१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

डोकलम-युद्ध हुँदैन

संसारको ध्यान चीन र भारतबीचको खटपटले तानेको छ। भुटान–चीन सीमावर्ती क्षेत्र डोकलम अहिले 'कन्पि्क्लक्ट इपिसेन्टर' बनेको छ। सम्भावित युद्धको तरिका, प्रयोग हुने बम, हात–हतियार, पक्ष र विपक्षका सहयोगी राष्ट्रहरू र त्यसका परिणामलाई अहिले अन्दाज लगाउने मात्र हो। संसारले भन्नुपर्छ, यो खटपट युद्धबाट होइन, वार्ताबाट समाधान हुनुपर्छ। यसका लागि नेपालजस्ता साना छिमेकी राष्ट्रहरूले घरभित्रका निदाल–दलिनको काम गर्न नसके पनि चुकुलको भूमिका निभाउनु पर्छ। त्यसमा पनि नेपाल ठूलो खाडलमा जाकिनेछ, यदि चीन–भारतबीच युद्ध भइहालेमा। किनभने प्रधानमन्त्री पुष्पकमल दाहालले २०१६ सेप्टेम्बर १५ देखि १८ सम्म गरेको भारत भ्रमणमा प्रधानमन्त्री स्तरीय २५ बुँदे सम्झौताको ११ नं. बुँदाले 'ठूला अन्तर्राष्ट्रिय मुद्दा मामिलामा दुवै देशको एउटै धारणा हुनेछ' भन्ने वाक्यले सन् १९५० को सन्धिभन्दा घातक भविष्य देखाउँछ। उक्त ११ नं. बुँदाले नेपालको परराष्ट्र मामिलालाई लगाम लगाएको छ।

डोकलम–खटपट युद्धमा परिणत हुँदैन। चीनले उसको विश्व रणनीतिमा अर्को १० वर्षसम्म भौतिक युद्ध लड्दैन। 'लो प्रोफाइल'मा बसेर विश्वको नम्बर एक धनी देश बन्नुछ। तिब्बत, हङकङ, ताइवान, मकाउलगायतका भूभागमाथि 'पूर्ण नियन्त्रण' गर्नु उसको ध्येय रहेको छ। यो क्षेत्रमाथि पश्चिमले खेलबाड गरिरहेको चीनलाई प्रस्ट थाहा छ।

शान्ति सेना, विदेशमा सैनिक पठाउने–खटाउने मामला, व्यापार, अरू मित्र देशप्रति नेपालले अपनाउने अन्य सम्बन्धसमेत परराष्ट्र मामलाभित्रै पर्दछ। अर्को तथ्य सन् १९५० को सन्धिले नेपालको रक्षा नीति वा प्रतिरक्षा नीतिलाई भारतले अर्धऔपनिवेशिक बनाएको छ। नेपालका दुई प्रधानमन्त्रीहरू सन् १९५० का मोहनशम्शेर राणा र सन् २०१६ का पुष्पकमल दाहालले क्रमशः नेपालको रक्षा नीति र परराष्ट्र नीति भारतको पोल्टामा हालेकै हुन्। उक्त दुवै कारणले गर्दा भोलिका दिनमा चीन र भारतको युद्ध भइहालेमा र भारतले नेपालको सैनिक सहयोग मागेमा वा युद्ध तयारीका लागि नेपाली भूमि मागेमा पनि नेपालले ठूलै मूल्य चुकाउनुपर्नेछ। दुर्भाग्य नै भनौँ, अस्ति मात्र भएको २५ बँुदे सम्झौताले नेपालको राष्ट्रिय सुरक्षामा आँच आउने देख्दादेख्दै पनि नेपालका कुनै सुरक्षा अंग बोलेनन्, न त भूतपूर्व सेना प्रहरी नै बोले।

हाल भइरहेको डोकलमबारेको खटपट युद्धमा परिणत हुँदैन। किनभने चीनले उसको विश्व रणनीतिमा अर्को १० वर्षसम्म भौतिक युद्ध लड्दैन। उसका लागि 'लो प्रोफाइल'मा बसेर विश्वको नम्बर एक धनी देश बन्नुछ। हालसम्मको दृष्टान्तमा पनि उसले संसारका सबैजसो द्वन्द्वहरूमा भौतिकरूपले टाढा बसेको छ। त्यो भन्दा पनि ठूला कुरो चीनका लागि तिब्बत, हङकङ, ताइवान, मकाउलगायतका उसका भूभागमाथि 'पूर्ण नियन्त्रण' गर्नु रहेको छ। यो क्षेत्रमाथि पश्चिमले खेलबाड गरिरहेको चीनलाई प्रस्ट थाहा छ। यो 'पूर्ण नियन्त्रण' गर्ने कामका लागि हाल भारतसँग चीनले युद्ध गर्दैन र त्यसमा पनि चीनले 'भारत मात्र'लाई रणनैतिक दुस्मन ठान्दैन। र भारतलाई ठूलो 'थ्रेट' मान्दैन पनि। यद्यपि करिब तीन वर्ष जति अगाडि नेपालका बहालवाला प्रधान सेनापतिले भारतको निजी भ्रमणमा रहेका बेला चिनियाँ सेनालाई भारतीय सेनाले लतार्छ र चीनले भारतविरुद्ध केही गर्न सक्दैन भन्ने विश्लेषण गरेको पक्ष पनि त्यत्तिकै महत्वपूर्ण छ। त्यसको मतलब भारत कमजोर छैन। अर्को खतरनाक पक्ष भनेको अहिले विवादित डोकलम इलाका तिब्बतसँग टाँसिएको भूगोल हो भने त्यो क्षेत्रमा युद्ध भइहालेमा तिब्बती मूलका चिनियाँहरू नै उसका लागि दुस्मन बन्न सक्नेछन्। हुन त लडाइँ डोकलमबाट मात्र सुरु नभई जुनसुकै फ्रन्ट (मोडा) बाट पनि हुन सक्छ। भन्नैपर्दा हाल भारतले सीमावर्ती क्षेत्रमा गरेको सैनिक तडकभडकलाई चीनले जुँगाको लडाइँ मात्र ठानेको छ। भारतले विरोध गर्नैैपर्ने बाध्यता उसले बुझेको छ। अन्यथा, अमेरिका र युरोपेली राष्ट्रहरूले भारतलाई 'काजी' मान्ने छैनन् र पाकिस्तानले समेत भोलिका दिनमा अझै भारतलाई हेप्नेछ। अर्कोतर्फ, भारतलाई लडाइँ गर्न त झनै धेरै कुराले अझै साथ दिँदैन। किनभने, सन् ६० को दशकमा चीन र भारतबीच भएका दुईवटा युद्धहरूले भारतको मनोबल अति नै खस्काएको छ। त्यहाँको प्राज्ञ, विज्ञ, लेखक, व्यापारी, कर्मचारी, सञ्चार माध्यम, नेताले लेखेका, बोलेका विचारहरूलाई समष्टिगत रूपले अध्ययन गर्ने हो भने सपनामा समेत चीनले हमला गर्ला भन्ने भूत लागेको देखिन्छ। त्यही कारणले हो, चीनसँग सिमाना जोडिएका छिमेकी देश र उसकै बिहारमा समेत ठूला बाटाघाटा नबनोस् र चिनियाँ फौजलई बाधा पुगोस् भन्ने 'ह्याङओभर' राखेको पनि। यस्तो मनोबल 'मोराल' हुनु ठूलो राष्ट्रिय घाटा हो। अर्को कुरो भारतीय फौज मध्य भारतीय गोर्खा, जाट, सिखसमेत केही जातीय रेजिमेन्टहरूबाहेक अरू जातहरूमा 'जुझारुपन' अर्थात् 'फाइटिङ स्पि्रट'को ह्रास छ। बन्दुक, बम, गोला, फाइटर, युद्धपोतले मात्र लडाइँ जितिन्न। उदाहरणका लागि तिव्बती, चिनियाँ, जापानी, मंगोलियन जातको तुलनामा भारतीयहरू जुझारु पनि कमजोर छन्। यो वंशानुगत गुण हो। अर्को कमजोरी भनेको भारतमा जातीय रेजिमेन्ट छन्। परेका बेला यसले फौजभित्र नचाहिँदो अस्वस्थ प्रतिस्पर्धा ल्याउँछ र अन्ततः कार्यगत एकता टुक्र्याउँछ। त्यसैगरी देशभित्रको गरिबीले भारतलाई ठूलो युद्ध धान्न गाह्रो छ भने भारतीय फौजले प्रयोग गर्ने अत्यधिक युद्ध औजारहरू अरू देशमा बनेका छन् र अरूमै भर पर्नुपर्छ। चीनको सैन्य शक्तिको तुलनामा भारत अझै पनि तल्लो दर्जामा नै पर्छ। उसले अमेरिका, इजरायल, जापान वा पश्चिमा राष्ट्रको भर परेर युद्धमा होमियो भने भारतको स्थिति पिँध नभएको लोटाजस्तै बन्नेछ। उता चीनको ठीक सुल्टो अवस्था छ, ऊ आफैँमा आत्मनिर्भर छ। अर्को कुरो, हाल 'चिकन्स नेक' भनिएको बंगलादेश र नेपालबीचको जग्गाले भारतीय विशाल सेनाको मुभमेन्ट, लजेस्टिक सपोर्ट, रिइन्फोर्समन्टलगायतमा बाधा पुर्‍याउनेछ। यो चिकेन्स नेक भनेको सैनिक भाषामा 'बोटल नेक' हो। यो भारतका लागि अभिशाप बन्नेछ। यही रणनीतिक कारणले भारत नेपालको तराईलाई छुट्टाएर वा एक मधेस प्रदेश खडा गरी आफ्नो सैनिक अभीष्ट पूरा गर्न खोज्दै छ। हालको २ नम्बर प्रदेशमा झापा–मोरङ पनि हाल्नुपर्छ भन्नु उसको चिकेन नेकलाई ठूलो फर्म बेस बनाउनु हो। सबैभन्दा ठूलो खतरा भारतलाई सिक्किम, दार्जलिङ, आसाम, नागाल्यान्ड, मणिपुर त्यस्तै परे भुटान समेतबाट खतरा छ। यी क्षेत्रका जनता भारतबाट मुक्ति चाहन्छन् र उसकै विपक्षमा उत्रेका छन् र उत्रिनेछन। यही क्षेत्र इलाकामा 'दोकलाम वार इपिसेन्टर' हुनेछ। छिमेकी देशहरूसमेत भारतप्रति सद्भाव नराख्ने धेरै छन्। त्यसै गरी अमेरिकाले दिएको सैन्य धापले मोदीजीलाई सद्दाम हुसेन र भारतलाई विभाजित इन्डिया बनाउने त्यत्तिकै डर, उसमा हुनुपर्छ। यदि भारत र चीनबीच युद्ध सुरु भएमा पाकिस्तानले मौका गुमाउनेछैन र भारतमाथि सैनिक कारबाही गर्न सक्छ र अन्ततः भारतले 'मल्टी फ्रन्ट वार'मा झेलिने सम्भावना देखेकै हुनुपर्छ।

 नेपालले कहिल्यै पनि दुई छिमेकी चीन र भारतबीच युद्ध र कटुता चाहँदैन। यद्यपि युद्ध भइहालेमा के होला भन्ने अनुमान गर्दा र भारतले युद्ध हारेमा सबैभन्दा पहिलो दुष्परिणाम सिक्किम, गोर्खाल्यान्ड, आसाम, मणिपुर, नागाल्यान्ड, कास्मिर आदि क्षेत्रहरू भारतबाट स्वतन्त्र हुने सम्भावना छ भने उसले आफ्ना छिमेकमा रहेका सबै साना मुलुकहरूप्रतिको नियन्त्रण र निगरानी गुमाउनेछ। अर्को सत्यता के हो भने, भारतको विकास अर्को ३०/४० वर्ष पछाडि धकेलिनेछ र उसलाई कुनै ठूलै शक्ति राष्ट्रको सुरक्षा छातामुनि बस्ने अवस्था पनि आउन सक्नेछ। त्यसै गरी, ब्रिटिस शक्तिले खडा गरेको 'म्याक मोहन लाइन'को चीन–भारतबीचको सीमा परिवर्तन हुन सक्नेछ भने त्यसबाट भारतलाई ठूलै क्षति हुनेछ।

 त्यसै गरी चीनले युद्ध हारेमा तिब्बत स्वतन्त्र हुने सम्भावना रहन्छ र त्यसपछि, ताइवान, हङकङ क्षेत्रको पकड खुकुलो छ। उत्तर कोरियामाथिको चिनियाँ पकड र सामीप्य सकिनेछ भने चीनको सीमामा अमेरिकी युद्धपोतको गस्ती बढ्नेछ। त्योभन्दा ठूलो खतरा पश्चिमाहरूको चीनभित्रको घुसपैठले चीनको राष्ट्रिय एकता भाँडिने सम्भावना छ र चीनले हाल लागु गर्न खोजेको 'वान रोड वान वेल्ट' रणनीति लोप भई अन्ततः चीन सुरक्षा परिषद्को भिटो सदस्यबाट निकालिने सम्भावना त्यत्ति नै हुनेछ।

 चीन–भारत युद्धले झन्डै तेस्रो विश्वयुद्धको रूप धारण गर्नेछ। नेपालमा अमेरिका र भारतले बनाएका ठूला राजदूतावास भवन र कम्पाउन्डभित्र चीनविरुद्ध प्रयोग गर्न उनीहरूले सैनिक, युद्ध उपकरण र अन्य संयन्त्र भित्र्याउनेछन्। त्यसबेला नेपालले उनिहरूलाई रोक्न सक्नेछैन। खुलेआम युद्ध सञ्चालनका लागि काठमाडौँको भूगोल प्रयोग हुने सम्भावना प्रचुर मात्रामा छ। यदि यसो भयो भने चीनले पनि त्यसको प्रतिकार गर्न हवाई हमला गर्नेछ र अन्ततः मर्ने नेपाली र नाश हुने नेपालीकै धन हुनेछ। भारतीय सेनामा भर्ना भएका नेपालीमध्ये कम्तीमा पनि ३० प्रतिशतभन्दा बढी मारिन सक्नेछन्। उक्त युद्ध भइहालेमा भारत र चीनले आणविक हतियारको प्रयोग गरे भने नेपालले पनि क्षति व्यहोनुपर्नेछ। चीनले युद्ध जितेको अवस्थामा नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नभईकन विकासको सम्भावना अझै बढ्नेछ भने भारतले जितेको अवस्थामा दक्षिण एसियामा नेपालले भुटानसरहको दर्जा पाउनेछ। हाम्रा प्राज्ञ, विज्ञ, नागरिक समाज, सरकार, सेना, प्रहरी, आमसञ्चार सबैले आ–आफ्नो क्षेत्रबाट चीन र भारतलाई वार्ताबाटै समस्या समाधान गर्न सुझाउनुपर्छ।

प्रकाशित: १३ श्रावण २०७४ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App