७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

वैदेशिक रोजगारीले छेकेको सामाजिक पक्ष

वैदेशिक रोजगारीले मुलुकको आर्थिक क्षेत्रमा पारेको सकारात्मक प्रभावबारे प्रशस्त चर्चा हुने गरेको छ। अर्थविद्हरूले विप्रेषणकै कारण देशको अर्थतन्त्र बाँचेको र त्यो नआए नेपालको अर्थतन्त्र धराशायी हुने चिन्ता पनि व्यक्त गर्ने गरेका छन्। यद्यपि वैदेशिक रोजगारी बेरोजगारी समस्याको दीर्घकालीन समाधान होइन र विप्रेषण पनि देशको अर्थतन्त्रका लागि दिगो र भरपर्दो स्रोत होइन भन्दै यसको विराेध गरेका छन्।

वैदेशिक रोजगारीले अर्थतन्त्रमा जतिसुकै सकारात्मक प्रभाव पारे पनि सामाजिक क्षेत्रमा भने उत्तिकै नकारात्मक असर पारेको छ। त्यसैले मुलुकको आर्थिक क्षेत्रमा देखिएको विप्रेषणको उज्यालो पक्ष सँगसँगै सामाजिक क्षेत्रमा देखिएका अँध्यारा पक्षहरूले धेरै नेपालीको घर-परिवारलाई अन्धकारतर्फ धकेलिरहेको छ। यद्यपि विप्रेषण आकर्षणसामु यो समस्या ओझेल परेको छ।  

वैदेशिक रोजगारीले पारिवारिक संरचनामा ल्याएको विखण्डन सबै भन्दा बढी जल्दोबल्दो समस्याका रूपमा देखिएको छ। मानिस सामाजिक प्राणी भएकाले उसलाई समाज र परिवार चाहिन्छ अनि समाज र परिवार दुवैको माया, प्रेम र सुरक्षा पनि चाहिन्छ। प्रख्यात मनोविद् अब्राहम मस्लोले यी कुरालाई मानिसका आधारभूत आवश्यकताका रूपमा विश्लेषण गरेका छन्। मनोविद् मस्लोले आवश्यकताको पाँचवटा तहका बारेमा विश्लेषण गर्दै मानिसको आधारभूत आवश्यकतामा पर्ने गाँस, बास, कपास, निन्द्रा आदि जस्तै यौन पनि एक प्रमुख आवश्यकता हो भनेका छन्। तर वैदेशिक रोजगारीको सिलसिलामा लामो समय अलग रहने विवाहित पुरुष तथा महिलाका कारण समाजमा यौनजन्य विकृति पनि बढ्ने गरेको छ।  

आर्थिक वर्ष २०७८-७९ मा रु. ६५ करोड ७१ लाख ५८ हजार ठगी भएको दाबी गर्दै वैदेशिक रोजगार विभागमा ७ सय ४२ वटा उजुरी परेका छन्।  

सम्बन्ध विच्छेदका घटनाहरूमा भएको अप्रत्याशित वृद्धिले पनि वैदेशिक रोजगारीको सामाजिक असरलाई इंगित गरिरहेको देखिन्छ। आर्थिक वर्ष २०७९-८० मा देशभरका जिल्ला, उच्च र सर्वोच्च अदालतमा गरी ३७ हजार ४३४ वटा सम्बन्ध विच्छेदका मुद्दा परेको खबर यसै दैनिकको २०८० भदौ १० गतेको अंकमा छापिएको छ। जसअनुसार दैनिक १०२ जोडी सम्बन्ध विच्छेदका लागि अदालत पुग्ने गरेकामा ७४ जोडी कानुनीरूपमै अलग हुने गरेका छन्। सम्बन्ध विच्छेद बढ्नुमा वैदेशिक रोजगारी एक प्रमुख कारण रहेको पाइएको छ।  

रोजगारीका सिलसिलामा विदेशमा रहँदा पुरुषले अर्कै महिला र महिलाले अर्कै पुरुषसँग सम्बन्ध राख्ने प्रवृत्तिले पारिवारिक सम्बन्धमा दरार उत्पन्न गर्ने गरेको छ। विदेशमा दुःख गरीगरी अलिअलि आम्दानी गरेर स्वदेशमा सुखले बसौँला भन्ने धेरै नेपाली पुरुष तथा महिलाको सपना तुहिने गरेको छ। सामाजिक मूल्य-मान्यता र आदर्शमै पनि भारी मात्रामा आँच आउन थालेको छ। पारिवारिक विखण्डनलाई पनि बढावा दिएको छ। घरेलु कामदारका रूपमा विदेशिएका महिलामाथि हुने गरेको यौन शोषणले धेरै नेपाली महिला कामदार पीडित हुँदै आएका छन्।  

वैदेशिक रोजगारीको सिलसिलामा अत्यधिक नेपाली युवायुवतीको विदेश पलायनले गर्दा परिवारमा सामाजिक-मानसिक असुरक्षाको स्थिति पनि बढ्दै गएको छ। परिवार तथा समाजमा महिला, केटाकेटी, वृद्ध तथा अशक्तहरूमात्रै बाँकी रहनाले भैपरि आउँदा अथवा मर्दापर्दाको अवस्थामा सहयोग र सुरक्षा दिने हात र साथको पनि अभाव बढ्दै गएको छ। विशेषगरी सहरी क्षेत्र भन्दा ग्रामीण क्षेत्रमा वृद्धवृद्धाले यस्तो सामाजिक-मानसिक असुरक्षाको पीडा भोग्नुपरिरहेको छ। विप्रेषणले आर्थिक टेवा प्राप्त भए तापनि सामाजिक-मानसिक सुरक्षाको अभाव भने निरन्तर बढ्ंदै गएको छ। साना केटाकेटीले लामो समयसम्म आफ्ना अभिभावकको सामी गरेको छ।  

विप्रेषणको उज्यालोमा घाइते तथा अपाङ्ग भई फर्कने पुरुष तथा शारीरिक यातना तथा यौन शोषणमा परी मानसिक सन्तुलनसमेत गुमाएर फर्कने महिला कामदारहरूका पीडा, व्यथा र वेदना ओझेल पर्ने गरेका छन्। यसैगरी कामकै सिलसिलामा दुर्घटनामा परी मृत्यु भएका वा विभिन्न किसिमका पीडा, चिन्ता र मानसिक तनावले गर्दा आत्महत्या गर्ने नेपाली कामदारहरूको संख्या पनि बर्सेनि बढ्दो क्रममा रहेको छ। अहिले दैनिक सरदर तीन जनाको लाश आउने गरेको छ। वैदेशिक रोजगारीकै कारण यसरी व्यक्ति तथा परिवारलाई पर्ने दीर्घकालीन असरले सामाजिक संरचनामै प्रतिकूल असर पर्न थालेको सन्दर्भमा यो समस्यालाई पनि बेलैमा सम्बोधन गर्नु अथवा यसप्रति चिन्तनशील हुनु अति आवश्यक भइसकेको छ।

बढ्दो वैदेशिक रोजगारीको फलस्वरूप विप्रेषणमा वृद्धि भएसँगसँगै आन्तरिक बसाइ सराइमा पनि वृद्धि भएको देखिएको छ। आफन्तले विदेशबाट विप्रेषण पठाउन थालेपछि परिवारका सदस्यहरू गाउँ छोडेर सहरमा बस्ने प्रवृत्ति ह्वात्तै बढेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार ९३ लाख ४१ हजार ४ सय  

८ जना बसाइँ सरेका छन्। यसैगरी नेपाल श्रमशक्ति सर्वेक्षण २०७४-७५ को तथ्यांकअनुसार कुल जनसंख्याको ३६.२ प्रतिशत जनसंख्या बसाइ सरेका छन्। यसरी बसाइ सर्नेहरूमा गाउँबाट सहर पस्नेहरू ८७.९ प्रतिशत छन्।  

विप्रेषणका कारण खर्च गर्ने क्षमतामा वृद्धि भएपछि विशेषगरी सन्तानलाई सहरका गुणस्तरीय विद्यालयहरूमा पढाउने र स्वास्थ्यलगायतका सेवाहरू सहजरूपमा प्राप्त गर्ने मनसायले मानिस गाउँबाट सहर पस्ने प्रवृत्ति बढेको हो।  

राष्ट्रिय जनगणना २०७८ अनुसार दश वर्षअघि सहरी जनसंख्या कुल जनसंख्याको ६३.१९ प्रतिशत थियो भने अहिले सहरी जनसंख्या ६६.१७ प्रतिशत पुगेको छ। जसअनुसार सहरी क्षेत्रको जनघनत्व पनि बढेको छ। बढी जनघनत्व भएका प्रमुख पाँच सहर काठमाडौं, भक्तपुर, ललितपुर, रूपन्देही र सुनसरीको औसत जनघनत्व २ हजार ३ सय ५९ प्रति वर्ग किलोमिटर पुगेको छ। काठमाडौं जिल्लामा सबैभन्दा बढी ५ हजार १ सय  

६९ प्रति वर्ग किलोमिटर जनघनत्व छ। जनघनत्व बढेकाले सहरी व्यवस्थापनमा चुनौती थपिएका छन्। उता गाउँघरमा भने जनशक्ति अभावले गर्दा आर्थिक तथा सामाजिक क्रियाकलापहरू प्रभावित भएका छन्। उत्पादनशील जमिन बाँझै पर्न थालेका छन्। फलस्वरूप उत्पादन घटेर उपभोग्य वस्तुको आयातमा वृद्धि भएको छ भने सहरी क्षेत्रमा उपभोक्ता मूल्य सूचकांक बढेको छ। 

प्रकाशित: २५ भाद्र २०८० ००:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App