५ असार २०८१ बुधबार
image/svg+xml
विचार

पूर्वराष्ट्रपति, स्टन्टबाजी र मिसन–८४

मोही माग्ने ढुुंग्रो लुकाउने !

‘स्टन्ट’बाजी नेपाली राजनीतिको ‘ट्रेडमार्क’ बनेको छ। अंग्रेजी शब्द स्टन्ट नेपालीमा स्टन्टबाजी बनेको हो। एकदमै अस्वाभाविक कदम वा व्यवहारद्वारा अरूलाई आफूतर्फ आकर्षित गर्ने यो एकप्रकारको दुस्साहसी काम हो। त्यसैले स्टन्टबाजहरूजति दुस्साहस प्रदर्शन गर्न खोज्छन् त्यति नै उनीहरूले आफू र आफ्नो अस्तित्वमाथि खतरा मोलिरहेका हुन्छन्।

सहज र स्वाभाविक कामकुराविरुद्ध स्टन्टबाज अत्यन्त खतरनाक खेला हो। उदाहरणका लागि २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्त गरेर आफूलाई सर्वेसर्वा घोषणा गरे। २०३३ सालमा बिपी कोइराला राष्ट्रिय मेलमिलाप भनेर सरकारले आफूमाथि लगाएका ज्यान मुद्दाहरूको पर्वाह नगरी भारतीय निर्वासनबाट स्वदेश फर्किए। त्यस्तै २०५२ सालमा प्रचण्ड र डा. बाबुराम भट्टराईले जनयुद्ध घोषणा गरेर सरकार र व्यवस्थालाई चुनौती दिए। यसलाई सबैले स्टन्टवाजी माने। यी तीनवटैघटना नेपालका ठूला स्टन्टबाजी हुन्।  

नेपाली राजनीतिको वर्तमान गाईजात्राको अन्त्य नै मिसन–८४ को लक्ष्य हुनुपर्ने हो तर मिसन–८४ लाई पनि प्रदूषित पार्ने खेल नेपथ्यमा सुरु भैसकेको छ। 

त्यसैगरी स्टन्टबाजीसँग जोडिएको टे«डमार्क के हो नि? बृहत् नेपाली शब्दकोशले यसलाई ‘व्यापारीले आफ्नो मालको परिचयका निम्ति मालमा टाँस्ने वा लगाउने विशेष चिह्न, व्यापार–चिह्न, बेपार–चिनु’ भनेको छ। यसलाई राजनीतिक अर्थमा सजिलोसँग बुझ्ने हो भने यो त्यस्तो पहिचान हो, जसद्वारा कुनै पनि दल विशेष र नेताको स्वभावलाई चिनाउँछ। उदाहरणका लागि भनौँ न, गएको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन साह तीन दशकदेखि राजनीतिमा एकछत्र राजजमाइरहेका दलहरूलाई तिमीहरूबाट अति भयो भनेर आफ्नो उम्मेदवारी अगाडि सारे। अरू कतिपय उम्मेदवारले बाहुबली पार्टीका ठूलाठूला उम्मेदवारलाई हायलकायल पारे। जनताको अत्यधिक मतबाट चुनाव नै जिते। ठूला पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारको घोषणा नै उनीहरूको ट्रेडमार्क बन्यो। त्यसपछि भएको संघीय तथा प्रदेश सांसदको निर्वाचनमा रवि लामिछानेले स्वतन्त्र नाम गरेको पार्टी नै बनाएर संघीय संसद्को चुनावमा उम्मेदवारी मात्र दिएनन्, राजधानीलगायतका निर्वाचन क्षेत्रमा धावा बोले। स्वतन्त्र पार्टीको उम्मेदवारीलाई स्टन्टबाजी र स्वतन्त्र उम्मेदवार ट्रेडमार्क बन्यो।  

यतिमात्र होइन, गएको उपचुनावमा तीनवटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर दुई क्षेत्रमा दलहरूको गठबन्धनलाई स्वतन्त्र पार्टीले पानी पिलाइदियो। उम्मेदवारी र निर्वाचन चिह्न घण्टी उनीहरूको स्टन्टबाजी र ट्रेडमार्क बन्न पुग्यो। स्वतन्त्र पार्टीले गरेजस्तै प्रकृतिको राजनीतिक स्टन्टबाजी यतिखेर सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ गरिरहेका छन्। उनी दाबी गरिरहेछन्, देशमा एउटा भष्टाचारीलाई पनि छाड्दिन। उनको भनाइ सुन्नेहरू हाँसिरहेका छन्। पत्याइरहेका छैनन् किनभने यो काजीको स्टन्टबाजी हो!

यही क्रममा प्रमुख प्रतिपक्षी दल एमालेभित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अब एमाले अध्यक्ष बन्ने भन्ने स्टन्टबाजी गर्न थालिएको छ। जसलाई नेपालको संविधानले कहीँकतै कल्पनासमेत गरेको छैन। सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी सोच्नु पनि महाभूल हो। पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा पुनरागमन गराउने कुरा आफैँमा प्रतिगामी देखिन्छ किनभने राष्ट्रिय व्यक्तित्व बनिसकेको व्यक्ति पुनः एउटा दलको नेता बन्न आउँदा ऊ संकुचित बन्न पुग्छ, खण्डित हुन्छ। संवैधानिक व्यक्ति कार्यकारी बन्न खोज्नु राजनेताप्रतिको सम्मान पनि गुम्छ। उसले राष्ट्रिय दृष्टिकोण दिन सक्दैन। यद्यपि, पार्टी अध्यक्ष केपीओलीले यसलाई एमालेभित्र गुटबन्दी गराउन खोजेको प्रतिक्रिया दिइसकेका छन्। यस्तो हल्ला चलाएर एमालेभित्र समस्या सिर्जना गर्न खोजिएको आरोप उनले लगाएका छन्। राजनीतिशास्त्रका एक प्राध्यापक भन्छन्, २०८४को निर्वाचनलाई मिसन–८४ बनाएर नेपाली राजनीतिमा स्टन्टबाजी सुरु भएको छ। प्रमुख प्रतिपक्षमा मात्र होइन, यहाँका हरेक पार्टीभित्र र बाहिर स्टन्टबाजी हुनथालेको छ। किनभने २०७९ को निर्वाचन परिणामबाट कोही पनि सन्तुष्ट भैरहेको छैन। सबैभन्दा ठूलो पार्टी बनेको नेपाली कांग्रेस तेस्रो र आफूभन्दा एकतिहाइ सानो पार्टीलाई शासक बनाएर आफू उसैबाट शासित बनिरहेको छ। दोस्रो ठूलो पार्टी, आफूभन्दा पचास सांसद कम हुँदाहुँदै पनि उसैको प्रतिपक्ष बनिरहन बाध्य बनेको छ, आफूभन्दा ठूलो पार्टीको होइन। र, प्रतिनिधिसभामा तीस सांसद भएको माओवादी पार्टी दुईतिहाइ सदस्यलाई किनाराको साक्षी बनाएर सत्ता रजगज गरिरहेको छ।!

हिंसात्मक जनवादी क्रान्ति गर्न हिँडेको माओवादी कांग्रेसको वैशाखी टेकेर ठडिएको छ। बहुदलीय जनवाद स्थापना गर्न हिँडेको एमाले कमल थापालाई उम्मेदवार बनाउन पुग्यो।  

नेपाली राजनीतिको यो गाईजात्राको अन्त्य नै मिसन–८४ को लक्ष्य हुनुपर्ने हो तर मिसन–८४ लाई पनि प्रदूषित पार्ने खेल नेपथ्यमा सुरु भैसकेको छ। जबकि हुनुपर्ने अहिलेको संसद्को समीकरण परिवर्तन हो। जसलाई स्टन्टबाजीले होइन, सुस्पष्ट विचार, नीति र नेतृत्वमा प्रष्टतासाथ अगाडि बढ्ने योजना र कार्यक्रमले गर्नसक्छ। देशको पहिलो र दोस्रो ठूलो दल मिलेर धमिलिएको राजनीतिलाई संग्ल्याउन सक्छन्। त्यसलाई हाँक्ने सक्षम, काविल, योग्य, बौद्धिक, नैतिक र चरित्रवान नेताको प्यानल लिएर पार्टीहरू पारदर्शितासाथ अगाडि आउनै पर्छ। जुन दल यसमा अलमलिन्छन् तिनको भविष्यलाई मिसन–८४ले नारायणहरि बनाउनेवाला छ। के यसका लागि राजनीतिक दल तयार छन्?

अहँ, उनीहरूमा यसबारे सजगता पटक्कै देखिँदैन। सजगता पलाएको छैन भने यसबारे तयारी कहिले गर्ने? र, देशव्यापी अभियान कहिले सुरु गर्ने? जनताबीच कहिले जाने?

दोहोर्याइरहन पर्दैन, पार्टीहरूको अवस्था अति नै दयनीय देखिन्छ। एउटाको होइन, सबै पार्टीको हालत खस्किइरहेको छ। नेतृत्वमा गहिरो संकट छ। नीतिगत संकट यति व्यापक छ कि राजनीतिक दलको प्राथमिक काम के हो भन्नेमै अलमल छ। जो अझ मौलाइरहेको छ। वैचारिक अडान र मूल्य मान्यता पार्टीहरूमा, तिनका कार्यकर्तामा शून्य बराबर छ। बासी नीति कार्यक्रमको जुन लास बोकेका छन्, त्यो कुहिइसकेको छ। ठसठस गनाइरहेको छ। पार्टीहरूको पहिचान नै गुम छ। नीति, विचार र नेतृत्व तीनवटै खम्बाको आधार लुलो भैसकेको छ। जो कसैले पनि आँट गरेर एक मुक्का दियो भने गल्र्यामगुर्लुम हुने खतरा छ। निम्छरा बालेन र हर्क सांगपांगले काठमाडौँ र धरानमा ठूला पार्टीलाई यसैले नारायणहरि बनाइदिएका हुन्।  

कुनै पनि ठूला पार्टी अहिले एक्लै ठडिने ल्याकतसम्म राख्न नसक्ने भएका छन्। गएको चुनावलाई हेर्नुहोस् त, कुन पार्टी कोसँग मिल्न पुगेको थियो? फेरि अर्कैसँग जोडिन पुगेको छ! पार्टीका सुप्रिम नेतृत्वलाई कसको कोसँग सामीप्यता भैरहेको थियो, थाहै थिएन। राष्ट्रियता, प्रजातन्त्र र समाजवाद भन्ने नेपाली कांग्रेस नेकपा माओवादीको आडमा उभिन खोजिरहेको छ। चिनियाँ शैलीको हिंसात्मक माओवादी जनवादी क्रान्ति गर्न हिँडेको माओवादी कांग्रेसको वैशाखी टेकेर ठडिएको छ। बहुदलीय जनवाद स्थापना गर्न हिँडेको एमाले कमल थापालाई सूर्य चिह्नमा उम्मेदवार लडाउन पुग्यो। स्वतन्त्र पार्टीका रवि लामिछाने वेलफेयर स्टेटको भाषण गरिरहेछन् भने उनकै पार्टीका स्वर्णिम वाग्ले स्टेट फेलरको! यिनीहरूभित्रको द्वन्द्वलाई कसरी बुझ्ने? वास्तवमा पार्टीहरूको पहिचान गुम भैरहेको अवस्था छ। कसले कसलाई कोसँग भोट माग्यो? छुट्याउनै सकिएन। कांग्रेस माओवादीलाई मत मागिरहेको छ। माओवादी कांग्रेसलाई मत मागिरहेको छ। एमाले एउटालाई माग्छ, मधेसी अर्कै दललाई मागिरहेको छ। न मतदाताको पार्टीप्रति सामीप्यता छ नत पार्टीको मतदाताप्रति भरोसा छ!  

प्रकाशित: ३१ श्रावण २०८० ००:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App