१५ पुस २०८१ सोमबार
image/svg+xml
विचार

बिपी, एनी र कृष्णमूर्ति

सन्दर्भ बिपी जयन्ती

बिपी कोइरालाको जीवनको किशोर अवस्थासम्मको जानकारी गराउने कृति ‘आफ्नो कथा’ मा प्रसङ्गवश विभिन्न महिलाको चर्चा छ। ती महिला परिवारसँग सम्बद्ध र असम्बद्ध दुवै खालका छन्। उनीहरूको जीवनका पक्षहरूको मिहिन ढङ्गले विश्लेषण र स्मरण गरेका कोइरालाले नारी मनोविज्ञानलाई बुझ्ने प्रयत्न मात्र गरेका छैनन्, परम्परागत रूपमा उनले सुन्दै र बुझ्दै आएको दृष्टिकोणभन्दा भिन्न रूपमा महिलाहरूप्रति आफ्नो धारणा निर्माण गरेका छन्।  

बिपीले चर्चा गरेका महिलामध्येमा आयरिस मूलकी बेलायती महिला एनी बेसेन्ट निश्चय पनि असाधारण महिला थिइन्। बिपीको कृतिले चिनाएकी बेसेन्टको जीवनका बारेमा जे जति जानकारी लिन सकें, त्यसपछि निष्कर्षमा पुगें-उनी एक विलक्षण र अद्वितीय महिला थिइन्।

 उनको स्वनिर्मित इतिहास निकै गर्विलो छ। उनको जीवन पढ्दा लाग्छ, उनी धरतीमा लिनका लागि होइन, दिनका लागि आएकी थिइन्। त्यसैले बेसेन्टको इतिहासलाई उत्खनन गर्नु बिपी जयन्तीमा अझ सान्दर्भिक हुन्छ भन्ने लाग्यो।

भारतीय इतिहासले उनलाई के कसरी बुझेको छ वा ग्रहण गरेको छ? कुन स्थानमा राखेको छ म पूर्ण जानकार छैन। विश्व प्रसिद्ध आध्यात्मिक पुरुष अझ भनौं स्वतन्त्रताका एक ‘मसिहा’ जे कृष्णमूर्तिको जीवनको महत्त्वपूर्ण समय एनीको सामीप्यमा बितेको थियो। त्यसैले कृष्णमूर्तिलाई अलग राखेर एनीको मात्र चर्चा गर्नु न्याय संगत पनि हुँदैन। एनीको जीवनको पूर्ण पाठ वा अध्याय पनि पूरा हुँदैन।

बिपीले कृतिमा उल्लेख गरेका पंक्तिले एनीप्रतिको जिज्ञासा बढायो। उनी लेख्छन्, ‘धरणीधर (कवि धरणीधर कोइराला) र जनकप्रसाद हिन्दु स्कुलमा पढ्थे। एनी बिसेन्टले एउटा उच्च भावनाले प्रेरित भएर बनारसमा स्थापित गरेकी थिइन्। एनी बिसेन्ट कुनै साधारण नारी थिइनन्। बेलायतको एउटा सम्पन्न परिवारमा जन्मिएर त्यसैका ठुलाठुला राजनीतिक, सांस्कृतिक र सामाजिक आन्दोलनमा प्रमुख रूपले भाग लिने ती असाधारण व्यक्तित्व भएकी नारीले हिन्दुस्थानलाई आफ्नो नयाँ आत्मिक देश बनाएर त्यहाँको आध्यात्मिकतालाई समाजको उत्थानद्वारा पुनः प्राप्त गर्ने उद्देश्यले काम गर्ने सिलसिलामा उनले हिन्दु स्कुल स्थापना गरेकी थिइन्।’

अझ उनका बारेमा लेखिएको यो वाक्यांशले अचम्मितसमेत भएँ। ‘हिन्दुस्थानको स्वराज्यको आवाजमा एनी बेसेन्टले आफ्नो सङ्गठनशीलता र वाणी कौशलद्वारा ठोस मद्दत पुर्‍याउन थालेकी थिइन्। उनको अर्को संस्था थियोसोफिकल सोसाइटी आध्यात्मिक पुनरुत्थानका लागि सक्रिय थियो।’

एनी वेसेन्टको जन्म १ अक्टोवर १८४७ मा लन्डनको कलैफममा भएको थियो। माता एमिली रोसा, पिता विलियम वर्टन पर्स उड थिए। यिनी पाँच वर्षकी छँदा बाबुको मृत्यु हुन्छ। त्यसपछि आमाले ब्वाइज होस्टेल सञ्चालन गरेर यिनको पालनपोषण गर्छिन्।

लगभग २० वर्षको उमेरमा सन् १८६७ मा यिनको विवाह पादरी फैंक वेसेन्टसँग हुन्छ। छोरा र छोरी दुईजना सन्तान जन्मन्छन्। उनको पारिवारिक जीवन सुखद हुँदैन।

अन्ततः सन् १८७३ मा कानुनी रूपमा सम्बन्ध विच्छेद हुन्छ। कानुनअनुसार छोराछोरी आफ्नो साथमा राख्ने अवस्था भएन। परिवार टुट्नु, सन्तान पनि साथमा नभएपछि हतास हुनु स्वाभाविक थियो। त्यही अवस्थामा रसियाकी रहस्यदर्शी वा पराविज्ञानकी ज्ञाता मेडम एचपी ब्लाभट्स्कीले लेखेको किताब समीक्षाका लागि भनेर उनको हातमा पर्छ। त्यसपछि उनको जीवनले नयाँ बाटो फेला पार्छ। पूर्वीय दर्शनमा अभिरुचि बढ्छ। त्यसपछि सन् १८७५ मा मेडम ब्लाभट्स्की, कर्णेल, एचएस अल्काट, जज विलियम कवान संस्थापक भएको थियोसोफिकल सोसाइटीसँग जोडिन पुग्छिन्। यो संस्था अमेरिकाको न्युयोर्कमा स्थापना भएको थियो। थियोसोफिकलको अर्थ हुन्थ्यो ‘ब्रह्म वा ईश्वर जान्नेहरूको समूह’।

थियो सोफिकल सोसाइटीको मुख्य उद्देश्यमा विविध धर्म विज्ञानको अध्ययनलाई प्रोत्साहन गर्नु, मानव जातिको सार्वभौमिक महत्त्व जान्नु, कर्म सिद्धान्त र पुनर्जन्मलाई स्वीकार गर्नु। जाति, धर्म, वर्णलाई अस्वीकार गर्नु थियो। यस संस्थाले जीवनलाई बोधगम्य बनाउने दर्शन प्रस्तुत गथ्र्यो। जसद्वारा न्याय तथा प्रेमको निरूपण र प्रकटीकरण हुन्छ।

थियोसोफिकल सोसाइटीलाई लोकप्रिय बनाउने श्रेय एनीलाई नै जान्छ। सन् १८८२ मा संस्थाकी संस्थापिका ब्लाभट्स्कीको सम्पर्कमा पुग्छिन्। त्यसपछि पूर्ण रूपले सन्त संस्कारमा रहने हुन्छिन्। सन् १८८९ मा स्वयम्लाई थियो सोफिस्ट घोषणा गरिन्। बाँकी आफ्नो जीवन भारतको सेवामा लाग्ने घोषणा गरिन्।

सन् १९०८ मा वसन्त प्रेस तथा थियो सेमफिकल सोसाइटीको प्रकाशन गृह स्थापना गरिन्। सन् १८९३ मा एउटा बृहत् कार्यक्रमका साथ भारत आउँछिन्। सन् १८९७ मा अल्काटको निधन भएपछि संस्थाको अध्यक्षका हैसियतमा जीवन पर्यन्त संस्थाको नेतृत्वमा रहिन्। सन् १८९३ मा स्वामी विवेकानन्द सहभागी भएको सिकागो धर्म सम्मेलनमा थियोसोफिकल सोसाइटीको सदस्यका रूपमा भाग लिन्छिन्।

भारतप्रति उनको अनुराग थियो। सांस्कृतिक नगर कासी (बनारस) लाई आफ्नो केन्द्र बनाइन्। हिन्दु धर्म र पुनर्जन्ममा विश्वास राख्छिन्। त्यसैले भनेकी छन्, ‘ईश्वरसँग मेरो प्रार्थना छ कि मेरो आगामी जीवन हिन्दु परिवारमै होस्। यिनले कासीका तत्कालीन नरेश महाराज प्रभुनारायण सिंहसँग भेट गर्छिन्। त्यसपछि १८९८ मा केन्द्रीय हिन्दु कलेजको स्थापना गर्छिन्। जुन पछि गएर मना मदनमोहन मालवीयको प्रयासबाट सन् १९१६ मा बनारस हिन्दु विश्वविद्यालय (बिएचयु) बन्छ। यिनले बालविवाह, जातीय व्यवस्थाजस्तो सामाजिक कुप्रथा हटाउनका लागि ‘ब्रदर्स अफ सर्बिस’ नामको संस्थासमेत स्थापना गरिन्। भारतमा सुधार राजनीतिबाट मात्र सम्भव हुन्छ भनेर सन् १९१४ मा राजनीतिमा प्रवेश गर्छिन्।

भारतलाई नै आफ्नो मातृभूमि मान्थिन्। त्यसैले आयरलैन्डको प्रारूपमा होमरुललिग आन्दोलन चलाउन सुझाव दिएकी थिइन्। कांग्रेसले अस्वीकार गर्छ। सन् १९१६ मा अडियारबाट होमरुललिगको सुरुवात गरिन् भने तिलकले पुनाबाट सुरु गरे। होमरुलको प्रचारमा यिनले आफ्नो साप्ताहिक रूपमा अंग्रेजीमा प्रकाशन हुने न्युजपेपर ‘कमनविल’ र ‘न्यु इन्डिया’लाई माध्यम बनाइन्। आन्दोलन लोकप्रिय र विस्तार भयो। हिरासतमा समेत पर्छिन्।

लोकप्रियताकै कारण सन् १९१७ मा भएको अधिवेशन (कलकत्ता)मा कांग्रेसले यिनलाई अध्यक्षमा चयन गर्‍यो। यिनलाई कांग्रेसको प्रथम महिला अध्यक्ष हुने श्रेय प्राप्त भयो। स्मरणीय छ कि भारतमा स्काउटको सुरुवात पनि यिनले नै गरेकी थिइन्। फेबियन सोसाइटीमा आबद्ध भएर लेखन कार्यसमेत गरिन्।

सन् १९२४ मा गान्धीको नेतृत्वमा बेलगांव (कर्नाटक) मा कांग्रेसको अधिवेशन भयो। रेलको लामो यात्रा पार गरेर बेसेन्ट जब बेलगाव पुगिन्। त्यसबेला अधिवेशन प्रारम्भ भइसकेको थियो। गान्धीलगायत सबै जना उनको स्वागतमा उठ्छन्। गान्धीले अधिवेशनको कार्यक्रमलाई रोकेर बेसेन्टलाई आफ्नो विचार राख्न आग्रह गर्छन्। आफ्नो भाषणमा भन्छिन्, ‘अब मेरो उमेर धेरै भयो। राजनीतिबाट सन्यास लिन्छु। सन्यासपछि पनि भारतमा शिक्षाको प्रचारप्रसार र समाज सुधारको कार्यमा तनमनसँग लागिरहन्छु।’ अधिवेशनमा अध्यक्षको स्थान छाडेर पार्टीका सदस्यको साथमा गएर बसेकी हुन्छिन्।

यिनले भागवत् गीताको अनुवादलगायत ३ सय किताब लेखेकी थिइन्। ती मध्येमा ‘डेथ एन्ड आफ्टर’, ‘इन्डिया ए नेसन’ (त्यसबेला प्रतिबन्ध लागेको), ‘वेक अफ इन्डिया’, ‘ए प्ली फर सोसल रिफार्म’, ‘हाउ इन्डिया रौट फर फ्रिडम’ मुख्य मानिन्छन्। यिनलाई भारतीयहरूले ‘मा वसन्त’ भनेर सम्बोधन गर्थे भने गान्धीले ‘वसन्तदेवी’, त्यस्तै ब्रिटिस समाचार पत्रले ‘पूर्वकी सितारा’ भनेर उपमा दिएको थियो। २० डिसेम्बर १९३३, बुधबारका दिन भारतको मद्रासमा यिनको निधन हुन्छ। उनको इच्छाअनुसार उनको अस्तुलाई गंगामा प्रवाहित गरिन्छ।

सन् १८७५ मा न्युयोर्कमा स्थापित भएको थियोसोफिकल सोसाइटी सन् १८७९ मा बम्बईमा आउँछ। त्यसपछि सन् १८८२ मा अडियार (मद्रास) मा कार्यालय स्थापित हुन्छ। मेडमफडास्ट्की र कर्णेल अलकाटले मैत्रेयको चेतनाको अवतरण गराउनैका लागि संस्था स्थापना गरेका थिए। बुद्धले मृत्यु हुनुभन्दा अगाडि एकपल्ट फेरि मैत्रेयका रूपमा धरतीमा आउने छु भनेका थिए। त्यसैले मैत्रेयको चेतनालाई धरतीमा अवतरण गराउन उचित पात्रको खोजीमा संस्था लागेको हुन्छ। कृष्णमूर्तिको जीवनका कथाको प्रारम्भ यसै बिन्दुबाट हुन्छ। यो अप्राकृतिक आध्यात्मिक पहिलो प्रयोग थियो।

सन् १८९५ मे ११ मा भारतको चेन्नई र बैंगलोरको बिचमा पर्ने एक पहाडी भाग मदनपल्लीमा ब्राह्मण परिवारको घरमा कृष्णमूर्तिको जन्म हुन्छ। पिता जिद्धु नारायण र माता सञ्जिमाका दश सन्तानमा आठौं सन्तानका रूपमा यिनको जन्म भएको थियो।

आमा कृष्णकी उपासिका थिइन्। कृष्ण पनि देवकीका आठौं सन्तान भएकाले छोराको नाम कृष्ण राखिन्। कृष्णमूर्ति १० वर्षको हुँदा आमाको मृत्यु हुन्छ। त्यसभन्दा अगाडि दिदीको पनि मृत्यु भएको हुन्छ। बाबु ब्रिटिसकालीन भारतका सरकारी कर्मचारी थिए। अवकाश पाउँछन्। सोसाइटीमा नोकरी माग्छन्, पाउँछन् पनि। एक दिन सोसाइटीका लिड विडर बेलुकीपख भ्रमणमा निस्केका हुन्छन्।

अडियारको समुद्र तटमा उनले कृष्ण र उनका भाइ नित्यालाई देख्छन्। धुलोमैलो, दुब्लो, पातलो, टेडामेडा नमिलेका दाँत भएका कृष्णप्रति उनको ध्यान जान्छ। लिडविडर मानिसको आभा मण्डलको अध्ययन गर्न सक्थे। कुनै पनि स्वार्थको क्लेश नभएको कृष्णमूर्तिमा नै मैत्रेयको चेतना अवतरण गराउन सकिन्छ भन्ने ठान्छन्। त्यो कुरा एनीलाई बताउँछन्। त्यसपछि कृष्णमूर्तिलाई उनका बाबुसँग माग गरिन्छ। कृष्णको आफ्ना भाइ नित्यासँग अत्यन्त लगाव हुन्छ। त्यसैले कृष्ण र नित्या दुवैजनालाई थियोसोफिकल सोसाइटीले धर्मपुत्रका रूपमा ग्रहण गर्छ।

पछि जिद्धुनारायणले आफ्ना छोराहरू फिर्ता पाउन मुद्दासमेत दिन्छन् तर सफल हुँदैनन्। मैत्रेयको चेतना अवतरण गराउनका लागि आवश्यक प्रशिक्षण दिन थालिन्छ। शिक्षाको पूरा व्यवस्था हुन्छ। कडा अनुशासनमा बालकलाई राखिन्छ। बेलायतमा अध्ययनका लागि दुवैजनालाई पठाइन्छ। तीनपल्ट अक्सफोर्ड विश्वविद्यालयमा प्रवेश परीक्षा दिँदा पनि कृष्ण पास हुँदैनन्। नित्याले भने प्रवेश पाउछन्। पछि नित्यालाई क्षयरोग लाग्छ। स्वास्थ्यका दृष्टिले राम्रो हुन्छ भनेर दुवै जनालाई क्यालिफोर्निया पठाइन्छ।

भाइसँग लगाव भएका कृष्णलाई सोसाइटीले बोलाउँछ। भाइ छाडेर आउन मान्दैनन्। केही हुँदैन भनेर विश्वस्त पारिन्छ। उनी आउँछन्। नित्याको निधन भयो भन्ने खबर पाउँछन्। अत्यन्त दुःखी हुन्छन्। त्यसपछि सम्भवतः संस्थाप्रतिको विश्वास केही हदसम्म टुट्छ।

सन् १९११ मा कृष्णमूर्तिलाई अध्यक्ष बनाएर ‘अडर अफ द स्टार अफ द इस्ट’ नामक संस्थाको स्थापना हुन्छ। पर विज्ञान र गुरुहरूबाट पाएको शिक्षालाई समेटेर १४ वर्षको उमेरमा ‘उनको एट द फिट अफ द मास्टर’ पुस्तक पनि प्रकाशित हुन्छ। सन् १९२२ मा क्यालिफोर्नियाको एउटा वृक्षमुनि कृष्णमूर्तिलाई सम्बोधि प्राप्त भयो भनिन्छ। सन् १९२९ मा ‘अर्डर अफ इस्ट’ को हल्यान्डको ओमनमा सभाको आयोजना गरिन्छ। त्यसै दिन विश्व शिक्षकका रूपमा कृष्णमूर्तिमा मैत्रेयको चेतना अवतरण भएको घोषणा गर्ने भनिन्छ। हजारौं सदस्यका साथ एनी र लिडविडरलगायत उपस्थित हुन्छन्।

तर यस सभामा कृष्णमूर्तिले घोषणा गर्छन्-सत्य एक मार्गहीन भूमि हो। कुनै धर्म, संगठन सम्प्रदायबाट सत्यमा पुग्न सकिँदैन। विश्वास नितान्त एक व्यक्तिगत मामला हो। यसलाई संगठित गर्न सकिँदैन। यस्तो गर्नु पनि हुँदैन। यदि यस्तो गर्ने हो भने यो जड हुन जान्छ। मृत बन्छ। एक मत, सम्प्रदायमा या धर्ममा निहित हुन्छ। जुन अरूमाथि थोपरिन्छ। संसारमा हरेक मानिसले यही गर्ने कोसिस गरिरहेका छन्। सत्यलाई सङ्कीर्ण बनाउँदै लगेका छन्। जो कमजोर छ, क्षणिक किसिमले असन्तुष्ट छ, उसलाई खेलौनासरह समाइन्छ। सत्यलाई तल उतार्न सकिँदैन बरु व्यक्तिले त्यहाँसम्म स्वयम् पुग्ने प्रयास गर्नुपर्छ भन्दै आफू अध्यक्ष रहेको संस्था अर्डर अफ द इस्टलाई खारेज गर्छन्।

सभामा सहभागीहरूले जे सोचेका थिए, त्यसको ठिक विपरीत घोषणा कृष्णमूर्तिले गर्छन्। थियोसोफिकल सोसाइटीबाट अलग हुन्छन्। त्यसपछि सोसाइटीबाट उनलाई जे–जति उपहार प्राप्त गरेका थिए सबै फिर्ता गर्छन्। भनिन्छ उनको नाममा रहेको पाँच हजार एकड जमिनसमेत फिर्ता गर्छन्। आफूलाई कुनै गुरु पनि मान्दैनन्, न त कसैलाई शिष्य बनाउँछन्। स्वतन्त्र रूपले विचरण गर्छन्। त्यसपछि १७ नोभेम्बर १९८६ मा जीवनबाट सधैंका लागि विश्राम लिन्छन्।

त्यसैले कृष्णमूर्ति स्वतन्त्रताका एक मसिया थिए। उनले रिसिभ्यालीलगायत ७ वटा स्कुल स्थापना गरेका थिए। जसमा ५ वटा भारतमा र अन्य २ वटा क्यालिफोर्निया र बेलायतमा स्थापना गरेका थिए। सत्या एक मार्गरहित भूमि हो। त्यहाँ पुग्न कुनै पनि औपचारिक धर्म, दर्शन अथवा सम्प्रदायको माध्यमबाट सकिँदैन। कृष्ण मूर्तिको मौलिक दर्शन हो। उनी कुनै धार्मिक संगठन, विचार र देशसँग सम्बन्ध राख्दैनथे। उनी भन्थे-सिकाउनका लागि उनीसँग केही पनि छैन, मात्र ऐनाको काम गरिराखेका छन् र जसबाट आफैले आफैलाई हेर्न सकिन्छ। उनले ‘प्रथम और अन्तिम मुक्ति’जस्ता लगभग ८० वटा कृतिको रचना गरेका थिए। 

प्रकाशित: २३ भाद्र २०८० ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App