२७ श्रावण २०७७ मंगलबार
विचार

स्वेच्छिक मृत्युः अधिकार कि अपराध

आमाको मृत्यु हुनुभन्दा दुई महिना जति अघिदेखि उहाँलाई अत्यन्त पीडा भएको थियो। त्यतिखेर उहाँले सचेत अवस्थामा नै भन्नुभएको थियो- त्यस्तो कुनै इन्जेक्सन छ कि, जसबाट मलाई निद्रा परोस् र म निद्राको निद्रामै जान सकूँ। यो एक प्रकारको स्वेच्छिक मृत्युको चाहना थियो, जुन कुरा सामाजिक वा कानुनी रूपमा नेपालमा सम्भव छैन।

बाँच्न पाउनु मानव अधिकार हो भने जीवनबाट केही उपलब्धि हुन नसक्नेमात्र होइन, अर्काको भार बनेर बाँच्नुपर्ने र शरीरले पीडा धान्न नसक्ने अवस्था आएपछि, निको नहुने रोगले गाँजेपछि कसैले मलाई 'स्वेच्छा मृत्यु' दिइयोस् भन्नु अधिकार हो कि होइन? त्यसो त अधिकांश मुलुकका कानुनले यसलाई अपराध नै मानेको छ, तर कानुन पनि समयसापेक्ष परिवर्तन हुँदै जानुपर्छ र हुँदै जान्छ भन्ने कुरालाई आत्मसात् गर्ने हो भने स्वेच्छिक मृत्युलाई अधिकारको रूपमा परिभाषित गर्ने कानुन नबन्ला भन्न सकिँदैन। विश्वका कतिपय राष्ट्रहरूमा असाध्य रोगले पिल्सिएका बिरामीहरूको अवस्थालाई मध्यनजरमा राख्दै विशेष अवस्थामा मात्र इच्छा मृत्युलाई रोज्न लगाई चिकित्सकको प्रत्यक्ष रोहबरमा मृत्युसम्बन्धी सहज विधिहरूलाई अपनाई मृत्युलाई सहज गराइन्छ। वास्तवमा यस प्रकारबाट गराइने मृत्यु नै इच्छामृत्युको दायराभित्र पर्न आउने देखिन्छ। नेपालको सन्दर्भमा इच्छा मृत्युलाई बहसको विषय बनाउँदै यसको गाम्भीर्य, सान्दर्भिकता तथा औचित्यका विषयमा आवश्यक छलफल गरी नीति नियमहरू निर्माण गर्न सर्वोच्च अदालतले ६ जना कानुनविद्हरूको एमिकसक्युरी झिकाउने निर्णय गरेको छ। नेपाल बार एसोसियसनबाट तीनजना र सर्वोच्च अदालतबाट तीनजना गरी जम्मा ६ जनाको एमिकसक्युरीबाट प्राप्त राय प्रतिवेदन समेतलाई आधार बनाई नियमानुसार कानुन बनाउन सर्वोच्चले नेपाल सरकारलाई आदेश दिन सक्नेछ। यसरी नेपालमा पनि प्रक्रिया सुरु भएको छ, निर्णय के होला– भविष्यको कुरा भयो।

कुनै बेला गर्भपतन अपराधका रूपमा लिइन्थ्यो र गर्भपतन गराउनेलाई दण्डित गरिन्थ्यो। त्यो गर्भ बलात्कार वा बाध्यतावश नै रहेको किन नहोस्। गर्भपतन पूर्णरूपमा गैरकानुनी थियो तर अहिले विभिन्न परिस्थितिमा रहेको गर्भलाई पतन गराउन सकिने प्रावध्ाान राखिएको छ। त्यसो त प्रत्येक नयाँ अवधारणासँगै खराबीहरू पनि आउँछन्। औषधिविज्ञानमा आएको प्रगतिले गर्भमा छोरो छ वा छोरी भन्ने कुरा पत्ता लगाउन सकिन्छ। चीनमा एक सन्तान नीति कडाइसाथ लागू गरेको बेला भिडियो एक्सरे गर्दा छोरी देखिएमा गर्भपतन गराउनेको संख्या उल्लेखनीय रूपमा थियो अहिले दुई सन्तानको स्वीकृति पछि त्यसलाई स्वीकार्य मानिएको छ।

धेरै वर्ष अघिको कुरा हो, अस्ट्रेलियामा एकजना डाक्टरले ठीक नहुने रोगले पीडित कुनै बिरामीले मर्न चाहन्छ भने उसलाई मर्न दिनुपर्छ भनेर त्यसका लागि मेसिनसमेत बनाएका थिए। तर त्यसको व्यापक विरोध भयो, डाक्टरलाई 'डाक्टरकिलर' नाम दिइयो भने मेसिन पनि ध्वस्त पारियो। तर अहिले समय परिवर्तन भएको छ। केही दिनअघि अमेरिकी महिला ब्रिटनी मेनार्डले स्वेच्छिक मृत्युवरण गरिन्। यसले विश्वव्यापी रूपमा चर्चा पायो। उनी क्यान्सर पीडित थिइन् र डाक्टरहरूले उनी रोगमुक्त हुन नसक्ने बताएका थिए। उनी क्यालिफोर्नियाकी थिइन्, त्यहाँ स्वेच्छिक मृत्युको कानुनी मान्यता थिएन। तर अमेरिकाकै अर्को राज्य ओरेगन हो, जहाँ उपचारहीन रोगबाट पीडितले  चिकित्सकको सहयोगमा आफ्नो जीवन समाप्त गर्ने अधिकार पाउँछन्। ब्रिटनीले डाक्टरको सहयोगमा चिरनिन्द्रामा जाने चाहनासहितको आफ्नो भनाइ लिखितरूपमा दिँदा त्यसलाई आत्महत्याका रूपमा लिन नहुने उल्लेख गरेकी थिइन्। आफ्नो मृत्यु शान्तिपूर्ण रूपमा होस्, निको नहुने रोग बोकेर आफन्तलाई बिरामी स्याहार्ने बाध्यता र आफूलाई निरन्तर पीडाबोध नहोस् भनेर स्वेच्छिक मृत्युलाई उनले अंगीकार गरिन्।

त्यसो त अर्को पक्षमा के तर्क गरिन्छ भने जीवनलाई अप्राकृतिक रूपमा समाप्त गर्नु आत्महत्या हो, आत्महत्यालाई अपराध मानिँदै आइएको छ। स्वेच्छिक मृत्यु भने पनि त्यो अप्राकृतिक मृत्यु हो। स्वेच्छिक मृत्यु चाहने बिरामीले वास्तवमा नै मृत्युवरण गर्न चाहेको हो कि उसलाई कसैले दबाब दिएको हो, खुट्याउन चाहिँ सजिलो छैन। सम्पत्ति चाँडो आफ्नो हातमा पार्न र स्याहार्ने झन्झटबाट छुटकारा लिन बिरामीलाई स्वेच्छिक मृत्युतर्फ उक्साइरहेको पनि हुनसक्छ। केही समय अगाडि छापिएको एउटा समाचारअनुसार एउटा अधबँैसे पुरुषले महिलाले गरेको बीमा रकम हत्याउन बिहेको नाटक गर्दै हत्या गर्दै चार जनाको बीमा रकम आफ्नो बनाइसकेकोमा पाँचौ हत्यमा ऊ कानुनको घेरामा पर्‍यो। त्यसैले स्वेच्छिक मृत्यु पनि स्वतःस्फूर्त नभएर कसैको उक्साहटमा गरिएको हो कि? प्रश्न खडा हुन्छ।

अर्को त्यस्तो मुलुक पनि छ जहाँ चिकित्सकको सहयोगमा आत्महत्या गर्न पाइने प्रावधान छ। स्वीटजरल्यान्डमा त्यस्तो आत्महत्याबारे स्पष्ट कानुन नभएकाले चिकित्सकको सहयोगमा गरिने आत्महत्याका लािग पर्यटकहरू आउँछन्। यसलाई पनि स्वेच्छिक मृत्युकै हाराहारीमा राख्न सकिन्छ।

केही समयअघि प्रकाशित समाचारअनुसार सन् २००८ देखि चार वर्षको अन्तरालमा ६११ जना पर्यटक 'एसिस्टेड सुसाइड'का लागि जुरिच पुगेका थिए। त्यसरी चिकित्सकको सहयोगमा गरिने स्वेच्छिक मृत्युका लािग ३१ वटा देशबाट मृत्युका प्रत्यासी गएका थिए भने जर्मनी र संयुक्त अधिराज्यबाट जानेको संख्या बढी थियो। त्यसमध्ये महिलाको संख्या बढी रहेको जनाइएको छ। स्वीटजरल्यान्डका अतिरिक्त अमेरिकाको ओरिगन, वासिङ्टन, मोन्टाना र भर्मेन्टमा स्वेच्छिक मृत्युलाई मान्यता प्राप्त छ।

मृत्युवरण गर्न खोज्नेको स्वास्थ्य अवस्थाबारे डाक्टरहरूको टोलीले परीक्षण गर्ने र दोस्रो टोलीले पहिलो टोलीको परीक्षण ठीक हो भन्ने प्रमाणित गरेपछि स्वेच्छिक मृत्यु प्रक्रियामा जान पाउने कानुनी आधार बनाइनुपर्छ। पाँच वर्षभन्दा बढी अवधि अचेत रहेको अवस्थामा अभिभावकको स्वीकृतिमा मृत्युवरण गर्ने प्रावधान हुनु वाञ्छनीय हुन्छ।

मान्छेको शरीर पनि एक प्रकारले मेसिन जस्तै हो, जहाँ विभिन्न पार्टपुर्जा मिलाएर बनाइन्छ। जति जति समय बित्दै जान्छ मेसिनका पार्टपुर्जा खिइँदै जान्छन् र अन्त्यमा उपादेयता सकिएर कुनै कुनामा मानव शरीर थान्को लगाइन्छ। मेसिनमा ह्रासकट्टीको प्रावधानले चलाएको १० वर्षपछि उसको मूल्य शून्यमा झर्छ।

मानव शरीर पनि बिस्तारै शिथिल भएर काम गर्न नसक्ने अवस्थामा पुगी पराधीन हुन्छ। कतिपय वृद्ध वृद्धाहरूलाई सन्तानले अवहेलना गरी वृद्धाश्रममा पुर्‍याइएका घटना प्रशस्त छन्। सम्पन्न मुलुकमा 'वृद्ध आवास गृह' र स्याहारसुसारको व्यवस्था सरकारले गरेको हुन्छ, तापनि  शरीरमा उब्जिएका रोगले असह्य पीडा भोग्नुपर्ने बाध्यता उनीहरू आफैँमा आइपर्छ। हाम्रो जस्तो मुलुकमा शारीरिक पीडा मात्र होइन, मानसिक पीडा पनि उत्तिकै छ। यस्तो परिवेशमा बिसेक नहुने असह्य रोग लागेकाहरू सुइय सुस्केरा हाल्दै भन्छन्– मर्न पाए पनि हुन्थ्यो। तर मृत्युदेखि सबैलाई डर लाग्छ।

स्वेच्छिक मृत्युबारे अदालतले चर्चा चलाउन प्रारम्भ गरेको छ। हेरौँ, के हुन्छ?

प्रकाशित: २० श्रावण २०७४ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App