गैरवामपन्थी पार्टी पनि यही घटनाका कारण चलायमान बनेका छन् । गणतन्त्र नेपालको राजनीतिमा ठूलो वा सानो जुनसुकै हैसियतमा होस्, माओवादी नेता प्रचण्ड राजनीतिको केन्द्रमा छन् । उनका हरेक क्रियाकलापले नेपाली राजनीतिमा तरंग पैदा गर्ने गरेको छ । राजनीतिक उतारचढाव ल्याउने गरेको छ ।

यो वाम एकतालाई नकारात्मक कोणबाट मात्र प्रहार गर्न जरुरी छैन । यसलाई लोकतन्त्रवादीका लागि अवसरका रूपमा बुझ्न पनि जरुरी छ ।

नेपाली राजनीतिमा वामपन्थी एकता कुनै आश्चर्यको घटना होइन । यसले ल्याउने परिणाम नौलो भएछ भने त्यसबेला यसको अर्थ पनि होला । किनकि पहिलो संविधान सभामा झण्डै दुई तिहाई वामपन्थी थिए । पहिलो संविधानसभाभर वामपन्थी सरकार नै चल्यो । तर न संविधान बन्यो, न दोस्रो संविधानसभामा कम्युनिस्टहरू पहिलो पार्टी बन्न सके । त्यसै पनि संविधान र कानुनले नेपाली राजनीतिमा धेरै दलको औचित्यलाई निष्क्रिय पार्न खोजेकै छ । व्यवस्थापिका–संसद्को स्वरूपमा राष्ट्रिय दलको मान्यता पाउन राखिएको थ्रेसहोल्डले धेरै पार्टीको अस्तित्व स्वीकार गर्ने अवस्था छैन । स्थानीय तहको पछिल्लो निर्वाचनलाई नै आधार मान्ने हो भने पनि ३ प्रतिशत मत ल्याउने कति पार्टी भए होलान् ? मधेस भूमि केन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाल सीमित क्षेत्रमा निर्वाचन लडेकाले उसको यथार्थ हैसियत नदेखिएला तर सबै चुनावमा सहभागी भएको र प्रदेश नम्बर २ मा चौथो स्थान ल्याउने संघीय समाजवादी फोरम नेपाल भन्दा राजपा नेपालले आफूलाई ठूलो बनाउने सम्भावना देखिएन ।
स्थानीय निर्वाचनले तीनवटा पार्टीलाई स्थापित गरेको हो । ७ सय ५४ स्थानीय तहका प्रमुखमा ठूलो हैसियत बनाएको एमालेको कुल मत र नेपाली कांग्रेसको मतमा त्यति धेरै ठूलो अन्तर छैन । कांग्रेसका कतिपय मत माओवादीसँग जोडिएका छन् भने माओवादीको मत पनि यथार्थ होइन, कांग्रेसको मत ऊसँग छ । मधेसी दल एक ठाउँमा उभिँदा ३ प्रतिशतको हैसियत पक्कै राख्नेछन् । तर कुनै एउटा पार्टी कुल मतको तीन प्रतिशत हुने सम्भावना कम छ । दोस्रो संविधानसभामा एक सिट पनि प्रत्यक्ष चुनाव नजितेर पनि संसद्को चौथो पार्टी बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (अहिलेको राप्रपा)अत्यन्त कमजोर अवस्थामा पुगेको छ । अरु जति पनि पार्टी छन्, उनीहरू क्षेत्रीय वा स्थानीय पार्टीमा सीमित हुने निश्चित छ ।
समानुपातिक निर्वाचन प्रणालीले कुनै राजनीतिक दललाई स्पष्ट बहुमत दिलाउने सम्भावना संविधान सभाका दुई निर्वाचनले देखाएन । ३ प्रतिशतको थ्रेस होल्डले साना दललाई नियोजन गरे पनि कुनै एक दलको स्पष्ट बहुमत नआउने खतरा कायमै छ । यो अवस्थामा मुलुकमा थोरै तर राजनीतिक आस्थाका आधारमा चुनिने दलले मात्र राजनीतिक स्थायित्व र विकास गर्न सक्छन् । यो मुलुकको राजनीतिक यथार्थ भनेको तीन राजनीतिक दर्शनको सम्भावना हो । राणा शासन समाप्त गरेर प्रजातन्त्र ल्याउने कांग्रेस नै हो । उसबेलाको कांग्रेस वामपन्थी झुकावको लोकतान्त्रिक पार्टी हो । राजनीतिक भाषामा सेन्टर टु लेफ्ट ! प्रजातान्त्रिक समाजवाद यसको राजनीतिक आदर्श हो । राजा महेन्द्रले दलीय पद्धति समाप्त पारेर निर्दलीय शासन चलाउँदा नेपालका कम्युनिस्टलाई एक दलीय पद्धति र निर्दलीय पद्धति उस्तै हो जस्तो लाग्यो । कांग्रेसलाई कमजोर बनाउन राजा महेन्द्रले कम्युनिस्टलाई बढावा दिए । पञ्चायतलाई टिकाउन सहयोग गर्नेमा कांग्रेसभन्दा कम्युनिस्ट नै बढी थिए । यस अर्थमा राजा महेन्द्रले दक्षिणपन्थी र वामपन्थी एकैपटक एउटै कारखानाबाट उत्पादन गरे । कांग्रेसको शव्दकोशबाट समाजवाद विलुप्त हुँदै गरेको जस्तो अवस्थामा कांग्रेस सेन्ट्रिस्ट पार्टी जस्तो देखिन्छ । यद्यपि, उसको आदर्श वाक्य राष्ट्रियता, लोकतन्त्र र समाजवाद कायमै छ ।
यसरी दक्षिणपन्थी, मध्यमार्गी र वामपन्थी तीन धार नेपाली राजनीतिमा देखिनुपर्ने हो । कांग्रेस र कम्युनिस्टको राज्यसत्ता सञ्चालनमा देखिएका कमजोरीका कारण दक्षिणपन्थी पनि एउटा शक्ति जस्तो लागे पनि नेपाली जनमतले दक्षिणपन्थ रुचाएको देखिँदैन । यसको स्वाभाविक अर्थ, लोकतन्त्रवादी र वामपन्थी दुई धार नै नेपाली राजनीतिको मूल प्रवाह हो । पछिल्लो समय, भूगोलको आदर्श बोकेका मधेसी दलहरूको गठबन्धन एउटा राजनीतिक आदर्शभन्दा पृथक पहिचानको शक्ति भएर देखापरेको छ । त्यसैले मधेस–राजनीति नेपाली राजनीतिको तेस्रो शक्ति हो । राजनीतिक दर्शनमा ऊ वामपन्थी र लोकतन्त्रवादीको समिश्रण जस्तो देखिन्छ । आदर्शका रूपमा उनीहरू न वामपन्थी हुन, न लोकतन्त्रवादी ! तर उनीहरू वर्गीय चरित्रमा वाम रुझान र राजनीतिक स्वतन्त्रताका मामिलामा लोकतन्त्रवादी देखिन्छन् । उनीहरूको नेतृत्व पनि कांग्रेस वा कम्युनिस्ट पार्टीको पृष्ठभूमिबाटै आएको छ ।
नेपाली राजनीतिको यति लामो पृष्ठभूमि व्याख्या गर्नुको आशय नेपालमा धेरै दल आवश्यक छैनन् भन्ने हो । नेपालका वामपन्थी सौभाग्यवश एकीकृत भए भने अर्को शक्ति पनि त्यसरी नै केन्द्रीकृत हुनेछ र दुई वा तीन पार्टीमा राज्यसत्ताको साँचो पुग्नेछ । मतदाताले सत्ता राजनीतिको जोड÷घटाउमा होइन, राजनीतिक आदर्शका आधारमा नेतृत्व छान्ने अवसर पाउनेछन् । यो घटनाबाट कांग्रेस अत्तालिएको कसैलाई लागेको छ भने त्यसको कुनै अर्थ राख्दैन । कम्युनिस्टका कारण मुलुकमा हुन सक्ने सम्भावित खतराप्रति सचेत अर्को पक्ष स्वाभाविकरूपमा कांग्रेससँग मिल्न बाध्य हुन्छ वा ती पक्षलाई संगठित गर्ने दायित्व कांग्रेसमा रहन्छ । राजनीति संग्लिँदै जाँदा दुनियाँमा दुई, तीन पार्टी नै बाँकी रहने गरेका छन् । विकसित मुलुकका राजनीतिले पनि त्यही देखाएको छ । दुनियाँमा एउटै पार्टीले शासन गर्न तानाशाह नै जन्मनुपर्छ, अब त्यो हिम्मत नेपालमा प्रचण्डसँग पनि छैन । अन्यथा भारतको कांग्रेस आई लामो समय सत्तामा रहँदै आएको पार्टी थियो । मोदीग्रन्थले अर्को एकपटक भारतीय जनता पार्टीलाई शासनसत्ताको बागडोर दिएछ भने पनि तेस्रो पटक भारतीय नागरिकले उसको विकल्प पक्कै खोज्नेछन् । त्यसैले वाम एकताका कथालाई बिर्सेर विश्लेषण गर्ने हो भने पनि कोही कसैसँग डराउनु वा तर्सनुपर्ने कारण नै छैन ।
केपी ओलीले गर्ने उखान टुक्का जस्तो मात्रै कांग्रेस हुन्थ्यो भने माओवादीसँग लगनगाँठो कस्न ओली आफैंँ अत्तालिने थिएनन् । स्थानीय तहमा पहिलो पार्टी भइरहँदा केन्द्रीय राजनीतिमा पहिलो नहुने खतराले नै ओलीले प्रचण्डको काँध चढ्नुपरेको हो । एमाले हुनु र माओवादी हुनुको अन्तर बुझेर नै स्थानीय तहमा नागरिकले मतदान गरेका हुन् भने एमाले र माओवादीलाई एउटै ठानेर मत दिने छैनन् । कांग्रेसका शुभेच्छुकलाई माओवादीलाई मत दिन जति कठीन भएको थियो, भर्खरमात्र ओलीका प्रहारविरुद्ध मत मागेका माओवादीलाई त्योभन्दा कम कष्ट हुने छैन । वाम एकताले कांग्रेसको राजनीतिमात्र प्रभावित हुँदैन, अरु दल पनि प्रभावित हुन्छन् । उनीहरूलाई संगठित र व्यवस्थित गर्न कांग्रेसले थालेको प्रयत्नले पनि एकताको सम्भावनालाई बढाएकै छ । यी सबै भएनछ र वाम एकताका नाममा लोकतन्त्रवादीहरू पराजीत नै भएछन् भने पनि आवधिक निर्वाचन छलेर जाने सत्ता जन्मने छैन । कांग्रेस २०५१ मा पनि एक्लै हारेको हो, २०५६ मा जितेकै हो । २०६४ मा पनि जितेको होइन । र पनि, कांग्रेस फेरि २०७० मा पहिलो पार्टी भएकै हो ।
कांग्रेसका लागि अर्को सुखद पक्ष के हो भने गिरिजाप्रसाद कोइरालाको उन्नयनसँगै घात÷अन्तर्घातबाट कांग्रेस पीडित रहँदै आयो । कांग्रेस हारेको छ भने आफ्नै कारणले हारेको छ । कांग्रेसभित्रको अनुशासनहीनताले कांग्रेसलाई हराएको छ । त्यसैले वामपन्थी एकताले पराजयको त्रास कांग्रेसमा बढेको छ भने घात÷अन्तर्घातका खेल अब पक्कै बन्द हुनेछन् । अरुलाई एकीकृत गर्दै गरेको कांग्रेसले आफ्ना कारण आफूलाई हार्न दिने छैन । ६०÷४० को भागबन्डाका कारण एमाले र माओवादीका असन्तुष्टहरू नै घात÷अन्तर्घातको खेलमा लागे भने कुनै आश्चर्य हुने छैन । त्यसैले यो वाम एकतालाई नकारात्मक कोणबाट मात्र प्रहार गर्न जरुरी छैन । यसलाई लोकतन्त्रवादीका लागि अवसरका रूपमा बुझ्न पनि जरुरी छ ।

प्रकाशित: २३ आश्विन २०७४ ०९:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App