१९ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

दोहोरो उत्पीडनमा मणिपुरका महिला

भारतको उत्तरपूर्वी सानो राज्य मणिपुर अहिले अशान्त छ। आजभन्दा तीन महिनाअघि अर्थात् ३ मेदेखि त्यहाँ सुरु भएको जातीय हिंसा अहिले क्रमशः अन्य प्रदेशतिर पनि फैलिन थालेको छ। बहुजातीय मुलुक भारतका लागि यो खतराको सूचक हो। यदि भारत सरकारले यसको उचित समाधान निकाल्न सकेन भने यसको आगोले सम्पूर्ण भारतलाई नै लपेट्न सक्ने खतराले अहिले भारतको बुद्धिजीवी समुदाय चिन्तित छ।

मणिपुरको जातीय समीकरणमा प्रमुख जातिका रूपमा छ मेईतेई समुदाय। त्यसपछि कुकी र नागा समुदाय पर्न आउँछ। मणिपुरमा ५३ प्रतिशत मेईतेई आबादी छन् भने कुकी र नागा समुदायका गरी ४० प्रतिशत मानिस पहाडी जिल्लामा बसोबास गर्दै आएका छन्। अल्पसंख्यक कुकी र नागा समुदायलाई अनुसूचित जनजातिमा सामेल गरिसकेको छ। तर बहुमतमा रहेको मेईतेई जातिले आफूलाई पनि अनुसूचित जनजातिमा सामेल गर्नुपर्ने माग राखेपछि मणिपुरमा यी तीन जातीय समुदायबीच असमझदारी बढ्न गएको हो।

भारतको उत्तरपूर्वी सानो राज्य मणिपुर अहिले अशान्त छ। आजभन्दा तीन महिनाअघि अर्थात् ३ मेदेखि त्यहाँ सुरु भएको जातीय हिंसा अहिले क्रमशः अन्य प्रदेशतिर पनि फैलिन थालेको छ।

मेईतेई जातिको यो मागलाई कुकी र नागा समुदायले विरोध गरेपछि मेईतेई जाति यी दुई अल्पसंख्यक समुदायविरुद्ध शत्रुवत् व्यवहारमा उत्रेका छन्। यसै कारण भड्केको हिंसामा परी अहिलेसम्म १६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने अन्य हजारौँ मानिस प्रभावित भएका छन्।

मणिपुरमा फैलिएको यो दंगाको प्रमुख मुद्दा जातीय हो तर मुद्दा जातीय भए पनि यसले दिएको पीडाको केन्द्रमा महिला छन्। मणिपुर दंगामा अहिले जातीय मुद्दा अत्यन्त प्रबल रूपमा उठिरहेको छ। यसभित्र लुकिरहेको महिला मुद्दा भने ओझेलमा पर्दै गइरहेको देखिन्छ। आन्दोलन जातीय अधिकारका लागि भइरहेको भए पनि त्यहाँ उत्पीडनमा परेको महिला अधिकारबारे अहिले खासै चिन्ता व्यक्त गरेको देखिएको छैन। अहिले भड्केको हिंसाको आरम्भ महिलामाथि गरिएको क्रूर कर्तुतबाट भएको थियो।

मेईतेई जातिका आन्दोलनकारीहरूले कुकी जातिका दुई महिलालाई सडकमै निर्वस्त्र पारी सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि मणिपुरमा आगो बल्न थालेको हो। आफूहरूले उठाउँदै आइरहेको अधिकारको मागलाई कुकी जातिले विरोध गरे भन्दै त्यसको बदलास्वरूप कुकी महिलाहरूलाई मेईतेई पुरुषहरूले बलात्कारको शिकार बनाएका थिए। यसका विरुद्ध कुकी महिलाहरूले मणिपुरमा ठूलो प्रदर्शन गरे। विरोधको यो आगो यति चर्केर गयो कि अब यसको बदलामा कुकी पुरुषहरूले पनि मेईतेई महिलाहरूलाई बलात्कार गर्ने हुन् कि भन्नेसम्मको चिन्ता व्याप्त हुन थाल्यो। मुद्दा जातीय हो तर प्रहारको केन्द्र भने महिला बन्दैछन्। यो अत्यन्तै चिन्ताको विषय हो।

मणिपुरमा फैलिएको यो दंगाको प्रमुख मुद्दा जातीय हो तर मुद्दा जातीय भए पनि यसले दिएको पीडाको केन्द्रमा महिला छन्। 

राज्यबाट प्रदान गरिने सुविधाबाट वञ्चित हुनुपरेका कारण मणिपुरका मेईतेर्र्ई समुदायलाई पनि एक प्रकारले पीडित समुदाय नै भन्नुपर्ला। मणिपुरभित्र मेईतेई अन्यले भन्दा सुविधा पाएको भए पनि भारतकै अन्य राज्यका नागरिकका तुलनामा कम नै सुविधा पाएको हुनुपर्छ। त्यसैले यो समुदाय पनि आन्दोलित छ, अधिकारका लागि लडिरहेको छ। आफ्नो अधिकारको आन्दोलनलाई विरोध गरेका कारण कुकी र नागा समुदायसँग यसको सम्बन्ध बिग्रँदै जानु स्वाभाविक पनि हो। तर कुकी र नागा समुदायसँग आफ्नो विरोध वा असन्तुष्टि प्रकट गर्ने माध्यमका रूपमा भने उनीहरूले महिलालाई प्रयोग गरेका छन्। महिलामाथि बलात्कार गर्नुलाई उनीहरूले आफ्नो अधिकार प्राप्तिको आन्दोलनसँग जोडेका छन्। यो अत्यन्तै दुर्भाग्यपूर्ण छ।

तानाशाही, निरंकुश र अप्रजातान्त्रिक तत्व वा समुदायले आफू विरोधी शक्तिलाई दबाउने नाममा आफ्ना विरोधी महिलालाई बलात्कार गर्ने, दुर्व्यवहार गर्ने जस्ता कार्य विगतमा पनि हुँदै आइरहेको हो।

अब यही कार्य तानाशाही तत्वसँग संघर्ष गरिरहेका वा आफ्नो अधिकारका लागि लडिरहेका स्वयम् उत्पीडित समूह वा समुदायले पनि गर्न थालेका पाइयो। आफूलाई आन्दोलनकारी भन्ने, उत्पीडित भन्ने, अधिकार प्राप्तिका लागि लडिरहेका भन्ने समूहले समेत आफ्ना विरोधीलाई ‘आक्रमण’ गर्ने नाममा महिलामाथि नै हिंसा गर्नुले महिला अस्मिताबारे गम्भीर चिन्तन गर्नुपर्ने आवश्यकता अझ उजागर बनाइदिएको छ।

मणिपुरको घटनामा कुकी आफैँ उत्पीडित समुदाय हो। अधिकारका लागि यो पूरा समुदाय लडिरहेको छ। महिला यो समुदायकै एक अंग भएको कारणले जातीय रूपमा उनीहरू पनि पीडित नै हुन्। कुकी जातिलाई जति पनि हिंसा वा दमन गरिन्छ त्यसको भागिदार महिला र पुरुष दुवै हुनुपर्छ। त्यस अतिरिक्त महिलामाथि जुन यौनजन्य हिंसा हुन्छ, त्यो फेरि महिला भएका कारण थपिन आएको अर्को दमन हो।

तानाशाही, निरंकुश र अप्रजातान्त्रिक तत्व वा समुदायले आफू विरोधी शक्तिलाई दबाउने नाममा आफ्ना विरोधी महिलालाई बलात्कार गर्ने, दुव्र्यवहार गर्ने जस्ता कार्य विगतमा पनि हुँदै आइरहेको हो।

यसरी मणिपुरका कुकी महिलाहरू एकातिर कुकी भएका कारण जातीय हिंसामा परेका छन् भने अर्कोतिर महिला भएका कारण यौन हिंसामा पनि परेका छन्। महिला दोहोरो हिंसामा परिरहेका छन् भन्ने भाष्यको यो ज्वलन्त उदाहरण हो। त्यो बाहेक घरभित्र आफ्नै परिवारका सदस्यहरूबाट हुने घरेलु हिंसाको कथा त छँदैछ। त्योसमेत जोड्ने हो भने महिला महिला नै भएका कारण तेहेरो हिंसाको सिकार हुनुपरेको स्पष्ट हुन्छ। 

प्रकाशित: २९ श्रावण २०८० ००:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App