२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

सोसल मिडियाको कुलत

सोसल मिडिया समाजको एक अभिन्न र महत्त्वपूर्ण अंग बनेको छ। सोसल मिडियाका कारण नै सारा संसार मानिसको घर–घरमा, हात–हातमा पुगेको छ। सूचना आदान–प्रदान गर्न, मनोरञ्नात्मक कार्यक्रम हेर्न तथा खेल्न, ज्ञानगुन र सिपका कुरा प्रस्तुत गर्न तथा सिक्न सोसल मिडिया वरदान साबित भएको छ। सोसल मिडियाका कारण नै आफन्त तथा साथीसंगीसँग सिधा सम्पर्क गर्न सजिलो भएको छ। सोसल मिडियामार्फत निःशुल्क र तुरुन्त सन्देश, फोटो तथा भिडियो आदान–प्रदान गर्न सकिन्छ। ‘फेस टु फेस’ कुराकानी गर्न सकिन्छ।  

सोसल मिडिया अभिव्यक्तिको सशक्त माध्यम पनि हो। त्यसैले हिजोआज सोसल मिडिया अन्याय, अत्याचार र भ्रष्टचारका विरुद्ध आवाज उठाउने सशक्त साधन पनि भएको छ। सोसल मिडियाका कारण सामाजिक मुद्दालाई आममानिससम्म पुराउन सकिन्छ। डा. गोविन्द केसीको आन्दोलन होस् वा निर्मला पन्तको हत्या प्रकरण होस्, सशक्त बनाउन सोसल मिडियाको भूमिका महत्त्वपूर्ण  रहेको सर्वविदितै छ। नागरिकलाई राजनीतिकरूपमा जागरूक बनाउन पनि सोसाल मिडियाले महत्त्वपूर्ण भूमिका खेलेको छ।  

लोकप्रियताको प्रचारप्रसारमा पनि सोसल मिडिया एक उत्तम मञ्च हो जसको सहायताबाट व्यक्ति स्वयंको अथवा आफ्नो कुनै उत्पादनलाई लोकप्रिय बनाउन सक्छ। सोसल मिडियाको यही विशेषताका कारण हिजोआज सिनेमाको ट्रेलर तथा टिभि प्रोग्रामहरूको प्रसारणसमेत सोसल मिडियाको माध्यमबाट हुने गर्छ। गायक प्रेम परियार, अशोक दर्जी, समीक्षा अधिकारी, कमला घिमिरे आदिको प्रतिभालाई प्रकाशित र प्रसारित गर्न सोसल मिडिया युट्युब र फेसबुकको महत्त्वपूर्ण भूमिका रहेको धेरैलाई थाहा नै छ।  

सोसल मिडिया ज्ञानको भण्डार हो। जहाँ हरेक कुराको ज्ञान पाइन्छ। विशेषज्ञहरूसँग परामर्श लिन सकिन्छ भने युट्युब आदिमा आफ्नो च्यानल बनाई प्रतिभा देखाइ नाम र दाम कमाउन पनि सकिन्छ। मानिसले हाँस्य कार्यक्रम बनाएर, पढाएर, यात्रा ब्लग बनाएर, कुकिङ सिकाएर, गीत गाएर, अभिनय देखाएर तथा स्वास्थ्य टिप्स दिएर नाम र दाम कमाइरहेका छन्। वास्तवमा सोसल मिडियाले रोजगारको नयाँ अवसर सिर्जना गरेको छ।  

अतः सामाजिक जीवनलाई सहज, सुगम र सबल बनाउन सोसल मिडियाले महत्त्वपूर्ण भूमिका निभाएको छ। त्यसैले सोसल मिडियाको उचित सदुपयोग गरेर व्यक्ति, संस्था, समूह, समाज तथा राष्ट्रलाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिरूपले समृद्ध बनाउन सकिन्छ।

तर यहाँ मननयोग्य कुरा के भने संसारका हरेक प्रविधि जति रामा गुणले भरिएका हुन्छन् त्यति नै दुर्गणले पनि। सोसल मिडिया पनि यसमा अछूतो छैन। त्यो किनभने यसका जति फाइदाहरू छन्, उति नै बेफाइदा पनि छन्। सोसल मिडिया दुरूपयोगका कारण यसले समाजमा अनेकौँ विकृति ल्याउने कार्य पनि गरेको छ।

सामाजिक सञ्जाल (जस्तै– फेसबुक, युट्युब, स्काइप, एक्स (पहिले ट्विटर), इन्टाग्राम, माइस्पेस आदिको सदुपयोगभन्दा दुरूपयोग हुने क्रमः बढ्दै गएको छ। वास्तवमा भन्ने हो भने यस्ता नेटवर्कले टाढाका मानिसलाई नजिक तथा नजिकका (घर/परिवार तथा गाउँ÷ठाउँका) मानिसलाई टाढा बनाउने कार्य गरेको छ। तर फेसबुक आदिका यस्ता साथीसंगी र अधिकांश सामग्री भरपर्दो र विश्वसनीय नहुने अध्ययनहरूले देखाएका छन्।  

सोसल मिडियामार्फत कतिपय असामाजिक तŒवहरूले, बेइमान राजनीतिकर्मी र उनका कार्यकर्ताले झुटो तस्बिर, भिडियो तथा तथ्यहीन सामग्रीहरू बनाएर अफवाह फैलाउने गर्छन्। यसले अनेक समाजिक तथा राजनीतिक समस्या पैदा हुन सक्छ। दंगासमेत भएका छन्। साइबर अपराध सोसल मिडियासँग जोडिएको ठूलो समस्या हो।  

सामाजिक सञ्जालका कारण विद्यार्थीको पढाइलेखाइ चौपट हुने गरेको छ। अचेल अधिकांश विद्यार्थीको ध्यान पढाइलेखाइमा होइन, स्मार्टफोनमा हुने गरेको छ। नेपाली विद्यार्थीले पनि स्मार्टफोनलाई फोटो खिच्न, फेसबुक चलाउन, गेम खेल्न र पोर्नोग्राफी हेर्न प्रयोग गर्ने गर्छन्। गृहिणीहरू फेसबुक र टिकटकमा व्यस्त हुँदा दूध उम्लिएर पोखिएको, कुकर पड्किएका जस्ता घटना पनि सुनिने गर्छन्। 

सोसल मिडियाको सबैभन्दा खतरनाक कमजोरी यो हो कि यो यति आकर्षक छ कि यसले मानिसलाई सजिलै लती बनाइदिन्छ। सोसल मिडियाको लतले एकातिर समय र पैसा नाश हुन्छ भने अर्कोतिर पारिवारिक, शारीरिक तथा मानसिक समस्या पैदा हुन्छ। सामाजिक सञ्जालमा चिप्किरहने व्यक्तिको आँखा त कमजोर हुन्छ हुन्छ, जीवनशैलीसँग सम्बन्धित रोगहरू, जस्तै– मधुमेह, रक्तचाप, मुटु रोग तथा थाइरोडिज्म आदि पनि निम्ताउँछ।  

सोसल मिडिया प्रयोग गर्ने अनियन्त्रित इच्छा वा लतलाई सोसल मिडिया दुर्व्यसन भनिन्छ। सोसल मिडिया दुर्व्यसनमा फसेको व्यक्तिको ध्यान केवल यस्ता मिडिया प्रयोग गर्नमा हुन्छ। अम्मली व्यक्ति दिनको १०–१२ घण्टासम्म पनि यस्ता मिडिया प्रयोग गर्न पछि पर्दैन। यस्ता मिडिया प्रयोग नगरी बस्न सक्दैन। यदि प्रयोग गर्न नपाएको खण्डमा बेचैन हुन्छ, आक्रोशित हुन्छ या उदासीन हुन्छ।  

उल्लेखनीय के भने नयाँ प्रविधि सिक्नका लागि घण्टौँ प्रयासरत् रहनु या आवश्यकताअनुसार यसको प्रयोग गर्नु लत होइन। यो तबसम्म नशा होइन जबसम्म यसले सामान्य जीवन यापनमा वा सम्बन्धमा नराम्रो प्रभाव पार्दैन। सोसल मिडिया दुर्व्यसन जस्तै इन्टरनेट दुर्व्यसन पनि हल्का र कडाखालको हुन सक्छ। यसले पनि विथड्रवल लक्षण देखाउँछ। जस्तै– मानसिक तनाव, बेचैनी, चिडचिडापना तथा उदासी। कसैकसैलाई निद्राको समस्या हुने, काँप्ने वा पाचन प्रक्रिया गड्बड् हुने पनि गर्दछ।

 

(लेखक बाँनिया साइकोथेरापिस्ट हुन्)

प्रकाशित: ७ आश्विन २०८० ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App