३० असार २०७७ मंगलबार
विचार

सपना पूरा गर्ने अठोट

मानिसको निधनपछि धेरैले श्रद्धाञ्जली दिन्छन्। चिरशान्तिको कामना गर्छन्। आफन्तप्रति समवेदना प्रकट गर्छन्। तर उनको सपना पूरा गर्ने अठोट भने कमैले मात्र व्यक्त गर्छन्। अझ यस्तो अठोट व्यक्त गर्नेले पनि त्यसलाई व्यवहारमा ल्याउन भने निकै हिच्किचाउँछन्। यतिखेर यस्तै श्रद्धाञ्जली व्यक्त गरिनेमा भूमि अधिकार तथा दलित अधिकार अभियानका कर्मठ हस्ती बलदेव राम अग्रपंक्तिमा देखिएका छन्। उनको सवालमा पनि उनले देखाएको मार्ग पछ्याउने भन्दा निधनप्रति अलापविलाप गर्नेको जमात बढी देखिएको छ। चाहे त्यो सामाजिक सञ्जालमा होस् या अन्यत्र सार्वजनिक मञ्चहरूमा।

सिरहा र सप्तरीमा सदियौंदेखि उपल्लो जात मानिएकाहरूको घरमा मरेको सिनो फाल्ने काम त्यहाँका चमार समुदायले फाल्नुपर्ने अन्यायपूर्ण सामाजिक व्यवस्था थियो। वर्षाैंदेखि यी समुदायले भोग्दै आएको यो समस्या समाधानका लागि बलदेव रामको नेतृत्वमा सिनो बहिष्कार आन्दोलन भएको थियो। यो आन्दोलनबाट सफल भएका राम हाल चलिरहेको भूमि अधिकार आन्दोलनको संस्थापक अध्यक्ष हुन्। उनले राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालमा २ कार्यकाल नेतृत्व सम्हाल्दा यो अभियानले निकै उचाइ लिएको थियो। त्यसैले बलदेव रामको भौतिक शरीर यतिबेला हामीबाट बिदा भए पनि उनका योगदान तथा उनैले देखाएको सङ्घर्ष र प्रेरणाको मार्ग भने सदैव हामीमाझ अमर रहनेमा शंका छैन।

धेरैलाई लाग्न सक्छ, बलदेवको सङ्घर्ष दलित वर्गका लागिमात्र थियो। यसमा एक प्रतिशत पनि सत्यता छैन। उनको अभियान र आन्दोलन अधिकारविहीनको अधिकार रक्षाका लागि थियो। वञ्चितहरूका लागि अधिकार स्थापित गराउनका लागि थियो। चाहे त्यो जुनसुकै वर्गको अधिकारविहीन होस्। २१ औ शताब्दीमा पनि मानिसबाटै मानिसलाई छुवाछूतको व्यवहार गर्ने प्रवृत्तिसँग उनी रुष्ट थिए। भेदभावसँग त्रसित थिए। जसको हाँगाबिँगा छिमोल्ने भन्दा पनि जरैदेखि उखेल्न बलदेवले बाँचुन्जेल आफ्नो बल लगाइरहे। त्यसका लागि आफूजस्तै विभेदित वर्गलाई सङ्गठितसमेत गरेका थिए उनले।

एकातिर दलित अभियानकर्ताको पगरी गुथेका थिए भने अर्कोतिर समानान्तररूपमा भूमि अधिकार अभियानकर्ताको पगरी पनि गह्रुंगोसँग पहिरेका थिए। पुस्तौंदेखि माटोमा श्रम गरेर, पसिना चुहाएर, अन्न उब्जाएर अरुलाई खुवाउने तर आफैँ भाको रहने भूमिहीन, सुकुमबासी, मोही, हरुवा–चरुवा किसानका लागि बलदेवले मर्ने बेलासम्म सङ्घर्षको नेतृत्व लिए। आफ्नो गाउँठाउँमात्र हैन, मुलुकका विभिन्न जिल्लामा सशरीर उपस्थित भई यस्ता अधिकारविहीनलाई चेतना र ऊर्जा थप्ने कार्य गरेका थिए।

सबै मानिसलाई आफ्नो अधिकार, पहिचान, आत्मसम्मान र स्वतन्त्रता अनि सम्मानपूर्वक बाँच्न पाउने स्वतन्त्रता छ। यो कुरा संविधानमै व्यवस्था गरिएको छ। तैपनि यी वर्गका मानिसले संविधानप्रदत्त यिनै अधिकार कहिल्यै भोग्न पाएनन्। बलदेव सधैँ यही विषयमा दुखित हुन्थे। र, भन्थे– अन्यायपूर्ण यस्तो सामाजिक व्यवस्थाको जरो नउखेलेसम्म विश्राम लिन्न। कुकुरलाई आफ्नै ओछ्यानमा सुताउने तर मानिसलाई भने दलित भन्दै घरमा समेत आउन नदिनेहरू थुप्रै छन्। लाग्छ, बलदेव यस्तै कुकर्मीहरूविरुद्ध जेहाद छाड्न जन्मिएका थिए। यस्तै कुरीति र अन्यायपूर्ण व्यवस्था अन्त्यका लागि उदाएका थिए।

साँच्चै हो, बलदेवको मृत्युले दलित तथा भूमि अधिकार अभियान र समग्र देशको परिवर्तनको अभियानमै धक्का लागेको छ। तर यत्तिकै ध्रुव सत्य यो पनि हो कि उनले थालेका र नेतृत्व गर्दै आएका काम कसैले रोक्न र छेक्न सक्दैन। किनकि उनका पछाडि उनैले तयार पारेका लाखौँको समूह छ। जसले 'बलदेव मार्ग' पछ्याउने कसम खाएका छन्। मात्र यतिबेलाको दुःखद् क्षणमा यही कसम सम्झँदै मुठी दरिलोसँग बटारेमात्र पुग्छ। आखिर समाज परिवर्तनको महान् उद्देश्य लिएर हिँडेका हस्तीप्रतिको सच्चा श्रद्धाञ्जली पनि त योबाहेक के हुन सक्ला र?

प्रकाशित: २६ श्रावण २०७४ ०८:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App